उठ जाग ए श्रमिक हो
- असार ५, २०८३
सूचना सूचना सूचना, अत्यन्त जरुरी सूचना
विगत केही महिनादेखि मेरो देशको सरकार,
बोलिरहनुपर्ने, खाईरहनुपर्ने, भुँडे सरकार
धाक अति चर्को हिँड्दा खुट्टा लुलो मेरो सरकार
हराइरहेको हुनाले फेला पार्नुहुने महानुभावले
तुरून्त मेरो ठेगानामा सम्पर्क राख्नुहोला !
विद्यालय, कलेज र विश्वविद्यालयमा खोजेँ
त्यहाँ शिक्षामन्त्री कतैपनि भेटिएन
भोको शिक्षक, विद्यार्थी र विचलित अभिभावकलाई सोधेँ
तैपनि शिक्षामन्त्रीको पत्तो पाउन सकिनँ
अस्पताल, स्वास्थ्यचौकी, अौषधी पसलमा
अहँ ! स्वास्थ्यमन्त्री कतै कतै भेटिएन ।
चौबिसै घण्टा सेवारत नर्स र डाक्टर, बिरामीलाई पनि सोधेँ
आफै धेरैधेरै दिनदेखि अचेत छ अरे !
कालापानी, लिपुलेक, लिम्पियाधुरामा खोजेँ
सुस्ता, मेची, महाकालीलाई सोधेँ
खोई रक्षामन्त्री, खोई गृह र परराष्ट्रमन्त्री भनी
वालुवाटारमा मालिकको हुक्का भर्दै छन् अरे !
घरि खुमलटार घरि वालुवाटार गर्दैछन् अरे !
बजारतिर खोजेँ, उद्योगतिर पनि खोजेँ
मजदुरको भान्छा, किसानको भकारीमा खोजेँ
त्यो बडेमान जिउ भएको सरकार भेटिनँ
त्यो अग्लो अर्थमन्त्री भेटाउन सक्दै सकिनँ
बलात्कृत रक्ताम्मे चेलीको आँसुलाई सोधेँ
गृहमन्त्री खोई ?
‘बोक्सी’ आरोपित नब्बे वर्षकी बज्यैसँग सोधेँ
गृहमन्त्री खोई ?
हिकहिक बाहेक अर्को स्वर आएन !
आँखाभरि रक्तआँसुबाहेक केही देखिनँ !
यतिखेर सरकार स्वयम् छाउगोठमा कैद भयो कि
अथवा, एकान्तवासमा पो पर्यो कि !
‘रअ’ सँग गोप्यवार्तामा हरायो कि !
माफियासँग मोलमोलाइमा मग्न पो हो कि !
डन, तस्करसँग चियर्स चल्दै छ कि !
कोही कसैले कतै सरकार देखे भेटे
तुरुन्त मेरो ठेगानामा सम्पर्क गर्नुहोला !
Leave a Reply