भर्खरै :

हरेक वर्ष म्हपूजा हुने दिनबारे विवाद किन ?

नेवारहरूको महान् चाड म्हपूजा आउँदै गर्दा विवाद सिर्जना हुने एउटा परम्परा नै भएको छ । २०५२ सालपछि हरेक वर्ष नेपाल संवत्को वर्षको सुरूवातको रूपमा मनाइने न्हुदँलाई म्हपूजासँग जोडेर विवाद खडा नै भइरहेको छ । लक्ष्मी पूजा कार्तिक कृष्ण औँसीको रातमा गरिने पूजा हो । पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन गरेको पात्रोको आधारमा यसपालि कार्तिक २९ गते चतुर्दशीका दिन दिउँसोदेखि नै औँसी सुरू हुने भएकोले लक्ष्मी पूजा कार्तिक २९ गते नै गर्नुपर्ने देखिन्छ । म्हपूजा कार्तिक शुक्ल प्रतिपदाको दिनमा गरिने पूजा हो । प्रायजसो म्हपूजा राती गरिने चलन छ । त्यसकारण कार्तिक ३० गते सूर्योदय हुँदाको तिथि आँैसी भए तापनि बिहान ११ बजे उपरान्त नै प्रतिप्रदा सुरू हुने भएकोले म्ह पूजा कार्तिक ३० गते बेलुका गर्नुपर्ने देखिन्छ । त्यसैगरी कार्तिक शुक्ल द्वितियाका दिन मनाउने किजापूजा (भाइटीका) पनि मंसिर १ गते बिहान ९ बजेपछि द्वितीया सुरू हुने भएकोले यही दिन नै मनाउनुपर्ने देखिन्छ । मंसिर २ गते बिहान ७ बजे नै द्वितीया समाप्त भई तृतीया तिथि सुरू भइसकेको हुने हुनाले यो दिन किजापूजा गर्न नमिल्ने देखिन्छ ।
कार्तिक शुक्ल प्रतिप्रदा नेपाल संवत्को नयाँ वर्षको शुभारम्भको दिन हो । यसपालि सूर्योदयमा कार्तिक शुक्ल प्रतिप्रदा भएको दिन मंसिर १ गते हो र मंसिर १ गते नै नेपाल संवत्को नयाँ वर्ष ११४१ को शुभारम्भको दिन हो । म्हपूजा र नेपाल संवत्को नयाँ वर्ष दुवै कार्तिक शुक्ल प्रतिप्रदाका दिन मनाइने भएको हुनाले म्हपूजा पनि मंसिर १ गते नै मनाउनुपर्छ भन्ने तर्क दिने गरिन्छ । तर, नेपाल संवत्को इतिहास ११४१ वर्षमात्र पुगेको छ । शङ्खधर साख्वाले सर्वसाधारण जनताको ऋण मुक्त गरेको सम्झनामा नेपाल संवत् सुरू गरिएको विश्वास गरिन्छ । म्हपूजा भने नेपाल संवत् सुरू हुनुभन्दा कैयौँ वर्षअघि देखि नेवार समुदायले कार्तिक शुक्ल प्रतिप्रदाको दिन स्वन्ति नखाअन्तर्गत लक्ष्मी पूजाको भोलिपल्ट मनाउँदै आएको ठूलो उत्सव हो । म्हपूजा भनेको शङ्खधर साख्वाले नेपाल संवत्को थालनी गरेको उत्सव पक्कै पनि होइन होला । त्यसैले म्हपूजा नेपाल संवत्को दिनमै मनाउनुपर्छ भन्ने तर्कले मेल खादैन ।

नेपाल संवत् चन्द्रमाको तिथिमा आधारित पात्रो हो । यो सौर्य पात्रोजस्तो सरल छैन । नेवारहरू जन्म दिन, श्राद्ध तथा चाड पर्वहरू यही पात्रोको आधारमा मनाउँछन् । तर, गते र बारहरू भने सौर्य पात्रोमा आधारित हुन्छ । नयाँ दिनसँगै नयाँ गते र नयाँ बारको सुरूवात हुन्छ । तर, चन्द्रमाको तिथि भने नयाँ दिनसँगै ठ्याक्कै सुरू हुँदैन किनकि दिनको कुनै पनि समयमा नयाँ चन्द्र तिथि सुरू हुनसक्छ । सौर्य पात्रो र चन्द्र तिथिको पात्रोको यही बेमेलको कारणले हाम्रा चाड पर्वहरूमा बेला बेलामा अन्योलता देखिन्छ ।

चन्द्रमाको तिथिको आधारमा राती गरिने धेरैजसो पूजाहरू सुर्योदय हुँदा अघिलो तिथि भए पनि साँझ सो पूजाको तिथि सुरू भइसकेको छ भने त्यही दिन मनाउने चलन छ । जस्तै नेवारहरूले मनाउने ‘चथा पूजा’ भाद्र शुक्ल चतुर्थीका दिन चथा गणेशको पूजा गरी मनाइने पर्व हो । कहिलेकाहीँ तीज अर्थात् भाद्र शुक्ल तृतीयाको दिनमा यदि चुतुर्थी दिउँसै सुरू भएको छ भने तीजको दिन नै बेलुका चथा पूजा मनाइन्छ । त्यसैगरी शिवरात्री फागुण कृष्ण चतुर्दशीका दिन मनाइने पर्व हो । यो पनि राती शिवको आराधना गरिने मनाइने पर्व हो । शिवरात्री पनि यदि फागुण कृष्ण त्रयोदशीका दिनमा दिउँसै चुतुर्दशी सुरू भएको छ भने त्यही दिन शिवरात्री मनाइन्छ । यसपालि पनि फागुन २७ गते त्रयोदशीकै दिन शिवरात्री परेको छ । चतुर्दशीका दिनमा गरिने रात्री पूजाहरू प्रायजसो त्रयोदर्शीको साँझमै पर्न आउँछ । शुक्ल चतुर्दशीमा दिउँसै पूर्णिमा सुरू हुँदा पुर्ण चन्द्र उदय त्यही दिनमा हुन्छ र पूर्णिमाको व्रत पनि त्यही दिनमा बस्ने चलन छ । भोलिपल्ट बिहान पूर्णिमा भए पनि साँझ पूर्ण चन्द्र उदय नै हुँदैन ।
यी उदाहरणजस्तै अरू पनि बेलुका गरिने पूजाहरू छन् जुन बिहान अघिल्लो दिनको तिथि भए पनि त्यही दिन मनाइने चलन छ । परम्परागतरूपमै सबैजसो चाड पर्वहरू सम्बन्धित तिथिभित्रै मनाउने चलन छ, तिथि सकिएपछि मनाइँदैन ।
नेपाल संवत् चन्द्रमाको तिथिमा आधारित पात्रो हो । यो सौर्य पात्रोजस्तो सरल छैन । नेवारहरू जन्म दिन, श्राद्ध तथा चाड पर्वहरू यही पात्रोको आधारमा मनाउँछन् । तर, गते र बारहरू भने सौर्य पात्रोमा आधारित हुन्छ । नयाँ दिनसँगै नयाँ गते र नयाँ बारको सुरूवात हुन्छ । तर, चन्द्रमाको तिथि भने नयाँ दिनसँगै ठ्याक्कै सुरू हुँदैन किनकि दिनको कुनै पनि समयमा नयाँ चन्द्र तिथि सुरू हुनसक्छ । सौर्य पात्रो र चन्द्र तिथिको पात्रोको यही बेमेलको कारणले हाम्रा चाड पर्वहरूमा बेला बेलामा अन्योलता देखिन्छ । कसै कसैले सूर्योदयको तिथिलाई नै प्रधानता दिनुपर्छ भन्ने राय पनि दिने गरेका छन् । यदि यसो गर्ने हो भने अझ बढी व्यवहारिक समस्या आउन सक्दछ । जस्तै कुनै तिथि तुत भएमा के गर्ने ? एउटै तिथि दुई दिनको सूर्योदयमा देखिएमा के गर्ने ? यो प्रश्नको जवाफ म्हपूजा र न्हुदँ एकै दिनमा हुनुपर्छ भन्नेहरूको के होला ?
हरेक शुभकार्यको लागि ज्योतिषको सल्लाहअनुसार साइत लिने तर यही एउटा पर्वमा विवाद खडा गर्नु भनेको एकखालको धिपी कस्नुजस्तै हो । अरू सबै चाड पर्वहरू पञ्चाङ्ग निर्णायक समितिले प्रकाशित गरेको पात्रोलाई सहर्ष स्वीकारेर मनाउने तर स्वन्ती नखको हकमा मात्र विवाद उत्पन गरेर सर्वसाधारणलाई भ्रममा पार्नु उचित हुँदैन ।
त्यसो त नेवार जाति होइन राज्य हो भनिन्छ । नेवारहरूभित्रै विविधता पाइन्छ । म्हपूजा नै गर्न नपर्ने नेवारहरू पनि छन् । एकातिर नेपाल संवत्लाई राष्ट्रिय क्यालेन्डर बनाउनुपर्छ भन्ने अभियान चलिरहेको छ भने अर्कोतिर वर्षैपिच्छे नेपाल संवत् सुरूवात हुने दिनबारेमा विवाद सिर्जना भई नै रहेको छ । यसबाट नेपाल संवत्लाई राष्ट्रिय क्यालेन्डर बनाउने अभियानलाई कमजोर बनाएको छ । यसबारे सम्बन्धित सबैको ध्यान जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *