भर्खरै :

अरून्धती रायको पुस्तक विश्वविद्यालयको पाठ्यक्रमबाट निकालियो

तामिल नाडु, १२ नोभेम्बर । भारतको तामिल नाडुको मनानमानियम सुन्दरनर विश्वविद्यालयले भारतका चर्चित विपक्षी लेखिका अरून्धती रायले लेखेको पुस्तक पाठ्यक्रमबाट निकाल्ने निर्णय गरेको छ । भारतीय जनता पार्टी (भापजा) सम्बद्ध अखिल भारतीय विद्यार्थी परिषद्ले गरेको गुनासोको आधारमा विश्वविद्यालयले त्यस्तो निर्णय गरेको हो ।
विश्वविद्यालयले सन् २०१७ यता पाठ्यक्रममा रायको ‘वाकिङ विथ द कमरेड्स’ पुस्तक समावेश गर्दै आएको थियो । भारतीय माओवादी शिविरमा रायको यात्राको आधारमा सो पुस्तक लेखिएको हो ।
“प्राज्ञिक डीन र अध्ययन बोर्डका सदस्यहरू सम्मिलित समितिले सो गुनासोमाथि सुनुवाइ ग¥यो र पुस्तक पाठ्यक्रमबाट निकाल्ने निर्णय ग¥यो । विद्यार्थीलाई यस्तो विवादास्पद पुस्तक पढाउन अनुपयुक्त हुनसक्ने निष्कर्षसहित त्यस्तो निर्णय गरिएको हो”, विश्वविद्यालयका उपकुलपति के. पिटचुमानीले भने, “त्यो पुस्तकको सट्टा एम. कृष्णनको ‘माइ नेटिभ ल्यान्डः एस्से अन नेचर’ राखेका छौँ ।”
अखिल भारतीय विद्यार्थी परिषद्को दक्षिण तामिल नाडुका उपसचिव सी भिगनेसलले विश्वविद्यालयमा उजुरी गरेका थिए । पुस्तकले ‘राष्ट्रविरोधी हत्या र उपद्रवलाई खुलारूपमा समर्थन गरेको’ भन्दै उनले त्यस्तो उजुरी गरेका हुन् । उनले कदाचित विश्वविद्यालयले सो पुस्तक पाठ्यक्रमबाट नहटाए विरोध प्रदर्शन आयोजना गर्नुका साथै केन्द्रीय सरकारको सूचना जारी गराउने चेतावनी दिएका थिए ।
“यो पुस्तक बितेका तीन वर्षदेखि पाठ्यक्रममा हुनु निकै दुःखदायी कुरा हो । यी वर्षमा माओवादी विचारधारालाई युवा विद्यार्थीहरूलाई पढाइयो”, एभीबीपीले आफ्नो माग पत्रमा लेखेको छ ।
बिहीबार तामिल नाडुको भारतीय जनता पार्टीका प्रवक्ता एसजी सूर्यले पाठ्यक्रमबाट सो पुस्तक निकाल्नु राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) सम्बद्ध विद्यार्थी सङ्गठनको ठूलो सफलता भएको प्रतिक्रिया दिए ।
तर, द्रविदा मुनेत्रा कजाघमका सांसद कानीमोचीले विश्वविद्यालयको सो कदमको आलोचना गरेकी छिन् । “सरकार र राजनीतिले विद्यार्थीले कुन कला र कुन साहित्य पढ्नुपर्छ भन्ने कुरा सिकाउन खोजिरहेको छ । यसले समाजको विविधतालाई ध्वस्त बनाउँछ”, उनले ट्वीट गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *