के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
जनरल कौल जाँदै गर्दा
कौलको टोली फर्केपछि डाल्भीले सेङजोङको डरलाग्दो लडाइँमा ध्यान दिए । उनले पुल ४ पारि चलेको देखिरहेका थिए । पञ्जाबीहरूमाथि चिनियाँ गोली बर्सिरहेको थियो । डाल्भीलाई बित्थामा ज्यान फालिरहेको लाग्यो । चिनियाँहरूको आडमा बस्ने खेललाई उनले दुत्कारे । अहिंसात्मक युद्धलाई दुत्कारे ।
लगत्तै डाल्भी जीवनको सबैभन्दा पीडादायी क्षणमा पुगे । मेजर चौधरीले आफ्नो टोलीलाई बाहिर निकाल्न पछाडिबाट गोलाबारीको सहयोग दिन अपिल गरे । कर्नेल मिश्राले त्यो अनुरोध डाल्भीलाई सुनाए र तत्काल सहायता गर्न भने । डाल्भी पुल ४ नजिकै राखिएका तोप र मेसिनगननिर उभिएका थिए । ती हतियार सम्हालिरहेका सैनिकले पनि गोलाबारी गर्ने आदेश दिन बिन्ती बिसाए । डाल्भीले त्यो आदेश दिएनन् । यसका लागि उनले जिम्मेवारी लिएका छन् । उनलाई अरूलाई जोखिममा पार्न चाहँदैनथे । ठूलो टोलीको संहार हुनबाट रोक्न आवश्यक थियो । सानो सीमा झडपलाई १२ माइल लामो लडाइँमा फेर्नसक्ने आदेशको जिम्मेवारी कमान्डरको रूपमा डाल्भीले लिनुपर्ने थियो । सैन्य सिद्धान्तअनुसार कमान्डरले सानो टुकडीलाई सघाउन मुख्य टोलीलाई सङ्कटमा पार्नु हुँदैन ।
एक त सेङजोङ भारतीय गोलाबारीको पहुँचबाट टाढा थियो । गस्ती टोलीले तारो देखाउन सक्दैनथ्यो । प्राविधिक कारणले पनि डाल्भीले सहायक गोलाबारी गर्न अनुमति दिएनन् । सेङजोङमाथिको पहिलो चिनियाँ आक्रमण विफल भएपछि उनीहरू त्यसलाई घेर्ने सोचले आइरहेको देखिन्थ्यो । यो कुरा डाल्भी र हतियार टोलीहरूले निकालिरहेका थिए । गोलाबारी गरेको खण्डमा चिनियाँहरू खोलाको दक्षिण किनारमा तानिन सक्थे । यसबाट गस्ती टोलीको सुरक्षा पनि प्रत्याभूत हुने थिएन । डाल्भीले गोलाबारीको आदेश नदिनुका कारण निम्न थिए ः
१. राजपुतहरू पुल ३, ४ र फड्केहरूबीच छरिएका थिए । चिनियाँ मेसिनगनले साँघुरो नाम्का चूमा उनीहरूलाई खुलमखुला भटाभट मार्न सक्थ्यो । गोर्खालीहरूको पनि उस्तै हाल हुने थियो ।
२. गोलाबारी गरेकै भए पनि त्यसमा धेरै समय टिक्न सकिन्नथ्यो । भारतीय हतियारहरू चिनियाँहरूले प्रस्ट देख्न सक्थे । हतियार राख्न मिल्ने सुरक्षित स्थान थिएनन् । गोलाबारीको दायरा सानो थियो । शत्रुको छोटो आक्रमणले नै भारतीय गोलाबारी रोक्न सक्थ्यो ।
३. भारतसँग ३ इन्चको मुख भएका २ तोप र २ मेसिनगन थिए । दुवैका गोली आधा घण्टामा रित्तिन्थे । केहीबेरको गोलाबारीमै ती हतियार काम लाग्दैनथे र भारतीय फौज निःशस्त्र हुने थियो ।
४. प्रत्येक सिपाहीसित ५० गोली थिए र हलुका मेसिनगनमा ५०० गोली थिए र तिनीहरू ठूलो झडपको लागि तयारी अवस्थामा थिएनन् ।
५. जनरल कौल दिल्ली जान पुल १ जाँदै थिए । उनको बाटो चिनियाँहरूको समानान्तर भएर जान्थ्यो । उनी बाटोमै थिए । गोलाबारी गरेमा चौतर्फी प्रतिकार हुनसक्थ्यो र उनको ज्यान जोखिममा पर्नसक्थ्यो । कौल डाल्भीको ब्रिगेडको भाग्य निर्धारण गर्न जाँदै थिए ।
पछि फर्केर हेर्दा चिनियाँहरू मौका ढुकेर बसिरहेका थिए । गोलाबारी गरेको खण्डमा उनीहरूले मौका पाउने थिए । त्यसै पनि उनीहरूले निहुँ खोजिरहेका थिए । अनावश्यक जङ्गिने भारतीय प्रेस र सरकारी अधिकारीहरूले यस्ता भिडन्तलाई भारतको भूमिमा चौकी स्थापना गर्ने चिनियाँ प्रयास ठान्थे र तिनलाई धपाइएको भन्थे ।
गहु्रङ्गो मन लिएर पञ्जाबीहरू पछि हट्दै पुल ४ मा आएको देखियो । घाइतेहरू सीधै फड्केनजिक आए । चिनियाँहरूले उनीहरूलाई आफ्नो नियन्त्रणमा रहेको बाटो प्रयोग गर्न दिएजस्तो देखिन्थ्यो । उनीहरूले चलाखीपूर्वक आफूहरू युद्धको पक्षमा नरहेको तर नाम्का चू पार गर्न खोजेमा प्रतिकार गर्ने सन्देश दिइरहेका थिए । केही समयपछि चिनियाँहरूले भारतीय सैनिकको लासको तह लगाइरहेका थिए र तिनलाई सैनिक सम्मानसहित जमिनमा गाडिरहेका थिए । यसले भारतीय जवानहरूमा प्रभाव छोड्यो । यी सबै भारतीय जवानहरूको मन जित्ने र तिनको मनोबल घटाउने चिनियाँ खेल थियो ।
(चिनियाँहरूप्रतिको डाल्भीको वैरभाव गजबको छ ! खासमा चिनियाँ गतिविधिबाट वर्गीय भावना स्पष्ट हुन्छ । पुँजीवादी प्रजातन्त्रमा विश्वास गर्ने डाल्भीले त्यो कुरा नबुझ्नु स्वाभाविक छ ।)
अक्टोबर १० को झडपले भारत र बाहिर तरङ्ग ल्यायो । सही अर्थमा सेङजोङको घटना लडाइँ थिएन । चिनियाँहरूले भारतकै भूमिमा भारतीय गस्तीमाथि आक्रमण गरेको थियो । भारतले आक्रमण गरेको थिएन । चिनियाँहरूमाथि आक्रमण गर्नसक्ने भारतसँग साधन नै थिएन ।
(डाल्भीले लाज छोप्न भारतीय भूमि लेख्छन् । उनलाई थाहा थियो, ढोला चिनियाँ वा कम्तीमा विवादित भूमि थियो । फेरि अर्काको भूमिमा सेना पसेपछि आक्रमण नै ठहरिन्छ । गोली चलाइरहन आवश्यक हुन्न । त्यसैले भारतले आक्रमण गरेको थिएन भन्ने उनको तर्क मिल्दैन ।) चीनले नेफा युद्धमा भारतले आक्रमण गरेको थियो र आफूले प्रतिरोधमात्र गरेको भनी यस घटनालाई प्रयोग ग¥यो । अक्टोबर १० को तुलनात्मक सैन्य अवस्था देखेर आक्रमण गर्न सोच्ने कमान्डर बौलाहा हुनुपथ्र्यो । (जनरल कौलले सो सनकी काम आँटेको डाल्भीकै विवरणबाट पुष्टि हुँदैन र ?)
सेङजोङ झडप थागडा डाँडाको चिनियाँ सेनाविरुद्ध योजनाबद्ध अपरेसन थिएन । डाँडामा चौकी स्थापना गर्ने हतारोमा त्यसो हुन गएको थियो । अग्ला भञ्ज्याङ र कष्टदायी थकानपूर्ण बाटा हिँडेर आइपुगेका भारतीय सैनिकलाई आराम र उपकरणहरूको आवश्यकता थियो । उनीहरूलाई सजिलै युमसोला पुग्न भनियो । चिनियाँहरूले प्रतिकार नगरेमा मात्र लागू हुने योजना जनरल कौलले बनाए । कौल आफैँले स्वीकारेका छन्, “सेङजोङ कब्जा गरेर विगतमा जस्तै हामीले खास मैदान लिएपछि त्यो हाम्रो हुनेछ र त्यसलाई कसैले चुनौती दिनेछैन भन्ने हामीले आशा गरेका थियौँ ।” त्यो योजनाका धेरै कमजोरीहरू थिए । जवानहरू भिजेका थिए । उनीहरूका औँलाहरू हिँउले खाएका थिए । उनीहरू लगातार हिँडिरहेका थिए । उनीहरूले हिलो, पहाड र झरी भोगिरहेका थिए । चिसोका कारण धेरैजना बिरामी थिए । धेरैले चिसोकै कारण ज्यान गुमाएका थिए । तर, उनीहरू युमसोला पुगेपछि तङ्ग्रिन सक्ने र चिनियाँहरूको आडमा बस्न सक्ने सोचिएको थियो !
अक्टोबर १० को घटना अपर्झट भएको थियो । हिउँ नपर्दै चिनियाँहरूलाई खेद्नुपर्ने मन्त्रिमण्डलको निर्णयका कारण त्यसो हुन गएको थियो । यसका दुई आधार थिए । एक, चिनियाँहरूको सदाचारमाथि भरपर्नु । दुई, चिनियाँ सैन्य शक्तिलाई न्यूनाङ्कन गर्नु । (आफ्नो भूमि अतिक्रमण गर्न आउनेलाई दुई हात जोडेर स्वागत गरिन्न । एक सैनिकको हैसियतले डाल्भीले यो कुरा बुझ्नुपर्ने हो ।) अर्को शब्दमा, सो घटना सक्दो बल प्रयोग गरी चिनियाँहरूलाई खेद्ने राजनीतिक जुवा खेलाइको परिणाम थियो । लडाइँको हुँकार गरिरहेका जनतालाई शान्त पार्न असमयमा अपरेसन सञ्चालन गरिएको थियो । चिनियाँ मनस्थिति नबुझ्नु भूल थियो । दिनदहाडै चिनियाँ प्रतिकारबिना थागडा डाँडा चढ्ने सोचिएको थियो । स्थानीय अफिसरहरूको कुरा सरकारले सुनेन । त्यस्ता गुनासालाई कौलले पन्छ्याइदिए । कौलको नियुक्तिलाई खुब उछालियो । चिनियाँहरू आफैँ पछि सर्नुपर्ने नत्र अहिंसात्मक विरोधमा सामेल हुने चेतावनी दिइएको थियो । यही कमजोर जगमा समग्र अभियान सञ्चालन गरिएको थियो । चिनियाँहरू सैन्य प्रतिकारमा उत्रिँदैनन् भन्ने विचारको अर्थमा भारतीय राजनेता, उच्च अधिकारी, सेना, रणविद्, कूटनीतिज्ञ र जानिफकारहरू सबैजना गलत सावित भए ।
यसरी १९६२ अक्टोबर १० को घटना सकियो । त्यो पछाडि फर्किन नमिल्ने मोड थियो । भारतले भूतलाई जिस्क्याउन ढुङ्गा त हान्यो तर लागेन !
नाम्का चू खोलाको लडाइँ
वर्तमान स्थिति कायम राख
थागला अपरेसनको चौथो र अन्तिम मोड सुरू भयो । डाल्भीले केही दिन गोर्खालीहरूसँगै बिताए । उनी र उनका ब्रिगेड मेजरको सुरक्षाको व्यवस्था थिएन र लडाइँको हेडक्वाटर पनि थिएन । ब्रिगेड ७ ले जनरल कौलले दिल्लीबाट कस्तो आदेश ल्याउने हुन् भनी पर्खिरहेको थियो । राजपुत र गोर्खालीहरूले सीमित सरसाधनको भरमा सुरक्षाका तयारीहरू गरिरहेका थिए । कथित पुलहरूको सुरक्षा रणनीतिकरूपमा जटिल थियो । तिनको सुरक्षाका लागि तीन तहको बन्दोबस्त गरिएको थियो । पहिलो पङ्क्ति पुलको मुखमा तैनाथ पल्टनको थियो, दोस्रो उनीहरूलाई सघाउन सामरिक स्थानमा तैनाथ टुकडीहरूको थियो र तेस्रो शत्रु पक्षले घुसपैठ नगरोस् भनी प्रत्याक्रमणको लागि तयार चलायमान टोलीहरूको थियो । ब्रिगेड ७ ले पहिलो पङ्क्तिका लागि सैनिक सङ्ख्या पु¥याउन सक्दैनथ्यो ।
अक्टोबर १२ मा कर्नेल हरिहर सिंहको नेतृत्वमा हाथुङलाको बाटो ग्रेनाडियर ४ का सैनिकहरू पुल १ मा आए । यसले गर्दा सबै कम्पनीहरूलाई आफ्ना टोलीमा फर्किन सघायो । ग्रेनाडियरहरूसँग पनि हतियार र उपकरणको अभाव थियो । उनीहरू दिल्लीबाट आएका थिए र थकित थिए । नाम्का चूमा तल बेँसीबाट आउने बटालियनमा यो तेस्रो थियो । यसरी खोलाको किनारमा २५ सय सैनिक हुन पुगे ।
साभेल र अन्य खन्ने औजारले रुख काटेको दृश्य कहालिलाग्दो थियो । चिनियाँहरूको आँखाको सामुन्ने नै यस्तो भइरहेको थियो । उनीहरूसँग भने गतिला औजारहरू थिए र त्यसले उनीहरूको काम चाडैँ सकिन्थ्यो । साङधरमा खस्ने सैन्य आपूर्तिका सामान न्यून थिए । तिनलाई बोक्न अक्टोबर १३ मा सीमा सडक निर्माणकर्ताहरूको १५० जनाको टोली आयो । अक्टोबर १६ सम्ममा उनीहरूको सङ्ख्या बढेर ४५० पुग्यो । उनीहरू रसद र जाडोका लुगा नबोकी आएका थिए । यसले गर्दा जगेडा रसद र लुगा उनीहरूसँग बाँड्नुप¥यो । नाम्का चूको जगेडाले २ दिनमात्र थेग्ने भयो ।
अक्टोबर ११ साँझमा जनरल कौल दिल्ली पुगे र सीधै प्रधानमन्त्री, रक्षामन्त्री, थल र वायु सेनाका सेनाप्रमुख र परराष्ट्र, रक्षालगायत मन्त्रिमण्डलका सचिवहरूको बैठकमा गए । अन्तमा मन्त्रिमण्डलको रक्षा समितिको जस्तो बैठक बसेको थियो । ढोलाको स्थितिबारे जानकारी गराएपछि जनरल कौलले निम्न ४ तथ्यऔँल्याए ः
१. “चिनियाँहरूमाथि आक्रमण गरे उनीहरूले प्रतिकार गर्नेछन् । त्यसैले ढोलाबाट फर्किनुपर्छ र गतिलो लडाइँ लड्नसक्ने सामरिक दृष्टिले सुहाउँदो स्थानमा बस्नुपर्छ ।
२. छिट्टै ढोलामा हिउँ पर्न थाल्छ र त्यहाँ बसिरहन असम्भव हुनेछ ।
३. थागलामा जति नै निर्माण कार्य गरे पनि शत्रुहरूले आफ्नो उत्तम स्रोतसाधनले हामीलाई हटाउन सक्छन् । यस क्रममा हाम्रो अघिल्लो पङ्क्ति कमजोर हुन जान्छ ।
४. चिनियाँहरूलाई भूगोलले साथ दिएको हुनाले उनीहरू राम्रो तयारी गर्नसक्छन् । त्यो सुविधा भारतसँग छैन ।
जनरल कौलले सुनाएका यी तथ्य बुझ्नका लागि अक्टोबर १० को रक्तपात आवश्यक थिएन । गएको सेप्टेम्बरबाट नै यी कुरा स्थानीय कमान्डरले महसुस गरेका थिए । ढिलै भए पनि कौलले असहज सैन्य स्थितिको सही चित्रण गरे । अब उनीसँग सेनालाई पछाडि सार्ने गौरवशाली अवसर थियो । तर, किन हो कुन्नि उनले सरकारसमक्ष निम्न ३ विकल्प पेश गरे ः
१. चिनियाँहरू शक्तिशाली भए पनि र प्रतिकारको सम्भावना भए पनि मैले आक्रमणको लागि त्यस भेगमा निर्माण कार्य बढाइरहनुपर्ने वा
२. आक्रमणको आदेश खारेज गरेर वर्तमान स्थिति कायम गर्ने वा
३. अन्य सहज स्थानमा गएर बस्ने ।
जनरल कौलको भनाइअनुसार सेनाप्रमुखहरूको सल्लाहमा प्रम नेहरूले दोस्रो विकल्प चयन गरे ।
जनरल कौलले सरकारसामु तीन विकल्पहरू अघि सार्नु आत्मघाती महाभूल थियो ।
कौलले उच्चस्तरीय बैठकमा ती विकल्प सारेर गलत सल्लाह दिए । घटनाक्रमले एउटामात्र विकल्प छोडेको थियो र त्यही विकल्पमा उनी, जनरल प्रसाद र डाल्भी तीनैजना सहमत भएका थिए । जनरल कौलले परिस्थितिको निष्कर्ष नाघेर आक्रमणको तयारी गर्ने वा विद्यमान स्थिति कायम गर्ने कुरा गरे । उनी आफँैले प्रसाद र डाल्भीले आफ्नो क्षमताबाहिरको हुनाले चिनियाँहरू खेद्ने आदेश फिर्ता लिन र सुरक्षित स्थानमा फर्किन सरकारलाई मनाउनुपर्ने सल्लाह दिएको र आफू त्यसमा सहमत भएको उल्लेख गरेका छन् ।
कौलका दुई विकल्प असम्भव थिए । चिनियाँहरूको आकार बढेर एक डिभिजन हुन पुगेको थियो । त्यसलाई माथ दिन सामान्य सैन्य सिद्धान्तअनुसार कम्तीमा तीन डिभिजन सेना चाहिन्थ्यो । त्यति ठूलो सेना धान्ने हवाई आपूर्तिको व्यवस्था गर्न सकिन्नथ्यो । त्यसैले कौलले भनेको निर्माण कार्य सम्भव थिएन । यसो गर्दा चिनियाँहरू चुप लागेर बस्ने थिएनन् । कौलले बैठकमा गलत सुझाव दिए । विद्यमान स्थिति कायम राख्न पनि सम्भव थिएन । भारतीय सेना साँघुरो ‘जालो’ मा फसेको थियो । एउटा ब्रिगेडले झन्डै ३,००० मिटरमा सुरक्षा दिनसक्छ । ब्रिगेड ७ भने झन्डै २०,००० मिटरमा फैलिएको थियो । शत्रुको आक्रमण छिन्नभिन्न पार्न तोपहरू चाहिन्छ । ती साधन कसरी पु¥याउने ठानेका थिए कौलले ? प्रतिरक्षाको लागि एम्बुस बिछ्याउनुपर्ने हुन्छ र त्यसको लागि बम र तारहरू चाहिन्थ्यो । यी साधन कहाँबाट आउँने ? जगेडा भन्डार र अन्य सामग्रीको अभावमा एक ब्रिगेड सेनाले नै १२ माइल लामो स्थान कायम राख्ने सोचिएको थियो । जनरल कौलले उच्च तहको घँैटोमा घाम लगाउने अवसर भताभुङ्ग पारिदिए । यस्तो गर्ने बेला उनले एउटा पैदल बटालियनका काम र प्रक्रियाबारे अज्ञानता प्रदर्शन गरे । कुनै बेला उनलाई प्रधानमन्त्री नेहरूले उत्कृष्ट जनरल भनेका थिए । कौलले अक्टोबर १० मा आफँैले भोगेको वास्तविकताप्रति आँखा चिम्ले । निर्णय लिने कर्तव्य उनले आफ्ना राजनीतिक मालिक र सैन्य नेतृत्वको काँधमा बिसाए ।
त्यसपछि भारत सरकार किनारमा आए । एकातिर उसले चीनलाई चुनौती दिएर जनतालाई चुप लगाउनुपथ्र्यो । चीनले चलाखीपूर्ण पैदा गरेको तत्कालीन सैन्य परिस्थितिमा यो सम्भव थिएन । त्यसैले सरकारले आफ्नो भरपर्दो जनरलले दिएको सुदूर आश्वासन छोपिहाल्यो । विद्यमान स्थिति कायम राखेमा ‘न हार, न जीत’ हुने थियो । सरकारले यही मौका छोप्यो । कौलको सल्लाह मानेकोमा नेहरू दोषी थिएनन् । यसबेलासम्म जनताको हुँकार बढिसकेको थियो । सरकार आफ्नै लचकदार जिब्रोको बन्दी बनेको थियो । सायद थागलामा यथास्थिति कायम राख्न सरकारले चीनबाट राम्रो व्यवहारको आशा गरेको थियो । जेहोस्, घटनाक्रम एकातिर सोझिए र त्यसबाट फिर्ता आउने सम्भावना रहेन ।
प्रधानमन्त्री नेहरूको अक्टोबर १२ को कोलम्बो यात्राका क्रममा नसोची बोलेको कुख्यात हमला अघिल्लो बैठकबाट प्रभावित थियो । भोलिपल्टको स्टेट्समेन पत्रिकाले छापेको नेहरूको वक्तव्य यस्तो थियो, “नेफा अपरेसन सुरू भएदेखि पहिलोचोटि प्रम नेहरूले दृढतापूर्वक नेफाबाट चिनियाँ आक्रमणकारीहरूलाई बाहिर धपाउन सेनालाई आदेश दिएको बताए । “हाम्रो भूभाग मुक्त गर्नुपर्ने निर्देशनहरू दिइएको छ ।” यो कसरी हुनसक्छ भनी सोध्दा उनले भने, “मैले मिति तोक्न सक्दिनँ । त्यो सेनाको काम हो ।”
प्रम नेहरूको शब्दचयन स्वभावैले सुखद थिएन । उनको रइसे र झड्किलो स्वभावले गर्दा धेरैचोटि उन्मत्त वक्तव्य आउने गथ्र्यो र त्यसकारण दुर्भाग्यपूर्ण परिणाम भोग्नुपरेको थियो । तथ्य त के हो भने यसपालि उनले आधुनिक समयकै सबैभन्दा ठूलो गल्ती गर्न पुगेका थिए । चीनजस्तो स्वाभिमानी र संवेदनशील शक्तिलाई औँल्याउँदा उनले ‘बाहिर धपाऊ’ भन्नु हुँदैनथ्यो । चिनियाँहरूलाई यो भनाइले घोचेको डाल्भीले धेरैपल्ट अनुभव गरे । एक चिनियाँ अधिकारीले भनेका थिए, “हामीलाई अमेरिकीहरूले धपाउन सकेनन्, तिमी कमजोर भारतीयहरूले के गर्नसक्छौ । शक्तिशाली चिनियाँ जनताको बारेमा यस्तो भन्ने हिम्मत कसरी ग¥यौ ?”
सैनिकहरूलाई राजनेताका यस्ता भनाइले हतप्रभ पार्ने गर्छ । सैन्य कारबाहीको अनुमति राज्यप्रमुखले केही नलागेको स्थितिमा मात्र दिनसक्छ । नेहरूको वक्तव्य सुनेर पूर्वी कमान्ड प्रमुखसमेत अवाक भएका थिए किनभने त्यसबाट आउने खतराको बारेमा नेहरूलाई स्पष्ट बताइएको थियो । यो खबर डाल्भीले अल इन्डिया रेडियोको दिउँसोको समाचारमा सुने र डिभिजन प्रमुख प्रसादलाई बोलाएर सुनाए । अपरेसनको आदेश पनि रेडियोबाट नै दिइन्छ कि भनी उनले प्रसादलाई कटाक्ष पनि गरे । डाल्भीसँग व्यङ्ग्यवाणबाहेक अर्को हतियार थिएन ।
कौलको बैठकबाट के निस्कने होला भनी तीन दिनसम्म नाम्का चूमा प्रतीक्षा भइरह्यो । १३ अक्टोबरमा कौलले ‘वर्तमान स्थिति कायम राख’ भनी छोटो आदेश पठाए । नाम्का चू “अब स्थान होइन, एक सिद्धान्त बनेको थियो ।” यो सन्देशबाट डाल्भीले आसन्न विनाश महसुस गर्न पुुगे । फेरि अर्को नारा उछालिएको थियो । शत्रु वा आफ्नैबारे जानकारी, लक्ष्य प्राप्त गर्न कोर ४ का अन्य सैनिकले के गर्छन् भन्ने विधि, सैनिकको बन्दोबस्तीका लागि प्रशासनिक निर्देशन केही पनि उल्लेख नगरी आदेश आएको थियो । नाम्का चूका सैनिकहरू तुच्छ आपूर्ति व्यवस्था र चिनियाँहरूको दयामा बाँचिरहेका थिए । ब्रिगेड ७ ले अब आफ्नो लागि सोच्न सक्दैनथ्यो, उसको जिम्मेवारी तय भइसकेको थियो । जुनसुकै हालतमा नाम्का चूको रक्षा गर्नुपर्ने थियो । एक सेनाविद्ले भनेका छन्, “भैपरीलाई ठाउँ नहुने सैन्य योजनाले विनाश निम्त्याउँछ ।” यहाँ भैपरी चिनियाँ आक्रमण थियो ।
जनरल कौल जवाफदेही थिएनन् किनभने उनले प्रधानमन्त्रीबाट प्राप्त नयाँ निर्देशनमुताबिक आदेश जारी गरेका थिए । उनले उच्च अधिकारीले आफूलाई यथास्थानमा कायम रहने भनेको र त्यसका कारणहरू आफ्नो नियन्त्रणबाहिर रहेको लेखेका छन् । १९६२ अक्टोबरमा कौलको भूमिका के थियो त ? किन उनले भनेनन्, “म यो पदमा रहुञ्जेल मलाई आफ्नो बुद्धि प्रयोग गर्न दिनुपर्छ ।”
Leave a Reply