भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
माथिका कुराबाट निम्न दुई तथ्य कौलले छोपेका छन् :
१. कौलले ८ र ९ अक्टोबरमा राजपुत र गोर्खालीहरूलाई साङधरबाट ढोला क्षेत्रमा आउने आदेश दिएका थिए । (यी दुवै दल अक्टोबर ५ मा लुम्पुबाट हिँडेका थिए ।)
२. उनले राजपुत २ लाई १० अक्टोबरमा ढोलाबाट युमसोला पुग्नुपर्ने र चिनियाँहरूको छेउमा बस्नुपर्ने आदेश ९ अक्टोबरमा जारी गरेका थिए ।
कौलले अरूमाथि दोष थोपरेर आफू उम्किने सोचे । यसको लागि उनले उनीहरूकै तर्कको प्रयोग गरे । उनले ब्रिगेडियरको योजना लागू गर्न आफू बाध्य भएको र त्यसलाई नियन्त्रण गर्न वा आफूलाई त्यसको जिम्मेवारी नलिन नसक्ने देखाउन खोजे किनभने उनलाई सरकारले चिनियाँहरूलाई हिउँ पर्नुभन्दा अगाडि नै खेद्ने म्याद दिएको थियो । आफू नियुक्त हुनुभन्दा अगाडि उल्टाउनै नसकिने काम थालिएको उनको जिकिर छ ।
वास्तवमा ढोलालाई कुनै अपरेसनको लागि छनोट गरिएको थिएन । कौलले नाम्का चू पुगेर चिनियाँहरूलाई धपाउने हतारोमा समस्याको पृष्ठभूमिबारे राम्ररी अध्ययन गरेनन् । ब्रिगेडलाई जटिल स्थानमा पठाउनुअघि उनले ब्रिगेडियरसँग पनि सल्लाह गरेनन् । अक्टोबर ५ मा लुम्पुमा डाल्भीलाई भेटेर उनले विद्यमान परिस्थितिको बारेमा सोधेको भए सैन्य मूल्याङ्कन र योजनाबारे थाहा पाउने थिए । उनलाई कसैले केही नबताउनु पत्यारिलो छैन । ढोलामा पठाइएका सैनिकहरू चौकी स्थापना गरेको आसाम राइफल्सलाई चिनियाँ खतराबाट आड दिनलाई थियो । ब्रिगेड ७ को जिम्मेवारी चिनियाँ घुसपैठ रोक्नु मात्र थियो । पञ्जाब ९ लाई सीमाको निगरानी गर्न पठाइएको थियो । कमान्ड प्रमुखले सेना प्रमुखको सेप्टेम्बर १३ र १४ को आदेशअनुसार त्यसो गरेका थिए । थागला छोडेको भए साङधर र हाथुङला सुहाउँदा रणनीतिक स्थल हुनसक्थे । तर, राजनीतिकरूपमा दुई माइल भूमि छोडेर दक्षिण फर्किनु सोचबाहिरको कुरा थियो । आफ्नो भूमिमा चौकी बनाउने अधिकारलाई मूल मुद्दा मानिएको थियो । ढोला क्षेत्र कागजमा सामरिक स्थान देखिन्थ्यो र त्यसले ब्रिगेड ७ नाम्का चूमा कसरी ध्वस्त हुनसक्थ्यो भन्ने कुरा ढाकिन्थ्यो ।
कौलको नियुक्तिभन्दा पहिले नाम्का चूमा एक बटालियन सेना थिए र बाँकी ब्रिगेड लुम्पुमा थियो । सेप्टेम्बर २८ कै योजना लागू गरेको भए पनि दुई बटालियन सेनाले ढोला छल्दै साङधर हुँदै साङलेतिर जाने थिए । यी यावत कारणले जनरल कौल आफैँले ढोला क्षेत्रलाई आफ्नो योजनाको लागि छनोट गरेको देखाउँछ । उनले नै राजपुत र गोर्खालीहरूलाई लुम्पुबाट ढोला जाने आदेश दिएका थिए ।
ढोला गलत स्थान हुन्थ्यो भने जनरल कौलले अक्टोबर ७ मै त्यसलाई गलत भन्न सक्थे । एक कम्पनी रहेको ढोलामा किन उनले पूरै ब्रिगेडलाई आउन दिए ? मेजर एसआर जोहरीले आफ्नो पुस्तकमा कौलले त्यस क्षेत्रमा ४ दिन बिताइसकेको हुनाले गतिलो स्थान छनोट नगर्नुमा उनकै दोष देखाएका छन् । वास्तवमा ढोलालाई प्रयोग गर्न कौल बाध्य थिए किनभने त्यो सबैभन्दा छोटो, छिटो र उनको योजनासँग मेल खाने एकमात्र स्थान थियो । १० अक्टोबरसम्म उनले काम फत्ते गर्नका लागि साङले–सेङजोङको बाटो लामो हुने थियो । त्यस बाटोमा फौजको बन्दोबस्ती मिलाउन सकिन्नथ्यो । त्यस बाटोमा सेना कम्तीमा ८÷१० हिँडिरहनुपथ्र्यो । त्यसबाहेक उनीहरूले आराम पनि गर्नुपथ्र्यो । मन्त्रिमण्डलले छनोट गरेको १० अक्टोबर त्यसबेलासम्म घर्किसक्थ्यो । त्यसकारण यसमा कौलले जनरल सेनमाथि दोष थोपर्नु अन्याय थियो ।
अक्टोबर ८ मा केन्द्रित पुरानो योजनाले कौललाई दर्शकमात्र बनाई चरप्प कसेको विषयमा जाऔँ । वास्तवमा सो योजना काम नलाग्ने भइसकेको थियो । त्यसमा भनिएको सीमित गस्ती अक्टोबर ८ मा पठाइएको थिएन । त्यो योजना चालू हुन्थ्यो नै भने पनि त्यसमा ढिलो किन गरियो वा त्यसको घुमाउरो बाटो फेरेर सीधै अगाडि जाने सोचियो ? सत्य के हो भने ७ वा ८ मा कसैलाई पनि कतै जाने आदेश दिइएको थिएन । सबैजना कौलको जाँचबुझको नतिजा पर्खेर बसिरहेका थिए । उनको मूल्याङ्कन र नयाँ आदेशको पर्खाइ सबैलाई थियो ।
कौलले नाम्का चूपारि जाने योजनाबारे थाहा पाएको हुनुपर्छ । ७ तारिखको दिउँसोदेखि उनी ब्रिगेडियरहरूसँगै थिए । उनले विभिन्न अपरेसनका अवस्थाहरूबारे छलफल गरिरहेको लेखेका छन् । उनको कुरा अस्पष्ट छ । उनले नाम्का चूको संवेदनशील क्षेत्रमा पठाउने विषय छलफलबाट तय भएको थिएन । उनले स्थानीय अफिसरहरूसँग त्यस विषयमा छलफल गरेका थिएनन् । गरेका हुन्थे भने ती अफिसरले राम्रै सल्लाह दिने थिए । पुराना योजनालाई अपजस दिने विषयलाई मेजर जाहेरीको पुस्तकमा गजबले उदाङ्ग्याइएको छ । सारमा जाहेरीको कथन यस्तो छ – “कोर ४ का कमान्डर अक्टोबर ६ देखि ११ सम्म ढोला क्षेत्रमा थिए । घटनास्थलमा उपस्थित सबैभन्दा उच्च अधिकारीको नाताले ब्रिगेडका लागि बनाइएको अपरेसनको योजना उनले नै प्रमाणित गरेको हुनुपर्छ । कौलजस्तो व्यक्ति ऐतिहासिक क्षणमा पर्यवेक्षकमात्र नभएका होलान् । त्यसैले साङले कब्जा गर्ने विचार ब्रिगेड कमान्डरको थियो भन्न मिल्दैन । त्यहाँ रहेका सबै अफिसरहरूको धेरैथोरै दोष थियो । कौलको उपस्थितिले चिनियाँहरूमाथि आक्रमण गर्ने योजनाको कार्यान्वयनको जिम्मेवारी उनकै काँधमा आउँछ । उनी कोर कमान्डर थिए र त्यस क्षेत्रमा उनको बोली नै कानुन हुन्थ्यो । ब्रिगेडियर डाल्भीको योजना भने पनि उनले प्रमाणित गरेकाले त्यो योजना कोर कमान्डरको थियो र भारतीय सेनाको थियो ।”
कौलले कारबाही रोक्न ढिलो भइसकेको बताएका छन् । कम्पनी वायरलेस उपकरणको माध्यमबाट निरन्तर सम्पर्कमा थियो । त्यसलाई कुनै पनि बेला फर्काउन सकिन्थ्यो । त्यो गस्ती सजिलै फर्किने थियो । कसैलाई पनि शक्तिशाली शत्रुको बीचमा गएर ‘बस्न’ मन हुँदैन ।
पुल ४ को तयारीलाई दोषपूर्ण भन्नु अन्याय थियो । त्यो हेर्नु ब्रिगेडियरको भन्दा पनि तल्ला अफिसरको काम थियो । त्यसमाथि डाल्भी त्यहाँ ७ अक्टोबरमा पुगेका थिए । ८ अक्टोबरमा त्यहाँ मेजर चौधरीको कम्पनीबाहेक अरू कोही थिएन । त्यो कम्पनी पुल १ र पुल २ को रक्षा गरिरहेको बटालियनमातहत थियो र त्यसको नेतृत्व कौलले नै गरिरहेका थिए । त्यसको कुरा निकाल्नु व्यर्थ थियो किनभने उनी आफैँ त्यसका कमान्डर थिए । मेजर चौधरीले १९६२ को युद्धमा ज्यान दिए । उनले अक्टोबर १० मा सेङजोङ पठाइएको टुकडीको नेतृत्व गरेका थिए । उनी र उनको कम्पनीले गैरसैनिक कारबाहीको लागि पुल ४ मा सीमित स्रोतसाधनको भरमा सकेसम्म राम्रो प्रबन्ध गरेका थिए ।
अक्षमता, लापरबाही र ढिलासुस्तीको चित्रण गर्न कौलले पञ्जाब ९ र अन्य केही सैनिकलाई मात्र रणमैदानको राम्रो जानकारी भएको उल्लेख गरेका छन् । ती अन्य सैनिक को थिए र किन उनीहरू त्यहाँ थिए ? यी यावत टिप्पणीबाट कौलले ढोलालाई तयारी अवस्थामा रहेको क्षेत्र देखाउन खोजेका छन् । सत्य त्यो थिएन । कौल आफैँले गोर्खाली र राजपुतहरूलाई पुल ३ र पुल ४ को बीचमा तैनाथ गरेका थिए । ९ अक्टोबरमा यी दुवै बटालियनले त्यो क्षेत्र ओगटिसक्नुपथ्र्यो । यस्तो अपरेसनका लागि उनीहरूले तालिम लिएका थिएनन् । सबैजना एकै समयमा आएका थिए र तल्ला अफिसरहरू यत्तिकै स्थान लिन बाध्य भए ।
जनरल कौलले खराब स्थल चयन गरेकोमा ब्रिगेड कमान्डरलाई बर्खास्त गर्नुपथ्र्यो । कमान्डरलाई उनको गम्भीर गल्तीबारे अपरेसनस्थलमा नभनेर वरिष्ठ कमान्डरले यस्ता कुरा संस्मरणमा लेख्नु ठीक थिएन । जसले १९६२ अक्टोबरसम्म सेनालाई पु¥याएको थियो तिनै व्यक्तिहरूले स्रोतसाधनहीन बहादुरहरूको बारेमा फैसला सुनाउनु अस्वीकार्य थियो ।
दिल्लीबाट ल्याइएको बम
८ र ९ अक्टोबरमा कौलले अपरेसनको विषयमा भेला बोलाए । जनरल प्रसाद, तीनजना कमान्डिङ अफिसर, ब्रिगेड मेजर र अन्य अफिसरहरूको उपस्थिति थियो । १९६२ मे महिनामा ढोला चौकी स्थापना गर्ने कप्तान महावीर प्रसाद विशेष अतिथि थिए । उनलाई थागला क्षेत्रबारे जानकारी भएको बताइएको थियो । कोर ४ को हेडक्वाटर बनेकै थिएन । यी सबै निर्णय स्टाफहरूसँग छलफल नगरी लिइएको थियो । सैन्य सचिवालयले नियुक्तिको कागज थमाउँदै अफिसरहरू पठाइरहेको थियो । उनीहरूलाई थागला कहाँ पर्छ भन्ने पनि थाहा थिएन । देशको गरिमासँग जोडिएको अपरेसनको योजना नक्सा, स्टाफ र प्रशासनिक सहयोगबिना अफिसर थुपार्दैमा तयार हुुन्न । मेजर जाहेरीले कौलका भेलाहरूलाई अनौपचारिक र भारदारीसभाजस्ता भनेका छन् ।
अक्टोबर ८ पुल ३ मै बित्यो । थागलातिर औँल्याउँदै जनरल कौललाई चिनियाँ बन्दोबस्तीबारे बताइयो । उनले डाँडाको खाली ठाउँ र त्यहाँ पुगिने बाटोबारे सोधिरहे । कप्तान प्रसाद नै सूचनाका एकमात्र स्रोत थिए । उनलाई गुप्तचर निकायका प्रतिनिधि र ढोला चौकीका कमान्डरले सघाइरहेका थिए । कौलका प्रश्नहरूपछाडिको नियतबारे कसैले शङ्का गरेन । त्यसपछि उनले कमान्डो समूहहरू बनाएर कब्जा नगरिएका स्थानहरूबारे छलफल गरे । योजना र प्रस्तावको गञ्जागोल थियो । यत्तिकैमा जनरल कौलले रोमेलको मरुभूमि युद्ध, कोरिया युद्ध र त्यसमा चिनियाँहरूको बहादुरी आदिबारे कहानी सुनाए । उनले दिल्लीमा प्रम नेहरूलाई दक्षिणपन्थी तत्व र चिनियाँहरूलाई खेद्न हुँकारिएका अधिकारीहरूले सताइरहेको बताए । यस्तो कुराकानी अपरेसनबारे गरिने छलफलमा हुनु दुःखद थियो । उपस्थित सबैले यस्ता संस्मरण र टिप्पणीहरू सुने । त्यो अत्यन्तै अनौपचारिक थियो । कौलका कुराले कसैलाई तानेन । ८ अक्टोबरको साँझ कौलले सरकारलाई सामरिक कारण देखाएर चिनियाँहरूलाई खेद्ने योजना फिर्ता लिन भन्नेछन् भन्ने उपस्थित अफिसरहरूको आशा थियो । त्यसैले उनले अपरेसनबारे मसिना कुराहरूमा चासो नलिएको उनीहरूले सोचे ।
७, ८ र ९ अक्टोबर प्रत्येक रात जनरल कौलले हेडक्वाटरमा पठाउन सूचना टिपाउँथे । अफिस र लेखनदास नहुनाले डाल्भी र कर्नेल रावले उनका लामालामा रिपोर्टहरू लेख्थे । ब्रिगेडियरलाई यो सुहाउँदो काम थिएन । कौलका रिपोर्टहरू स्पष्ट भाषामा अभाव, गम्भीर परिणाम र पीडादायी सम्भावनाको प्रक्षेपणले भरिएका हुन्थे । तैपनि जनरलको आत्मविश्वासमा कमी आएको थिएन । उनले दिएको जिम्मेवारी पूरा गर्न आफ्नो पूरै शक्ति लगाउने आश्वासनसहित रिपोर्टमा हस्ताक्षर गर्थे । तथ्य र उनको सोझो आशा देखेर डाल्भी रनभुल्लमा पर्थे ।
भोलिपल्ट एकजना पञ्जाबी शिखलाई महत्वपूर्ण सन्देश लिएर लुम्पुतिर दौडाइन्थ्यो । त्यहाँबाट जिमिथाङ फोन सन्देश टिपाइन्थ्यो । त्यहाँबाट सो सन्देश तेजपुर, दिल्ली र लखनउ पठाइन्थ्यो । १९६२ अक्टोबरको सञ्चार प्राचीन शैलीको थियो । ३ दिनमा सन्देश दिल्ली पुग्थ्यो । पहिलो यस्तो सन्देश पाएर रक्षामन्त्री मेनन चिढिए । उनले पूर्वी कमान्डका सञ्चार अफिसरलाई बर्खास्त गर्नुपर्ने माग राखे । उनलाई पुरानो खालको सञ्चार प्रणालीबारे सम्झाउन गा¥हो थियो । तिनताका हरेक समस्याको एउटै समाधान कसैलाई गलहत्याउनु थियो । वर्षौँदेखि हिमाली भेगका सेनालाई उपयुक्त उपकरणहरूबाट वञ्चित गरिएको तथ्य सजिलै बेवास्ता गरिन्थ्यो ।
अक्टोबर ९ को दुर्भाग्यपूर्ण दिन आयो । एकाबिहानै दोस्रो बैठक बोलाइयो । जनरल कौलले आफ्नो ‘मूल्याङ्कन’ सुनाए । उनले सैनिक दुरवस्थाका कारण भौतिकरूपमा चिनियाँहरूलाई खेद्न असम्भव भएको बताए । उनले थागला कब्जा गरे पनि त्यसलाई कब्जामा राखिरहन नसकिने आभाष पाएको हुनुपर्छ । त्यसपछि उनले बैठकमा दिल्लीबाट ल्याएको बम फाले । उनले सैन्य कारबाहीका लागि कठोर तथ्यहरू प्रतिकूल भए पनि आफूसँग अक्टोबर १० मा केही गर्नुको विकल्प नभएको बताए किनभने त्यो नै मन्त्रिमण्डलको अन्तिम म्याद वा त्यस्तै केही थियो । कौलको भनाइअनुसार जनरल सेनले सरकारलाई २९ सेप्टेम्बरमा चिनियाँहरूलाई खेद्ने भनेका थिए, त्यसपछि उनले अक्टोबर १ भने, अन्तमा उनले अक्टोबर ५ भने । जनरल सेनले दिल्लीमा अघिल्लो पङ्क्तिका सैनिकहरूले ढिलासुस्ती गरेको बताएका थिए, त्यसकारण कौललाई अपरेसन तीव्र पार्न भनिएको थियो । हिउँ पर्नुभन्दा अघि नै चिनियाँहरूलाई खेद्नैपथ्र्यो । सेनाको म्याद हेरफेर भइरहँदा मन्त्रिमण्डल झिँजिएको थियो । सेनाले नै चिनियाँहरूलाई खेद्ने आशा देखाई राजनीतिज्ञहरूलाई भ्रममा राखेको दाबी गरे । कौलले चिनियाँहरूलाई खेद्नु राष्ट्रको हितमा रहेको बताए र यस उद्देश्यका लागि आवश्यक प¥यो भने देश २०,००० जीवन बलिदान गर्न तयार रहेको बताए । उनले उपस्थित अफिसरहरूको आत्मबल उच्च रहने आशा लिए । त्यो नै समग्र कारबाहीको विभत्स तस्वीर थियो ।
थागलामाथि सीधै आक्रमण गर्नुभन्दा पनि कौलले चिनियाँहरूको बीचमा गएर बस्ने आफ्नो नीतिअनुरूप युमसोला कब्जा गर्ने र त्यहीँ बस्ने निधो गरे किनभने युमसोला थागलाको पश्चिममा पथ्र्यो । त्यसबेला चिनियाँहरूले थागलाको शिखर कब्जा गरेका थिएनन् । यति गरेपछि सेनाले आदेश पालना गर्न आफूले सकेको ग¥यो भनी सरकार सन्तुष्ट हुने थियो । मिति सार्ने छुट आफूसँग नभएको भन्दै कौलले अपरेसनलाई अक्टोबर १० मै टुङ्गो लगाउनुपर्नेमा बारम्बार जोड दिए । अक्टोबर ९ सम्म ब्रिगेड ७ लाई कष्ट झेल्दै भए पनि ढोलामा केन्द्रित हुनुपर्ने आदेशको मर्म बल्ल स्पष्ट भयो । तेजपुरमा ब्रिगेड ७ को केन्द्रीकरणबारे भइरहेको प्रगति विषयक छलफलको कारण पनि यही थियो । यसरी खराब रणनीतिक स्थल, ब्रिगेडियरको खराब योजना र खराब रणमैदान आदिको गनगन यही टुङ्गियो । ती सबै अक्टोबर ९ गल्तीलाई ढाकछोप गर्नका लागि थिए । कौलले ‘युद्धलाई सरकारी अधिकारीहरूको खेलमा फेर्ने कामको नेतृत्व लिने’ निधो गरेका थिए ।
त्यसपछि कौलले राजपुत २ लाई युमसोला जाने र १९६२ अक्टोबर १० मा चिनियाँहरूको आडमा गएर बस्ने आदेश दिए । यो आदेश दिँदा राजपुतहरू कार्पोला १ भञ्ज्याङको कठोर भ्रमणबाट तङ्ग्रिँदै थिए । तीव्र अभाव र खराब रणनीतिक अवस्था हुँदाहुँदै पनि जनरल कौलले राजपुत र गोर्खालीहरूलाई नाम्का चूमा केन्द्रित हुने आदेश दिएका थिए । साङधरबाट नाम्का चू पस्ने सैनिकहरूले चिनियाँहरू सजिलै देख्न सक्थे । ठूलो सङ्ख्यामा सैनिकहरू पसेको देखेर चिनियाँहरू सतर्क भएको हुनुपर्छ । अर्को दिनको उनीहरूको कडा प्रतिकार यसकै परिणाम थियो । यसप्रकार पूरै ब्रिगेड कौलको आदेशमा ढोलाको ज्यानमारा जालोमा जम्मा भएको थियो ।
Leave a Reply