भर्खरै :

शङ्खधर साख्वा नेपाल संवत्का प्रवर्तक

भक्तपुर, २९ कार्तिक । नेपाल संवत् ११४१ नयाँ वर्षको अवसरमा वागीश्वरी मा.वि. संस्कृति विभागको आयोजनामा शनिबार नेपाल संवत् र शङ्खधर साख्वा विषयमा अनलाइनबाट अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा संस्कृतिविद् ओम धौभडेलले नेपाल संवत्को सुरुआतकर्ता शङ्खधर साख्वा भएका धेरै प्रमाणहरू उपलब्ध भएको बताउनुभयो । व्यापारी शङ्खधर साख्वाले कमाएको सम्पत्तिबाट काठमाडौँ र भक्तपुरका पीडित जनताको ऋण तिरी तत्कालीन राज्यको अनुमतिमा नेपाल संवत् सुरू गरिएको बताउँदै उहाँले नेपाल संवत् कुनै व्यक्ति र जाति विशेष संवत् नभई यो नेपालकै नामबाट चलेको संवत् भएको प्रस्ट पार्नुभयो ।
अतिथि धौभडेलले नेपाल संवत् सुरू गर्नुमा शङ्खधर साख्वाको ठूलो योगदान भएजस्तै सिद्धिवन्त जोशीको पनि अध्ययन अनुसन्धान गर्न आवश्यक भएको बताउनुभयो ।
वागीश्वरी माविका पूर्वसहायक प्रअ ज्ञानसागर प्रजापतिले नेपाल संवत् जाति विशेष संवत् होइन, सबै जाति, भाषा र देशकै संवत् भएको बताउनुभयो । नेपाल संवत्को आधारमा गरिने तिहार पर्वमा तिथि मितिको समस्याले जनतामा अन्योल छाएको उहाँले बताउनुभयो ।
वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले कार्यक्रमको सभापतित्व गर्दै नेपाल संवत् शङ्खधर साख्वालगायत अन्य महापुरुषहरूको पनि हामीले जानकारी राख्नुपर्ने बताउनुभयो । नेपालका जातजातिलाई आफ्नो मातृभाषामा शिक्षा दिन सके धेरै सजिलो हुने उहाँले बताउनुभयो ।
अनलाइन अन्तरक्रिया कार्यक्रममा संस्कृति शिक्षक लक्ष्मीनारायण दुवालले पनि शङ्खधर साख्वा र नेपाल संवत्को विषयमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *