भर्खरै :

अनलाइन सञ्चारमाध्यम र नयाँ चुनौती

अनलाइन मिडियाको प्रादुर्भावसँगै सञ्चार र सञ्चारमाध्यमको परिभाषामा उल्लेखनीय परिवर्तन भइरहेको छ । सूचना सञ्चारको गति निकै नै बढेको छ । संसारको कुनै पनि कुनाको समाचार थाहा पाउन अब भोलि बिहानको प्रतिक्षा गर्नुपर्ने अवस्था रहेन । घटना भएको केही समयभित्रै समाचार वायुवेगमा संसारको दैलो दैलो पुग्ने भइसकेको छ । अनलाइन मिडियाको विकासले सबै मानिसलाई पत्रकार बनाएको छ । कुनै पनि साना–ठूला घटनाको समाचार सम्प्रेषण गर्न अब पत्रकारिता पेशा अङ्गालेको व्यक्ति नै घटनास्थलमा पुग्नुपर्छ भन्ने छैन । घटनाको प्रत्यक्षदर्शी नै ‘पत्रकार’ बनेको हुन्छ । सञ्चारजगत केही सीमित सञ्चारकर्मीबाट मुक्त भएर फराकिलो बन्दै गएको छ । सञ्चारक्षेत्र केही धनीमानी, शासकको मुट्ठीबाट मुक्त भएको र वैकल्पिक मिडियाको विकास भइरहेको छ ।
तर, अनलाइन मिडियाका थुप्रै सकारात्मक पक्षसँगै नकारात्मक पक्ष पनि उत्तिकै बलियो बन्दै गएको देखिएको छ । विशेषतः कोरोना भाइरस महामारी फैलिएयता अनलाइन सञ्चारमाध्यमको प्रयोजन अझ व्यापक बन्दै गएको छ । अनलाइन सञ्चारमाध्यमको व्यापकतासँगै यसमा विकृतिको आयतन पनि बढ्दै गएको छ । अनलाइन टीभी र पोर्टलका पाठक र दर्शक बढाउने नाममा कतिपयले गलत समाचार सम्प्रेषणमात्र गरिरहेका छैनन् बरू अनलाइन सञ्चारमाध्यमहरूबाट गलत व्यक्ति र गलत विचारलाई समेत अतिरञ्जनाको तहमा पु¥याइँदै छ । कतिपय त्यस्ता सञ्चारमाध्यमले समाजमा अतिवादी र गलत विचारलाई प्रश्रय दिइरहेको पनि देखिन्छ । त्यस्ता सञ्चारमाध्यमहरूले समाजमा भ्रम वा गलत सूचना दिँदा समाजले क्षतिसमेत भोग्नुपरेका उदाहरण छन् । अनलाइन सञ्चारमाध्यम
बाट हुनसक्ने क्षतिको विषयमा राज्य र जनता पनि सजग हुन जरूरी छ ।
‘न्युज ब्रेक’ गर्ने होडमा कतिपय अनलाइन सञ्चारमाध्यमले गरेका गल्ती र गैरजिम्मेवारीले समाजलाई ठूलो क्षति पु¥याइरहेको हुन्छ । प्रेस स्वतन्त्रताको नाममा समाजप्रति अनुत्तरदायी सञ्चारमाध्यमलाई निषेध गर्नु राज्यको दायित्व हो । तर, त्यसलाई अपव्याख्या गर्दै राज्यले आफू प्रतिकूलका सञ्चारमाध्यममाथि निषेधको डण्डा चलाउन भने कदापि मिल्दैन ।
युट्युब र अनलाइन टीभीको नाममा हिजोआज सञ्चार क्षेत्रमा भित्रिएको विकृतिलाई भने लगाम लगाउने समय आइसकेको छ । झूटा कुरालाई सत्यको रूपमा प्रचार गरी जनतालाई झुक्याउने अनलाइन सञ्चारमाध्यमलाई कडा कारबाही नगर्ने हो भने अबका दिनमा नेपाली समाज अतिरञ्जना, भ्रम र झूटको सहारामा बाँच्नुपर्ने हुनसक्छ । ‘असली सिक्कालाई खोटो सिक्काले विस्थापित गर्छ’ भने जस्तै गैरजिम्मेवार सञ्चारमाध्यमको बिगबिगीले समाजप्रति उत्तरदायी असल सञ्चारमाध्यमलाई छायाँमा पार्न सक्छ । तीव्रगतिमा फैलिने अनलाइन सञ्चारले समाजमा त्यत्ति नै चाँडो क्षति पनि पु¥याउन सक्छ । सञ्चारप्रति जिम्मेवार राज्यका अङ्गहरूले एकातिर संविधानले दिएको प्रेस स्वतन्त्रताको मौलिक अधिकार र अर्कोतिर सञ्चार क्षेत्रमा भित्रिएका विकृतिमाथि नियन्त्रणलाई सन्तुलन राख्न विशेष जिम्मेवारी पूरा गर्नसक्नुपर्छ ।
सञ्चारमाध्यमलाई समाज र देशप्रति कसरी बढी जिम्मेवार र सामाजिक बनाउने विषयमा सञ्चार क्षेत्रमा संलग्न पेशाकर्मीहरू पनि गम्भीर हुन आवश्यक छ । पत्रकारितामा विकृति भित्र्याउने व्यक्तिहरूलाई निरूत्साहित बनाउने र पत्रकारितालाई गम्भीर, मर्यादित र जिम्मेवार पेशा बनाउने विषयमा पत्रकारहरू स्वयम्ले भूमिका खेल्न जरूरी छ । सञ्चारलाई समाजको प्रगतिको निम्ति प्रयोग गरौँ, सञ्चार क्षेत्रभित्र देखापरेका विकृतिलाई निरूत्साहित गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *