सन् २०१८ मा संरा अमेरिकामा भएको मध्यावधि निर्वाचनताका उनीहरूप्रति संसारको ध्यान तानियो । केही समयपछि नै उनीहरू चार जनाको समूह (स्क्वायड) भनी चिनिन थाले । चार जना महिला नेतृहरू–फरक फरक पृष्ठभूमि, थोरै राजनीतिक अनुभव तर परिवर्तनप्रति उत्कट चाहना । हालै सम्पन्न संरा अमेरिकी निर्वाचनमा पनि अलेक्सान्द्रिया ओकासिओ–कोर्टेज, इल्हम ओमार, अयान्ना प्रेस्ले र रशिदा त्लाब सबै पुनः निर्वाचित भएका छन् । संरा अमेरिकाको आगामी तल्लो सदनमा उनीहरू नवीन युवा र विविधतापूर्ण आवाज प्रतिनिधित्व गर्नेछन् । तर, यी प्रगतिशील युवाहरू निर्वाचित हुनेले डेमोक्रेटिक दलभित्र अहिले नै द्वन्द्वको कारण बनिसकेको छ । आगामी दिनमा आन्तरिक द्वन्द्वको शिलशिला अझ पेचिलो बन्नेछ ।
स्क्वाएड के हो ?
ओकासिओ–कोर्टेज डेमोक्रेटिक दलभित्र सबभन्दा परिचित अनुहार हुन् । उनलाई उनको नामको सबभन्दा अघिका तीन अक्षर मिलाएर ‘एओसी’ पनि भनिन्छ । उनी अमेरिकी प्रतिनिधि सभामा न्यु योर्क सहरबाट ६८.८ प्रतिशत मत प्राप्त गरी विजय भएकी छिन् । प्रेस्लेले मासाचुसेटबाट ८७ प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजय भएका छन् । त्लाब मिचिगनबाट ७७.९ प्रतिशत र ओमार मेनिसोटाबाट ६४.५ प्रतिशत ल्याएर चुनाव जितेका थिए ।
बितेका दुई वर्षमा चार जना युवाहरूले डेमोक्रेटिक दलभित्रको वामपन्थी खेमासँग बलियो मिल्ती बनाएका छन् । उनीहरूले सबैको लागि स्वास्थ्य सेवा, जलवायु परिवर्तनको सामना गर्न हरित नयाँ सम्झौता, जातीय न्याय र कामदार परिवारको अधिकारजस्ता प्रगतिशील मुद्दाको वकालत गर्दै आएका छन् ।

‘द स्क्वाएड’ का चार नेतृ
आफूलाई चित्त बुझेका नीतिबारे खुलेर बोल्ने र सामाजिक सञ्जालमा निकै सक्रिय यी नेतृहरूले जनताको सङ्घर्ष बुझेका प्रतिनिधिको रूपमा आफूलाई स्थापित गरेका छन् । उनीहरूले जनताको सङ्घर्षलाई बुझ्न सक्छन् किनभने उनीहरू आफै त्यो सङ्घर्षका हिस्सा हुन् ।
ओकासिओ–कोर्टेज प्युर्टोरिकाली मूलकी हुन् । उनी संरा अमेरिकाको ब्रोन्क्समा हुर्केकी थिइन् । २९ वर्षको उमेरमा सांसद बन्नुअघि उनी खाजाघरमा ग्राहकले मागेको खाना पु¥याइदिने वेटरेस र भट्टीमा रक्सी पु¥याउने सेविका थिइन् । २९ वर्षको उमेरमा सांसद बन्दा उनी संरा अमेरिकी इतिहासमै सबभन्दा कान्छी सांसद थिइन् । ओमार सोमालियाली शरणार्थी थिइन् । पछि उनले संरा अमेरिकाको अङ्गीकृत नागरिकता लिइन् । त्लाब प्यालेस्टाइनी आप्रवासीकी छोरी हुन् । ओमार र त्लाब अमेरिकी प्रतिनिधिसभामा निर्वाचित हुने पहिला महिलाहरू हुन् । प्रेस्ले प्रतिनिधिसभामा निर्वाचित हुने प्रथम काला महिला हुन् । उनी मासाचुसेटबाट निर्वाचित भएकी हुन् ।
सन् २०१९ को अगस्टमा ‘न्यु योर्क टाइम्स’ मा प्रकाशित एउटा लेखमा उनीहरूलाई ‘राजनीतिको भविष्य’ को संज्ञा दिइएको थियो ।
सन् २०१८ मा महिलाहरूको ‘गुलाबी आन्दोलन’ (पिङ्क वेभ) को हिस्साको रूपमा सांसद र गभर्नरमा निर्वाचन जितेका उनीहरूले समुदाय पुनः निर्माण र वाशिङ्टन डीसी हल्लाउनमा आफ्नो ऊर्जा खर्च गरेका छन् ।
प्रगतिशील आन्दोलनको रूपमा हामीले गर्न खोजेको भनेको राजनीतिलाई लेनदेनबाट रूपान्तरणतर्फ मूलभूत परिवर्तन (पाराडिज्म सिफ्ट) हो । हामी समुदायलाई एकजुट गर्छौँ, हामी अझ न्यायपूर्ण संसार निर्माण गर्न सङ्गठन गर्छौं”, नोभेम्बर २ मा प्रेस्लेले एउटा अनलाइन प्रगतिशील सभामा भनिन् ।
आफ्नो अभियानको क्रममा उनीहरूले डेमोक्रेटिक दलका मध्यमपन्थी, अनुदारपन्थीहरूसँग टाउको ठोकाठोक गर्नुपरेको छ । उनीहरूको सम्झौताहीन अडानबाट धेरै रुष्ट बनेका छन् । उनीहरूको अडानलाई अरूहरू कट्टरपन्थी र वामपन्थी नीतिको रूपमा बुझ्ने गर्छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले स्क्वाएडमाथि गरेका लगातार र जातिवादी हमलाको कारण पनि उनीहरूको उचाइ बढाइदिएको छ ।
उनीहरूको परिचय प्रतिनिधि सभाभित्र प्रगतिशील खेमामा मात्र सीमित छैन । भर्मन्टका सिनेटर बर्ने स्लान्डर्ससँगै उनीहरू धेरै युवा, सक्रिय मतदाता भएका आधारको मन जित्न सफल भएका छन् ।
भुर्इँ तहको सक्रियता
यो वर्षको निर्वाचनअघि चारै जना नेतृहरू मानिसहरूलाई मत खसाल्न आह्वान गर्ने अभियानमा थिए । उनीहरूले जनताका घर घरमा पुगेर मानिसहरूलाई मतदानमा सहभागी बन्न आह्वान गरिरहेका थिए ।
पहिले पहिलेका चुनावी अभियानमा यसरी जनताको घरदैलोमा पुग्न आवश्यक ठानिंदैनथ्यो । क्वाएडका सदस्यहरू आफ्ना क्षेत्रका जनतासँग प्रत्यक्षरूपमा अन्तरक्रिया गर्दै घर–घर पुगे ।
त्लाबले फेब्रुअरी र नोभेम्बर महिनाको बीचमा चुनावी अभियानको क्रममा झन्डै ७ लाख जनता भएको आफ्नो संसदीय क्षेत्रअन्तर्गत आफूले ३ लाख फोन कल गरेको, २ लाख ६० हजार सन्देश पठाएको र ४२ हजार ६५० घरमा पुगेको ट्वीट गरिन् ।
ओकासिओ–कोर्टेस गत महिना युवा मतदाताहरूलाई उत्साहित गर्न ट्वीट्चको अनलाइन भिडियो गेममा सामेल भइन् । उनी सहभागी बनेको प्रत्यक्ष प्रसारणमा दर्शकहरूको सङ्ख्याले नयाँ रेकर्ड बनाउन सफल भयो । ओमारले पनि खुसीपूर्वक त्यस्ता अनलाइन गतिविधिमा सहभागी बनिन् । चुनावको दिन मतदाताहरू मत खसाल्न लामबद्ध रहँदा प्रेस्ले बोस्टनको एउटा मतदान केन्द्रमा अरू मतदाताहरूसँग नाचिरहेकी देखिइन् ।

बोम्यान जोन्स
ओकासिओ–कोर्टेजले ट्वीटरमा एक करोडभन्दा बढी फोलोअर्स बनाएकी छिन् । स्लान्डर्सको ट्वीटरमा १ करोड ३६ लाख फोलोअर्स छन् । यसले उनीहरूलाई अधिकतम अनलाइन प्रयोगकर्तासम्म आफ्नो विचार पु¥याउन र अन्तरक्रिया गर्न सफल भएका छन् । चारै जना नेतृहरूको अलग एउटा संयुक्त ट्वीटर एकान्ट छ । त्यो एकान्टमार्फत पनि उनीहरूले नियमितरूपमा एकअर्काका गतिविधि सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् ।
द स्क्वाएडको विस्तार
उनीहरूको रणनीति परिणाममुखी ठहरियो । स्क्वाएड सदस्यहरू आफ्ना निर्वाचन क्षेत्रबाट निर्वाचितमात्र भएनन् । बरु उनीहरूलाई प्रतिनिधिसभाभित्र अरू प्रगतिशील आवाजले पनि साथ दिनेछन् । मिसौरीकी कोरी बुश, न्यु योर्कबाट जमाल बोम्यान र मोनडिएर जोन्सलाई विशेषतः स्क्वाएडका नयाँ सदस्यको रूपमा बुझ्न थालिएको छ ।
“स्क्वाएड फैलिरहेको छ”, ओमारले आफ्नो विजयसँगै ट्वीट गरिन्,“कोरी बुश, जमाल बोम्यान, मोनडिएर जोन्स र हाम्रा नयाँ प्रगतिशील सदस्यहरूसँग मिलेर प्रतिनिधिसभामा असल समस्या निम्त्याउन र ठूलो प्रगति गर्न व्यग्र छु ।”
कोरी बुश पेशाले नर्स हुन् । उनी एकल महिला हुन् । सन् २०१४ मा प्रहरीले माइकल ब्राउनको हत्या गरेपछि फर्गुसनमा आयोजित विरोध कार्यक्रमहरूमा उनी अग्रपङ्क्तिमा थिइन् । उनले आफ्नो बीमा नहुँदा कारभित्रै सुत्नु परेको दुःखका दिनबारे खुलेर बोलेकी थिइन् । त्यस्तै बोम्यान एउटा सार्वजनिक विद्यालयकी प्रधानाध्यापिका हुन् । उनी अमेरिकाको झोपडपटीमा हुर्केकी हुन् । अधिवक्ता तथा अभियन्ता जोन्स प्रतिनिधिसभामा निर्वाचित भएका दुई पहिला समलिङ्गी काला महिलामध्ये एक हुन् । उनीहरू तीनै जना प्रगतिशील कार्यक्रम बोकेर चुनाव लडेका थिए । उनीहरूले निःशुल्क र सुलभ स्वास्थ्य सेवा, सस्तो आवास, आपराधिक न्याय, प्रहरीमा सुधार, शिक्षामा पहुँच र आप्रवासी अधिकारजस्ता मुद्दा उठाएका छन् । यी मुद्दाहरू मूलतः स्लान्डर्स, स्क्वाएड र सिनेटमा अर्की प्रभावशाली प्रगतिशील महिला एलिजावेथ वारेनले उठाउँदै आएका हुन् ।
आफ्नो विजय यात्रामा उनीहरूले लामो समयदेखि सार्वजनिक पदमा बसेका र नेतृत्वको समर्थन प्राप्त डेमोक्रेटिक नेताहरूलाई समेत पछारेका थिए । उनीहरूको विजयले पुस्ता परिवर्तनको कुरालाई सतहमा ल्याएको छ ।
“मेरो विचारमा हाम्रो नीति निर्माण हाम्रो जीवनका अनुभवमा आधारित छन् । कुनै पनि नीतिलाई आफ्नो व्यक्तिगत अनुभवसँग जोड्न सक्ने अरू थप मानिसलाई हामीले संसद्मा पठाउन सके हामीले राम्रा नीति पाउनेछौँ”, जोन्सले यो वर्षको सुरुमा सीएनएनलाई दिएको अन्तर्वार्तामा भनिन् ।
डेमोक्रेटहरू सुन्न आवश्यक छ
सन् २०१६ मा बर्न सान्डर्सले राष्ट्रपति पदको दाबी गर्दा डेमोक्रेटिक दलभित्र चिरा पर्न थालिसकेको थियो । यो पालिको निर्वाचनमा प्रतिनिधिसभामा डेमोक्रेटिक दलको बहुमत केही खुम्चिएको छ । डोनाल्ड ट्रम्पलाई पदच्युत गर्न राष्ट्रपति निर्वाचनमा जो बाइडेनको पछि सङ्गठित भए पनि अब डेमोक्रेटिक दलभित्र मध्यपन्थी र प्रगतिशीलहरूबीच विभाजन पुनः देखिन थालेको छ ।
चुनावकै समयमा प्रगतिशीलहरूले अनिवार्य स्वास्थ्य सेवा, प्रहरीमा बजेट कटौतीजस्ता मुद्दा उठाउँदा आफ्ना धेरै सीटमा पराजय भोग्नुपरेको भन्दै मध्यपन्थीहरूले आरोप लगाएका थिए । ट्रम्प आफै पनि स्लान्डर्स र उनका समर्थकहरूले अघि सारेका ‘समाजवादी’ मुद्दाले ‘डेमोक्रेटिक पार्टीलाई ध्वस्त’ बनाइरहेको भन्दै खेदो खनेका थिए ।
ओकासिओ–कोर्टेजले तत्कालै त्यसको जवाफ फर्काइन्, “सबैको लागि स्वास्थ्य सेवाको पक्षमा बोल्ने सबै सदस्यहरू निर्वाचित भएका छन् । त्यसकारण कुनै पनि प्रगतिशील कुरालाई घातक देख्नुभन्दा विषय अलि फरक छ ।” सीएनएनमा बोल्दै उनले मध्यपन्थीहरू अनलाइन र व्यक्ति व्यक्तिमा पुगेर प्रभावकारी तरिकाले चुनाव प्रचार गर्न असफल भएको र पार्टीभित्रका विवादलाई ‘घ्यू थपेर’ विरोधको धुवाँ उडाइरहेको बताइन् । डेमोक्रेटहरूलाई सङ्गठित हुन र प्रगतिशीलहरूलाई सही लाइनमा आउन गरिएको आह्वानबीच स्क्वाएड र उनीहरूका समर्थकहरू विशेषतः त्लाब र ओमारहरूको प्रयासले बाइडेनलाई चुनाव जित्न ठुलो मद्दत पुगेको थियो ।
नवनिर्वाचित राष्ट्रपतिको अबको प्राथमिकता रातो कार्पेटमा हिँड्ने र रिपब्लिकनहरूसँग सम्झौता गर्नुमात्र हुनुहुन्न । बरु आफ्नै दलभित्रका प्रगतिशील खेमा र उनीहरूले प्रतिनिधित्व गर्ने मतदाताका कुरा सुन्नुपर्छ ।
“यो निर्वाचनमा हाम्रो एउटा काम थियो । त्यो काम भनेको ट्रम्पबाट मुक्ति । अनि धेरै जनताको भावना प्रतिध्वनित हुने नीतिको लागि नयाँ सरकार बनाउनु”, ओमारले गत साता सीएनएनमा भनिन् ।

चुनावी अभियानमा बुश
मतदाताहरूले गाजालाई वैध बनाउने, न्यूनतम ज्याला बढाउने कुराको अनुमोदन गरेका छन् । जनमतले बहुमत जनता सरकार नियन्त्रित स्वास्थ्य सेवा र जलवायु परिवर्तन रोकथामको लागि आवश्यक कदम चाल्ने पक्षमा छन् ।
“मेरो विचारमा यसले हामीले बोकेका नीतिमा अमेरिकी जनताको भावना निहीत भएको सन्देश नयाँ सरकारलाई दिएको छ । यदि हाम्रो ठूलो पालभित्रको डेमोक्रेटिक दलले सबै अमेरिकी जनताको प्रतिनिधित्व गरी शासन गर्न चाहन्छ भने हामीले पनि निर्णय प्रक्रियामा ठाउँ पाउनुपर्छ”, ओमारले भनिन् ।
हालै निर्वाचित भएकी कोरी बुशले खरो शब्दमा भनेकी छिन्, “हामी हिजोभन्दा आज फरक भएको देख्न चाहन्छौँ । हामी यो कुरा भनिरहेका छौँ । हुनसक्छ, तिमीहरूलाई धकेल्नुपर्ने हुनसक्छ ।
“मेरो समुदायका आवश्यकताभन्दा म कति पनि पछाडि फर्किने छैन”, उनले भनिन् ।
स्रोत: सीजीटीएन
नेपाली अनुवाद: सुशिला
Leave a Reply