भर्खरै :

बोलिभियाली नयाँ सरकारको प्रमुख कार्यभार–आर्थिक निर्माण

ला पाज । दक्षिण अमेरिकी देश बोलिभियामा हालै सम्पन्न निर्वाचनबाट निर्वाचित लुइस अर्के काताकोरा नेतृत्वको सरकारको प्रमुख चुनौती देशको अर्थतन्त्र ब्युँताउने भएको अर्थशास्त्री र राजनीतिक विश्लेषकहरूले बताएका छन् । काताकोरा समाजवादी आन्दोलन (मास) का नेता हुन् । गत शुक्रबार बोलिभियाको सर्वोच्च चुनावी आयोगले काताकोरालाई राष्ट्रपति र डेभिड चोकुइह्वान्का उपराष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेको थियो । उनीहरूले ५५.१ प्रतिशत मत ल्याएर चुनावमा विजय हासिल गरेका थिए ।
बोलिभियाको दुवै सदन सिनेट र प्रतिनिधिसभामा मास पार्टीले बहुमत हासिल गरेको छ । तथापि, संवैधानिक सुधारको लागि आवश्यक दुइतिहाइ मत भने मासले पाउन सकेको छैन ।
राजनीतिक विश्लेषक एवम् ला पाजस्थित क्याथोलिक विश्वविद्यालयका प्राध्यापक मार्सिलो अरेक्युवाले चुनावमा अत्याधिक बहुमत प्राप्त गरिसकेपछि मास पार्टीको सबभन्दा गम्भीर कदम भनेको चालु राजनीतिक सङ्कटको समाधान भएको बताए ।
“मास पार्टीले सिनेट र प्रतिनिधिसभामा बहुमत प्राप्त गरे पनि सहमतिको प्रक्रियामा जान आवश्यक छ”, उनले भने । देशलाई आर्थिकरूपमा अझै सक्रिय बनाउने यो नै प्रमुख कदम भएको उनको तर्क थियो ।
अघिल्ला राष्ट्रपति इभो मोरालेस सरकारका आर्थिक नीतिका आर्किटेक्ट भनी चिनिएका काताकोराले आगामी दिनमा हिजोभन्दा निकै फरक खालका चुनौती सामना गर्नुपर्ने बताइएको छ ।
मोरालेसको सरकारमा झन्डै चौध वर्ष काताकोरा अर्थ तथा वित्तीय मन्त्री बनेका थिए । मोरालेसको शासनकालमा बोलिभियामा ‘वस्तु उत्पादन बढ्दा’ बोलिभियालीहरूको जीवनस्तरमा वृद्धि भएको थियो ।
मोरालेसको पालामा बोलिभियाको कुल गार्हस्थ उत्पादन
(जीडीपी) आकाशिएको थियो । सन् २००५ मा त्यहाँको जीडीपी ९.५ बिलियन डलर भएकोमा सन् २०१९ मा ४० बिलियन डलरभन्दा माथि उक्लेको थियो । गरिबी दर ६० प्रतिशतबाट ३७ प्रतिशतमा झरेको थियो ।
नवनिर्वाचित राष्ट्रपति काताकोराले मङ्गलबार अन्तर्वार्ता दिंदै अघिल्लो अन्तरिम सरकारले बोलिभियाको अर्थतन्त्र ध्वस्त बनाएको र आफ्नो सरकारले देशको आर्थिक ढाँचामा ‘पुनः निर्माण’ गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *