भर्खरै :

चिलीमा फासीवादको प्रतिरोध’ बारे शिक्षक अन्तरक्रिया

भक्तपुर, ३ मंसिर । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकबारे बुधबार अन्तरक्रिया कार्यक्रम भयो ।
कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी भर्चुएल माध्यमबाट भएको कार्यक्रममा शिक्षक–शिक्षिकाहरूले पुस्तकका विभिन्न खण्डमाथि चर्चा गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीपति वर्गले सजिलै राज्य सत्ता नत्याग्ने बताउनुभयो ।
कम्युनिस्टहरूले क्रान्तिको परिस्थिति तयार नहुँदासम्म पुँजीवादी चुनावको उपयोग गर्र्छ भन्दै उहाँले पुँजीवादको बनिबनाउ संरचनाभित्र आमूल परिवर्तन सम्भव नहुने तर स–साना सुधारमात्र सम्भव हुने बताउनुभयो ।
“चिलीका राष्ट्रपति साल्भाडोरले चुनावमा आफ्नो विजय भएसँगै सबै संरचना आफ्नो मातहतमा आउने सोचेका थिए । सरकारको गतिविधिले पुँजीपति वर्गको स्वार्थमा थोरै धक्का पर्ने बित्तिकै पुँजीपति वर्ग सरकारको दमनमा उत्रियो,” केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो ।
चिली, इन्डोनेसियामा भएका घटनाले पुँजीवादी चुनावबाट समाजवाद आउने विचार बोक्ने संशोधनवादीहरूलाई जवाफ दिएको उहाँको भनाइ थियो ।
उहाँले शिक्षकहरूलाई नियमित अध्ययनको लागि आग्रह गर्दै सही पुस्तकले सही विचार दिने र समाज परिवर्तनमा वैचारिक खुराक दिने बताउनुभयो ।
उहाँले विद्यार्थीहरूलाई जिम्मेवारी र प्रतिष्ठाभन्दा पैसा महत्वपूर्ण नहुने कुरा सिकाउन जरूरी भएको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सह–सचिव तथा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले सोभियत संशोधनवादीहरूको संशोधनवादी विचार नै चिलीमा भएको घटनाको निम्ति जिम्मेवार भएको बताउनुभयो ।
शान्तिपूर्ण बाटोबाट समाजवाद आउने संशोधनवादी विचार अङ्गीकार गर्दा चिलीमा एयेन्डेले गल्ती गरेको उहाँको भनाइ थियो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष जगनाथ सुजखूको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकहरू गणेशराम थुसा, रोशनराज तुईतुई, राजन लाखाजू, सुनिता घटुवलगायतले पुस्तकका विभिन्न विषयमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *