भर्खरै :

ऐतिहासिक कमलपोखरी पुनस्र्थापित गर्न माइतीघर मण्डलामा धर्ना

काठमाडौँ, ७ मङ्सिर । काठमाडौँको मुटु ठमेलमा रहेको ऐतिहासिक पोखरी मासेर छायाँदेवी कम्पलेक्स भवन बनाइएको विरोधमा स्थानीय जनताको सङ्घर्ष जारी छ । पटक–पटक पेशी तोक्दै–सार्दै आलताल गरिरहेकोमा सम्पदा संरक्षणको पक्षमा छिटो न्याय दिलाउन माइतीघर मण्डलामा पेशीकै दिन आइतबार शान्तिपूर्ण धर्ना कार्यक्रम भयो । आइतबार तोकिएको पेशी पनि पुस ५ गतेको लागि फेरि सरेको छ ।
धर्ना कार्यक्रम समापनमा नारायण महर्जनले पछिल्ला दिनमा पनि आन्दोलनमा सहयोगको अपेक्षा गर्दै सहयोगी सम्पूर्णमा धन्यवाद दिनुभयो ।
स्मरणीय छ, काठमाडौँ जिल्ला ठमेल (थँबहिल) वडा नं साविक २९ र हाल २६ स्थित लिच्छविकालीन भगवान बहाल जुन विक्रमशील महाविहार आदि नामले चिनिन्छ  । यस विहारको निर्माणसँगै विहारको पूजा, चाडपर्व तथा संस्कारका लागि निर्माण गरिएको कमलपोखरी, विहारको ठीक पूर्वतिर रहेको थियो, जुन तान्त्रिक विधिले बनाएको पोखरी हो ।
परापूर्वकालदेखि धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको स्थानीयहरूको संस्कृति र सभ्यतासँग जोडिएको विहारको कमलपोखरी जहाँनियाँ राणा शासनको समय १९७७ सालमा बलजफ्ती श्री ३ चन्द्रशमशेर राणाका रोलवाला जनरलका छोरा केशर शमशेरले आफ्नो दरबारको शोभा बढाउन भनी दरबारको कम्पाउन्डभित्र पारे ।
जनरल केशर शमशेरको मृत्युपश्चात् छोरा केयूर शमशेरले पोखरीको केही भाग सुकाउने काम गरेपछि यस्तो नगर्न गुठियारहरूले पटक–पटक आग्रह गर्दा राणाले केही सुनेनन् । प्रजातन्त्र आइसकेपछि उक्त पोखरी संरक्षण गर्न केयूर शमशेरविरूद्ध २०२७ सालमा धर्म–कीर्ति रक्षार्थ जिल्ला अदालतमा विहारका गुठीहरूको तर्फबाट धर्म लोपको मुद्दा दायर गरियो । सो पोखरी मासियो भने धर्मलोप हुने स्वीकार्दै उक्त पोखरी डिलमै कायम गरी साविकबमोजिम गुठीको नाममा नै दर्ता कायम गर्ने मञ्जुर गरी २०३३ सालमा गुठी संस्थानको रोहवरमा सर्वोच्च अदालतमा मिलापत्र गरियो । वि.सं.१९६५ सालको रसिदअनुसार क्षेत्रफल २६.५ रोपनीमा फैलिएको पोखरी र डिलसमेत वि.सं.२०३३ सालको सहरी क्षेत्रको नापी हुँदा यस पोखरीलाई मात्र कि.नं. १६७ मा पारी क्षे.फ. १२–१३–२–२ मा सीमित पारी बाँकी हडपियो । नापीको आधारमा बनाइएको फिल्डबुकमा पनि पोखरी नै जनिई सार्वजनिक कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *