भर्खरै :

हिमाली महाभूल – ३१, नाम्का चू खोलाको लडाइँ

(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
जनरल प्रसाद र ब्रिगेडियर डाल्भीबीचको असामान्य कुराकानी डाल्भीका स्टाफ अफिसर र गनरहरूको सामुन्ने भएको थियो । कुराकानीपछि कोठामा निराश र हतास वातावरण छायो । डाल्भी थकित र विक्षिप्त थिए । डाल्भीले आफ्नो कुराकानीको खेस्रा गर्न डिभिजन हेडक्वाटरलाई एउटा सन्देश पठाए । प्रसादको अक्षमताले डाल्भीको चिन्ता थप बढाएको थियो ।
डाल्भी आफ्नो बङ्करमा गए र अलिबेर आराम गरे । उनी भारतीय सेनाको स्तर खस्केकोमा दुःखी भए । उनी सेनामा आउँदा १९४१ मा भारतीय सेना संसारकै बलियो सेनामा पथ्र्यो । अहिले भने कमान्ड सम्हाल्नेहरू स्वाभाविक रणनीतिक निर्णय लिन सकिरहेका थिएनन् । उनीहरूले अरूलाई पनि निर्णय लिन दिइरहेका थिएनन् । यसमा जनरल प्रसादको दोष थिएन । सेनाले आफ्ना अधिकारहरू राजनीतिक नेतृत्वसामु त्यागेका थिए । राजनीतिक नेतृत्वले राष्ट्रिय सङ्कटको बेला सेनाबाट आज्ञाकारीता चाहन्थ्यो भने त्यसको हविगत नाम्का चूमा देखिँदै थियो । सरकारले आफ्ना योग्य अफिसरहरूलाई हटाएर सैन्य नियुक्तिमा हात हालेको हुनाले यो दिन निम्तिएको थियो ।
डिभिजन कमान्डर जनरल निरञ्जन प्रसादको योगदान थागलाको पराजयमा स्पष्ट हुन्छ । उनले सेप्टेम्बर ८ र अक्टोबर २० को अवधिमा धेरै दुःख पाएका थिए । उनलाई डाल्भीको कष्टबारे थाहा थियो । चिनियाँहरूलाई खेद्न सकिन्न भन्ने उनी आफैले भोगेका थिए । आदेश लिन जनरलहरू चक्कर लगाइरहँदा उनलाई पनि मूकदर्शक बनाइएको थियो । डाल्भी उनीप्रति सहानुभूति दर्शाउँछन् । उनी जनरल अफिसर थिए तर उनका कुरा सुनिन्नथ्यो । राष्ट्रिय नीतिमा हेरफेर गर्नलाई उनी कनिष्ट अफिसर थिए तर मृत्युको मुखमा परेको ब्रिगेडको लागि उनी उभिन योग्य थिए । प्रसाद संवेदनशील व्यक्ति थिए र आफ्ना मान्छेहरूको हविगतले आहत थिए ।
जनरल प्रसादले कहिल्यै पनि डिभिजनको नेतृत्व गरेनन् । उनलाई सन्देशवाहक बनाइएको थियो । त्यसैले ढोला काण्डमा उनीमाथि दोष थोपर्नु अन्याय हुन्छ । उनले आफ्ना मातहतका अफिसर र आफूमाथिका अफिसरहरूका कुरा आदानप्रदान गरिदिन्थे । दोष दिनका लागि त्यस व्यक्तिलाई आफ्नो काम छनोट गर्ने छुट हुनुपर्छ । जनरल प्रसादलाई एउटा निर्णय लिने छुट पनि थिएन । उनले सबैथोक भोगेपछि पनि नाम्का चू थाम्नु भन्ने आदेश पाउँदा अक्टोबर १३ मा राजीनामा दिनुपर्ने थियो । उनले व्यक्तिगतरूपमा लाछीको आरोप खेप्नुपर्दैनथ्यो किनभने उनले प्रत्यक्ष कमान्ड सम्हालिरहेका थिएनन् । नेतृत्व गर्न उनीसँग डाल्भीको ब्रिगेडमात्र थियो । उनले अक्टोबर १९ मा आफ्नै अगुवाइमा निर्णय लिएर परिणाम भोग्न तयार हुनुपथ्र्यो किनभने जनरल कौलको अनुपस्थितिमा उनी नै त्यसबेला वैधानिकरूपमा कार्यवाहक कोर कमान्डर थिए ।
बिनाउच्च नेतृत्वको ब्रिगेड ७
जनरल कौलको असमय बिरामी हुनु ठूलो विवादको विषय बन्दै आएको छ । उनको पक्षविपक्षमा उभिनेहरूले विषयलाई धमिलो तुल्याए । कौल पत्रकारहरूको तारो बन्न पुगे । उनलाई खोट लगाइयो र हुतिहारा भनियो । यस्तो गर्दा उनको अनुपस्थितिले निम्त्याएका विषय ओझेलिए । जनरल कौल बिरामी हुनु र उनी तेजपुरबाट दिल्ली जानुले ब्रिगेड ७ कमान्डरविहीन बन्न पुग्यो खासगरी अक्टोबर १८, १९ र २० मा । तरल सैन्य स्थिति सम्हाल्न कोर ४ का स्टाफ अफिसरहरूलाई नेतृत्व गर्ने कोही थिएन । भद्दा सैन्य योजना सुधार्ने कोही थिएन । पहिलेदेखि नै कमजोर रहेको चेन अफ कमान्ड उनको अनुपस्थितिले चुँड्यो ।
जनरल कौल बिरामी हुनु स्वाभाविक थियो । तेजुपर छोड्ने बेला उनी बिरामी थिए । उनी दिग्भ्रमित, निराश र हतास थिए । घटनाक्रमले चिनियाँ भद्रतामाथिको उनको विश्वासलाई हावा ख्वाइदिएको थियो । कसैले उनको नशामा समस्या देखिएको बताएका थिए । कौलको स्वास्थ्य समस्याले गर्दा उनका विरोधीहरूले बढाइचढाइ गर्ने मसला पाए । उनलाई उच्च तहका उनका गुरुहरूले जानाजान झिकाएको बताए । अक्टोबर १७ मा तेजुपरमा रक्षामन्त्री मेननको उपस्थितिमा एक महत्वपूर्ण बैठक बसेको थियो । बैठकमा मन्त्री मेननले साङले थामिरहनुपर्ने राजनीतिक आवश्यकता रहेकोमा जोड दिएका थिए । सो निर्णय कौलले उल्टाउन सकेनन् । बैठकलगत्तै कौल पनि दिल्ली गए । अक्टोबर १७ मा अन्धो व्यक्तिले मात्र चिनियाँ मनोदशा ठम्याउन सक्दैनथ्यो । जोड साङलेमाथि दिइएको थियो भने नाम्का चूका रक्षकहरूप्रति बेवास्ता गरिएको थियो ।
जनरल कौल नेफाबाट टाढै रहेका भए अक्टोबर २० हिमालयमा सेना तैनाथ गर्नुको नतिजा भनी इतिहासमा उल्लेख हुने थियो । तर, उनी २९ अक्टोबरमा फर्केर कोर ४ को कमान्ड सम्हाल्न आए । सबैका आँखा चङ्ख भए । उनको अनुपस्थितिमा तवाङ हातबाट फुत्केपछि अक्टोबर २४ मा लेफ्टिनेन्ट जनरल हरबक्श सिंहलाई कमान्ड सम्हाल्न भनिएको थियो । उनले छोटो समयमै अन्योलग्रस्त भारतीय सेनाको मनोबल बढाएका थिए । चिनियाँहरू सेला भञ्ज्याङको दैलोमा पुग्दै थिए । यही अन्तरालमा फर्केका जनरल कौलको आगमनले ननिको हल्ला फैलियो ।
पहिलो हल्लाअनुसार प्रधानमन्त्री नेहरूले कौलको पक्षमा हस्तक्षेप गरेका थिए । फोक्सोको समस्या ११ दिनमा निको हुने समस्या होइन भन्ने सेनालाई थाहा थियो । यस्तो भएको थियो भने त्यो चमत्कार थियो । बिरामी भएपछि सेनामा सैनिकलाई आराम र बिरामी बिदा दिइन्छ । त्यसको उल्टो कौललाई हिमाली भेगमा पठाउनु शङ्कास्पद थियो नै । अब यस्तै हल्लाको पक्षमा अरू हल्ला फैलिन थाले । कौल लडाइँको मैदानबाट निस्कनुपर्ने गरी बिरामी भएका थिएनन् भन्ने तर्क आयो । कसैले चिनियाँहरूले नेफामा आफूले चाहेजति भूभाग कब्जा गरिसकेको र अब स्थायी शान्ति छाउने प्रम नेहरूको आकलन रहेको बताए । सेला भञ्ज्याङ अभेद्य रहेको सरकारी आशावान वाणीले यही विचारलाई बल दिइरहेको थियो । भनिन्छ, कौललाई ‘नेफामा स्थायित्व ल्याएको’ दाबी गर्ने गरी उनको बिग्रेको सैन्य छवि पुनःस्थापित गर्ने मौका दिइएको थियो । चिनियाँहरू अघि बढ्न चाहँदैनथे भने पनि मोर्चामा रहेको कमान्डरको स्वास्थ्यको सुर्ता थिएन बरु प्रिय जनरलको छविको पुनःस्थापना महत्वपूर्ण बन्न गएको थियो ।
लेखक मनिकरले १९६२ का दोषीहरू नामक पुस्तकमा छोटोमा यसो लेखेका छन् , “शारीरिकरूपमा बिरामी कौललाई सङ्कटको बेला देशको सुरक्षा हितलाई दाउमा राखेर उनको लाज फर्काउन कोर कमान्डमा सक्रिय गराउन हतारिनु सरकार र सैन्य हेडक्वाटरको अपराध थियो । समस्या चर्किरहेको बेला कोर हेडक्वाटरमा मानसिकरूपमा व्यथित र शारीरिकरूपमा अयोग्य र सघन चोटबाट तङ्ग्रिनसकेका व्यक्ति थिए । कमान्ड प्रमुख जनरल सेनले यसमा आपत्ति जनाएको बताइएको छ तर सेनाप्रमुख जनरल थापरले ‘माथिको चाहना’ भनी सेनलाई चुप लगाएका थिए ।”
कौल ठोस सैन्य स्थितिको आधारमा चलेका थिएनन् भन्ने रहस्य थिएन । थागलाको पराजय र तवाङको हारपछि उनीमाथि हरेक खालका प्रहारहरू भए । कमान्डरमाथिको विश्वास गुम्नु भनेको हानिकारक भावना हो । यसबारेमा लेखक मानिकरले एउटा घटनाको उल्लेख गरेका छन्, “तल्लो अफिसरहरूले माथिल्लो नेतृत्वलाई विश्वास गर्न छोड्यो । मेजर जनरल पठानियाँ २९ अक्टोबरको साँझ अन्य अफिसरहरूसँगै रेडियो सेटको वरिपरि जम्मा भएका थिए । यस्तैमा कौल अब निको भएका छन् र कोर ४ को कमान्ड सम्हाल्न फर्किँदै छन् भनी रेडियोले घोषणा सुनायो । अफिसरहरूले स्वाभाविकरूपमा भनेछन्, “उनी फर्केछन् ? हे भगवान ¤ हामीलाई बचाऊ ।”
यस्तो स्थितिमा एउटै उपचार भनेको कमान्डर फेर्नु थियो । सैन्य इतिहासमा यसप्रकारका थुप्रै घटना भएका छन् । जर्मन मार्शल रोमेलले १९४१–४२ मा इजिप्टमा बेलायती चौथो सेनालाई नष्ट गर्न लागेका थिए । तर बेलायती साम्राज्यका कमान्डर मार्शल क्लाउड अकले त्यसो हुन दिएनन् । अकले रोमेललाई मध्य एसियातिर बढ्न दिएनन् । उनले त्यसको लागि एउटा योजना पनि बनाएका थिए । हरेक कोणबाट अक भरपर्दा कमान्डर थिए । तर, बेलायती प्रम चर्चिलले जनरल मोन्टगोमेरीलाई चौथो सेनाको नयाँ कमान्डर नियुक्त गरे । प्रतिभाशाली जनरललाई बिदा गर्दा सेनामा धेरैजना दुःखी भए । यसको खबर पु¥याउन अककहाँ जाने अफिसरले भने, “मैले विश्वासिलो साथीको हत्या गर्न गएझैँ महसुस गरेँ ।” सो निर्णयपछाडि बेलायत सरकारका दुई कारण थिए । पछिल्लो चरणमा अक विभिन्न लडाइँमा हारिरहेका थिए । यस निर्णयबाट हतास र अन्योलग्रस्त सेनाले नयाँ जोस जाँगर पाउने चर्चिलको आशा थियो । अर्को कारण बेलायती जनता थिए । जनता सरकारसँग अन्तिम विजयको सङ्केत नपाएको र सरकारका प्रवक्ताले आश्वासन दिन नछोडेले आक्रोशित थिए । सरकार सङ्कटमा थियो । यसरी सेना र जनताको मनोबल उठाउन अकलाई बलि चढाइएको थियो । १९६२ को अक्टोबरमा भारत सरकारले सेना र जनताको मनोबल बढाउन यस्तै निर्णय लिनसक्थ्यो ।
सैन्य इतिहासका जिज्ञासु एक भारतीय लेखकले बिरामी कौलको पक्षमा लेखे । परिस्थिति पहिलेझैँ नाजुक रहेको र कुनै आक्रमणको सङ्केत नहुनाले उनको दिल्ली गमन स्वाभाविक रहेको लेखकको तर्क थियो । ती लेखकले मार्शल रोमेल पनि १९४२ को एल अलामीको लडाइँ सुरु हुनुभन्दा पहिले उपचारका लागि जर्मनी गएको उनको अर्को दलिल थियो । रोमेलजस्तै जनरल कौल पनि रणमैदानमा फर्किनुले उनीमाथि आक्षेप लगाउन नमिल्ने उनको निष्कर्ष थियो । कौललाई सुनपानी छर्किने लेखक केही तथ्यबाट वञ्चित थिए । कौल बिरामी थिए वा थिएनन् भन्ने कुरा प्रधान थिएन बरु त्यसले सेनामा कस्तो असर प¥यो भन्ने महत्वपूर्ण थियो ।
तीव्र चिनियाँ तयारीहरूबीच स्थिति आशालाग्दो कुनै हालतमा थिएन । स्थानीय भारतीय सैनिकहरूले केही गरेनन् वा चिनियाँ चालबारे कौलको हेडक्वाटरमा सूचना नदिएर चुपचाप बसिरहे भन्नु गलत थियो । सेनाको कमान्डको बनोट बीचबीचमा चुँडिएको कुरा ती लेखकलाई थाहा भएन । समस्याको मूल त्यहीँ थियो । त्यसमाथि लेखकले मार्शल रोमेलसँग कौलको तुलना गरेर अर्को भ्रम छरेका थिए । मार्शल रोमेल मरुभूमिको युद्धमा २ वर्षदेखि लडिरहेका थिए र एल अलामीको लडाइँको बीचमै उनी फर्केका थिए । कौलले रणक्षेत्रमा १३ दिन बिताएका थिए र नाम्का चू र तवाङको कब्जापछि मात्र फर्केका थिए । रोमेलले आफू जर्मनी जानेबेला जनरल स्टुमलाई नेतृत्व हस्तान्तरण गरेर गएका थिए । स्टुमको निधनपछि जनरल थोमाले उनको स्थान लिएका थिए । तङ्ग्रिनसकेका रोमेल मोर्चा सम्हाल्न जर्मनीबाट फर्केका थिए र प्रत्याक्रमणमा केन्द्रित भएका थिए । उनले नै लडाइँको योजना पनि छोडी गएकोले जर्मन सेना कमान्डरविहीन भएको थिएन । उनको उपस्थितिमा पक्षघातको जस्तो स्थिति थिएन । यो महत्वपूर्ण छ । रोमेलले १२ दिनसम्म शक्तिशाली बेलायती सेनासँग घमासान लडाइँको नेतृत्व गरे र फर्किन बाध्य हुँदा व्यवस्थितरूपमा फर्केका थिए । उनको सैन्य नेतृत्व इतिहासमा अमर छ । सेला भञ्ज्याङ र बोम्दीलामा जनरल कौलको नेतृत्व पराक्रमी नेतृत्व थिएन । नोभेम्बर १८ सम्ममा कौलले मन मारिसकेका थिए ।
माथिको चर्चाबाट दुइटा कुरा थाहा हुन्छ । एक, कमान्डरहरू पनि बिरामी हुन्छन् । त्यसो हुँदा मातहतका सैनिक अफिसरलाई आदेश र योजनाको जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । त्यस विषयमा मुख्यमुख्य अफिसरलाई विषयको विस्तृत जानकारी हुनुपर्छ । कमान्डर एकचोटि बाहिरिएपछि उनीसँग रणमैदानको विषयमा टेलिफोनबाट आफ्ना अफिसरसँग सम्पर्कमा रहनुहुँदैन । लडाइँस्थलभन्दा परको व्यक्तिले समस्या झन् विकराल बनाउन सक्छ । यसको राजनीतिक पाठ के हो भने कमान्डरको हेरफेर वस्तुगतरूपमा गरिनुपर्छ । कौल १८ अक्टोबरमा फर्केर दिल्ली गएको कुरा रक्षामन्त्री र सेनाप्रमुखलाई थाहा थियो । तर, उनीहरूले यत्तिमै चित्त बुझाए । नयाँ कमान्डर नियुक्त गर्ने कुरा आवश्यक ठानिएन । माथि कोही नदेखेपछि जनरल प्रसादले रणनीतिक विषयमा ब्रिगेडियरसँग सल्लाह गर्न पुगे । उनी कुनै आदेश जारी गर्न अनकनाइरहेका थिए र जनरल कौलसँग सोध्नुपर्ने बताइरहेका थिए । किन यस्तो हुन गयो ? किन उनले अनुपस्थित कमान्डरबाट अनुमति लिनुपर्ने भयो ? के दिल्लीमा कोर हेडक्वाटर थियो ? के त्यहाँबाट कोरले काम गरिरहेको थियो ? त्यसो हो भने कोर हेडक्वाटर कसले सञ्चालन गरिरहेको थियो ? त्यो जनरल कौल थियो वा अरू कोही थियो ? दैनिक संवेदनशील रिपोर्टहरू पढेर पनि कोर ४ ले कमान्डरहीन अवस्थामा सेनालाई तरल छोड्नु हुन्थ्यो ? के कुनै व्यक्तिले ती रिपोर्टहरू पढेको थियो ? कौलको व्यथा स्वीकार्ने नै हो भने पनि के थागला क्षेत्रबारे जानकार कसैले साङलेको बरफ कति बाक्लो छ भनी सोध्न मिल्थ्यो ? के कुनै व्यवहारिक व्यक्तिले हिउँदभरि सेनालाई साङले र नाम्का चूमा तैनाथ राख्ने सोच्न मिल्थ्यो ? अक्टोबर १९ मा गोर्खालीहरूलाई साङले पठाउने आदेश कसको थियो ? त्यसो गर्दा चिनियाँहरूले नाम्का चूमा हमला गर्नसक्ने सम्भावना देखिँदैनथ्यो र ? प्रश्न धेरै थिए, उत्तर थोरै । कौलको अनुपस्थितिले अक्टोबर १८, १९ र २० का घटनाहरूमाथि पर्दा हाल्यो । कौलको नियुक्तिपछि आफूलाई युद्धको जिम्मेवारी आफ्नो नभएको बताएका थिए । रक्षामन्त्री मेननले सेनाको मामिलामा आफूले कहिल्यै हस्तक्षेप नगरेको बताए । जनरल प्रसाद कोर कमान्डरको स्वीकृतिबिना केही गर्नसक्दैनथे । त्यसो भए १९६२ अक्टोबर १९ को रात उच्च कमान्डमा को थियो ?
कौल बिरामी भएपछि कमान्डर नियुक्त नगर्नु रक्षामन्त्री र सेनाप्रमुखको महाभूल थियो । अक्टोबर १९ को रात युद्धको अन्तिम तयारी चलिरहेको थियो । जनरल कौल मेडिकल चेकअपमा व्यस्त थिए र सरकारको त्यस विषयमा कुनै धारणा थिएन । सेनाप्रमुख थापर राजनीति र सैन्य खतराको चेपुवामा थिए ।
राजनीतिक मालिकहरूले स्थितिलाई मनोगतरूपमा हेर्नु समस्याको मूल जड थियो । कौलको पुनः नियुक्तबारे छापामा मिश्रित प्रतिक्रिया थियो । सेनामा भने त्यस निर्णयलाई आश्चर्यले हेरिएको थियो । कौलका धेरै विरोधीहरूले त्यसको फाइदा उठाएका थिए । कौल आफैले भने आफ्नो जीवन दाउमा राखेर भए पनि कमान्ड नछोड्ने बताएका थिए । एक स्वस्थ र दृढ कमान्डरले यसो भन्नु प्रशंसनीय हुन्थ्यो । प्रधानमन्त्री, रक्षामन्त्री र सेना प्रमुखले कौललाई पुनः नियुक्त गरेका थिए । त्यसैले उनको छोटो अनुपस्थितिलाई सच्याउने उनीहरूको सोच हुनुपर्छ । विवाद चलिरहेकै बेला चिनियाँहरूले नेतृत्वविहीन थागला कब्जा गरे । यहीँनिर राजनीतिक नेतृत्वले नियुक्तिमा हस्तक्षेप गर्दा के हुन्छ भनी स्पष्ट हुन्छ । कुनै अर्को जनरल हुन्थ्यो भने बिरामी अवस्थामा उसलाई पुनः नियुक्त गरिन्नथ्यो । लेखक मानेकरका शब्दमा, “कौल त्यसबेला निर्णय लिनसक्ने शान्त मनस्थितिमा थिएनन् ।” सामान्य जनरललाई त्यस्तो बेला त्यसरी पठाइँदैनथ्यो । सोझो कुरामा कुनै जनरलको प्रतिष्ठालाई जोडिन्नथ्यो । परिवर्तनलाई जनताले स्वाभाविक मान्ने थिए । यहाँ अर्को पाठ छ । भारतीय सेनाको जनरल विवादित व्यक्ति हुनुहुँदैन । उनीहरूले चुपचाप सेवा गर्नुपर्छ र बाहिरी हस्तक्षेप हुनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *