भर्खरै :

संरा अमेरिकी नयाँ सरकार प्रतिबद्धताप्रति इमानदार हुने इरानको विश्वास

तेहरान, ७ नोभेम्बर । संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेन जीतको नजिक पुगेसँगै इरानका राष्ट्रपति हस्सन रोहानीले संरा अमेरिकाको आगामी सरकारलाई इरान आणविक सम्झौताअन्तर्गतका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । शनिबार एक इरानी टेलिभिजनमा प्रसारित मन्तव्यमा रोहानीले बितेका तीन वर्षमा इरानी जनताले ‘आर्थिक आतङ्कवाद’ को सामना गरिरहेको र उल्लेखनीय प्रतिरोध गरेको बताए ।
“हाम्रो देशको निर्णय सधैँ स्पष्ट छ । अर्को पक्षले नियम कानुनसामु नझुकेसम्म हाम्रो देशले कुनै पनि अवस्थामा प्रतिरोध र धैर्यता कायम राख्नेछ”, उनले भने ।
रोहानीले इरानमाथिको नाकाबन्दीको तरिका ठीक नभएको र त्यसले कुनै परिणाम नदिने भएकोले फिर्ता लिइने विश्वास व्यक्त गरे ।
“विगत तीन वर्षको अनुभव उनीहरूको लागि पाठ भएको हाम्रो विश्वास छ । त्यही अनुभवले अर्को संरा अमेरिकी सरकारले नियम कानुनको पालना गर्दै आफ्नो प्रतिबद्धता पूरा गर्ने विश्वास गरेका छौँ”, उनले भने ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ को मे महिनामा इरान र विश्व शक्तिहरूबीच सन् २०१५ मा भएको आणविक सम्झौताबाट हात झिकेर एकपक्षीयरूपमा इरानमाथि नाकाबन्दी थोपरेका थिए । विभिन्न कारण देखाई थोपरिएको अन्त्यहीन नाकाबन्दीले इरानका सम्पूर्ण वित्तीय क्षेत्रलाई कालो सूचीमा पारेको छ ।
डेमोक्रेटिक राष्ट्रपति उम्मेदवार जो बाइडेनले इरानसँगको आणविक सम्झौतामा फर्किने वाचा गरेका थिए । साथै इरानलाई संवादको टेबुलमा ल्याउन उसमाथिको दबाब कम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन् २०१९ को मे महिनादेखि इरानले पनि क्रमशः इरान आणविक सम्झौताबाट हात झिक्दै आएको छ । संरा अमेरिका पूर्णतः आणविक सम्झौतामा फिर्ता, नाकाबन्दी फिर्ता र क्षतिपूर्ति दिए इरानले पनि सम्झौता पालना गर्ने बताउँदै आएको छ ।
“संरा अमेरिकाको तरिका र व्यवहार सही बाटोमा नआउने सोची हामीले योजना बनाएका थियौँ”, रोहानीले भने ।
“यदि अमेरिकीहरूले उत्तम परिणामको लागि अर्को बाटो छान्नुपर्छ । यदि त्यसो नभए कठिन परिस्थितिमा हाम्रो देश कसरी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णयमा जानुपर्ने हुन्छ”, उनले भने ।
इरानी अधिकारीहरूले ह्वाइट हाउसमा को जान्छ भन्ने आधारमा आफ्नो देशको नीति परिवर्तन नहुने बरु इरानले संरा अमेरिकाले ‘अधिकतम दबाब’ को नीति अँगीकार गरेसम्म प्रतिरोध जारी राख्ने बताए ।
बुधबार इरानको एउटा दैनिक पत्रिकामा विचार स्तम्भमा लेख लेख्दै सरकारका प्रवक्ता अली रेबैईले ट्रम्पसामु आत्मसमर्पण गर्नुको अर्थ उनलाई प्रश्रय दिनुमात्र नभई इरानको दीर्घकालीन नीतिसमेतलाई खतरा पार्ने कुरा इरानलाई थाहा भएको लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *