भर्खरै :

वर्ग सङ्घर्षले दिन्छ जनताका समस्याको समाधान

कीर्तिपुर, १ मङ्सिर । जन साहित्य गोष्ठी पाँगा कीर्तिपुरको आयोजनामा पाँगामा जूममार्फत नेपाल संवत् ११४१ नयाँ वर्षको शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जनता रहेमात्र भाषा रहने कुरालाई जोड दिइरहेको उल्लेख गर्दै भाषिक र जातीय आन्दोलनले त्यो समस्या निराकरण गर्दैन, वर्ग सङ्घर्षले प्राप्त गरेको समाज र सरकारले मात्र भाषा र जातीय समस्यालाई निराकरण गरी उत्थान गर्छ भन्नुभयो ।
उहाँले नेपालभरकै र अझ सांस्कृतिक सम्पदामा धनी काठमाडौँ उपत्यकाको संरक्षण र संवद्धन गर्नुपर्नेमा उल्टो सरकारले सांस्कृतिक सम्पदाको विनास गरिरहेको छ भन्नुभयो ।
नेमकिपाले सम्पदा संरक्षणमा जोड दिइरहेको चर्चा गर्दै उहाँले भक्तपुरका कालिगढहरूले काठमाडौँको रानीपोखरी, काष्ठमण्डप, सुर्खेतको काँक्रेविहार, ललितपुरको पोखरी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो ।
आफ्नो अस्तित्व समाप्त हुने कुनै पनि कार्य हलुका ढङ्गले लिन नहुने विचार व्यक्त गर्दै उहाँले कोभिड–१९ को महामारीको समयमा नेपाल सरकारले जनतालाई उत्साहित गर्नुपर्नेमा हतोत्साहित हुने निर्णय र कदम चालेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले जनसाहित्य गोष्ठी पाँगाको गतिविधिबारे जानकारी दिँदै नयाँ वर्षमा जनतामा सचेतना दिई परिवर्तनको लागि सन्देश दिनुपर्ने बताउनुभयो ।
अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले नेपाल संवत् मनाउँदै गर्दा हाम्रो सम्पदा, संस्कृति र मौलिक गाउँ विस्थापित हुनुपर्ने स्थिति आएकोमा सचेत हुनुपर्ने बताउनुभयो ।
केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले चाडपर्वको नाममा अन्धविश्वास आत्मसात गर्न नहुने बताउँदै कार्यकर्ताहरूले हरेक विषयलाई द्वन्द्वात्मक दृष्टिले हेर्नुपर्ने बताउनुभयो ।
जनसरोकार समाज खोकनाका अध्यक्ष नेपाल डंगोलले खोकना बुङ्गमती क्षेत्रमा फास्टट्रयाकलगायत १० वटा राष्ट्रिय गौरवशाली योजना लाडेर सम्पदा, संस्कृति र बस्तीसमेत विनास गर्न खोजेको छ, त्यसको विरोधमा स्थानीय जनताको सङ्घर्ष जारी छ भन्नुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य एवं कार्यक्रमका सभापति श्रीकृष्ण महर्जनले हरिबहादुर श्रेष्ठको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकले समाज परिवर्तनमा गरेको योगदानको स्मरण गर्नुभयो ।
कार्यक्रममा बासुदेव डंगोल, रामचन्द्र महर्जन, रामकृष्ण प्रजापति, यशुमति महर्जन, कान्छाबाबु महर्जन र सनेना महर्जनले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *