भर्खरै :

चिलीमा फासीवादको प्रतिरोध पुस्तकको अध्ययन गोष्ठी सम्पन्न

भक्तपुर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर नगर समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अध्ययन गोष्ठी शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी, भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले सोभियत संशोधनवादीहरूको प्रभावमा चिलीका वामपन्थी नेता ऐयन्डेले शान्तिपूर्ण निर्वाचनमार्फत समाजवादी व्यवस्था स्थापना गर्न खोज्दा असफल भएको बताउँदै समाजवादी व्यवस्था सशस्त्र क्रान्तिबाट मात्र सम्भव छ भन्नुभयो ।
संसदीय निर्वाचनबाट बहुमत प्राप्त वामपन्थी सरकारले त्यो बिन्दुसम्म मात्र काम गर्नसक्छ, जहाँसम्म पुँजीपति वर्गको काम र नाफालाई धक्का पुग्दैन र त्यो बिन्दु पार गरिसकेपछि त्यो शासन सत्तालाई सफाया गर्न कुनै पनि निकृष्ट कार्य गर्न पुँजीपति वर्ग तयार हुने धारणा उहाँले राख्नुभयो ।
जनतालाई सही सिद्धान्तद्वारा शिक्षित पारी समाजवादी क्रान्तिको आधार तयार पार्न विद्यार्थी कार्यकर्ताहरूले अध्ययनलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले कम्युनिस्ट सिद्धान्त र व्यवहारले परिपक्व सङ्गठित सोभियत जनता भएकै कारण स्तालिनको नेतृत्वमा फासीवादी हिटलरलाई नराम्रोसँग पराजित गरेको दृष्टान्त प्रस्तुत गर्दै चिलीमा वामपन्थी राष्ट्रपति ऐयन्डेको सुरुआती कार्यकालदेखि नै सुरु भएको अमेरिकी गुप्तचर संस्था सीआईएको षड्यन्त्रबारे अवगत हुँदाहुँदै पनि सम्भावित प्रतिक्रान्तिबारे आफ्नो नेता, कार्यकर्ता र कामदार जनतालाई तयार नगरेको कारण फासीवादी सेनाद्वारा सत्ता कब्जा गर्न सफल भएको स्पष्ट पार्नुभयो ।
उहाँले सङ्गठनले विद्यार्थीलाई असल आचरण र व्यवहार पनि सिकाउने विचार राख्नुभयो ।
संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्योपचार निःशुल्क हुने उल्लेख गरिए तापनि नेपाल सरकारले कोभिड महामारीको सङ्कटमा पीसीआर परीक्षण गर्न शुल्क लिने निर्णय गर्नु संविधानविपरीत भएको उहाँले बताउनुभयो ।
नेपालको सीमा अतिक्रमण विरोधी सङ्घर्षको आधारमा स्थापित नेक्राविसङ्घको स्थापना दिवस (मंसिर २२) को अवसरमा मंसिर महिनाभरि नै विभिन्न सिर्जनात्मक गतिविधि गरी मनाउने जानकारी गराउँदै उहाँले मातहतका सम्पूर्ण समितिलाई कुनै न कुनै गतिविधि गर्न÷गराउन निर्देशन दिनुभयो ।
नेक्राविसङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका विलम सुवालले चिलीमा एयन्डेको सरकार र नेपालमा नेकपाको सरकारबीच तुलना गर्दै नेकपाले कम्युनिस्टको नाममा पुँजीपति वर्ग, विस्तारवाद र साम्राज्यवादको पक्षमा, कामदार वर्गको विपक्षमा काम गरिरहेकोले नेपालमा निर्वाचनबाटै बहुमत प्राप्त गरेको नेकपाको सरकार टिकिरहेको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष प्रवीण प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरू मनिष गोरा, सविता त्वानावासु, प्रज्वल खत्री, कल्पना द्योपाला, करेश्ना कोजू, मन्दिरा लागेजू, सृष्टि कोजूले अध्ययन पत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *