भर्खरै :

हिमाली महाभूल – २६, लोकाचारको अन्त्य

(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
माथिका कुराबाट निम्न दुई तथ्य कौलले छोपेका छन् :
१. कौलले ८ र ९ अक्टोबरमा राजपुत र गोर्खालीहरूलाई साङधरबाट ढोला क्षेत्रमा आउने आदेश दिएका थिए । (यी दुवै दल अक्टोबर ५ मा लुम्पुबाट हिँडेका थिए ।)
२. उनले राजपुत २ लाई १० अक्टोबरमा ढोलाबाट युमसोला पुग्नुपर्ने र चिनियाँहरूको छेउमा बस्नुपर्ने आदेश ९ अक्टोबरमा जारी गरेका थिए ।
कौलले अरूमाथि दोष थोपरेर आफू उम्किने सोचे । यसको लागि उनले उनीहरूकै तर्कको प्रयोग गरे । उनले ब्रिगेडियरको योजना लागू गर्न आफू बाध्य भएको र त्यसलाई नियन्त्रण गर्न वा आफूलाई त्यसको जिम्मेवारी नलिन नसक्ने देखाउन खोजे किनभने उनलाई सरकारले चिनियाँहरूलाई हिउँ पर्नुभन्दा अगाडि नै खेद्ने म्याद दिएको थियो । आफू नियुक्त हुनुभन्दा अगाडि उल्टाउनै नसकिने काम थालिएको उनको जिकिर छ ।
वास्तवमा ढोलालाई कुनै अपरेसनको लागि छनोट गरिएको थिएन । कौलले नाम्का चू पुगेर चिनियाँहरूलाई धपाउने हतारोमा समस्याको पृष्ठभूमिबारे राम्ररी अध्ययन गरेनन् । ब्रिगेडलाई जटिल स्थानमा पठाउनुअघि उनले ब्रिगेडियरसँग पनि सल्लाह गरेनन् । अक्टोबर ५ मा लुम्पुमा डाल्भीलाई भेटेर उनले विद्यमान परिस्थितिको बारेमा सोधेको भए सैन्य मूल्याङ्कन र योजनाबारे थाहा पाउने थिए । उनलाई कसैले केही नबताउनु पत्यारिलो छैन । ढोलामा पठाइएका सैनिकहरू चौकी स्थापना गरेको आसाम राइफल्सलाई चिनियाँ खतराबाट आड दिनलाई थियो । ब्रिगेड ७ को जिम्मेवारी चिनियाँ घुसपैठ रोक्नु मात्र थियो । पञ्जाब ९ लाई सीमाको निगरानी गर्न पठाइएको थियो । कमान्ड प्रमुखले सेना प्रमुखको सेप्टेम्बर १३ र १४ को आदेशअनुसार त्यसो गरेका थिए । थागला छोडेको भए साङधर र हाथुङला सुहाउँदा रणनीतिक स्थल हुनसक्थे । तर, राजनीतिकरूपमा दुई माइल भूमि छोडेर दक्षिण फर्किनु सोचबाहिरको कुरा थियो । आफ्नो भूमिमा चौकी बनाउने अधिकारलाई मूल मुद्दा मानिएको थियो । ढोला क्षेत्र कागजमा सामरिक स्थान देखिन्थ्यो र त्यसले ब्रिगेड ७ नाम्का चूमा कसरी ध्वस्त हुनसक्थ्यो भन्ने कुरा ढाकिन्थ्यो ।
कौलको नियुक्तिभन्दा पहिले नाम्का चूमा एक बटालियन सेना थिए र बाँकी ब्रिगेड लुम्पुमा थियो । सेप्टेम्बर २८ कै योजना लागू गरेको भए पनि दुई बटालियन सेनाले ढोला छल्दै साङधर हुँदै साङलेतिर जाने थिए । यी यावत कारणले जनरल कौल आफैँले ढोला क्षेत्रलाई आफ्नो योजनाको लागि छनोट गरेको देखाउँछ । उनले नै राजपुत र गोर्खालीहरूलाई लुम्पुबाट ढोला जाने आदेश दिएका थिए ।
ढोला गलत स्थान हुन्थ्यो भने जनरल कौलले अक्टोबर ७ मै त्यसलाई गलत भन्न सक्थे । एक कम्पनी रहेको ढोलामा किन उनले पूरै ब्रिगेडलाई आउन दिए ? मेजर एसआर जोहरीले आफ्नो पुस्तकमा कौलले त्यस क्षेत्रमा ४ दिन बिताइसकेको हुनाले गतिलो स्थान छनोट नगर्नुमा उनकै दोष देखाएका छन् । वास्तवमा ढोलालाई प्रयोग गर्न कौल बाध्य थिए किनभने त्यो सबैभन्दा छोटो, छिटो र उनको योजनासँग मेल खाने एकमात्र स्थान थियो । १० अक्टोबरसम्म उनले काम फत्ते गर्नका लागि साङले–सेङजोङको बाटो लामो हुने थियो । त्यस बाटोमा फौजको बन्दोबस्ती मिलाउन सकिन्नथ्यो । त्यस बाटोमा सेना कम्तीमा ८÷१० हिँडिरहनुपथ्र्यो । त्यसबाहेक उनीहरूले आराम पनि गर्नुपथ्र्यो । मन्त्रिमण्डलले छनोट गरेको १० अक्टोबर त्यसबेलासम्म घर्किसक्थ्यो । त्यसकारण यसमा कौलले जनरल सेनमाथि दोष थोपर्नु अन्याय थियो ।
अक्टोबर ८ मा केन्द्रित पुरानो योजनाले कौललाई दर्शकमात्र बनाई चरप्प कसेको विषयमा जाऔँ । वास्तवमा सो योजना काम नलाग्ने भइसकेको थियो । त्यसमा भनिएको सीमित गस्ती अक्टोबर ८ मा पठाइएको थिएन । त्यो योजना चालू हुन्थ्यो नै भने पनि त्यसमा ढिलो किन गरियो वा त्यसको घुमाउरो बाटो फेरेर सीधै अगाडि जाने सोचियो ? सत्य के हो भने ७ वा ८ मा कसैलाई पनि कतै जाने आदेश दिइएको थिएन । सबैजना कौलको जाँचबुझको नतिजा पर्खेर बसिरहेका थिए । उनको मूल्याङ्कन र नयाँ आदेशको पर्खाइ सबैलाई थियो ।
कौलले नाम्का चूपारि जाने योजनाबारे थाहा पाएको हुनुपर्छ । ७ तारिखको दिउँसोदेखि उनी ब्रिगेडियरहरूसँगै थिए । उनले विभिन्न अपरेसनका अवस्थाहरूबारे छलफल गरिरहेको लेखेका छन् । उनको कुरा अस्पष्ट छ । उनले नाम्का चूको संवेदनशील क्षेत्रमा पठाउने विषय छलफलबाट तय भएको थिएन । उनले स्थानीय अफिसरहरूसँग त्यस विषयमा छलफल गरेका थिएनन् । गरेका हुन्थे भने ती अफिसरले राम्रै सल्लाह दिने थिए । पुराना योजनालाई अपजस दिने विषयलाई मेजर जाहेरीको पुस्तकमा गजबले उदाङ्ग्याइएको छ । सारमा जाहेरीको कथन यस्तो छ – “कोर ४ का कमान्डर अक्टोबर ६ देखि ११ सम्म ढोला क्षेत्रमा थिए । घटनास्थलमा उपस्थित सबैभन्दा उच्च अधिकारीको नाताले ब्रिगेडका लागि बनाइएको अपरेसनको योजना उनले नै प्रमाणित गरेको हुनुपर्छ । कौलजस्तो व्यक्ति ऐतिहासिक क्षणमा पर्यवेक्षकमात्र नभएका होलान् । त्यसैले साङले कब्जा गर्ने विचार ब्रिगेड कमान्डरको थियो भन्न मिल्दैन । त्यहाँ रहेका सबै अफिसरहरूको धेरैथोरै दोष थियो । कौलको उपस्थितिले चिनियाँहरूमाथि आक्रमण गर्ने योजनाको कार्यान्वयनको जिम्मेवारी उनकै काँधमा आउँछ । उनी कोर कमान्डर थिए र त्यस क्षेत्रमा उनको बोली नै कानुन हुन्थ्यो । ब्रिगेडियर डाल्भीको योजना भने पनि उनले प्रमाणित गरेकाले त्यो योजना कोर कमान्डरको थियो र भारतीय सेनाको थियो ।”
कौलले कारबाही रोक्न ढिलो भइसकेको बताएका छन् । कम्पनी वायरलेस उपकरणको माध्यमबाट निरन्तर सम्पर्कमा थियो । त्यसलाई कुनै पनि बेला फर्काउन सकिन्थ्यो । त्यो गस्ती सजिलै फर्किने थियो । कसैलाई पनि शक्तिशाली शत्रुको बीचमा गएर ‘बस्न’ मन हुँदैन ।
पुल ४ को तयारीलाई दोषपूर्ण भन्नु अन्याय थियो । त्यो हेर्नु ब्रिगेडियरको भन्दा पनि तल्ला अफिसरको काम थियो । त्यसमाथि डाल्भी त्यहाँ ७ अक्टोबरमा पुगेका थिए । ८ अक्टोबरमा त्यहाँ मेजर चौधरीको कम्पनीबाहेक अरू कोही थिएन । त्यो कम्पनी पुल १ र पुल २ को रक्षा गरिरहेको बटालियनमातहत थियो र त्यसको नेतृत्व कौलले नै गरिरहेका थिए । त्यसको कुरा निकाल्नु व्यर्थ थियो किनभने उनी आफैँ त्यसका कमान्डर थिए । मेजर चौधरीले १९६२ को युद्धमा ज्यान दिए । उनले अक्टोबर १० मा सेङजोङ पठाइएको टुकडीको नेतृत्व गरेका थिए । उनी र उनको कम्पनीले गैरसैनिक कारबाहीको लागि पुल ४ मा सीमित स्रोतसाधनको भरमा सकेसम्म राम्रो प्रबन्ध गरेका थिए ।
अक्षमता, लापरबाही र ढिलासुस्तीको चित्रण गर्न कौलले पञ्जाब ९ र अन्य केही सैनिकलाई मात्र रणमैदानको राम्रो जानकारी भएको उल्लेख गरेका छन् । ती अन्य सैनिक को थिए र किन उनीहरू त्यहाँ थिए ? यी यावत टिप्पणीबाट कौलले ढोलालाई तयारी अवस्थामा रहेको क्षेत्र देखाउन खोजेका छन् । सत्य त्यो थिएन । कौल आफैँले गोर्खाली र राजपुतहरूलाई पुल ३ र पुल ४ को बीचमा तैनाथ गरेका थिए । ९ अक्टोबरमा यी दुवै बटालियनले त्यो क्षेत्र ओगटिसक्नुपथ्र्यो । यस्तो अपरेसनका लागि उनीहरूले तालिम लिएका थिएनन् । सबैजना एकै समयमा आएका थिए र तल्ला अफिसरहरू यत्तिकै स्थान लिन बाध्य भए ।
जनरल कौलले खराब स्थल चयन गरेकोमा ब्रिगेड कमान्डरलाई बर्खास्त गर्नुपथ्र्यो । कमान्डरलाई उनको गम्भीर गल्तीबारे अपरेसनस्थलमा नभनेर वरिष्ठ कमान्डरले यस्ता कुरा संस्मरणमा लेख्नु ठीक थिएन । जसले १९६२ अक्टोबरसम्म सेनालाई पु¥याएको थियो तिनै व्यक्तिहरूले स्रोतसाधनहीन बहादुरहरूको बारेमा फैसला सुनाउनु अस्वीकार्य थियो ।
दिल्लीबाट ल्याइएको बम
८ र ९ अक्टोबरमा कौलले अपरेसनको विषयमा भेला बोलाए । जनरल प्रसाद, तीनजना कमान्डिङ अफिसर, ब्रिगेड मेजर र अन्य अफिसरहरूको उपस्थिति थियो । १९६२ मे महिनामा ढोला चौकी स्थापना गर्ने कप्तान महावीर प्रसाद विशेष अतिथि थिए । उनलाई थागला क्षेत्रबारे जानकारी भएको बताइएको थियो । कोर ४ को हेडक्वाटर बनेकै थिएन । यी सबै निर्णय स्टाफहरूसँग छलफल नगरी लिइएको थियो । सैन्य सचिवालयले नियुक्तिको कागज थमाउँदै अफिसरहरू पठाइरहेको थियो । उनीहरूलाई थागला कहाँ पर्छ भन्ने पनि थाहा थिएन । देशको गरिमासँग जोडिएको अपरेसनको योजना नक्सा, स्टाफ र प्रशासनिक सहयोगबिना अफिसर थुपार्दैमा तयार हुुन्न । मेजर जाहेरीले कौलका भेलाहरूलाई अनौपचारिक र भारदारीसभाजस्ता भनेका छन् ।
अक्टोबर ८ पुल ३ मै बित्यो । थागलातिर औँल्याउँदै जनरल कौललाई चिनियाँ बन्दोबस्तीबारे बताइयो । उनले डाँडाको खाली ठाउँ र त्यहाँ पुगिने बाटोबारे सोधिरहे । कप्तान प्रसाद नै सूचनाका एकमात्र स्रोत थिए । उनलाई गुप्तचर निकायका प्रतिनिधि र ढोला चौकीका कमान्डरले सघाइरहेका थिए । कौलका प्रश्नहरूपछाडिको नियतबारे कसैले शङ्का गरेन । त्यसपछि उनले कमान्डो समूहहरू बनाएर कब्जा नगरिएका स्थानहरूबारे छलफल गरे । योजना र प्रस्तावको गञ्जागोल थियो । यत्तिकैमा जनरल कौलले रोमेलको मरुभूमि युद्ध, कोरिया युद्ध र त्यसमा चिनियाँहरूको बहादुरी आदिबारे कहानी सुनाए । उनले दिल्लीमा प्रम नेहरूलाई दक्षिणपन्थी तत्व र चिनियाँहरूलाई खेद्न हुँकारिएका अधिकारीहरूले सताइरहेको बताए । यस्तो कुराकानी अपरेसनबारे गरिने छलफलमा हुनु दुःखद थियो । उपस्थित सबैले यस्ता संस्मरण र टिप्पणीहरू सुने । त्यो अत्यन्तै अनौपचारिक थियो । कौलका कुराले कसैलाई तानेन । ८ अक्टोबरको साँझ कौलले सरकारलाई सामरिक कारण देखाएर चिनियाँहरूलाई खेद्ने योजना फिर्ता लिन भन्नेछन् भन्ने उपस्थित अफिसरहरूको आशा थियो । त्यसैले उनले अपरेसनबारे मसिना कुराहरूमा चासो नलिएको उनीहरूले सोचे ।
७, ८ र ९ अक्टोबर प्रत्येक रात जनरल कौलले हेडक्वाटरमा पठाउन सूचना टिपाउँथे । अफिस र लेखनदास नहुनाले डाल्भी र कर्नेल रावले उनका लामालामा रिपोर्टहरू लेख्थे । ब्रिगेडियरलाई यो सुहाउँदो काम थिएन । कौलका रिपोर्टहरू स्पष्ट भाषामा अभाव, गम्भीर परिणाम र पीडादायी सम्भावनाको प्रक्षेपणले भरिएका हुन्थे । तैपनि जनरलको आत्मविश्वासमा कमी आएको थिएन । उनले दिएको जिम्मेवारी पूरा गर्न आफ्नो पूरै शक्ति लगाउने आश्वासनसहित रिपोर्टमा हस्ताक्षर गर्थे । तथ्य र उनको सोझो आशा देखेर डाल्भी रनभुल्लमा पर्थे ।
भोलिपल्ट एकजना पञ्जाबी शिखलाई महत्वपूर्ण सन्देश लिएर लुम्पुतिर दौडाइन्थ्यो । त्यहाँबाट जिमिथाङ फोन सन्देश टिपाइन्थ्यो । त्यहाँबाट सो सन्देश तेजपुर, दिल्ली र लखनउ पठाइन्थ्यो । १९६२ अक्टोबरको सञ्चार प्राचीन शैलीको थियो । ३ दिनमा सन्देश दिल्ली पुग्थ्यो । पहिलो यस्तो सन्देश पाएर रक्षामन्त्री मेनन चिढिए । उनले पूर्वी कमान्डका सञ्चार अफिसरलाई बर्खास्त गर्नुपर्ने माग राखे । उनलाई पुरानो खालको सञ्चार प्रणालीबारे सम्झाउन गा¥हो थियो । तिनताका हरेक समस्याको एउटै समाधान कसैलाई गलहत्याउनु थियो । वर्षौँदेखि हिमाली भेगका सेनालाई उपयुक्त उपकरणहरूबाट वञ्चित गरिएको तथ्य सजिलै बेवास्ता गरिन्थ्यो ।
अक्टोबर ९ को दुर्भाग्यपूर्ण दिन आयो । एकाबिहानै दोस्रो बैठक बोलाइयो । जनरल कौलले आफ्नो ‘मूल्याङ्कन’ सुनाए । उनले सैनिक दुरवस्थाका कारण भौतिकरूपमा चिनियाँहरूलाई खेद्न असम्भव भएको बताए । उनले थागला कब्जा गरे पनि त्यसलाई कब्जामा राखिरहन नसकिने आभाष पाएको हुनुपर्छ । त्यसपछि उनले बैठकमा दिल्लीबाट ल्याएको बम फाले । उनले सैन्य कारबाहीका लागि कठोर तथ्यहरू प्रतिकूल भए पनि आफूसँग अक्टोबर १० मा केही गर्नुको विकल्प नभएको बताए किनभने त्यो नै मन्त्रिमण्डलको अन्तिम म्याद वा त्यस्तै केही थियो । कौलको भनाइअनुसार जनरल सेनले सरकारलाई २९ सेप्टेम्बरमा चिनियाँहरूलाई खेद्ने भनेका थिए, त्यसपछि उनले अक्टोबर १ भने, अन्तमा उनले अक्टोबर ५ भने । जनरल सेनले दिल्लीमा अघिल्लो पङ्क्तिका सैनिकहरूले ढिलासुस्ती गरेको बताएका थिए, त्यसकारण कौललाई अपरेसन तीव्र पार्न भनिएको थियो । हिउँ पर्नुभन्दा अघि नै चिनियाँहरूलाई खेद्नैपथ्र्यो । सेनाको म्याद हेरफेर भइरहँदा मन्त्रिमण्डल झिँजिएको थियो । सेनाले नै चिनियाँहरूलाई खेद्ने आशा देखाई राजनीतिज्ञहरूलाई भ्रममा राखेको दाबी गरे । कौलले चिनियाँहरूलाई खेद्नु राष्ट्रको हितमा रहेको बताए र यस उद्देश्यका लागि आवश्यक प¥यो भने देश २०,००० जीवन बलिदान गर्न तयार रहेको बताए । उनले उपस्थित अफिसरहरूको आत्मबल उच्च रहने आशा लिए । त्यो नै समग्र कारबाहीको विभत्स तस्वीर थियो ।
थागलामाथि सीधै आक्रमण गर्नुभन्दा पनि कौलले चिनियाँहरूको बीचमा गएर बस्ने आफ्नो नीतिअनुरूप युमसोला कब्जा गर्ने र त्यहीँ बस्ने निधो गरे किनभने युमसोला थागलाको पश्चिममा पथ्र्यो । त्यसबेला चिनियाँहरूले थागलाको शिखर कब्जा गरेका थिएनन् । यति गरेपछि सेनाले आदेश पालना गर्न आफूले सकेको ग¥यो भनी सरकार सन्तुष्ट हुने थियो । मिति सार्ने छुट आफूसँग नभएको भन्दै कौलले अपरेसनलाई अक्टोबर १० मै टुङ्गो लगाउनुपर्नेमा बारम्बार जोड दिए । अक्टोबर ९ सम्म ब्रिगेड ७ लाई कष्ट झेल्दै भए पनि ढोलामा केन्द्रित हुनुपर्ने आदेशको मर्म बल्ल स्पष्ट भयो । तेजपुरमा ब्रिगेड ७ को केन्द्रीकरणबारे भइरहेको प्रगति विषयक छलफलको कारण पनि यही थियो । यसरी खराब रणनीतिक स्थल, ब्रिगेडियरको खराब योजना र खराब रणमैदान आदिको गनगन यही टुङ्गियो । ती सबै अक्टोबर ९ गल्तीलाई ढाकछोप गर्नका लागि थिए । कौलले ‘युद्धलाई सरकारी अधिकारीहरूको खेलमा फेर्ने कामको नेतृत्व लिने’ निधो गरेका थिए ।
त्यसपछि कौलले राजपुत २ लाई युमसोला जाने र १९६२ अक्टोबर १० मा चिनियाँहरूको आडमा गएर बस्ने आदेश दिए । यो आदेश दिँदा राजपुतहरू कार्पोला १ भञ्ज्याङको कठोर भ्रमणबाट तङ्ग्रिँदै थिए । तीव्र अभाव र खराब रणनीतिक अवस्था हुँदाहुँदै पनि जनरल कौलले राजपुत र गोर्खालीहरूलाई नाम्का चूमा केन्द्रित हुने आदेश दिएका थिए । साङधरबाट नाम्का चू पस्ने सैनिकहरूले चिनियाँहरू सजिलै देख्न सक्थे । ठूलो सङ्ख्यामा सैनिकहरू पसेको देखेर चिनियाँहरू सतर्क भएको हुनुपर्छ । अर्को दिनको उनीहरूको कडा प्रतिकार यसकै परिणाम थियो । यसप्रकार पूरै ब्रिगेड कौलको आदेशमा ढोलाको ज्यानमारा जालोमा जम्मा भएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *