भर्खरै :

आसियान, चीन र अरु साझेदारबीच व्यापार सम्झौतामा सहमति

भियतनाम, १ मङ्सिर (एपी) । चीन र १४ अरू देशहरूबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्नेसम्बन्धी एउटा सहमति भएको छ । यो समूहसँग विश्वकै एकतिहाइ आर्थिक गतिविधि हुने गरेको छ ।
क्षेत्रीय बृहत् आर्थिक साझेदारी (आरसेप) सहमतिमा आइतबार भर्चुअल बैठकबाटै हस्ताक्षर भएको छ । दक्षिणपूर्वी एसियाली सङ्गठन (आसियान) को वार्षिक सम्मेलनको अवसरमा उक्त सहमतिमा हस्ताक्षर भएको हो ।
सम्मेलन आयोजक समितिका अध्यक्ष राष्ट्र भियतनामका प्रधानमन्त्री नुहेन झुआन फुकले विगत आठ वर्षदेखिको कडा प्रयत्नपछि आरसेपमा हस्ताक्षर भएकोमा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।
विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता मानिएको आरसेपले बहुपक्षीय व्यापार प्रणाली आजको आवश्यकता रहेको फेरि पुष्टि गरेको प्रधानमन्त्री फुकले बताउनुभयो । उहाँले यस सम्झौताबाट दिगो व्यापार सहजीकरणलाई सक्षम तुल्याउने, कोभिड–१९ का कारण छिन्नभिन्न भएको आपूर्ति प्रणालीलाई पुनर्जीवित तुल्याउने तथा महामारीपश्चात्को आर्थिक पुनरुत्थानका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सदस्य राष्ट्रहरूबीच यसअघि नै न्यून व्यापार कर रहेको अवस्थामा यस सम्झौताले अझ करका दरहरूमा कमी ल्याउनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सन् २०१६ मा सुरू गर्दा ११ सदस्यीय अन्तर–प्रशान्त व्यापार सम्झौता परित्याग गर्नुभएको थियो ।
अन्तर–प्रशान्त सम्झौतामा आसियानका १० सदस्य राष्ट्रका अलावा यसमा चीन, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया र न्यूजील्यान्ड पनि समावेश छन् तर संयुक्त राज्य अमेरिका सदस्य छैन । यस समूहमा सदस्य हुन भारतलाई पनि आमन्त्रण गरिएको छ तर भारतमा यस सम्झौतालाई लिएर विरोध भएपछि भारत पछि हटेको छ ।
पछिल्लो आरसेप सम्झौताको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन । करका दरबारेमा जापानका लागि बनाइएको दस्तावेज १ हजार ३३४ पृष्ठको भएकोले समग्र सम्झौताको बारेमा अध्ययन गर्न समय लाग्ने बताइएको छ ।
आशियान सदस्य राष्ट्रहरूमा कम्बोडिया, इन्डोनेसिया, लाओस, म्यान्मार, फिलिपिन्स, थाइल्यान्ड, ब्रुनाई, सिंगापुर, मलेसिया र भियतनाम रहेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *