भर्खरै :

प्लेटोको साम्यवाद र माक्र्सको साम्यवादवीच समानता र भिन्नताहरू

 
पश्चिमी राजनीतिशास्त्रका जनक प्लेटोको जन्म आजभन्दा चौबिस सय अठाइस वर्षपहिले एथेन्समा ईसापूर्व ४२८ मा एक अभिजात कुलमा भएको थियो । उनी तीक्ष्ण र कुसाग्र बुद्धिका भएकाले उनका गुरू (सुकरात) सोक्रेटसको नजरमा परेका थिए । सुकरातका असाध्यै मनपर्ने शिष्यहरूमा प्लेटो पनि थिए । प्लेटोले आफ्ना गुरूले दिएका उपदेशलाई व्यवस्थित र मर्यादित बनाएकोले उनलाई राजनीतिक चिन्तनका पिता मानिन्छ । उनले दिएको राजनीतिक चिन्तन र विचारधाराले गर्दा पनि प्लेटो चौबीस सय वर्ष पछाडिसम्म मानव जातिमा अमर छन् । उनले विकास गरेको राजनीतिक चिन्तन अहिलेसम्म पनि कुनै न कुनै रूपमा चर्चाको विषय भइरहेको छ । उनले सर्वप्रथम आदर्श काल्पनिक राज्य (Utopia) को परिकल्पना गरेका थिए । प्लेटोको बाल्यकाल राजनीतिक परिवारमा बितेकोले उनमा त्यसको प्रभाव परेको देखिन्छ । उनीले महान् राजनीतिज्ञ बन्ने सपना बनाएका थिए । तर, समयक्रममा उनी सक्रिय राजनीतिबाट टाढा हुँदै एक महान् दार्शनिक बन्न पुगे । आफ्ना गुरू सुकरातलाई विषपान गराएर मृत्युदण्ड दिएपछि प्लेटो निकै विरक्त भए । त्यस समयमा उनीमात्र २८ वर्षका थिए । उनले आफ्ना गुरूको मृत्युदण्ड भुल्न सकेनन् र सक्रिय राजनीति गर्ने सोच नै परिवर्तन गरे । यसै घटनाले गर्दा उनी सक्रिय राजनीतिबाट राजनीतिक चिन्तनतर्फ उन्मुख भए । उनले आफ्नो प्रारम्भिक शिक्षा तत्कालीन महान दार्शनिक सुकरातको विद्यायलबाट नै पाएका थिए । विद्यालयमा प्लेटो अब्बल दर्जाका विद्यार्थीमा गनिन्थ्यो ।

प्लेटो


जसले गर्दा उनी सुकरातको प्रिय शिष्य बन्न सफल भए । सोक्रेटस शारीरिकरूपमा कुरूप थिए भन्ने प्लेटो सुन्दर थिए । आफ्नो गुरूको विषपानबाट मृत्यु भएको हृदयविदारक दृश्य भुल्नको लागि प्लेटो १२ वर्षसम्म अज्ञात बासमा गएका थिए । सम्भवतः आफ्ना गुरूको मृत्युदण्डपछि २८ वर्षका प्लेटोले त्यो दृश्य बिर्सन सकेनन् । आफ्नो राज्यमा आफूलाई सुरक्षित पनि महसुस गर्न सकेनन् । जसको कारणले गर्दा उनी अज्ञात बासमा गएका थिए । अज्ञातकालमा उनले विभिन्न विषयमा गहिरो ज्ञान प्राप्त गर्नुको साथै विभिन्न ठाउँहरूको गोप्य भ्रमण गरेका थिए । यसक्रममा उनी सिसिलीमा पुगे र त्यहाँका राजा दियोनसँग उनको भेटघाट भयो । दियोन प्लेटोसँगको भेटमा निकै प्रभावित भए । जसको कारणले सिसीलीका राजा दियोनले प्लेटोलाई सल्लाहकारमा नियुक्ति गरे । तर, प्लेटोको सल्लाहअनुसारको राजा दियोन आर्दश राज्य र आर्दश राजा बन्न सकेनन् । अन्तमा राजा दियोनले प्लेटोलाई इजिना टापुमा दासको रूपमा बेचिदिए । प्लेटो दासमा परिणत भएपछि जीवनमा निकै दुःख पाए । इजिना टापुमा प्लेटोका एक जना पुरानो साथी भेट भएपछि उनले प्लेटोलाई ऋण तिरेर दासबाट मुक्त गरेका थिए । उनी दासताबाट मुक्त भएपछि आफ्नै नगर एथेन्समा आएर बस्न थाले । एथेन्स आएपछि प्लेटोका शिष्यहरू मिलेर चन्दा उठाई प्लेटोको ऋण तिर्न इजिना टापुमा गएका थिए । तर, प्लेटोका पुराना साथीले त्यो पैसा लिन मानेनन् । पैसा लिन नमानेपछि त्यही पैसाले प्लेटोले विद्यालय स्थापना गरे । जुन विद्यालय कालान्तरमा नौ सय वर्षसम्म चलेको थियो । प्लेटोले सोही विद्यालयमा सेवा गर्दागर्दै करिब तीस वटा किताबहरू लेखे । तीमध्ये ‘रिपब्लिक’ र ‘राजनीति’ महत्वपूर्ण किताबहरू हुन् ।
वैज्ञानिक समाजवादका जनक कार्ल माक्र्सको जन्म आजभन्दा २०२ वर्ष अगाडि जर्मनीको राइन प्रान्तस्थित ट्रियर नगरमा भएको थियो । उनका पिता हर्सल माक्र्स यहुदी भए पनि इसाई धर्म अपनाएका थिए । ट्रियर नगर औद्योगिकरूपमा निकै अगाडि बढेको नगर थियो । कार्ल माक्र्सले राइन प्रान्तको जिमनासियममा अध्ययन गरेका थिए भन्ने बोन र बर्लिन विश्वविद्यालयबाट उनले सन् १८४१ मा विद्यावारिधिको उपाधि हासिल गरेका थिए । माक्र्स पनि तीक्ष्ण बुद्धिको हुनुको साथै अध्ययनशील स्वभावका थिए । माक्र्सले आफ्नो जीवनमा कानुन, न्यायशास्त्र, इतिहास र दर्शनको गहिरो अध्ययन गर्नुभएको थियो । आफ्नो विद्यावारिधिपछि माक्र्सवोन विश्वविद्यालयमा प्राध्यापन गर्न चाहनुहुन्थ्यो । तर, तत्कालीन जर्मनीको प्रतिक्रियावादी सरकारले उनलाई प्राध्यापन गर्न दिएन । तत्पश्चात् उनले आफ्नै सम्पादनमा सन् १८४२ बाट ‘जैतुङ’ पत्रिका निकाल्न थाले । यस पत्रिकामार्फत उनले तत्कालीन प्रतिक्रियावादी सरकारको कडा विरोध गर्न थाले । सो पत्रिकामा काम गर्दा उनले सामाजिक–अर्थशास्त्र र समाजशास्त्रको गहिरो ज्ञान प्राप्त गरे । सरकारको कडा आलोचकको रूपमा पत्रिका निक्लेको हुनले तुरून्त नै सो पत्रिकामाथि सरकारले प्रतिबन्ध लगायो । माक्र्स र फेडरिक एँगेल्सको भेट सन् १८४२ मा भएको थियो । सन् १८४४ मा माक्र्सले ‘द होली फेमिली’ (पवित्र परिवार) नामक पुस्तक प्रकाशन गरे । सन् १८४५ मा माक्र्स र एँगेल्स मिलेर ‘जर्मनी विचारधारा’ नामक पुस्तक लेखे । सन् १८४८ मा माक्र्स र एँगेल्सले ‘साम्यवादी घोषणापत्र’ (द कम्युनिस्ट मेनिफेस्टो) प्रकाशित गरे । जुन पुस्तक अहिलेसम्मकै सर्वाधिक बिक्री वितरण हुने पुस्तकमा पर्दछ । सन् १८४५ मा माक्र्सको ‘ज्याला, श्रम र पुँजी’ नामक अर्को कृति प्रकाशनमा आयो । उनले सन् १८५९ मा ‘राजनीतिक अर्थशास्त्रको आलोचनाको देन’ नामक पुस्तक प्रकाशनमा आयो भन्ने विश्वविख्यात पुस्तक ‘पुँजी’ सन् १९६५ मा प्रकाशनमा आएको थियो । यी पुस्तकहरूमार्फत माक्र्सले समाजवाद र साम्यवादी समाजको परिकल्पना गरेको देखिन्छ । ‘पुँजी’ मा अतिरिक्त मूल्यको सिद्धान्तबारे पनि व्याख्या गरिएको छ । लण्डन बसाईको क्रममा माक्र्सको आर्थिक अवस्था निकै नाजुक थियो । उनका तीन छोरीहरू आर्थिक अभावकै कारण बितेका थिए । एँगेल्सको आर्थिक सहयोगले माक्र्सले आफ्नो जीवीकोपार्जन गर्नुपर्ने बाध्यता आइपरेको थियो ।

माक्र्स


प्लेटोको साम्यवाद र माक्र्सको साम्यवादमा समानता र भिन्नताहरू छन् । प्लेटोको साम्यवादमा व्यक्तित्वको महत्व गौण छ । राज्यको अगाडि व्यक्तिको केही महत्व छैन । त्यस्तै माक्र्सको साम्यवादमा पनि व्यक्तिको भन्दा राज्यको महत्व रहेको छ । प्लेटो र माक्र्सका विचारधाराअनुसार मानिसले राज्यमा रहेरमात्र आफ्नो उद्देश्य पूरा गर्नसक्दछ भन्ने हो । राज्यको हितलाई व्यक्तिको हितभन्दा बढी प्राथमिकतमा राखेको छ भन्ने व्यक्तिले राज्यको इच्छा र आकाङ्क्षाअनुसार काम गर्नुपर्ने दुवैको विचार थियो । प्लेटो राज्यमा एकता र सुव्यवस्था कायम गर्न चाहन्थे । उनी जातभात, उचनीच तथा वर्ग विभेद हटाउन चाहन्थे । माक्र्सले पनि वर्गविहीन समाजको परिकल्पना गरेका थिए । जहाँ कुनै जात र कोही धनी र कोही गरिब हुँदैन । माक्र्स पुँजीवादलाई समाप्त पारेर वर्गबिहीन साम्यवाद आउने विचार राख्थे । प्लेटोले उच्च दुई वर्गलाई निजी सम्पत्ति राख्न निषेध गरे भन्ने माक्र्सले सबैलाई नै निजी सम्पत्ति राख्न निषेध गरेका थिए । प्लेटोको ‘आदर्श राज्य’ मा ‘दार्शनिक राजाको तानाशाही’ मा विश्वास राखेका थिए भन्ने माक्र्सले सर्वहारा वर्गका तानाशाहीमा विश्वास गरेका थिए ।
प्लेटोको साम्यवादका केही भिन्नताहरू पनि छन् । प्लेटोको साम्यवाद तत्कालीन नगर राज्यहरूको अराजकताका कारण उत्पन्न भएको थियो भने माक्र्सको साम्यवाद पुँजीवादको चरम शोषणको कारणले गर्दा उत्पन्न भएको थियो । प्लेटोको साम्यवाद पारिवारिक र आर्थिक दुवैमा हो भने माक्र्सको साम्यवाद आर्थिक क्षेत्रमा मात्र हो । प्लेटोले शासक वर्गलाई पारिवारिक र आर्थिक बन्धनबाट मुक्त गरेका थिए भन्ने माक्र्सले सबै मानिसलाई आर्थिक बन्धनबाट मुक्त गरी सामाजिक बन्धनबाट बाँधेका थिए । प्लेटोको साम्यवाद शासक वर्ग केन्द्रित छ भन्ने माक्र्सको साम्यवाद सबै जनतासँग केन्द्रित छ । प्लेटोका साम्यवादको उद्देश्य आध्यात्मिक छ र साम्यवादी योजनाद्वारा राजनीतिक उद्देश्य प्राप्त गर्ने थियो भने माक्र्सको साम्यवादको उद्देश्य आर्थिक समानता हो । प्लेटोको साम्यवादमा वर्ग रहन्छ भने माक्र्सको साम्यवादमा वर्ग र राज्यलुप्त हुन्छ । प्लेटोको साम्यवादमा तानाशाही व्यवस्था छ भन्ने माक्र्सको साम्यवादमा सामूहिकतामा जोड दिने भएकोले लोकतान्त्रिक छ । प्लेटोको साम्यवाद सुधारवादी हो भने माक्र्सको साम्यवाद क्रान्तिकारी हो । प्लेटोको साम्यवाद व्यवहारमा कहिल्यै लागू भएन भने माक्र्सको साम्यवाद विश्वमा एक समय दुईतिहाइ देशहरूमा लागू हुने क्रममा थियो र अहिले पनि चीनजस्तो महाशक्ति देशलगायत अन्य देशहरूमा माक्र्सको विचारधाराअनुसार शासन चलिरहेको छ । प्लेटो एक आर्दशवादीमात्र थिए भने माक्र्स व्यवहारवादी थिए । प्लेटोले आफ्नो जीवनकालमा आफ्नो विचार कार्यान्वयन गराउन खोज्दा आफू दासको रूपमा बेचिनुपरेको थियो भने माक्र्सले आफ्नो विचारअनुसारका सरकार पेरिस कम्युनमार्फत लागु गर्न खोज्दा दुई महिनामा नै पतन भयो ।
सारांशमा भन्नुपर्दा प्राचीन साम्यवाद र आधुनिक साम्यवादबीच केही विषयहरूमा समानता भए पनि धेरै भिन्नता छन् । वर्तमान समयको परिदृश्यमा प्लेटोेको साम्यवाद आदर्शको रूपमा सीमित छ भन्ने माक्र्सको साम्यवाद कार्यान्वयनको क्रममा रहेको छ । तापनि माक्र्सको सोचअनुसारको साम्यवाद पनि विश्वका जनताले अहिलेसम्म देख्न पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *