भर्खरै :

भक्तपुर क्यान्सर अस्पताल अब सरकारी अस्पतालसरह

भक्तपुर, २७ कार्तिक । लामो समयदेखि अन्योलमा रहेको भक्तपुर क्यान्सर अस्पताललाई नेपाल सरकारले सरकारी अस्पतालसरह सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल गरी कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताललाई अस्पताल विकास समिति गठन गरी सञ्चालन र व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
भक्तपुर नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा नेपाल अर्बुद रोग निवारण समाजले भोगाधिकार प्राप्त गरी सञ्चालनमा रहेको सो अस्पतालमा नेपाल अर्बुद रोग निवारण समाजका पदाधिकारीबाट मनपरीरूपमा सञ्चालन भएपछि स्थानीय जनताको आग्रहमा भक्तपुर नगरपालिकाले अलग सञ्चालन समिति बनाई सञ्चालन गरेको थियो । नेपाल अर्बुद रोग निवारण समाजका पदाधिकारीबाट भएको भ्रष्टाचारको विरोध गर्दै अस्पतालको चुस्त सञ्चालनको निम्ति भक्तपुर नगरपालिकाले चालेको कदमविरूद्ध उक्त समाजले दायर गरेको रिटमा सर्वोच्च अदालतले ‘हाललाई भक्तपुर नगरपालिकाले गठन गरेको सञ्चालक समितिलाई पनि कुनै काम नगर्न’ अन्तरिम आदेश जारी गरेपछि अस्पतालको सञ्चालन अन्योलमा रहेको थियो ।
नेपाल सरकारको कार्तिक २४ गतेको निर्णयले अस्पताल सञ्चालनमा रहेको अन्योल अन्त्य भएको छ । नेपाल अर्बुद रोग निवारण समाज नामको गैरसरकारी संस्थाअन्तर्गत अस्पतालका कुनै पनि चल–अचल सम्पत्ति वैधानिक नभएको अवस्थामा अब सबै सम्पत्ति नेपाल सरकारअन्तर्गत सञ्चालन हुने भएको छ । नेपाल सरकारको सो निर्णयअनुसार निवारण संस्था र नगरपालिकाले गठन गरेका दुवै सञ्चालक समिति निस्क्रिय हुने भएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अधिकारीको अध्यक्षतामा गठन हुने अस्पताल विकास समितिले अस्पतालको सञ्चालन गर्नेछ ।
सरकारको सो निर्णयले अस्पतालमा उपचारमा आउने बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सहज हुने बताइएको छ । सरकारी स्वामित्वमा जानासाथ उपचार र परीक्षण शुल्कमा हालभन्दा सस्तो गर्न सकिने अस्पतालमा कार्यरत एक कर्मचारीले भन्नुभयो । हाल २७९ जना स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत अस्पतालका सबैलाई अब अस्पताल विकास समितिअन्तर्गत सेवालाई निरन्तरता दिइनेछ । आगामी दिनमा स्वास्थ्यकर्मी र कर्मचारी भने लोकसेवा आयोगको विधि प्रक्रियाअनुसार भर्ना गरिनेछ ।
सरकारको निर्णयबारे प्रतिक्रिया दिंदै भक्तपुर क्यान्सर अस्पतालको फेसबुक पेजमा लेखेको छ, “नेपाल सरकारको जग्गामा सञ्चालित भक्तपुर क्यान्सर अस्पताल कानुनी रूपमा बेवारिसे भई नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७–७–२४ को निर्णयअनुसार यस अस्पताललाई भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठनमार्फत सञ्चालन गर्ने भएकोले यस अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी र अस्पताल प्रशासन उक्त निर्णयको स्वागत गर्दछौँ । भविष्यमा अस्पतालको विकास, क्यान्सर बिरामीहरूले सस्तो, सुलभ र गुणस्तरीय सेवा पाउने आशा र कर्मचारीहरूको स्थायित्व र वृत्ति विकासको अपेक्षा राखेका छौँ ।”
प्राप्त जानकारीअनुसार सो अस्पताल चितवनको भरतपुर क्यान्सर अस्पतालकै ढाँचामा सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *