भर्खरै :

रातो झन्डा बोकी पूर्व र पश्चिमका जिल्लाहरूमा

(नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता एवम् सेवानिवृत्त शिक्षक उद्धव सुजखूले देशका विभिन्न क्षेत्रमा गएर जनतालाई राजनीतिक र सैद्धान्तिकरूपमा सचेत बनाउने जिम्मेवारी सम्हाल्नुभयो । विभिन्न जिल्लामा गएर जनताको सेवा गर्दाका अनुभवबारे मजदुर दैनिकले उहाँसँग कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीको सार–सङ्क्षेप–सम्पादक)
मजदुरः पश्चिमाञ्चलमा पटक–पटक जानुभई काम गरेको सुन्छु, त्यसबारे केही भन्नुहुन्छ कि ?
सुजखू ः सबभन्दा अगाडि यहाँसँग अर्को भेटमा कुराकानी गरौँला भनेको थिएँ । आज त्यो अवसर जुरेको छ । जुम्ला, कालिकोट, दैलेख र सुर्खेतका थप केही कुरा राख्न चाहन्छु ।
२०४७ साल पुस महिनामा तीन दिनसम्म भैरहवामा भएको नेपाल मजदुर किसान पार्टीको प्रथम राष्ट्रिय सम्मेलनमा सहभागी हुनुअगावै त्यही साल मंसिर ७ गतेदेखि ९ गतेसम्म पार्टी अध्यक्षज्यूका साथमा पश्चिमाञ्चलका साथीहरूसँग भेटघाट र छलफल कार्यक्रममा सहभागी भएँ र पार्टी केन्द्रमा रिपोर्टिङ्ग गर्ने काम गरेँ ।
पूर्व केन्द्रीय सदस्य जीवन दाइको साथमा जुम्लाको मेरो तेस्रो यात्रा तय भयो । कोहलपुरमा भएको कार्यक्रममा सहभागी बनेँ । माओवादीको द्वन्द्वकाल थियो । चुनावलाई लेनिनवादी नीतिअनुसार उपयोग गर्ने पार्टीको कार्यक्रमको सिलसिलामा छलफल गर्न जुम्लामा पुग्यौँ । जुम्ला जिल्ला पार्टी कार्यालय खलङ्गामा बैठक राखियो । माओवादीहरूको अराजक गतिविधिबाट साथीहरू प्रभावित भएको अवस्था थियो । “माओवादीमा संलग्न हुने भए आइहाल, होइन भने पञ्चायती व्यवस्थाको कित्तामा दरिने हो, यी दुईवटाबाहेक बीचको अर्को कुनै बाटो यहाँ छैन” भन्दै जबरजस्ती चन्दा उठाउने, उनीहरूको निम्ति खाना पकाउन लगाउने, बन्दुक बोकाउने, माओवादीमा सामेल गराउने काम हुँदै थियो । हामी रुसमा नरोदवादीहरू, भारतमा नक्सलवादीहरू र नेपालकै झापालीहरूले गरेका अराजकतावादी गतिविधिहरू असफलतामा टुङ्गिएको र अराजकतावाद र माक्र्सवादको बीच भेद छुट्याउने का. रोहितद्वारा लिखित थुप्रै पार्टी प्रकाशनहरू अध्ययन गरी छलफल गर्नुपर्ने कुरामा जोड दियौँ । त्यहाँका साथीहरूले भावनामा बगेर भन्न थाल्नुभयो, “अहिलेको द्वन्द्वको अवस्थामा चुनाव लड्न टिकट होइन, माओवादीसँग लड्न बन्दुक देऊ, काठमाडौँको केन्द्रमा बसेर सिद्धान्तको बहस गरेजस्तो विकट पहाडी जिल्लामा रहेर जिउन गा¥हो छ ।” हामीले भन्यौँ, “परिस्थिति र बाध्यताले डोरिनुभन्दा सही विचार र सिद्धान्त अगाडि बढ्नुपर्छ, नत्र हामी पनि एकै ड्याङ्का मूलाजस्तै हुनेछौँ । आपसमा लडेर सिधिने छौँ, अनाहकमा बलिदान हुनेछौँ, यस्तो आत्मघाती काम हामीले गर्नुहुँदैन ।” यसरी माओवादीहरूको खोटपूर्ण विचार र उनीहरूको अराजकतावादी गतिविधिबारे साथीहरूलाई सम्झाउने, बुझाउने काम गरियो । पार्टीको सिद्धान्त, विचार र नीतिमा बस्न र पार्टी केन्द्रीय समितिमा सम्पर्क गर्न अनुरोध गरी हामी फर्कियौँ ।
हुम्लासम्म जाने मनसायले गएका थियौँ । तर, त्यहाँका अधिकांश साथीहरू कामको लागि तराई र भारततिर झरिसकेको कारण देखाएर त्यसबेलाका पार्टी केन्द्रीय उपाध्यक्ष रामकृष्ण बुढ्थापा नमानेको हुँदा हुम्ला पुगेनौँ ।
पैदलयात्राको क्रममा बाटामा भेटिएका गाउँवासीहरूसँग कुराकानी गर्दै जीवन दाइ तुरून्तै साथी बनाउनुहुन्थ्यो । सङ्गठन गर्ने काम भइहाल्थ्यो । हिँड्दै गयौँ तर घर, पसलहरू कुनै भेटिंदैनथ्यो । एउटा घर आउला खानपिनको व्यवस्था मिलाउँला भन्ने हुन्थ्यो । भेटिहाले पनि घरका मानिसहरू ताला लगाएर माथि लेकतिर लागिसकेका हुन्थे । बटुवाहरूसँग कुरा गर्दै हिँड्दा दाइ खानै बिर्सनुहुन्थ्यो । साथमा लगेको चक्लेट मुखमा हाल्दै खाना टाथ्र्यौँ । अर्को घर देखिन दुई घण्टाभन्दा बढी हिँड्नुपथ्र्यो । बाटामा परेका घरका मान्छेहरू पनि आ–आफ्नो काम धन्दामा व्यस्त हुने, अनि खाना पकाइदिन समयले साथ नदिने । त्यो दिन बिहानको खाना दिउँसो ३ बजेमात्रै मिल्यो ।
बाटामा हिँड्दै गर्दा नेपालका अरू कुनै प्रतिबन्धित पार्टीहरू जुम्ला नपुग्दै नेपाल मजदुर किसान सङ्गठनको तर्फबाट पञ्चायती कालमा आफू त्यस जिल्लामा सङ्गठन गर्दै हिँडेको, पञ्चायती प्रहरीले पिछा गरेको, पक्राउ गरेको, हत्कडी लगाएर लामो बाटो हिँडाएको, डोरीले बाँध्दै पत्थरिलो घोडेटो बाटोमा घिसार्दै लगेका ठाउँहरू उहाँले देखाउनुभयो । जुम्ला जेलमा बिताएका विगतका घटनाहरूबारे उहाँले स्मरण गर्नुभयो ।

मुगुको पदयात्रामा


बाटोभन्दा अलि पर उहाँले एकजना पुरानो कार्यकर्ता साथीको घर देखाउनुभयो । हामी त्यही घरमा छि¥यौँ । घरमा त्यो साथी एक्लै हुनुहुन्थ्यो । एकछिनपछि हामीलाई घरमा कुराएर उहाँ बाहिर निस्कनुभयो । दुई घण्टासम्म पनि त्यो साथी नफर्किँदा हामी अलमलमा प¥यौँ । छोडेर जान पनि नमिल्ने । पछि बल्ल आँगनमा देखापर्नुभयो । हातमा केही माछा उनेर झुन्ड्याउँदै आउँदा पो थाहा भयो, हामीलाई खाजा खुवाउन अलि पर खोलामा माछा मार्न जानुभएको रहेछ । पार्टी केन्द्रका साथीहरूप्रतिको आत्मीयतालाई मैले बुझेँ ।
जुम्लाप्रतिको मेरो आत्मीयता पनि बढ्दै गरेको मैले महसुस गरेँ । पछि २०५७ साल कार्तिकमा विद्यार्थी साथी सरोजराज गोसाईसँग नेक्राविसङ्घको पाँचौँ जिल्ला सम्मेलनको तयारीको निम्ति चौँथो पटक जुम्ला जिल्ला पुगेँ । जुम्ला जेल र शिक्षालयहरूको अवलोकन गरेँ । पार्टीका साथीहरू युवा र विद्यार्थीहरूसँगको भेटघाट कार्यक्रममा सहभागी भएँ । केही पुराना पार्टी कार्यकर्ता साथीहरूको असन्तोष र गुनासाका पोकाहरू पनि लिएर फर्केँ । फ्लाइटबाट नेपालगञ्ज फर्केपछि त्यहाँ पनि युवा र विद्यार्थी साथीहरूसँग भेटघाट कार्यक्रम भयो ।
२०५८ भदौ २६ गतेदेखि असोज ४ गतेसम्म फेरि जुम्लाकै यात्राको तय भयो । माओवादी द्वन्द्वकालमा भएको त्यो जुम्लाको मेरो चौँथो यात्रा थियो । नेक्रायुसङ्घ जुम्लाको प्रथम जिल्ला सम्मेलन हुँदै थियो । जुम्ला जिल्ला र अन्य छिमेकी जिल्लाबाट पनि नेता तथा कार्यकर्ताहरू, सर्वसाधारण शुभचिन्तकहरूको टोली खलङ्गाबाट जुम्लाको सिंजा क्षेत्रतिर लाग्यो । झन्डा र व्यानरका साथ सुरु भएको ३÷४ घण्टा लामो उक्त पैदल यात्राको गन्तव्य बड्की गाउँ थियो । जसलाई सम्मेलन स्थल भनी तोकिएको थियो ।
जुम्लाको सिङ्गै जिल्लालाई आफ्नो ‘लाल इलाका’ ठान्ने माओवादीहरूको ‘जनमिलेसिया’ ले ठाउँ–ठाउँमा अवरोध गर्ने प्रयास गरेका थिए । हाम्रो पार्टीलाई ‘मजदुरे’ भनी हेला गर्ने ती सामन्ती सोचका माओवादीरूसँग वैचारिकरूपमा बहस गर्दै साथीहरू अगाडि बढे । बाटामा घाम, तिर्खा, भोक नभनी हिँडेका युवा, विद्यार्थी र स–साना नानीहरू पनि थिए । आफूले बोकेको रुखोसुखो खजाना खाँदै, कतै मकैको बोटलाई नै भाँची उखुजस्तै चपाएर रस चुस्दै, बस्न, सुत्न आवश्यक हल्का कपडासमेत बोक्दै सम्मेलन स्थल पुगियो ।
हामी सबैलाई अचम्म लाग्यो जब बड्कीको कार्यक्रम स्थल पुग्यौँ । ११–१२ बजेको टन्टलापुर घाम लाग्दासम्म कार्यक्रम स्थल शून्य थियो । न मञ्चको व्यवस्था न मानिसहरूको आउजाउ नै । गाउँवासीहरू आफ्नो घरको झ्याल ढोका बन्द गरी भित्रै बसेका थिए । बाहिर कोही देखिएन । मानौँ गाउँमा कफ्र्यु लागू भएको थियो । केही भएको होला भनी सोधपुछ गरियो । पछि थाहा भयो, हाम्रो सम्मेलनको कार्यक्रम हुन नदिन माओवादीहरूले धाक–धम्कीदिएर गाउँवासी सबैलाई त्रसित तुल्याएको रहेछ । सम्मेलनमा सहभागी हुनेहरूलाई भौतिक कारबाहीसहितको दण्ड सजाय हुने उर्दी जारी गरेको सुन्नमा आयो । ‘सम्मेलनमा आएर बोल्ने नेताहरूको टाउको पनि गोलीले उडाइनेछ….’ माओवादीहरूले बोलेका यस्ता धम्कीपूर्ण भाषाबारे हामीलाई जानकारी गराइयो ।
धारको विरूद्ध लाग्नुपर्ने कुरा बुझेका जिल्लाका नेतृत्वकारी साथीहरूसँग गएका हामी हतोत्साही हुने कुरै थिएन । जुलुससहितको सम्मेलनको कार्यक्रम भित्रभित्र तयारी हुँदै थियो । ढिलै भए पनि गाउँवासीहरूको लस्कर ओइरियो । उक्त जुलुसमा बालबच्चा बोकी आमा, दिदीबहिनीहरू, वृद्धहरूसमेत आ–आफ्नो खाजा, ओढ्ने, ओछ्याउने, हल्का कपडा साथमा लिएर सहभागिता जनाएको देखेँ । बच्चाबच्ची, वृद्धहरूलाई कार्यक्रममा नबोलाएको भए हुन्थ्यो कि भन्ने आशयले कुरा उठाएँ । उनीहरू त स्वयम्स्फुर्तरूपमा आएका रहेछन् । ‘मजदुरेहरू’ को कार्यक्रममा लागेमा मारिदिनेसम्मको धम्की त्यहाँका माओवादीहरूले दिएका कारण मर्ने भए सबै एकै ठाउँमा मरौँला, नेपाल क्रान्तिकारी युवा सङ्घको प्रथम जिल्ला सम्मेलन सफल पार्नुपर्छ भन्ने उहाँहरूको दृढतासाथ सहभागिता भएको बुझियो । स्थितिलाई ध्यानमा राखी माओवादीको धम्कीलाई जवाफ दिन हामीले केही नयाँ नाराहरू पनि तय ग¥यौँ । ‘निमुखा गरिब जनतालाई धम्की होइन राहत देऊ, ‘जनतालाई आतङ्क र त्रास होइन माया गर’, ‘अराजकतावाद मुर्दावाद’ आदि । यी नयाँ नाराहरू पनि मुट्ठी कस्दै पहाडको कुना–कन्दरामा ठोकियो, गाउँ परिक्रमा गरियो ।
केही क्षण अगाडिसम्म सुनसान देखिएको बड्कीमा मुड्की कसेर आएको जुलुसले उत्साहित गाउँवासी सम्मेलन स्थलमा आएर भेला भए । सम्मेलन स्थल नै गुल्जार भयो । माओवादको नाउँमा माओ विचारधारालाई बदनाम गर्ने, गरिब किसानहरूका बीच चन्दा आतङ्क मच्चाउने, जमात नै आई खाना खाइदिने, बलात्कार, हत्या, लुट, डकैतीजस्ता माओवादीका अराजक गतिविधिहरूबारे सभामा सबैजसो वक्ता साथीहरूले जोड्दार अभिव्यक्तिहरू दिनुभयो । राणाशासन र पञ्चायती निरङ्कुश व्यवस्थासँग पनि बन्दुक, सत्ता, स्रोतसाधन सबै शक्ति उनीहरूको हातमा थियो । तैपनि, उनीहरू ढले । जनआन्दोलनको अगाडि टिक्न सकिएन । जनताविरुद्ध लागेका माओवादीको पनि हविगत त्यही हुने साथीहरूले बताए । जनताको साँचो क्रान्तिको निम्ति हेमा नदी (सिंजा भेगको मुख्य नदी) मा सम्पूर्ण रगत बगाउन परे पनि आफू तयार भएको साथीहरूले बताए ।
काँधमा बन्दुक बोकेका तारा अङ्कित क्याप लगाएका केही माओवादीहरू सभास्थलभन्दा केही पर चिया पसल नजिकै ओहोरदोहोर गर्दै थिए । एक दुई जना बन्दुकबिनाका क्यापवालाहरू भने सभास्थलभित्र छिरे । आफ्नो नोटबुकमा केही कोर्दै थिए । वाकीटाकीमा कुराकानी गर्दै गरेका ती माओवादीहरूलाई हाम्रा साथीहरूले घेरा हाली अनावश्यकरूपमा सम्मेलनमा सहभागीहरूलाई उत्तेजित नपार्न सम्झाइबुझाइ गर्दै बाहिर पठाए । केही त्रसित वातावरण सृजना गर्न खोजिएको भए तापनि दिउँसोको सम्मेलन, कार्यक्रम सफलताका साथ सम्पन्न भयो । त्यहाँ देखिएका गतिविधिहरूबारे पार्टी केन्द्रमा रिपोर्टिङ्ग गर्ने काम गरियो । चियापसलमा रहेको टेलिफोनको बुथमा एसटीडी फोनमार्फत गुप्ती भाषा प्रयोग गर्नुप¥यो । ताकि त्यहाँ वरिपरि रहेका बन्दुकधारी माओवादीले नबुझून् । विद्यालयको छिँडीमा राती अबेरसम्म बन्दसत्र र प्रशिक्षण कार्य भयो ।
भोलिपल्ट फेरि पैदल यात्रा सुरु भयो । बास बसेको ठाउँमा, चिया चमेना गर्ने ठाउँमा माओवादीहरू पनि सँगसँगै देखापर्थे । कोही कोही त आफ्नो लृुगाको टाँक पनि लगाउन नजान्ने, थोत्रा भएका बन्दुक काँधमा बेरेका ते¥ह चौध वर्षका केटाहरू पनि भेटिन्थे । के गर्छौ बाबु यत्रो बन्दुक बोकेर ? को हो तिमीहरूको शत्रु ? भनी सोध्दा ‘हामीलाई थाहा छैन, दाइहरूले जसलाई भन्छ उनीहरूलाई पड्काउने हो’ भन्थे । वर्ग शत्रु को हो, कुन उद्देश्यले हिँडेको हो भन्नेबारे उनीहरूलाई कुनै प्रशिक्षण नदिएको स्पष्ट हुन्थ्यो । ७÷८ कक्षाका गाउँका विद्यार्थीहरूलाई पनि पढ्न छोडाएर बन्दुक बोकाउने गाउँबस्तीलाई त्रासमा राखी आफ्नो काममा लिन माओवादीले ती केटाकेटीलाई प्रयोग गरेको देखियो । छिटफुट अन्य दलका कार्यकर्ताहरू पनि ‘मजदुरे पार्टी’ लाई चन्दा दिएको रसिद देखाएर ठूलो चन्दा आतङ्कबाट बचेको कुरा जानकारीमा आयो ।
मेरो पाँचौँ पटकको जुम्ला जिल्लाको यात्रा पार्टी अध्यक्षज्यूको साथमै भयो । २०६८ साल चैत महिनामा भएको नेपाल क्रान्तिकारी युवा सङ्घको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी भएँ । भव्य जुलुसका साथ जुम्लामा भएको उक्त ऐतिहासिक सम्मेलनको क्रममा पार्टी अध्यक्षज्यू विभिन्न बैठकहरूमा व्यस्त रहनुभयो । त्यहाँ उपस्थित विभिन्न जिल्लाका साथीहरू र नेपाल क्रान्तिकारी शिक्षक सङ्घमा आवद्ध शिक्षक साथीहरूको छुट्टाछुट्टै सभाहरूमा सङ्घका केन्द्रीय अध्यक्ष चक्रबहादुर चाकतुसँगै मैले पनि सहभागिता जनाएँ । केन्द्रीय पार्टी सचिव प्रेम सुवाल र नेक्रायुसङ्घका अध्यक्ष जग्यबहादुर शाहीको साथमा बन्द सत्रमा सघाएँ ।
चैत २९ गते केही साथीहरूसँगै मुगु जिल्लाको रारा तालसम्म पुगेको थिएँ । गोरेटो र घोडेटो बाटोमा, हिउँले ढाकेको पहाड, पखेराहरूमा समेत पार्टीको झन्डा फहराउँदै हिँड्यौँ । भारी हिमपातका कारण साथीहरूले केही दुःख पनि खेप्नु परेको थियो । तीनदिने पैदल यात्रापछि भर्खरै निर्माण गर्न सुरु भएको उबड्–खावड् कर्णाली राजमार्ग हुँदै कालिकोटमा छिरेर रिजर्भ बसबाट घर फक्र्यौँ । पहाडको डरलाग्दो बाटो, भीर पखेरा, खोँच छिचोल्दै बसमा यात्रा गरेका केही साथीहरूले आफ्नो मुटु काँपेको कुरा आज पनि स्मरण गर्नुहुन्छ ।
जुम्लामा गरेका गतिविधिहरूबारे यहीँ बिसाएँ । अब कालिकोट, दैलेख र सुर्खेत जिल्लाका गतिविधिबारे थोरै कुरा राख्छु ।
२०५६ साल चैत १९ देखि २८ गतेसम्म पार्टी अध्यक्षज्यूको साथमा सुर्खेत–दैलेख यात्रा गरी विद्यार्थीहरूको कार्यक्रममा सहभागी भएको थिएँ । २०५७ साल वैशाखमा भएको कालिकोट जिल्ला पार्टीको छैटौँ जिल्ला सम्मेलनमा सहभागिता जनाएर त्यही साल जेठमा भएको नेक्राशिसङ्घ दैलेखको जिल्ला सम्मेलनमा फेरि भाग लिएँ । २०६१ सालमा ३० औँ पार्टी स्थापना दिवसको सिलसिलामा कोहलपुर र सुर्खेतको कार्यक्रम पनि भ्याएँ ।
माओवादी द्वन्द्वकालकै बेला नेपाल क्रान्तिकारी महिला सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष गीता केसी र कमलमैयाँ सुवालको साथमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वरमा मनाउन गयौँ । उक्त दिवस मनाउन आयोजित सभास्थल वरपर बन्दुक र बम पनि बोकेका तर आउटडे«समा आएका २०÷२५ जनाको टोली ओहोरदोहोर गर्न थाल्यो । नेपाल क्रान्तिकारी महिला सङ्घको व्यानर र पार्टीको झन्डा देखेर उनीहरू सशङ्कित भएका थिए । माओवादीहरूले पनि आफ्नो जनवर्गीय सङ्गठनका नामहरूमा ‘क्रान्तिकारी’ शब्द झुन्ड्याएको हुनाले उनीहरू अलमलिएका रहेछन् । खेतको कान्ला र ग¥हामा पनि बन्दुकको नाल तेस्र्याउँदै हिँडेका टोलीका कमान्डरसँग हाम्रा साथीहरूले कुराकानी गरे । ड्रेसमा आउँदा माओवादीको तारोमा पर्ला भनी झुक्याउनको निम्ति त्यसरी सुरक्षाकर्मीहरूको गस्ती आएको रहेछ । नेपाल मजदुर किसान पार्टीअन्तर्गतको जनवर्गीय सङ्गठनको कार्यक्रम हो यो, अराजकतावादी गतिविधिमा हामी विश्वास गर्दैनौँ भनी स्पष्ट पार्ने काम भयो ।
त्यहाँ हामीले स्थानीय बजार र गाउँ–ठाउँमा बिहानैदेखि पेय पदार्थ सेवन गर्दै हिँड्ने, झगडा गर्ने सर्वसाधारणका साथै केही हाम्रै साथीहरू पनि देख्यौँ । उनीहरूलाई पनि जनताको मन जितेर काम गर्न पहिला आफू सम्हालिनुपर्ने बतायौँ । माथिल्लो डुङ्गेश्वरमा पनि पदयात्रा गरी स्थानीय महिला साथीहरूसँग भेटघाट कार्यक्रम राखेर फक्र्यौँ ।
त्यस्तै पार्टी केन्द्रीय सदस्य सनकमान महर्जनसँगै सुर्खेतमा जाँदा भएको घटना पनि म सम्झन्छु । माओवादी द्वन्द्वकै कारण राती ९ बजेपछि सुर्खेत बजारमा निेषेधित क्षेत्र घोषणा गरेको अवस्था थियो । एउटा होटेलको कोठामा हामी साथीहरूको बैठकमा सहभागी भएका थियौँ । सुरक्षाकर्मीहरू बन्दुक बोकी बैठकमा आएर हस्तक्षेप गर्न थाले । माओवादीकै कारण घरभित्रै पनि गतिविधि गर्न अप्ठ्यारो पारिदिएको थियो । ‘क्रान्तिकारी’ शब्दबारे नबुझ्दा ठाउँ–ठाउँमा हाम्रो पार्टीको जनवर्गीय सङ्गठनको कार्यक्रम प्रभावित भएको पाएँ ।
सुर्खेतबाट फर्किंदा बीच बाटो छिन्चुमा हामी चढेको बसभित्रै छिरेर बन्दुकधारी सुरक्षाकर्मीहरू झ्यालबाट बन्दुकको नाल बाहिर तेस्र्याएर हाम्रो सीटमा बसेको देखँे । यात्रुबाहक सार्वजनिक यातायातको बसको छतमा बसेका ती सुरक्षाकर्मीहरू भीर बाटोमाथि जङ्गलबाट बन्दुक ताकेर लुकी लुकी माओवादीले हान्ला भन्ने डरले तल झरी बसभित्र छिरेका थिए । उनीहरूसँग केही विवाद भयो । आफ्नो भ्यानमा बसेर पो जानुपर्छ त, लामो यात्रा छ सीटको टिकट काटेर पनि यसरी हामी उभिएर जानुपर्ने ? भनी गुनासो पोख्यौँ । के गर्ने हामी पनि जनताको सुरक्षाको निम्ति लागेको भन्थे उनीहरू । तर, यात्रुहरूलाई ढाल बनाएर आफू सुरक्षित हुने उनीहरूको अभिप्राय सजिलै बुझिन्थ्यो । हामीले बुक गरेको सीट भएको हुनाले बस चालकलाई भनी उनीहरूलाई ओराल्न लगायौँ । यसरी हामी फर्कियौँ ।
मजदुर ः पूर्वाञ्चलतिर पनि लाग्नुभयो कि ?
सुजखू ः पश्चिमाञ्चलको कर्णाली भेगतिर पटक–पटकको लामो यात्राले उतैतिरको बेलीविस्तार गरेको हुँ ।
०६१ साल मंसिरमा ३ दिन चितवनमा पार्टी अध्यक्षज्यूसँगै गएर पत्रकार सम्मेलन र भेटघाट कार्यक्रममा सहभागी भएँ ।
पूर्वाञ्चलको कुरा गर्नुपर्दा आम चुनावताका खटिएका ठाउँहरूको स्मरण हुन्छ । २०४७ साल फागुनमा साथी किशोर सुवाल र मलाई पार्टीले इलामको पशुपतिनगरमा खटाएको थियो । त्यहाँ प्रचार कार्यको तर्जुमा ग¥यौँ । पार्टीले त्यस जिल्लाबाट पनि उम्मेदवारी दिएको थियो । स्थानीय साथीहरूको समूह बनाइयो । फागुनमा इलाम जिल्लामै तीन चार दिन लगाएर साङ्गठनिक प्रचार प्रसार गर्न हिँड्यौँ । ५÷६ जनाको साथीहरूको टोलीमा सामेल भएर इलाम जिल्लाको पशुपतिनगर इलाम बजार, फिक्कल, इलाम भञ्ज्याङ्ग, नामसालिङ्ग, प्याङ्ग, बासी गाउँ आदि ठाउँमा प्रचार प्रसार गरियो । कार्यक्रमहरू राखिए । चिया बगानमा काम गर्ने चिया पात टिप्ने मजदुर, चीज उत्पादन गर्ने मजदुर र रेशम किराको खेती गर्ने फर्महरू, हाटबजार र मेला भर्न आउने ठाउँहरूमा प्रचार प्रसार गर्नुका साथै कोण सभामा पनि सहभागी भएँ ।
झलनाथ खनाल उठेको चुनाव क्षेत्र भएकोले इलाममा एमालेको वर्चस्व कायम गर्न उनीहरू लागिपर्ने नै भए । एक दुई ठाउँमा प्रचार अभियानकै सिलसिलामा उनीहरूसँग जम्काभेट हुन्थ्यो । आमनेसामने हुँदा उनीहरू हामीसँग स्वाभाविक कुरा गर्थे । पछाडि अलि टाढा हुँदा ‘जहाँ पनि सौता लागिहाल्दोरहेछ’ भनी इङ्गित गर्थे । वामपन्थीकै तीन चार भोट काट्नलाई अर्को वामपन्थी भक्तपुरदेखि किन आउनु परेको होला भनी कुरा काट्थे । त्यतिमात्रै नभई हाम्रो टाँसेका पर्चा, पम्प्लेटहरू च्यातचुत गर्ने काम गरे । प्रचारप्रसारमा हिँडेका हाम्रा केही स्थानीय साथीहरूलाई डर, त्रास देखाई ६ इन्च गर्दन काटी दिउँला भनी भगाए पनि ।
कुनै कुनै विकट गाउँमा लाल इलाका घोषणा गरी अरू दललाई छिर्नै नदिने भनी ठाउँ –ठाउँमा झन्डा फहराएर लाठो लिई बसेको पनि देखियो । गाउँ पस्न उनीहरूको अनुमति लिनु पर्ने । त्यो त अति भयो भनी उनीहरूसँग ठाउँ–ठाउँमा बहस गथ्यौँ । एमालेकै चुनाव प्रचार कार्यालयमा गएर पनि कुराकानी भयो ।

इलाममा २०४८ सालको आमचुनावको प्रचारको शिलशिलामा


हामी कसैको भोट काट्ने उद्देश्यले नभई नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचार फैलाउन आएका हौँ । छुट्टाछुट्टै विचार र सिद्धान्त बोकेको पार्टी भएको हुनाले यो स्वाभाविक हो । बहुदलीय प्रजातन्त्र ल्याउन सात वाममा संयुक्त भएर लडेकै हो । सँगै लट्ठी, बुट खाई जेलमा बसेकै हो । तर, आज बहुदलीय प्रजातन्त्र आइसक्दा पनि निर्दलीय व्यवस्थाकै पद्चिह्नमा लाग्ने, अरू दललाई छिर्नै नदिने भन्नु गलत हो । ३० वर्षे पञ्चायती व्यवस्थाको यस्तै निरङ्कुशताको विरुद्ध लडेर त्यसलाई फाल्नु परेको थियो । वामपन्थीको नाममा अर्को निर्दलीय व्यवस्था लाद्न खोज्नु उचित लाग्दैन । एमालेको निरङ्कुशताको विरुद्ध जनताले फेरि लड्न नपरुन भनी त्यहाँ बहसै चलायौँ । ६ इन्च घटाउने धम्कीपूर्ण भाषालाई फिर्ता लिनुपर्छ भन्यौँ । त्यसरी धम्की त हामीले पनि दिनसक्थ्यौँ होला । किनभने एमालेका नेताहरू जिल्लामा भन्दा केन्द्र (काठमाडौँ) मा बस्छन् । उनीहरू भक्तपुरमा आएर एमाले पार्टीको डोजर चलाउने कुरा गर्छन् । रोहितको गृहनगरमा आएर घैँटो फुटाल्ने भनी भक्तपुरको चुनावी सभामा ठूल्ठूलो स्वरमा नेताहरू भाषण फुक्छन् । हामीले आफ्नो विचार राख्न दिनुपर्छ भनी सहजरूपमा लियौँ । के तपाईहरूले निर्दलीयता नै चाहेको हो भनी प्रश्न गर्दा गल्ती भएको उनीहरूले महुसस गरे । हाम्रा साथीहरूलाई चिया खाई जानु होला भनी उनीहरूले अनुरोध गरे ।
धर्मप्रसाद ढकाल र अरू केही जमिनदारहरूको टाउको काटेर ‘झापा विद्रोह’ को नाम दिने, सिद्धान्त गलत हुँदा त्यही कारणले १७ वर्ष जेल परेर पनि कुनै क्रान्तिकारी परिवर्तन ल्याउन नसक्ने, एमालेमा व्यक्तिहत्याजस्तो अराजकतावादी गतिविधिको धङ्धङी अझै बाँकी रहेको हामीले ठान्यौँ र त्यहाँबाट फक्र्यौँ ।
अर्कातिर सदरमुकाम र बजारतिर केही वर्चस्व राख्ने नेपाली काङ्ग्रेस गाउँतिर चुनाव प्रचार–प्रसार गर्न हिम्मत गर्दैनथ्यो । ‘वामपन्थी’ को हाउगुजीबाट तर्सेका उनीहरू एमालेलाई माइनस गर्न हाम्रो टेको लिन चाहन्थे । हामीलाई गाउँमा जान ‘प्रेरित’ गर्थे । उनीहरूले नभने पनि ‘खतरा’ ठानेका नाम्सालिङ्ग, प्याङ्गजस्ता विकट गाउँहरूमा किशोरजी र म पुगिसकेका थियौँ । कुममा चढाई प्रचार सामग्रीहरू टाँसेका थियौँ । का. रोहितलाई बोलाएर एउटा ठूलो आमसभा इलाम बजारमा अथवा त्यहाँको अरू कुनै सहरी केन्द्रमा होस् भन्ने उनीहरू चाहन्थे । आवश्यक सहयोग गर्ने वाचा गर्थे । उनीहरूसँगको कुराकानीको सिलसिलामा हामीले भन्यौँ, “नेमकिपाले आफ्नो सिद्धान्त र विचार जनतासमक्ष पु¥याउन चुनावमा भाग लिएको हो न कि कसैलाई हराउन या जिताउन ।” चुनावलाई उपयोग गर्ने पार्टीको नीतिलाई स्पष्ट पा¥यौँ ।
साथीहरूको घरमा कोही बुद्ध धर्म मान्नेहरू छन् भने कतै ब्रह्मकुमारीलाई आत्मसात गर्नेहरू भेटिन्छन् । हामीले उहाँहरूको भावनालाई ठेस नपु¥याई व्यवहार ग¥यौँ र भन्यौँ, “माक्र्सवादले कसैलाई शोषण, अन्याय, अत्याचार गरेको सहँदैन, शोषित पीडित जनतालाई मुक्तिको बाटो देखाउँछ र अन्यायी अत्याचारीहरूलाई घृणा गर्छ । तपाईँहरूले मान्दै आएको धर्ममा पनि दुःख कष्टबाट मानव जातिलाई मुक्ति दिलाउने कुरा रहेछ । बाटोमात्रै फरक भएको हो । सत्य र वैज्ञानिक कुरालाई मान्दै जानुपर्दछ । अनिमात्र सही ठाउँ पुगिन्छ ।” यसरी माक्र्सवादको कुरालाई लिएर बैठकमा सम्झाउने बुझाउने काम पनि गरियो ।
इलाममा गएका सााथीहरूको टोलीले सीमा नजिकै रहेको दार्जिलिङ्गमा रहेको ऐतिहासिक थलोको भ्रमण पनि गरेको थियो । पछि अन्य केही साथीहरूसँग धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकनमा सहभागिता जनाएँ ।
पूर्वाञ्चलको एक पहाडी जिल्ला इलाममा गरेको गतिविधिबारे आजलाई यति नै । धन्यवाद !
२०७७।०७।८

Leave a Reply

Your email address will not be published. Required fields are marked *