भर्खरै :

कम्युनिस्टहरूको मत पाएर कम्युनिस्टकै बदनाम !

नेकपाभित्र एमाले र एमाओवादीको मात्र कित्ता भएर नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्दैन र कम्युनिस्ट पार्टी बलियो हुनेछैन । एमाले र एमाओवादीभित्र पनि सच्चा कम्युनिस्टहरू देखिनुपर्छ, सच्चा कम्युनिस्टहरू फरक ढङ्गले अघि बढ्नुपर्छ । नेकपाभित्रका एमाले र एमाओवादी नेताहरूले एकले अर्कोलाई खिसी उडाएर, बजारेर नेकपा सच्चा कम्युनिस्ट हुनेछैन । क्रान्तिकारी विचार नै नसमातेका र क्रान्तिकारी भएर क्रान्तिकारी बाटो छोडेका एमाले र एमाओवादीको मिलन हुनुको मूल ध्येय पार्टी ठूलो बनाउनु हो, पार्टी ठूलो बनाएर देशको नेतृत्व गर्नु हो । त्यो ध्येय नेकपाले पूरा गरिसकेको छ । अब नेकपालाई सङ्घर्ष, आन्दोलन या कुनै परिवर्तनको खाँचो छैन । यो कुरा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पटक–पटक खोकेकै हुन् । यसले नेकपा साँच्चै कम्युनिस्ट पार्टी बन्न चाहेको छैन ।
नेकपा देशको ठूलो दल बन्यो । सरकारको नेतृत्व नेकपाले ग¥यो । पुँजीवादी बन्दोबस्तको सरकारमा रजाइँ गर्न पाएपछि नेकपाले सङ्घर्ष र आन्दोलनको आवश्यकता पनि ठानेन । सरकारमा रहेर या बसेर हुनसम्मको सेवा–सुविधा लिने, नेता, कार्यकर्ता पोस्ने या दलगत र व्यक्तिगत स्वार्थपूर्ति गर्ने नेकपाको पहिलो र अन्तिम उद्देश्य रहेको देखिन्छ । यही भएर नेकपाले संविधानमा उल्लेखित समाजवादउन्मुख देशलाई व्यवहारमा उतार्ने काम पनि गरिरहेको छैन । अस्थिर सरकारले देशको विकास नै गर्न पाएन, स्थिर सरकारको खाँचो भयो भन्ठानेरै जनताले नेकपालाई बहुमत दियो । अब स्थिर सरकारले देशमा जनतालाई राहत हुने कुनै काम गर्ला कि भन्ने विश्वास थियो । तर, समयले नेपाली जनताको त्यो विश्वास भ्रम सावित भयो ।
जनताको चाहना स्थिर सरकारमात्र होइन । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार शासन गर्नु भन्ने पनि हो । नेकपाले मानेको आफ्नो पथ प्रदर्शक माक्र्सवाद र लेनिनवादलाई देश, काल र परिस्थितिअनुसार लागू गर्दै जानुपर्ने हो । नेपाली जनताले नेकपा कम्युनिस्ट भन्ठानेर निर्वाचनमा मतदान गरेका थिए । कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकारले देशमा केही गर्लान् भन्ने नेपाली जनताको विश्वास हो । तर, आज कम्युनिस्टको नाउँमा पाएको नेपाली जनताको मतको नेकपाको सरकारले दुरूपयोग गरिरहेको छ । कम्युनिस्टको नाउँमा पाएको मतले पुँजीवादी राजनीति गरिरहेको छ, पुँजीपति वर्गको पृष्ठपोषण गरिरहेको छ । विगतमा फाटफुट भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गरेको नेकपाले अब त्यो पनि छोडेको छ । सरकारमा पुगेपछि नेकपाले आमूल परिवर्तनको निम्ति भूमिका तयार गर्नुपर्नेमा, जनताबीच कम्युनिस्टको सिद्धान्त र विचार पु¥याउनुपर्नेमा उल्टो कम्युनिस्टविरोधी गतिविधि गरिरहेको देख्दा नेपाली जनता अचम्मित छन् । नेकपाको यो नेपाली जनताप्रतिको विश्वासघात हो, नेकपा भएर कम्युनिस्ट आदर्शकै खुला उल्लङ्घन हो । सचेत जनता अब चनाखो हुनुपर्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *