नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
२८ गते शुक्रबारको ‘अनलाइन खबर’ मा ‘गोरखा भर्तीमा भारतले नेपाली नागरिकलाई कम प्राथमिकता दिने’ भन्ने शीर्षकको समाचार प्रकाशित भयो । समाचारअनुसार भारतले ‘गोरखा राइफल्स रेजिमेन्ट’ मा भारतीय युवालाई नै बढी प्राथमिकता दिने नीति अगाडि बढायो । सोहीअनुसार हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई ‘गोर्खा पल्टन’ मा भर्ना लिने नीतिगत निर्णय ग¥यो । भारतले केही वर्षयता गोर्खा पल्टनमा नेपाली युवाको सङ्ख्या कम गर्दै लगेको समाचार पनि छ । अहिले भारतमा ४० प्रतिशत गोर्खा राइफल्स छन् ।
प्रकाशित समाचारप्रति नेपाली युवाको मत विभाजित भयो । केही युवाले रोजगारी खोसिने भयले चिन्ता प्रकट गरे भने केहीले नेपालीको स्वाभिमानको लागि ‘गोरखा भर्ती’ खारेज गर्नुपर्छ भन्ने मत प्रकट गरे । नेपाली युवामा ‘गोर्खा भर्ती’ का सम्बन्धमा यसरी मत विभाजित हुनुको कारण सरकारले स्वदेशमै रोजगारीको बन्दोवस्त गर्न नसक्नु नै हो । नेपाली युवालाई स्वदेशमै रोजगारीको बन्दोवस्त गरी आफ्नै मातृभूमिमा रगत पसिना बगाउन लगाइए विदेशीको निम्ति नेपाली युवा बलिदान हुनुपर्ने थिएन ।
यस विषयमा बुद्धिजीवीवर्गको मत भने फरक छ । उनीहरूका अनुसार अबका युवा सन् १८१६ ताकाका नेपाली युवा होइनन्, भारतीय विस्तारवादको हेपाहा प्रवृत्तिविरुद्ध नेपाली युवा कुनै पनि बेला सङ्घर्षमा उत्रन सक्छन् । भारतको पाकिस्तान, चीनलगायत मित्रदेशसँग हुने कुनै पनि नाजायज युद्धमा नेपालीले भारतको पक्ष लिइराख्छन् भन्ने कुनै ग्यारेन्टी छैन । यस्तै मूल्याङ्कन गरी भारतले विकल्प खोजेको हुन सक्छ ।
‘गोरखा सेना’ को सङ्क्षिप्त परिचय
‘गोर्खाली’ शब्द गण्डकी प्रदेशको ‘दरौँदी खोला’ पूर्वको एउटा थुम्के रजौटासित सम्बन्धित छ । ‘गोर्खा’ ठाउँको नाउँ जसरी बनेपनि यो शब्दको अर्थ ‘लडाकु जाति’ भन्ने हुन गयो । पृथ्वीनारायण शाहले आफ्नो राज्य विस्तार गर्ने क्रममा खस, मगर, गुरुङ जातिबाट सैन्य संरचना तयार पारे । जसलाई गोरखा सेना भनियो ।
गोर्खाली सेनाले सन् १७६८ मा अङ्ग्रेजका विरुद्ध, सन् १८५५ मा भोटका विरुद्ध, सन् १७६८ मा गढवाल र काँगडामा, सन् १८१४–१८१६ मा अङ्ग्रेजसित युद्ध लड्यो । यी विभिन्न युद्धमा गोरखा सेनाले वीरता प्रदर्शन गरे । अङ्ग्रेजसँगको युद्धपश्चात् पहाडी भूभागमा हुर्केबढेका नेपाली युवा अङ्ग्रेजका आँखामा परेका हुन् । उनीहरूले जटिल भूगोलमा जन्मेहुर्केका युवाले जटिल परिस्थितिको पनि सामना गर्नसक्ने आँकलन गरेर गोर्खा पल्टनको सुरुआत गरे । अङ्ग्रेजले नेपाल–अङ्ग्रेज युद्ध बन्द हुनु अगावै सन् १८१५ मै तीन गोर्खाली पल्टन पश्चिमी क्षेत्रमा लड्ने गडवाली, कुमाउँनी र गोरखालीबाट खडा गरेका थिए । त्यसैले सन् १८१५ लाई ‘गोर्खा भर्ती’ को इतिहासको सुरुआती विन्दु मानिन्छ ।
सन् १८१४–१८१६ को समयमा नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको युद्धमा नेपालले हार व्यहोरेपछि नेपाली युवालाई विदेशी सेनामा भर्ती गर्ने अवधारणाको विकास पनि भएको हो । पछि जङ्गबहादुर राणाले पनि अङ्ग्रेजलाई खुशी पार्न ‘गोरखा भर्ती’ गराउने औपचारिक मान्यता प्रदान गरे । सन् १८८५ मा ‘गोरखा भर्ती’ लाई औपचारिक रूप दिनुभन्दा अगाडि भारतमा ८ वटा गोरखाली पल्टन खडा भइसकेको थियो । सुरुमा गोरखपुर र गुमपहाड क्षेत्रमा भारतबाट बेलायतका लागि गोरखा भर्ती केन्द्र सञ्चालन हुन्थे भने सन् १९५२ पछि नेपालको धरान र तौलिहवाबाट पनि भर्ती केन्द्र सञ्चालनको सुविधा अङ्ग्रेजले पाए ।
सन् १९४७ मा भारत स्वतन्त्र भएपछि गोर्खा सेना बाँडफाँटका बारे कुरा चल्यो । बेलायती विरासत बोकेको स्वतन्त्र भारतले पनि अङ्ग्रेजको सिको गर्दै नेपालीलाई ‘गोर्खा भर्ती केन्द्र’ मार्फत भारतीय सेनामा समाहित गर्ने सोच राख्यो । यसै सोचको फलस्वरूप नेपाल–भारत–बेलायतबीच सन् १९४७ नोभेम्बर ९ मा ‘गोरखा भर्ती’ बारे त्रिपक्षीय सम्झौता भयो । यसरी एउटा स्वतन्त्र राज्यको नागरिक दुई फरक देशको निम्ति लड्दै छन् ।
मित्रदेशविरुद्ध गोरखा सेनाको प्रयोग
अङ्ग्रेजले भारतमा भएको विद्रोह दबाउन गोरखा रेजिमेन्टलाई प्रयोग ग¥यो । सन् १८५७ मा भारतीय विद्रोह दबाउन स्वयम् जङ्गबहादुर राणाले १२०० गोर्खाली सेनाको नेतृत्व गरे । आजमगढ, लखनउ, गोरखपुर, जौनपुर आदि क्षेत्र कब्जा गर्न गोरखाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरे । चन्द्रशमसेरको पालामा पनि भारतीय सीमा रक्षाको लागि १६०० गोर्खाली सेना पठाइएको इतिहास छ । भारतीय विद्रोहपछिका आधा शताब्दीसम्म अङ्ग्रेजले सीमा क्षेत्रमा साम्राज्यवादी विस्तार सुरु ग¥यो जसको हरेक मोर्चामा गोर्खालीहरू अग्रस्थानमा हुन्थे । सन् १९४९ मा हैदरावाद कब्जा गर्नलाई पनि गोरखा सेनालाई भारतले प्रयोग गरेको थियो ।
भारतले सन् १९६० मा चीनसँग भएको सीमा सङ्घर्षको समयमा गोर्खा सेनालाई लद्दाख खटाएको थियो । सन् १९६२ मा चीन–भारतबीच भएको सीमा युद्धमा पनि वषौँ युद्धभूमिमा काम गरेर थकित भएका गोर्खाली सेनालाई आरामै गर्न नदिई दसैँमा दिइएको छुट्टि समेत रोकेर पुनः युद्ध मोर्चामा खटायो । मित्रदेश चीनविरुद्ध नेपाली युवालाई अग्रमोर्चामा राखेर लडायो । सो युद्धमा एक बटालियन गोरखा सैनिकको मृत्यु हुनुका साथै धेरै गोर्खा सैनिक चीनको युद्धबन्दी भएका थिए । (हिमाली महाभूल – मजदुर दैनिक) आफूलाई असंलग्न परराष्ट्र नीतिको नेता मान्ने भारतले एक मित्रराष्ट्रविरुद्ध नेपालीलाई प्रयोग ग¥यो । केही समय अगाडि ‘गलवान’ मा भएको भारत–चीन युद्धमा पनि मोरङका नेपाली युवाले ज्यान गुमाएको समाचार छ । भारतले विवादित क्षेत्र काश्मीरमा पनि नेपाली युवालाई प्रयोग ग¥यो । सन् १९६५ मा भारत–पाकिस्तान युद्धमा गोर्खा सेनाको प्रयोग भएको पाइएपछि पाकिस्तानले समेत नेपालमाथि प्रश्न उठाएको थियो । सन् १९७१ मा पनि भारतले पाकिस्तानसँगको युद्धमा गोर्खा सैनिकको प्रयोग ग¥यो । उक्त युद्धमा २४६ जना नेपाली मारिए भने ५८५ जना घाइते भए र ९१ जनालाई युद्धबन्दी बनाइनुका साथै २०० जवान बेपत्ता भएका थिए । (भारतको नेपाल नीतिको सार ः नेपालको फिजीकरण, ‘मजदुर’ दैनिक, १५ फागुन २०७४) यसप्रकार बेलायत र भारतले गोर्खा सेनालाई आफ्नो स्वार्थको लागि प्रयोग गर्दै आएको छ ।
अङ्ग्रेजका पक्षमा नेपाली युवाले इरान, इराक, कोसोभो, सियरालियोन, ग्रीस, इटली, जापान, जर्मनी, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, बु्रनाई, अर्जेन्टिना आदि ठाउँमा लडे । साम्राज्यवादी बेलायतको चाहनाअनुसार अर्जेन्टिनाको ‘फकल्यान्ड’ मा नरसंहार मच्चाएको भनेर अहिले पनि अर्जेन्टिनी जनताले नेपालीलाई घृणा गर्न छाडेका छैनन् । दुई वटा विश्वयुद्धमा नेपालीले विदेशीको लागि लडेको इतिहास छ । लाखौँ नेपालीले विदेशीको लागि आफ्नो ज्यानको आहुती दिए । तर, नेपालीले के पाए ? नेपाली युवाको ज्यान जान्छ, बदलामा विदेशीले उपनिवेश देशको भूमि, प्राकृतिक स्रोतसाधन कब्जा गर्छ । नेपाली युवालाई केवल बेलायती महारानीद्वारा ‘भिक्टोरिया क्रस’ को उपाधि दिइन्छ । भारतले नेपाली युवालाई कार्गिल, लद्दाखजस्ता ठाउँमा लडेर वीरता प्रदर्शन गरेको भनेर ‘परमवीर चक्र’, ‘महावीर चक्र’ जस्ता सम्मान दिएर फुरुक्क पार्छ ।
भारतीयले भूतपूर्व गोरखा सेनालाई पेन्सन बाँड्ने निहुँमा नेपाल आएर कार्यालय र आवास निर्माण गर्दै छन् । यसरी आउने भारतीय सैनिककै जवान हुने गर्दछन् । यिनीहरू नेपालमा आफ्नै देश जस्तो गरी आएर जहाँसुकै पुगी रणनीतिक दृष्टिकोणले नेपालको सर्वेक्षण गरिरहेका छन् । बुटवललको ‘जितगढी’ मा पनि भारतीय सेना ‘पेन्सन क्याम्प’ खडा गरेर बसेको छ । एउटा सार्वभौम देशमाथि भारतीय विस्तारवाद हैकम चलाउन खोज्दै छ ।
विदेशीले गोरखा सेनालाई भाडाको सैनिक (mभचअभलबचथ) को रूपमा व्यवहार गर्दै आएका छन् । ‘वीर गोर्खाली’ भनेर हामी जति नै फुरुक्क भएपनि विश्वको नजरमा नेपाललाई साम्राज्यवादी र विस्तारवादीहरूको निम्ति ‘भाडाको सिपाही’ बेच्ने देशको रूपमा चिनाइन्छ । यसकारण, केही रकमको लागि नेपालीले आफ्नो स्वाभिमान बेच्नु हुन्न भन्ने मत अहिले प्रवल हुँदै छ । असंलग्न राष्ट्रको पक्षधर नेपालले साम्राज्यवादी र विस्तारवादीहरूको निम्ति अरू मित्र देशविरुद्ध लड्नु जायज होइन । केही हजार तथा केही लाख तलबको निम्ति नेपाली युवाले आफ्नो स्वाभिमान बेच्नु ठीक नभएको सचेत तथा देशभक्त नागरिक भन्दै छन् ।
विदेशीले युद्धभूमिमा गोर्खा सेनालाई उक्साउन र उत्तेजित पार्न चलाखीपूर्ण ढङ्गले बहादुरीको ‘कल्गी’ लगाइदिने गर्दछन् । एकपटक भारतीय सेनाका फिल्ड मार्सल सैम मानेकसाले भने–“यदि कसैले मृत्युसँग डर लाग्दैन भन्छ भने उसले झूटो बोलेको छ या ऊ गोरखाली सेना हो ।” नेपाली युवा विदेशीले लगाइदिएको यो ‘कल्गी’ बाट मख्ख पर्छन् र विदेशीकै लागि मर्न तयार हुन्छन् । यो नियति अहिलेसम्म नेपालीले भोगिरहनुपरेको छ । यसकारण, औपनिवेशिक परम्परालाई तोड्न ‘गोर्खा भर्ती केन्द’ खारेज गर्नु जरुरी छ ।
Leave a Reply