भर्खरै :

पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन

पेरूमा वामपन्थी राष्ट्रपति उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन

लिमा, ३१ जेठ (एएफपी) । राष्ट्रपतीय निर्वाचनका लागि भएको मतगणनाको आंशिक परिणामले दक्षिणपन्थी प्रतिद्वन्द्वी केइको फुजिमोरीको अप्रत्यासित सामान्य अग्रता देखाएपछि पेरूका वामपन्थी राष्ट्रपति पदका उम्मेदवार रोबर्टो सान्चेजका सयौँ समर्थकले शनिबार लिमामा विरोध प्रदर्शन गरेका छन् ।
गत आइतबार सम्पन्न दोस्रो चरणको मतदानको ९८.५ प्रतिशत मतपत्रहरू गणना गरिसक्दा करिब एक प्रतिशत बिन्दुको अन्तर देखिएको छ ।
फुजिमोरीले ५०.०५ प्रतिशत मत प्राप्त गरेकी छिन् भने सान्चेजले ४९.९५ प्रतिशत मत प्राप्त गरेका छन् । एक करोड ८० लाखभन्दा बढी मतपत्र गणना हुँदा फुजिमोरी सान्चेजभन्दा १८ हजार ५०० मतले अगाडि रहेकी छिन् ।
सान्चेजले शुक्रबार फुजिमोरीलाई राजधानी लिमामा अनियमितता भएको र विदेशबाट मतदान भएको आरोप लगाउँदै पुनः मतगणनाका लागि संयुक्त आवेदन गर्न सुझाव दिएका छन् ।
शनिबार लिमा सहरमा सान्चेजको समर्थनमा भेला भएको भीडले ‘पेरूबासीको न्याय र सम्मानका लागि, फुजीमोरी कहिल्यै स्वीकार्य हुनेछैन’ भन्ने नारा लगाउँदै शहरका विभिन्न भागमा प्रदर्शन गरेको छ ।
उनीहरूले निर्वाचन अदालत, राष्ट्रिय न्यायाधीकरणको मुख्यालय परिसरबाहिर पनि नाराबाजी गरेका थिए ।
निर्वाचन अधिकारीहरूले निर्वाचन अदालतमा दायर गरिएका विवादित मतपत्रहरू जाँच गर्ने र समस्या समाधान गर्दै मतगणना अन्तिम चरणमा पुगेको बताएका छन् ।
तर अन्तिम परिणाम अझै दुई हप्तासम्म थाहा हुन नसक्ने निर्वाचन प्राधिकरणका प्रमुखले बताएका छन् ।
धेरै मतदाताहरूले राष्ट्रपतीय चुनावले वर्षौंको राजनीतिक अराजकतामा हटाउने विश्वास गरिएको थियो । करिब एक दशकको अवधिमा यहाँ आठ जना राष्ट्रपतिहरू निर्वाचित भएका थिए भने उनीहरूमध्ये अधिकांशले जनअपेक्षाअनुरूप काम नगरी भ्रष्टाचार र बेथितिलाई सम्बोधन गर्न असफल भएपछि विभिन्न अभियोग लगाई पदच्युत गरिएको थियो । यो निर्वाचनबाट निर्वाचित हुन्छ ऊ एक दशकमा नवौं राष्ट्रपति बन्नेछ । यो निर्वाचनले उपराष्ट्रपति तथा सांसदहरूको पनि टुङ्गो लगाउनेछ ।
तर कडा प्रतिस्पर्धात्मक परिणामले दक्षिण अमेरिकी राष्ट्र पेरूमा तटीय, अधिक ग्रामीण इलाका र आदिवासी समुदायको बसोबास रहेको देशको दक्षिणको जनसङ्ख्यालाई गम्भीररूपमा विभाजित गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *