भर्खरै :

४० औँ नेपालभाषा साहित्य तःमुंज्या अनलाइनमा

काठमाडौँ । जनताबीच भिजेको, जनतामाझ स्थापित, जनताकै सहयोग र साथमा प्रत्येक वर्ष हुँदै आएको नेपालभाषा साहित्य तःमुंज्या कोरोना भाइरसको महामारीको कारण यो वर्ष अनलाइनमार्फत हुने भएको छ । शोषित पीडित जनताका कथा व्यथालाई जनसमुदायस्तरबाट तयार भएका कवि, कथाकार, निबन्धकार, कलाकारहरूले उजागर गर्ने, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गर्दै अघि बढेको नेपालभाषा साहित्य तःमुंज्या यो वर्ष ४० औँमा टेकेको छ । देशका विभिन्न राजनीतिज्ञ, विद्वान, विशेषज्ञ, जलस्रोतविद्, मानवअधिकारवादी, चिकित्सक, सीमाविद्, कानुनविद्, पुराना तथा नयाँ साहित्यकारहरूका कविता, कथा, निबन्ध आदि विधा प्रस्तुत हुँदै आएको तःमुंज्या कार्तिक १२ र १३ गते अर्थात् नेपाल संवत् ११४० को कौलाथ्व द्वादशी र त्रयोदशीको दिने हुनेछ ।
भाषा, साहित्य र संस्कृतिमार्फत जनताको राजनीतिक, सैद्धान्तिक र सांस्कृतिक स्तर उत्थान गर्न तथा देश–विदेशका समसामयिक विषयमा सुसूचित पार्दै आएको नेपालभाषा साहित्य तःमुंज्या जनताको खुला विश्वविद्यालयसरह बनेको छ । यो वर्ष सो सम्मेलनमा सांस्कृतिक प्रस्तुति (ख्याल, नाटक तथा नाचगान) प्रस्तुत हुनेछैन । यो वर्षको तःमुंज्या कुनै खुला ठाउँमा नभए पनि आ–आफ्नो घर–घरमा बसेर आ–आफ्ना साहित्य वाचन गर्न, सुन्न र हेर्न सकिनेछ । सम्मेलन सफल पार्न पुराना तथा नयाँ साहित्यकारहरूले आ–आफ्ना कथा, कविता, निबन्ध वाचन गर्नेछन् । विगतमा झै विभिन्न राजनीतिज्ञ, विद्वान र विशेषज्ञहरूका विचार प्रस्तुत गरिनेछ ।
तःमुंज्या सफल पार्न नेपालभाषा साहित्य तःमुंज्याले गृहकार्य गरिरहेको तःमुंज्याका पदाधिकारीले बताउनुभयो । नेपालभाषा साहित्य सम्मेलन स्थापनाकाल यता पहिलो पटक अनलाइनमार्फत हुन लागेको हो । समयअनुसार प्रविधिको प्रयोग गरी हुन लागेको सम्मेलनमा देशका विभिन्न जिल्ला र विदेशबाट समेत सहभागी हुने आशा गरिएको छ ।
सर्वसाधारणको जनबोलीमा भिजेको तःमुंज्या कति सर्वसाधारण जनताले यो वर्ष तःमुँज्या कहाँ र कसरी हुँदै छ भनी चिन्ता र चासो व्यक्त नभएको होइन । महिना दिनदेखि सयौं मानिस परिचालन हुनुपर्ने तःमुंज्या घर–घरबाट सहभागी बन्ने कुराले तःमुंज्याका लागि दिलोज्यान दिने साहित्य र संस्कृतिप्रेमीको लागि अप्ठ्यारो महसुस हुनु अन्यथा होइन । कोरोना भाइरसको महामारीको कारण संसारका देशहरू नै प्रभावित भएको बेला तःमुंज्या पनि यसको चेपुवामा पर्नु स्वाभाविक हो । तथापि तःमुंज्याले समयको ख्याल गरी अनलाइनमार्फत सम्मेलनलाई निरन्तरता दिने निधो गरेको छ । सम्मेलनमा देशको राजनीतिक स्थिति, कोरोना भाइरसका असर र अन्तर्राष्ट्रिय समुदायमा घटेका घटनामा केन्द्रित हुने र जनतालाई ती विषयमा जानकारी दिने महत्वपूर्ण दबु हुने आशा गरिएको छ । नेपालभाषा साहित्य तःमुंज्याले अनलाइन तःमुंज्यामा साहित्यकार, साहित्यप्रेमी, संस्कृतिप्रेमीलगायत जनसमुदायको सहभागिताको लागि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *