भर्खरै :

हिमाली महाभूल – ४०, पराजय किन ?

(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himaiayan Blunder) को सङ्क्षिप्त अध्ययन)
भारतका प्रथम कमान्डर इन चीफ जनरल करिप्पा उत्तिकै अभिमानी थिए । मिजासका कारण सचिव र चीफबीच ठाकठुक भइरहन्थ्यो । सरदार बलदेवलाई यसबारे थाहा थियो । तैपनि उनीहरूलाई रोक्न उनले केही गरेनन् । उनले मन्त्रालयको काम सहज बनाउन स्पष्ट नीतिनियम बनाएनन् । उनले निजामती र सैन्य अधिकारीहरूबीच शक्ति र जिम्मेवारीलाई लिएर स्पष्ट रेखा कोरेनन् । उनले नयाँ संविधानअनुरूप परिवर्तनहरू गर्नुपथ्र्यो । धेरै अन्योल, अविश्वास, बाझिने जिम्मेवारी र थोत्रो प्रक्रियाको स्रोत सरदार पटेलकै कार्यकाल थियो । १९६२ सम्ममा यो अवस्था मिलाउनै नसकिने बनेको थियो । १९४७ पुरानो र औपनिवेशिक कार्यशैली पन्छाउने समय थियो । बेलायतीहरूले छोडेर गएको अधिकार कर्मचारी र सेनालाई बाँड्नका लागि दिनुहुँदैनथ्यो किनभने दुवैले आफ्नो हात माथि पार्न कोसिस गरिहाल्थे । यो तानातान रोक्न सक्ने कडा चरित्र र दृढ राजनीतिक नेतृत्वको खुबी सरदार बलदेवसँग थिएन । उनी नेहरूलाई प्रभावित गर्नसक्दैनथे । त्यसैले उनी र उनको मन्त्रालय छायाँमा परिरह्यो । प्रम नेहरूको अगुवाइमा मन्त्रिमण्डलको दबदबा सरदार बलदेवकै पालामा सुरू भएको थियो । उनमा दूरदृष्टि थिएन । त्यसैले उनकै पालामा १९५० मा चीन तिब्बतमा पसेपछि उनले चिनियाँ खतरा ठम्याउन सकेनन् । उनी भारतको रक्षा इतिहासमा गलत समय र स्थानमा परेका असल र साधारण व्यक्ति थिए ।
सरदार बलदेवपछि पूर्वआइसीएस कर्मचारी गोपालस्वामी अयङ्गर रक्षामन्त्री बने । उनी शान्त, आलोचक, बुद्धिमान र प्रशासनिक अनुभव भएका व्यक्ति थिए । मन्त्री बनेको केही महिनामै उनको निधन भयो । उनले कर्मचारी र सेनाबीच कामको व्यवस्थित वातावरण बनाउन सक्थे । उनले कर्मचारीहरूलाई हावी हुन दिने थिएनन् ।
अयङ्गरपछि पुराना काङ्ग्रेस नेता डा. कैलाश काट्जु रक्षामन्त्री बने । १९३७ मा संयुक्त प्रान्तका कानुनमन्त्री बन्नुभन्दा अघि उनी विख्यात वकिल थिए । त्यसपछि उनी जेल गइरहे । १९४६ पछि उनी पुनः मन्त्री बने । उनी संविधानसभा सदस्यसमेत थिए । उडिसा र पश्चिम बङ्गालको गभर्नर हुँदै उनी १९५१ मा केन्द्रीय मन्त्री बने । गृह र कानुन मन्त्रालय हेरिरहेका उनलाई अयङ्गरको मृत्युपछि रक्षा मन्त्रालय दिइयो । १९५७ मा उनी काङ्ग्रेसभित्रको किचलो मिलाउन मध्य प्रदेशको मुख्यमन्त्री बनेर गए ।
काट्जु प्रतिभाशाली, योग्य र मानवीय व्यक्ति थिए । तर, रक्षा उनको मैदान थिएन । १९५२ मा रक्षामन्त्री बन्दा उनी ६५ वर्ष लागेका थिए । उनी बुढा, थकित र बहिरा बनेका थिए । उनले युद्धको अग्रदिशाका जटिलताहरू ठम्याउन सक्दैनथे । स्वतन्त्र भारतमा उनको ठूलो योगदान थियो । तर, वरिष्ठता र मुख्य मन्त्री पद काङ्ग्रेसीहरूले नै भर्ने नेहरूको झुकावका कारण काट्जुलाई रक्षा मन्त्रालय दिइनु सही थिएन । नेहरूले उपयुक्त व्यक्ति नपाउँदासम्म बीचबीचमा रक्षा मन्त्रालयको काम आफैँ हेर्थे । काट्जुलाई सो पद अन्याय थियो र सेनाको लागि त्यो घातक बन्न पुग्यो । त्यसबेला पाकिस्तानसँग बराबर हुनुपर्ने र चीनभन्दा पहिले सीमामा बलियो हुनुपर्ने मागहरू उठिरहेका थिए । डा. काट्जुले केही हानि गरेनन् । तर, उनले केही असल पनि गरेनन् । उनको कार्यकालमा उल्लेख्य केही भएन । धेरै समय घरेलु राजनीतिमा बिताएको हुनाले उनलाई रक्षा मामिलाबारे थोरै ज्ञान थियो ।
अन्त्यतिर उनी अब्बल राजनेता बने । १९६२ मा ७५ वर्षको उमेरमा उनी मध्य प्रदेशको मुख्यमन्त्री बन्न चाहन्थे । तर, उनी १९६२ को आम निर्वाचनमा हारे । उनी उपनिर्वाचनमा फर्के तर मुख्यमन्त्रीमा आएनन् । यस हिसाबले उनी काङ्ग्रेसी नमुना थिए । स्वतन्त्रता आन्दोलनको आफ्नो ‘बलिदान’ बाट प्रशस्त फसल काटेर पनि उनी अन्तिम साससम्म ‘जनताको सेवा’ गर्नमा ढिपी कसिरहेका थिए ।
काट्जुको कार्यकालमा सेना चिप्लेर सबैभन्दा तल प¥यो । उनले कुनै नयाँ काम थालेनन् । सबैथोक आइसीएस र सेनालाई मिलाउन भनियो । पाकिस्तानको सशस्त्रीकरणमा प्रतिक्रिया जनाइएन । उनकै कार्यकालमा अमेरिकाको मद्दतले पाकिस्तान बलशाली बन्यो । यसको विरोधमा उनले उचित प्रतिरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने थियो । भारतको रक्षा इतिहासमा उनी दोस्रा अनुपयुक्त व्यक्ति थिए ।
महावीर त्यागीले रक्षा मन्त्रालयमा उनकै लागि बनाइएका पदहरूमा रहेर काम गरेका थिए । उनी काङ्ग्रेसका कचकचे थिए । उनले मन्त्रीहरूलाई प्रश्न सोधेर हैरान बनाउँथे । उनलाई शान्त पार्न र अन्य मन्त्रीहरूलाई बचाउन उनैलाई मन्त्री बनाउने सोचियो । रक्षा मन्त्रालयजस्तो महत्वहीन अर्को थिएन । त्यसैले उनी काट्जुपछिका रक्षामन्त्री बने । प्रथम विश्वयुद्धमा सेनामा सेवा गरेको फुर्तीफार्तीबाहेक उनीसँग रक्षासम्बन्धी धेरै ज्ञान थिएन । सेनामा घरेलु उद्योगमा बनेको खादीको सिरक आदि भिœयाउने श्रेय उनैलाई जान्छ । उनी आफ्ना ‘जनरल’ हरूले घरिन, सैन्य सामानको खरिदमा विदेश जान र वरिष्ठ अफिसरहरूको उपस्थितिमा भाषण दिन रूचाउँथे । उनी आफ्ना उपलब्धिहरूको धङधङीले नछोडेको रोब देखाउँथे । केही महिनापछि उनलाई निकालियो र उनको ठाउँमा कृष्ण मेनन रक्षामन्त्री बने । त्यागी केही समयपछि मन्त्रीहरूलाई पुनः घोचपेच गर्न थाले । त्यसपछि उनलाई पुनर्वास मन्त्रालयमा लागियो ।
त्यागी तेस्रा अयोग्य रक्षामन्त्री थिए । सेनालाई दोस्रो विश्वयुद्धका हतियारबाट मुक्त गरेर नयाँ हतियारले सुसज्जित गर्नुपर्ने समयमा उनी रक्षामन्त्री बनेका थिए । रक्षा उत्पादन मन्त्रीको रूपमा यो काम उनको थियो । उनले घरेलु उत्पादन बढाउन वा विदेशबाट सामग्री मगाउनका लागि मन्त्रिमण्डललाई प्रभावित गर्नसकेनन् । उनले मन्त्रालय छोड्दा सैन्य सामग्रीको स्थिति सबैभन्दा नाजुक थियो ।
भीके कृष्ण मेनन
१९५७ मा कृष्ण मेनन रक्षामन्त्रीमा नियुक्त भए । जनरल थिमैया सेनाप्रमुखमा नियुक्त भए । सेनामा हर्षोल्लास थियो । स्वतन्त्रतापछि भारतीय सेनाले प्रतिभाशाली, सावधान र शक्तिशाली रक्षामन्त्री पाएको थियो । आफूले मान र प्रशंसा गर्ने दुईजना व्यक्तिले बताएपछि प्रधानमन्त्री नेहरूले पक्कै पनि पाकिस्तानको बढ्दो खतरा र सेनाको कमजोरीबारे थाहा पाउने आशा थियो । मेनन राजनीतिक जीवनको उत्कर्षमा थिए । जनरल थिमैया संसारभरिका सेनाप्रमुखसँग तुलना गर्न सकिने प्रथम भारतीय सेनाप्रमुख थिए । पाँच वर्षको उनीहरूको कार्यकालमा प्रगति हुने अपेक्षा सेनाको थियो ।
मेनन अन्तर्राष्ट्रिय ख्याती पाएका व्यक्ति थिए । उनले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिएका थिए । उनले १९२४–५२ को अवधि बेलायतमा बिताएका थिए । १९३० को दशकदेखि नेहरू र उनीबीच मित्रता थियो । उनीहरू एकअर्काका प्रशंसक थिए । मेननले लन्डन स्कूल अफ इकनोमिक्सबाट स्नातक गरेका थिए । उनले लन्डन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए र ग्लासगो विश्वविद्यालयबाट विद्यावारिधी गरेका थिए । साँघुरो र सीमित दृष्टिकोण भएका औसत काङ्ग्रेसीहरूभन्दा मेननको शैक्षिक पृष्ठभूमि राम्रो थियो र उनी अन्तर्राष्ट्रिय समस्याहरूसँग परिचित थिए ।
१९२९ मा मेननले निष्क्रिय अवस्थामा रहेको इन्डिया लीगलाई बेलायती इतिहासमा सबैभन्दा प्रभावशाली सङ्गठनमा फेरे । उनी निःशुल्क सेवा गर्थे र सामान्य खर्च आफ्नै खल्तीबाट हाल्थे । अक्सर गरिबीको मुखमा पुग्दा उनी लन्डनको गरिब बस्ती कामडेन टाउनमा बस्न जान्थे । उनी बेलायती राजनीतिमा लागेका थिए र लेबर पार्टीबाट सांसद बन्ने आकाङ्क्षा राख्थे ।
मेननले भारतीय स्वतन्त्रता सङ्ग्रामप्रति ह्यारोल्ड लास्की र बट्र्रान्ड रसेलजस्ता शक्तिशाली र प्रभावशाली बेलायतीहरू बुद्धिजीवीहरूको सहानुभूति जुटाए । उनले लेबर पार्टीका सांसदहरूलाई पनि यस मुद्दामा मनाएका थिए । यस्ता कामको लागि उनको खुब प्रशंसा हुन्थ्यो । तर, धेरै वर्ष विदेशमा बस्नुपर्दा उनले भारत र भारतीय जनतासँगको निकटता गुमाएका थिए ।
मेननले केही समय ब्रिटिश प्रकाशन गृहसँग काम गरेका थिए । यही सम्पर्कका कारण उनले नेहरूका रचनाहरूको प्रकाशनमा मद्दत गरेका थिए । यसबाट उनले नेहरूको सद्भाव प्राप्त गरेका थिए । १९३८ मा नेहरू र मेनन स्पेनको गृहयुद्धका रणमैदानहरू हेर्न गएका थिए । यस क्रममा उनीहरू आफ्ना विचारहरू मिल्दाजुल्दा भएको पाए । आफ्ना रुढीवादी सहकर्मी नेताहरूभन्दा मेनन अलग्गै रहेको नेहरूले पाए । समाजवाद नै भारतका भीमकाय आर्थिक समस्याहरूको समाधान हुनसक्ने उनीहरू दुवैको धारणा थियो । दुवैजना फेबियाली समाजवादमा विश्वास गर्थे । भूइँतहको र साँघुरो स्वार्थ भएको काङ्ग्रेसीभन्दा उल्टो उनीहरू दुवै वैचारिकरूपमा विदेशी थिए र भारतमा परिवर्तन ल्याउन लालायित थिए ।
स्वतन्त्रतालगत्तै नेहरूले स्वाधीन भारतको छवि प्रसार गर्न मेननलाई बेलायतका लागि हाइ कमिसनर बनाए । मेनन कामडेन टाउनबाट सेन्ट जेम्स कोर्ट गए । बेलायतमा लामो बसाइ उनको लागि फलिफाप र अफाप दुवै भयो । सैन्य आपूर्ति र जीपको खरिदमा मेनन विवादमा तानिए । संसदको सार्वजनिक लेखा समितिले कटु आलोचना ग¥यो । नेहरूको आशीर्वाद हुँदैनथ्यो भने मेननको भविष्य खत्तम हुने थियो । १९५७ मा मेननको राजनीतिक भाउ चरम चुलीमा थियो । हाइ कमिसनरपछि मेननलाई संयुक्त राष्ट्रसङ्घको लागि भारतीय प्रमण्डलका उपाध्यक्ष बनाइयो । यसबाट उनले अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश पाए र ५० को दशकका विदेशी बहस र समस्याहरूमा भाग लिए । त्यसबेला भारतको भूमिका अहम् रह्यो र यसले मेननलाई अवसरहरू थियो । न्युयोर्क टाइम्स अखबारले लेख्यो, “मेननले नाम कमाए तर स्वदेशमा त्यो नाम गुमाए ।” १९५४ मा भारत–चीन समस्या समाधान गर्नका लागि बसेको जेनेभा सम्मेलनको क्रममा मेनन अन्तर्राष्ट्रिय अडानमा खरो उत्रिए । नेहरूको घेरामा रहेका नेताहरूमा उनले मात्र विश्व राजनीति बुझ्थे र भारतको असंलग्नताको दृष्टिकोण स्पष्ट राख्न सक्थे । ५० को दशकसम्ममा नेहरू खुला विचार राख्ने १९४७ अघिका साथीहरूबाट टाढिइसकेका थिए । काङ्ग्रेसका छायाँ विदेशमन्त्री राममनोहर लोहिया लायक व्यक्ति थिए तर नेहरूसँग उनको मतभेद भयो । जीवनका अन्तिम वर्षहरूमा लोहिया नेहरूका नीतिहरूको खरो आलोचक बने ।
मेननले राष्ट्रसङ्घका बहसहरूमा र खासगरी काश्मीरको मामिलामा अब्बल प्रस्तुति दिए । उनलाई शिक्षित भारतीयहरूले रूचाए र स¥हाए । अङ्ग्रेजहरूमाथि खनिएका उनका शब्दहरू पढेर उनीहरू चकित हुन्थे । उनले धेरै बहस जिते तर धेरै देशलाई भारतको पक्षमा तान्न सकेनन् । बरु, उनको अनावश्यक रुखो आनाबानीले गर्दा धेरै सहभागीहरू भारतप्रति कडा बन्न पुगेको बताइन्छ । १९५६ ताका हङ्गेरियाली र स्वेज नहरको विषयमा विरोधाभाषी विचार राखेकोमा उनको आलोचना चुलिएको थियो । अन्तर्राष्ट्रिय मामिलाको अवसरले उनलाई नम्रता र शिष्टता दिन सकेन र कूटनीतिज्ञका लागि यी गुण अत्यावश्यक हुन्छन् । दुःखको कुरा उनको व्यक्तित्व र शैलीले पश्चिमा कूटनीतिज्ञहरूमा नराम्रो छाप प¥यो । उनको आनीबानीले उनका राजनीतिक आलोचकलाई नजिक ल्याउन सकेन र देशको सेवामा बाधा हाल्यो ।
रक्षामन्त्रीको रूपमा मेननको जीवनमा मुख्य दुइटा कुरा उल्लेख्य छन् – एक, उनी स्थायीरूपमा विदेश मामिलामा संलग्न भए र उनले उप–परराष्ट्रमन्त्रीको काम गरिरहे । यसको उनको मूल भूमिका छायाँमा पा¥यो । दोस्रो, उनी नेहरूका विश्वासपात्र बने र भारतको नीतिमा काट्जुजस्ता सामान्य व्यक्तिको भन्दा उनको प्रभाव रह्यो । यस प्रक्रियामा मेननले आफ्ना दुइटा भूमिका छ्यासमिस पारे । उनले रक्षामन्त्रीको रूपमा आफ्नो भूमिका र अनौपचारिक विदेश नीति सल्लाहकारबीच रेखा कोर्न सकेनन् । अन्तिम दोष उनको निजी व्यवहार थियो । संसारका कूटनीतिज्ञ र पत्रकारहरूसँग रुखोरूपमा प्रस्तुत भएका उनले भारतका सामान्य जनरल र कर्मचारीहरूलाई गन्ने कुरै थिएन । उनी असहीष्णु बने ।
मेननका परम मित्रले समेत उनको राजनीतिक विचारधारा ठम्याउन सक्दैनथे । उनलाई वामपन्थी, समाजवादी र कहिलेकाहीँ कम्युनिस्ट पनि भनिन्थ्यो । वामपन्थतिर उनको झुकाव थियो र उनको पतन हुनुभन्दा अगाडि मन्त्रिमण्डलमा उनलाई अगुवा वामपन्थी मानिन्थ्यो । १९६२ को चुनावमा उनलाई कम्युनिस्ट पार्टीले सक्रियतापूर्वक सघाएको थियो । सो पार्टीले उक्त चुनावमा आफ्नै नेता डाँगेलाई समेत गुमाएको थियो । डाँगे बम्बेबाट पराजित भएका थिए । मेननलाई भारतमा निजी उद्योगहरूप्रति चरम रिस थियो । काङ्ग्रेस पार्टीभित्रको अन्तरविरोध र हानथाप बुझेर उनले काङ्ग्रेसी समाजवादको नरम संस्करणसामु घुँडा टेके । त्यो समाजवादको स्पष्ट परिभाषा थिएन । मेननले नेहरूको व्यक्तिगत प्रभावको उपयोग गरेर काङ्ग्रेस हाइ कमान्डभित्र सैद्धान्तिक लडाइँ लडे ।
काङ्ग्रेसभित्र र बाहिर मेननका धेरै शत्रुहरू थिए । उनका शत्रुहरू शक्तिशाली उद्योगपतिहरूको स्वार्थसँग जोडिएका थिए । केही सांसदले उनलाई घृणा गर्थे । उनीसँग केही सांसदहरू डराउँथे । मेनन नेहरूपछि प्रधानमन्त्री हुने लाइनमा थिए । तर, एउटा स्वार्थी तप्का उनलाई सो बाटोबाट हटाउन चाहन्थ्यो । काङ्ग्रेसका उमेरदार नेताहरू उनीहरूलाई आ–आफ्नो बाटोको तगारो ठान्थे । नेहरूसँगको मेननको हिमचित उनलाई पच्दैनथ्यो । केही विश्लेषकहरूको विचारमा आफ्नो वारेस बताउन नचाहेर वा मोरारजी देसाईलाई रोकतोक गरेर प्रम नेहरूले मेननलाई देशमा आफ्नो प्रभाव विस्तार गर्न समय र मौका दिएका थिए । सुरुमा मेननको राजनीतिक यात्रा र अस्तित्व दुवै नेहरूको कृपामा टिकेको थियो । अरूलाई भन्दा मेननलाई नेहरूले टेको दिएका थिए । पछि १९६२ को चुनावमा शक्तिशाली दक्षिणपन्थी आचार्य कृपालानीका विरुद्ध बलियो जीत हात पारेपछि उनले व्यक्तिगत उचाइ पाए । त्यसपछि उनी झन् महत्वाकाङ्क्षी, निर्मम र असहीष्णु भए । मन्त्री पदमा रहुञ्जेल उनी कहिल्यै नरम भएनन् । नेहरू उनलाई गलहत्याउन बाध्य भए । अपमानको घडीमा मेननसँग साथीहरू रहेनन् । उनको गुण गाइएन, उनको शोक मनाइएन । उनका उपलब्धिहरू भुलियो ।
रक्षामन्त्री मेननको व्यक्तित्व
नेहरूका विश्वासपात्र मेनन रक्षामन्त्री बनेपछि मन्त्रिमण्डल रक्षा मामिलामा सचेत बनेको विश्वास गरियो । रक्षा मन्त्रालयको गतिरोध र अर्थको अभाव अन्त्य हुने ठानियो । त्यस्तै प्रतिरक्षा तयारीहरूसमेत भारतको विदेश नीति र प्रतिबद्धताअनुरूप चल्ने विश्वास गरियो । रक्षामन्त्रीमा किन शक्तिशाली व्यक्ति ल्याइयो भनी केही विश्लेषकले आशङ्का पनि व्यक्त गरेका थिए । मेननको मैदान परराष्ट्र मामिला थियो । १९५७ को चुनावपछि यस मन्त्रालयबाट ध्यान हटाएर नेहरू घरेलु मामिलामा एकाग्र हुने ठानिएको थियो । बुढा हुँदै गइरहेका नेहरूलाई यी मन्त्रालयका कामहरू अनावश्यक र घाँडो भइरहेका थिए । अनेक शङ्का उपशङ्का भए । अन्तमा प्रम नेहरूले आक्रामक, इखालु र हतियारबद्ध पाकिस्तानी खतराबारे सचेत भएको निक्र्योल निकाले । १९५७ को जून महिनासम्म पाकिस्तानको थल र हवाई सेना अमेरिकी सहयोगले शक्तिसम्पन्न बन्ने अनुमान थियो । अमेरिकाले उसलाई काश्मीरमा चढाइ गर्नबाट रोक्न नसक्ने ठानिएको थियो । (चीनले लद्दाख र नेफा ताकिरहेको थियो, हल्ला साम्राज्यवादीहरूले फैलाइरहेका थिए ।) नेहरू यसबारे सचेत थिए र चीनसँगको मित्रताबारे आशङ्का गरेका थिए । उनले विस्तारवादी छिमेकीलाई हटाउने सोचेका थिए । त्यसैले रक्षामन्त्रीमा एक योग्य व्यक्ति ल्याएको हुनुपर्छ भन्ने निष्कर्ष थियो ।
मेननको नियुक्तिलाई लिएर अर्को विचार पनि थियो । जनरल श्रीनगेशको ठाउँमा १९५७ मार्चमा आउँदै गरेका नयाँ सेनाप्रमुख जनरल थिमैयालाई सन्तुलनमा राख्न मेननलाई भारत झिकाइएको थियो । छिमेकी मुलुकहरूमा सैनिक विद्रोहहरू भएका थिए र नेहरू यो जोखिम मोल्न चाहँदैनथे । उनी दयालु र पाका नेताको रूपमा किनारमा पर्न चाहँदैनथे । उनको त्रास अस्वाभाविक थिएन किनभने जनताबाट पुजिने धेरैजसो एफ्रो एसियाली नेताहरूको दुर्गति भएको थियो ।
कारण जेसुकै होस्, मेननको अनुभव र योग्यताका आधारमा उनलाई शक्तिशाली पद दिइनुपर्ने थियो । गृह मन्त्रालय उनको लागि उपयुक्त थिएन किनभने उनी धेरै समय देशबाहिर थिए । त्यसका लागि केही शक्तिशाली राज्यका मुख्यमन्त्रीहरूसँग चिनापर्ची हुनुपथ्र्यो । गृह मन्त्रालय वास्तवमै शक्तिसम्पन्न थियो र वरिष्ठ काङ्ग्रेसीहरूलाई मात्र यो पद दिइन्थ्यो । गृहले मन्त्रालयमा आसिन मन्त्रीको रोब–रवाफ र राजनीतिक कद उकासिदिन्थ्यो । मेनन काङ्ग्रेसी सोपानमा नवप्रवेशी थिए । त्यसैले उनी गृह मन्त्रालयका लागि अयोग्य थिए ।
प्रम नेहरूले परराष्ट्र मन्त्रालय अरूलाई दिने थिएनन् । वित्त र रक्षा मन्त्रालयमा छनोट गर्नुपर्ने थियो । देशको खल्ती हातमा राख्ने सोचका मोरारजी देसाईले वित्त छोड्ने थिएनन् । त्यसैले नेहरूले सोचविचार नगरी मेननलाई रक्षा मन्त्रालय दिएको हुनुपर्छ । मेननअघि र मेननपछि भनी बाँड्ने गरी रक्षा मन्त्रालय विवादको केन्द्र बन्ला भनी उनले नचिताएको हुनुपर्छ । परिणामस्वरूप सेनाले दुःख र अपमान झेल्यो । प्रतिभाशाली भए तापनि मेनन रक्षामन्त्रीको रूपमा एकदम असफल भए । उनी आफ्नो प्रताप र घमण्डका शिकार भए । उनले मन्त्रालयसँग मेल नखाने विचार, सिद्धान्त र विधि ल्याए । यसले उनकै पतन भयो ।
सबै राजनीतिक र रणनीतिक तहमा उन चिनियाँ खतरा बुझ्न विफल भए । उनी सधैँ पाकिस्तानी खतरा मुख्य रहेको चर्चा गर्थे । त्यसैले अबेला भइसक्दा पनि आफूले हिमालयमा तैनाथ गरेको सेनालाई साधनस्रोत सम्पन्न बनाउने विषयमा मौन रहे । चीनको आक्रामक नियतका प्रमाणहरू बढ्दै जाँदा उनले मुलुकलाई विश्वास र सुरक्षाको भ्रममा सुताए । १९६२ भन्दा ठीक अगाडि उनले अस्पष्ट र विवादास्पद कुरा गरे । त्यसले जनता र सेनामा अन्योल पैदा ग¥यो । १९६० को जनवरी १० मा उनले भने, “भारत–चीन सीमा विवाद युद्ध निम्त्याउने जत्तिको ठूलो छैन ।” उनले तेजपुरस्थित सैन्य हेडक्वाटरमा यस्तो सिद्धान्त छाँटेका थिए । यसले ठूलो नोक्सानी भयो र छद्म युद्धको वातावरण पैदा ग¥यो । फेरि जनवरी १८ मा उनले भने, “भौतिक शक्तिको द्वन्द्वमा के हुन्छ, कसैले भन्न सक्दैन । अर्को एक इन्च भारतीय भूभाग कसैले अतिक्रमण गर्नेछैन भनी विश्वास गर्ने आधारहरू छन् ।” यो कुरा केही दिनअघिको उनकै वक्तव्यभन्दा उल्टो थियो । ब्याङलोरमा उनले भनेका थिए, “कुनै पनि सेनाले उच्च हिमाली भेगको सुरक्षा गर्नसक्दैन ।” नेफाको सिमाना हिमाली पानीढलो हुँदै जान्छ । दुई दिनमा मेननले दोहोरो कुरा गरेका थिए । यस्तो विचारले सेनालाई स्पष्ट विचार बनाउन दिँदैनथ्यो ।
मेननको व्यक्तित्वले रक्षा मन्त्रालयको काममा ठूलो असर ग¥यो । उनको घमण्ड, अहङ्कार, आत्मकेन्द्रित सोच र आफूले मूर्ख मानेका व्यक्तिहरूलाई नसहने बानीले उनको तेज बुद्धि, कटु हाजीरजवाफीपन र असामान्य स्मरण क्षमतालाई कालो बनाइदिए । उनी एकदम रुखा थिए । एक राजनेता, कूटनीतिज्ञ र रक्षामन्त्रीका लागि यो गुण घातक हुन्छ किनभने रक्षामन्त्रीले आफ्नो बलबुद्धिको भरमा माथि पुगेका अहङ्कारी र सफल व्यक्तिहरूसँग व्यवहार गर्नुपर्ने हुन्छ । पदीय मर्यादाका कारण यस्ता वरिष्ठ अफिसरहरूले लड्न नसक्ने हुनाले रुखो व्यवहार झन् अस्वीकार्य हुन्छ । मेननको कडा स्वभावले उनका सल्लाहकारहरू उनीसँग चिढिए र प्रजातान्त्रिक पद्धतिको जग मानिने समिति व्यवस्था खेँलाची बन्न पुग्यो । केही विषयमा त खाडल निकै फराकिलो थियो । यसले सामूहिक समाधान र खुला तथा मुक्त छलफलहरू हुन दिँदैनथ्यो । १९६७ मा मेननले भने, “सेना वा कर्मचारी भनेका सन्देश लाने ल्याउने केटाहरू होइनन् ।” आफू मन्त्रालयमा छँदा मेननले यो तथ्य नबुझ्ने भारतको दुर्भाग्य भयो । कडा जनरलहरूलाई निकालेर र सजिलाहरूलाई रोजेर उनले कमान्डरहरूलाई सन्देशवाहकमा झारे । १९६२ मा माथिल्ला अफिसरहरूले समेत ‘उच्च तहको’ आदेश भनी समचारेको काम गरिरहेका थिए । मेननले एकचोटि जनरल थापरलाई सेनाप्रमुखहरूले रक्षामन्त्रीले गरेका सबै काम बुझ्नुपर्छ भन्ने छैन बरु यी काम सबैको भलाइमा भइरहेकोले आत्तिनु पर्दैन भनेका थिए ।
मेननको अहङ्कार र वरिष्ठ अफिसरहरूको चुरीफुरीबारे जनरल कौलले धेरैचोटि उल्लेख गरेका छन् । मेनन आफ्नो भारदारी तप्का र आफ्नै विवेकमा भर पर्न थाले । उनले संविधानले व्यवस्था गरेको समिति र सेना प्रमुखहरूलाई पाखा लगाए । सीमा विवाद, नागा समस्या र नेफा सङ्कटमा उनी आफैँ हावी भए । घटनाक्रमलाई उल्टाउन ढिलो भइसकेको थियो । सीमा विवाद मिलाउन बसेका बैठकहरूमा उनका केही कर्मचारीहरू ‘रक्षाविद्’ र सैन्य रणनीतिकार बने । उनीहरू सेनाका पल्टन र कम्पनीहरू चलाउन विज्ञ बने । सैनिक तर्कहरू अघि सार्दा सेनालाई घिच्याउन उनीहरू ‘राजनीतिक आवश्यकता’ वा ‘सरकारले निर्णय गरिसकेको छ’ भनी दलिल दिन्थे । १९६२ को सेप्टेम्बरमा अव्यवहारिक र अविवेकी देखिने आदेशहरूको विरोध वा अस्वीकार गर्न अप्ठ्यारो थियो । अफिसर कोरको स्वाभाविक अनुशासनलाई उनीहरूको कमजोरी र चाकरी ठाने । जीवनको लामो अवधि आराम र अज्ञात स्थितिमा गुजारेका राजनेताहरूका लागि राजनीतिक सर्वोच्चता रक्सीको मात बन्न पुग्यो ।
बाहिरबाट मेनन शेखी गर्ने र निडर देखिन्थे । तर, उनी नेहरूसँग डराउँथे र आफ्नो पदको रक्षा गर्न नेहरूलाई शान्त राख्न चाहन्थे । भारतीय राजनीतिमा आफ्नो महत्वपूर्ण स्थान पाउनुमा उनी नेहरूप्रति कृतज्ञ थिए । यसकारण पनि उनले वित्तमन्त्री देसाईसँगको खटपट बाहिर ल्याएर नेहरूसँग खुला वादविवाद नगरेको हुनुपर्छ । उनले चाहेको भए यस वादविवादमा रक्षा समितिलाई साक्षी राख्न सक्थे । नेहरू र कौलले गरम नीति लागू गर्ने निर्णय गरेपछि उनलाई आफ्नै विवेक नाघेर त्यसमा सहमति जनाउनुपरेको थियो भन्ने तर्क जायज देखिन्छ । चिनियाँ घुसपैठ र उक्साहटको प्रतिकारमा सहमत नभएको भए उनीमाथि लाग्ने कम्युनिस्ट पक्षधरको आरोप पखालिने थिएन ।
मोरारजी देसाई
१९६२ को विवादपछि मेननलाई हलुका बनाउन चाहनेहरूले विदेशी सञ्चितीको नाममा सेनाको अत्यावश्यक खर्च रोकेको भनी वित्तमन्त्री देसाईमाथि अरोप थोपरे । मेनन र देसाईबीच गम्भीर सैद्धान्तिक र व्यक्तिगत मतभेद थियो । चिनियाँहरूविरुद्धको रक्षा तयारीमा यसले ठूलो असर गरेको थियो । एक विदेशी पर्यवेक्षकले लेखे, “भारतमा साँच्चै मन्त्रिमण्डल हुन्थ्यो भने मेनन र देसाई तथा उनका समर्थकहरूबीचको हानथाप मिलाउनै नसकिने बन्ने थियो । तर, महत्वपूर्ण निर्णयहरूले समग्र मन्त्रीमण्डलले बिरलै गथ्र्यो । बढीमा त्यस्ता निर्णय मन्त्रिमण्डलका समितिहरूमा हुन्थे । प्रायः नेहरूले समस्यासँग जोडिएका मन्त्रीहरूको सरसल्लाहमा त्यस्तो निर्णय लिन्थे । देसाईसँग आर्थिक कुरामा मात्र सल्लाह लिइन्थ्यो । विदेश मामिलामा प्रायः मेननको मात्र सल्लाह लिइन्थ्यो ।”
बम्बईलाई मराठी र गुजराती भाषाका आधारमा बाँड्नुपर्ने आन्दोलन चलेको बेला मोरारजी देसाई दुवै खेमाको विपक्षमा देखिए । बम्बईमा सबैको आँखी भएपछि उनी १९५६ को नोभेम्बरमा मन्त्रिमण्डलमा सामेल भए । त्यसबेला वित्तमन्त्री कृष्णमचारी बीमा कम्पनी काण्डमा फसेका थिए र देसाईले उनको काम सम्हालिरहेका थिए । चीन–भारत सीमा विवादले देसाईलाई समस्याको केन्द्रमा पारिदियो । देसाई सादा जीवन यापन गर्ने रुढीवादी सोचका व्यक्ति थिए । उनका प्रशंसकहरू उनको कठोर, सदाचारी र सिद्धान्तसँग सम्झौता नगर्ने व्यक्ति भन्छन् । उनी काङ्ग्रेसको दक्षिणपन्थी खेमाका अगुवा थिए । उनी निजी क्षेत्रका विरोधी थिएनन् । उनीहरूको पहल र विस्तारलाई रोक्ने होइन बरु कानुनले नियन्त्रण गर्ने हो भन्ने देसाईको विचार थियो । त्यसकारण उनी मेनन र नेहरूको समाजवादी विचार र प्रमुख औद्योगिक योजनाहरूमाथि राज्यको अधिकार हुनुपर्छ भन्ने आस्थाका बाधक थिए । १९३७ बाट देसाईले बम्बईको प्रान्तीय निजामती सेवामा काम गरेर असल प्रशासकको ख्याती पाएका थिए ।
काङ्ग्रेसी दक्षिणपन्थीहरूका प्रवक्ताको रूपमा देसाईले सदा आफूलाई भावी प्रधानमन्त्री ठानेका थिए । १९६१ मा उनले आफूलाई काङ्ग्रेस संसदीय दलको उपनेता बनाउनुपर्ने कुरा राखेका थिए तर प्रम नेहरूले त्यसो हुन दिएनन् । मेनन र उनका साथीहरूले देसाईको विरोध गरे र वरिष्ठताको आधारमा जगजीवन रामलाई अघि सारे । राजनीतिका चतुर खेलाडी नेहरूले संविधान संशोधन गरेर दुई उपनेताको व्यवस्था मिलाए । देसाईलाई यो एउटा धक्का थियो । १९६२ को आम चुनावमा मेननले देसाईलाई वित्तमन्त्रीबाट हटाएर कृष्णमचारीलाई ल्याउन चाहेको आरोप लाग्ने गर्छ । देसाईले त्यसबेला वित्तमन्त्रीको कुर्सी छोड्न चाहेनन् । उनले मेननको बारेमा खरो टिप्पणी गरेको खबर थियो । उनले मेननलाई पुङमाङे अराजकतावादी र घोर दक्षिणपन्थी र घोर वामपन्थी दुवै बन्न सक्ने व्यक्ति भनेका थिए । उनले मेननलाई “समर्थक नभएका र समर्थक आकर्षित गर्न नसक्ने राजनीतिकरूपमा नगन्य व्यक्ति” भनेका थिए ।
चिनियाँ कब्जापछि मेननको राजनीतिक जीवन तहसनहस भयो । सँगै देसाईको भाउ बढ्यो र उनी प्रम नेहरूका सम्भावित वारिस बने । यो देखेर १९६३ अप्रिलमा नेहरूले उनलाई निकाले । त्यसबेलासम्म नेहरू मन्त्रिमण्डलको आन्तरिक किचलो झेल्न नसक्ने अति कमजोर बनेका थिए । देसाई निस्किएपछि वाम र दक्षिणपन्थी खेमाबीच सन्तुलन बन्यो । देसाई गुमनाम भए र १९६६ को लालबहादुर शास्त्रीको सरकारमा वित्तमन्त्री बने । १९६७ को चुनावपछि उनी उपप्रधानमन्त्री बने । प्रधानमन्त्री बन्ने धोको कहिल्यै हटेन । (पछि उनी भारतका प्रधानमन्त्री बने ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *