नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
प्रसिद्ध उर्दू शेर रियासत हुसैन रिजवी ‘शौक बहराइची’ को एउटा शेरको भाव केही दशकदेखिको नेपाली राजनीति र देशको उच्च शिक्षा केन्द्र त्रिभुवन विश्वविद्यालयको अवस्थासँग ठ्याक्कै मिल्छ । शेर यसप्रकार छ:
‘बर्बाद गुलिस्तां करनेको बस एक ही उल्लू काफी है,
हर शाख पे उल्लू बैठे हैं अंजाम ए गुलिस्तां क्या होगा ।’
अर्थात् बगैँचालाई बरबाद गर्न एउटा मात्र उल्लू पर्याप्त छ । प्रत्येक हाङ्गामा उल्लूहरू बसे बगैँचाको अवस्था के होला ?
नेपालको राजनीतिमा सत्ता पक्ष, प्रतिपक्ष सर्वत्र असक्षम, भ्रष्ट, लुटेरा एवं राष्ट्रघातीहरूको बाहुल्यता छ । हिजो एउटा राजा र उनको परिवारले देश चौपट पारे भन्दै पञ्चायती शासन ढालेसँगै गति लिन पुगेको असक्षम र बेइमानहरूको लुटको श्रृङ्खलाले गणतन्त्र र सङ्घीयतासम्म आइपुग्दा व्यापक एवं चरम रूप धारण गर्न पुगेको छ । अब गाउँ–नगर तहदेखि सङ्घीय एकाइ हुंँदै केन्द्रसम्म लुटेराहरूको मनोमानी र हालिमुहाली कायम हुन पुगेको छ । यो अवस्था भोगेका मानिसहरू एउटा राजाको ठाउँमा हजारौँ छोटे राजा र तिनका परिवारहरूले राष्ट्रिय ब्रह्मलुट मच्चाइरहेको टिप्पणी गर्ने गर्दछन् । हुन पनि हिजो पनि देशमा निरङ्कुश र भ्रष्टहरूकै शासन थियो । तर त्यतिबेला शासक भनाउँदाहरू कम थिए । अनि, तिनीहरूले आजको जस्तो नाङ्गोरूपमा भ्रष्टाचार, लुट एवं राष्ट्रघात गर्दैनथे । तर, अहिले त्यस्ता कुकर्महरू हाकाहाकी हुने गर्दछन् । राज्य सञ्चालनमा पकड कायम गरेका लुटेराहरूलाई कसैको डर र लाज छैन । परिणामतः राष्ट्रिय जीवनका सबै पक्ष अस्तव्यस्त र तहसनहस हुनपुगेका छन् । यस सन्दर्भमा अझ विडम्बनापूर्ण कुरो त के रह्यो भने दलीय नेतृत्वद्वारा श्रृजित विकृतिका कारण किंकर्तव्यविमूढ हुन पुगेका नेपाली जनतामा तीनका कुकर्महरूको विरोध गर्नेभन्दा सके तिनीहरूकै पछाडि लागेर फाइदा लिने, नभए आँखा चिम्लेर बसिदिने प्रवृत्ति व्याप्त छ । जसले लुटेराहरूलाई नै बल पु¥याएको छ । यसले शेर रिजवीको शेर नेपालको वर्तमान परिप्रेक्षमा कतिविघ्न सान्दर्भिक छ भन्ने कुरोलाई देखाउँछ ।
रिजवीको उल्लेखित शेरको सान्दर्भिकता देशको उच्च शिक्षा केन्द्र त्रिविभित्र अझ बढी देखिन्छ । त्रिवि देशको उच्च शिक्षा केन्द्र भए तापनि त्यहाँ प्राज्ञिक क्रियाकलापहरू कम र विश्वविद्यालयको साधन र स्रोतलाई दुरूपयोग गरेर नाफा र सुविधा लिने बढी हुने गर्दछ । त्रिविका माथिल्ला पदहरू उपकुलपति, शिक्षाध्यक्ष एवं रजिष्ट्रारदेखि तल्लो तहका क्याम्पस प्रमुख÷विभागीय प्रमुखसम्म, प्राध्यापनको दायित्व बोकेका प्राध्यापकदेखि लिएर आंशिक शिक्षकसम्म, प्रशासकीय दायित्व बोकेका प्रशासकदेखि निम्नस्तरका कर्मचारीसम्म र सबै तहका विद्यार्थीको एउटा हिस्साले विश्वविद्यालयलाई दुहुनो गाई बनाएको छ । तिनीहरूले विश्वविद्यालयलाई प्राज्ञिक होइन, लुटी खाने केन्द्रको रूपमा परिणत गरिदिएका छन् । यस किसिमका कार्यमा संलग्न हुनेलाई दलीय नेतृत्वको आड र भरोसा रहने गर्दछ । त्यसैको आधारमा विश्वविद्यालयका हरएक महत्वपूर्ण स्थान÷पदमा दलीय दलाल र भरौटेहरूलाई नियुक्त गर्ने गरिन्छ । यसरी नियुक्त हुनेहरूमध्ये अधिकांशले इमानदारीपूर्वक पदीय (प्राज्ञिक) जिम्मेवारी निर्वाह गर्ने सोच र सामथ्र्य दुवै राख्दैनन् । त्यसैले तिनीहरूमा कति पनि नैतिक बल छैन । तिनीहरू विश्वविद्यालय सञ्चालनसँग सम्बन्धित कानुन र नीतिहरूको पालना गर्ने÷गराउने हैसियतसम्म राख्दैनन् । जसले गर्दा विश्वविद्यालय देशको लागि गुणस्तरीय जनशक्ति उत्पादन गर्ने नभएर शैक्षिक डिग्री बिक्री वितरण गर्ने केन्द्रको रूपमा परिणत हुन पुगेको छ । अब त्यहाँबाट उच्च शिक्षाको डिग्री हासिल गर्न, अध्ययन–अनुसन्धानको आवश्यकता छैन । पदाधिकारी, शिक्षक, कर्मचारी र विद्यार्थीको रूपमा विश्वविद्यालयमा आबद्ध दलीय दलालहरूबीचको मिलेमतोबाट त्यत्तिकै डिग्री हासिल गर्न सकिन्छ । विश्वविद्यालयमा सिर्जित यस किसिमको अवस्थाले त्यहाँ आबद्ध भई पेसागत मर्यादा कायम राख्न चाहनेहरूले हीनताबोधको अनुभव गर्नुपर्ने स्थिति रहेको छ । हुन त यस किसिमको स्थिति एकाएक श्रृजना भएको होइन । यसको पछाडि तीन दशकदेखि जारी लुटको परिपाटी जिम्मेवार छ । अब संविधानले नै देशमा समाजवादउन्मुख व्यवस्थाको परिकल्पना गरेको छ । जुनसुकै मार्काको भए पनि समाजवादको डिङ हाँक्नेहरूले नै विश्वविद्यालयको विभिन्न तहको नेतृत्व लिइरहेका बेला उच्च शिक्षा क्षेत्रलाई लुट र फर्जी डिग्री हासिल गर्ने केन्द्रको रूपमा परिणत गर्ने कार्यले रिजवीको शेरको सान्दर्भिकतालाई अझ झन् पुष्टी गर्दछ । त्यसैले अब देशमा सकारात्मक परिवर्तनको चाहना गर्नेहरूको पहिलो दायित्व सबै शाख (क्षेत्र) मा बसेका उल्लूहरूलाई धपाएर तिनको ठाउँमा योग्य, सक्षम र जिम्मेवार पात्रहरूलाई स्थापित गर्ने परिपाटीको विकासका लागि लागिपर्नु हुन गएको छ । बुझी राखौँ, ‘सदाचारः एवं धर्मः अस्ति ।’
Leave a Reply