भर्खरै :

विश्व दीर्घ दम खोकी दिवसमा प्रवचन

भक्तपुर, ३ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको आयोजनामा विश्व दीर्घ दम खोकी दिवसको अवसरमा बुधबार अनलाइनमार्फत प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी दम रोगीहरूको उपचारको लागि भक्तपुरको च्याम्हासिंहमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । कोभिड महामारीबीच पनि भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले दैनिक ५०० जनाको हाराहारीमा बिरामीहरूको उपचार गरिरहेको बताउँदै प्रमुख प्रजापतिले कोभिड न्यूनीकरणको लागि सबैको सामूहिक भावना आवश्यक भएको बताउनुभयो ।
धुम्रपान, वायु प्रदूषण, धुवाँ र रसायन प्रदूषण गर्ने उद्योग, परम्परागत पेशा आदिका कारण दम रोगीहरूको सङ्ख्या दिनानुदिन बढिरहेको बताउँदै उहाँले भक्तपुर औद्योगिक क्षेत्रका धुँवा, धुलो तथा रसायन प्रदूषण गर्ने उद्योगहरू काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले शिक्षक—कर्मचारीहरूले असल व्यवहार र नागरिक भावना विद्यार्थीहरूलाई सिकाउनुपर्ने बताउँदै शिक्षकहरू सचेत, सङ्गठित र अध्ययनशील हुनुपर्ने बताउनुभयो ।
विशेष अतिथि वरिष्ठ दम रोग विशेषज्ञ डा. सन्तकुमार दासले दीर्घ दम रोगसम्बन्धी प्रस्तुतीकरण देखाउँदै विश्वभरिमा ६ देखि ७ प्रतिशत मानिसहरूमा दम खोकीको समस्या देखिएको तथ्याङ्क रहेकोमा भक्तपुर नगरपालिकाभित्र १९ प्रतिशत मानिसहरूमा यो रोगको समस्या देखिएको बताउनुभयो ।
दम रोगको पहिचान समयमै हुन सके यसको नियन्त्रण र उपचार सम्भव भएको बताउँदै डा. दासले दीर्घ दम रोगीको जीवनयापनमा नकारात्मक असर पुग्नुका साथै आर्थिक नोक्सानी पनि हुने बताउनुभयो । भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याउने श्वासप्रश्वास पुनःस्थापना केन्द्रबाट दम खोकीका रोगीहरू लाभान्वित हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य सेवा केन्द्र प्रमुख डा. रत्नसुन्दर लासिवाले दीर्घ दम रोगले सामाजिक र आर्थिक पक्षमा दीर्घकालीन असर पुग्ने हुँदा समयमै यस रोगको पहिचान गरी उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *