सत्यमोहन जोशीको गन्तव्य : अरनिकोको खोज
- असार ३, २०८३
कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी यो वर्ष नेपाल संवत्को नयाँ वर्ष ११४१ को अवसरमा खुला कार्यक्रम कममात्र भयो । बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी खुला र भौतिक उपस्थितिका कार्यक्रम नगर्नु बुद्धिमानी पनि हो । तर, नेपाल संवत्को नयाँ वर्षको अवसरमा हरेक वर्ष हुने गरेको सांस्कृतिक उत्सव र समारोहहरू समयअनुसार फरक ढङ्गले सम्पन्न भए । भौतिक सम्पर्कको कारण सङ्क्रमण फैलिने जोखिमलाई न्यून गर्न ती कार्यक्रमहरू अनलाइनमार्फत भएका छन् । समारोहमा सहभागी वक्ता र स्रोताहरूले आ–आफ्ना घर–कोठामा बसेर सहभागिता जनाए । विशेषतः संसारभर कोरोना भाइरसको महामारी फैलिए यता हिजो स–शरीर हुने सभा–सम्मेलन र समारोहहरू यसरी नै अभौतिकरूपमा भइरहेका छन् । नयाँ प्रविधिबारे कम जानकारी भएका मानिसको निम्ति कम्प्युटर र मोबाइलअघि यसरी बोल्नु नवीन कुरा बनेको थियो । तर, आजभोलि भने धेरै मानिस यो नयाँ प्रविधिमा अभ्यस्त भइसकेका छन् । बोल्ने वक्ता, गीत गाउने गायक, कविता वाचन गर्ने कविदेखि सुन्ने स्रोतासम्म समयले ल्याएको नयाँ प्रविधिमा अभ्यस्त भइसकेका छन् ।
हरेक वर्ष नयाँ वर्षको दिन हुँदै आएको विविध भाषा साहित्य सम्मेलन, नेपालभाषा साहित्य तःमुंज्याको प्रभातफेरी, जनसाहित्य गोष्ठी कीर्तिपुर र नयाँ वर्ष आयोजना समितिको आयोजनामा टोखामा हुने गरेका सांस्कृतिक कार्यक्रम यो वर्ष अनलाइनमार्फत भयो । विगतमा सयौँ मानिसको सहभागितामा हुने ती कार्यक्रममा अनलाइनमार्फत नै यो वर्ष त्यो भन्दा बढी मानिसहरू सहभागी बने । जुम एपमा भएको बैठक विभिन्न अन्य अनलाइन सञ्चारमाध्यमले समेत प्रत्यक्ष प्रसारण गर्दा दर्शकको सङ्ख्या बढेको छ । अनलाइनकै माध्यमबाट भए पनि ती कार्यक्रम नहुँदो हो त धेरै वर्षअघिबाट कार्यक्रममा सहभागी बन्दै आएका व्यक्तिहरूलाई नियास्रो लाग्ने थियो । साथै हिजो भौतिक उपस्थितिमा हुने कार्यक्रम आयोजनामा दसकौँ बिताइसक्नुभएका व्यक्तित्वहरूले यो वर्ष नयाँ स्वादको अनुभव गर्नुभयो ।
कसरी विचार सम्प्रेषण गर्ने भन्ने कुरा माध्यमको कुरा हो । मुख्य कुरा विचार सम्प्रेषण गर्नु हो । विचार सम्प्रेषणको विभिन्न माध्यम हुन्छन् । समयअनुसार तिनमा परिवर्तन हुँदै जान्छ । प्रतिकूल परिस्थितिमा आज फरक माध्यमबाट विचार सम्प्रेषणका प्रयास प्रशंसनीय छ । कोरोना भाइरसको महामारी समाप्त भएपछि यसरी अभौतिकरूपमा भेला हुने बाध्यताको अन्त्य हुनेछ । त्यत्तिबेला सबै प्रियजन र मित्रलाई भौतिकरूपमै हामी भेट्न सक्छौँ । त्यत्तिबेला आज अनलाइनमा गरिएका कार्यक्रमहरूको अनुभव स्मरणीय रहनेछ ।
Leave a Reply