भर्खरै :

भक्तपुर नगरपालिका, शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५: एक चर्चा

मानिसहरूलाई सहज जीवनयापन गर्नको लागि आवश्यक आधारभूत विषयवस्तुमा शिक्षा पनि पर्दछ । शिक्षा भनेको कुनै पनि विषयमा औपचारिक वा अनौपचारिकरूपमा ज्ञान दिने वा लिनेलाई नै भनिन्छ । मानिसले जीवनयापनको क्रममा औपचारिकरूपमा विद्यालय, कलेज र विश्वविद्यालयबाट शिक्षा हासिल गर्दछ भने कतिपय मानिसले अनौपचारिकरूपमा अनुभवबाट पनि शिक्षा प्राप्त गर्दछ । यसरी शिक्षा मानवको लागि अत्यावश्यक विषयवस्तुमा पर्दछ । शिक्षाले मानवीय जीवन सहज र सजिलो बनाएको हुन्छ । वर्तमान समयमा त शिक्षाबिना कुनै पनि सङ्घ संस्थामा काम गर्न असम्भव प्रायः भइसकेको छ । औपचारिक शिक्षाले मात्र वर्तमानमा मानिसको जीवन सजिलो र सहज हुन्छ । नेपालको संविधान, २०७२ को धारा ३१ अनुसार शिक्षासम्बन्धी हकअन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।
२०७६ असोज ३ गतेदेखि ६ गतेसम्म भएको नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनबाट पारित पार्टी कार्यक्रममा “स्वास्थ्य सेवा र शिक्षा निःशुल्क हुनेछ” उल्लेख छ । नेपाल मजदुर किसान पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले प्रकाशित गरेको स्थानीय तहको निर्वाचन घोषणापत्र २०७४ मा “नमुना विद्यालय, कलेज र विश्वविद्यालय स्थापना गरी समाजलाई नै बुद्धिजीवीकरण गर्ने” उल्लेख छ । उक्त घोषणापत्रमा “कक्षा १२ सम्म निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था र प्राथमिक विद्यालयमा आ–आफ्नो मातृभाषामा शिक्षा दिन जोड दिने” उल्लेख छ । नेपाल मजदुर किसान पार्टी स्थानीय तह निर्वाचन, भक्तपुर नगरपालिकाको घोषणापत्र २०७४ मा “ख्वप विश्वविद्यालय स्थापना गरी समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने” उल्लेख छ । त्यही घोषणापत्रमा “भक्तपुरलाई सफा, स्वच्छ सांस्कृतिक नगर, पर्यटकीय गन्तव्य र शिक्षाको केन्द्र बनाउने” उल्लेख छ । नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रमार्फत आफ्ना जनप्रतिनिधिहरू निर्वाचित भएमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने स्पष्ट उल्लेख छ । नेपालको संविधानले पनि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामै राखेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू पूरा गर्न क्रियाशील छन् । नेमकिपा र नेमकिपाका उम्मेदवारहरूले भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गरिरहेको छन् । ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा मा.वि., शारदा कलेज, ख्वप इन्जिनियरिङ्ग कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप बहुप्रधिकलगायत यहाँको सरकारी विद्यालय र कलेजहरू जस्तैः वागीश्वरी मा.वि., वागीश्वरी कलेज, बासु मा.वि., बासु कलेज, शारदा मा.वि., शारदा कलेज, आदर्श आजाद मा.वि., आदर्श आजाद कलेज, भक्तपुर क्याम्पस, प्रभात इङ्गलिस सेकेन्डरी स्कूल, बाल विकास इङ्गलिस सेकेन्डरी स्कूल आदि र निजी स्कूल तथा कलेजहरू भक्तपुर नगरपालिकाको नेतृत्व स्वीकार गरी भक्तपुरलाई नेपालकै शैक्षिक केन्द्र बनाउन क्रियाशील छन् । भक्तपुर नगरपालिकाअन्तर्गतका कलेजहरूले न्यूनतम लागतमा देशकै ७७ जिल्लाका जनतालाई शिक्षा प्रदान गरिरहेका छन् । जुन नेपालभरिकै ७५२ स्थानीय निकायहरूको लागि उदाहरण बनेको छ ।
भक्तपुर नगरपालिकाका विपन्न तथा जेहेनदार विद्यार्थीहरू पनि उच्च शिक्षाबाट वञ्चित नहोऊन् भन्ने अभिप्रायले शैक्षिक ऋण दिने व्यवस्था भक्तपुर नगरपालिकाले गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाको चौथो नगर सभा २०७५ बाट शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ पारित गरिएको थियो । भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई प्रमाणपत्र धितो राखेर सहुलियत ब्याज दरमा ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययनमा नगरपालिकाले आर्थिक सुविधा दिने सम्बन्धमा निर्देशिका बनाउन वञ्चित भएको हुँदा भक्तपुर नगरपालिकाको चौथो नगर सभाबाट यो निर्देशिका पारित गरी लागू गरिएको छ । यस निर्देशिकाको दफा २ ले शैक्षिक ऋणको व्यवस्था गरेको छ । जसअनुसार भक्तपुर नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार र विपन्न विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाले रु. ५ लाखसम्म ऋण प्रदान गर्नसक्नेछ । त्यस्तो ऋण माग गर्ने विद्यार्थीले अध्ययन गरिने विषय, सङ्काय र शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारको मान्यता प्राप्त हुनुपर्नेछ । यस्तो ऋण एस.ई.ई. वा सो तहमाथिको शैक्षिक तहलाई मात्र दिइनेछ ।
नगरभित्रका विद्यार्थीले ऋण माग गर्न निवेदन समितिमा पेश गर्नुपर्नेछ । त्यस्तो निवेदनको साथमा वडा कार्यालयको सिफारिस, निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र, परिवारका सदस्यहरूमध्ये कम्तीमा दुई जनाको सहमतिपत्र, परिवारका सदस्यहरूको नागरिकताको प्रतिलिपि आवश्यक पर्दछ । वडा कार्यालयबाट सिफारिस लिन निवेदकको निवेदन, निवेदकको सक्कल शैक्षिक प्रमाणपत्र, परिवारका सदस्यहरूमध्ये कम्तीमा दुई जनाको सहमतिपत्र, परिवारका सदस्यहरूको नागरिकताको प्रतिलिपि आवश्यक पर्दछ । यस निर्देशिकाबमोजिम उपलब्ध गराइने शैक्षिक ऋणको रकम रु. ५ लाखसम्म हुनेछ । उक्त ऋणको ब्याज दर ६ प्रतिशतको दरले लिइनेछ । यसरी उपलब्ध गराइने ऋण कुनै पनि परिवारको एक जनालाई मात्र उपलब्ध गराइनेछ । स्वीकृत शैक्षिक ऋण रकम एकमुष्ट वा किस्तामा उपलब्ध गराइनेछ । उपलब्ध गराइएको ऋण निवेदकले अध्ययनको क्रममा दुरूपयोग गरेको खण्डमा वा अन्य कार्यमा प्रयोग गरिएको खण्डमा बाँकी ऋण रोक्का गरिनेछ ।
यस निर्देशिकाबमोजिम शैक्षिक ऋण लिएका विद्यार्थीहरूले आफूले लिएको ऋण शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मितिले एक वर्षभित्र ऋण रकमको न्यूनतम २५ प्रतिशत सावाँ र ब्याज तिर्नुपर्नेछ । शैक्षिक कोर्सको अन्तिम परीक्षा दिएको मिति दुई वर्षभित्र ५० प्रतिशत सावाँ र ब्याज, तीन वर्षभित्र ७५ प्रतिशत सावाँ र ब्याज र चौथो वर्षमा शत प्रतिशत सावाँ ब्याज तिर्नुपर्नेछ । उपरोक्त समयावधिभित्र ऋणको सावाँ ब्याज नतिरेमा तिर्न बुझाउन पर्ने सावाँ र ब्याजको ५ प्रतिशत हर्जना गरी विद्यार्थी र निजको साक्षी बसेका एका परिवारका सदस्यलाई नगरपालिकाबाट प्रदान गरिने सेवाहरू वञ्चित गरिनेछ र सरकारी बाँकीसरह असुलउपर गरिनेछ । यो निर्देशिका जारी गरिसकेपछि भक्तपुर नगरपालिकाले १३१ जना विभिन्न विषयका विद्यार्थीहरूलाई शैक्षिक ऋण स्वीकृत गरिसकेको छ ।
यस निर्देशिकाले निश्चय नै भक्तपुर नगरका विपन्न र जेहेनदार विद्यार्थीहरूले उच्च शिक्षा हासिल गर्ने सुवर्ण अवसर पाउनेछन् । भक्तपुरलाई शैक्षिक केन्द्र वा गन्तव्य बनाउन, समाजलाई बुद्धिजीवीकरण गर्ने नेमकिपाको उद्देश्य पूरा गर्न भक्तपुर नगरपालिकाले यो निर्देशिका नगर सभाबाट पास गरेको हो । भक्तपुर नगरपालिकाले खोलेका शैक्षिक संस्थाहरूमा भक्तपुर नगरका मात्र होइन, भक्तपुर जिल्लालगायत ७७ वटै जिल्लाका विद्यार्थीहरू न्यून लागतमा उच्च शिक्षा हासिल गरिरहेको अवस्था छ । यस निर्देशिकाले अति विपन्न विद्यार्थीहरू उच्च शिक्षाबाट वञ्चित नहोस् भन्ने हिसाबले नगरपालिकाले कानुन बनाई लागू गर्नु निश्चय नै सराहनीय विषय हो । यसबाट नगरका विद्यार्थीहरू भविष्यमा पनि उच्च शिक्षाबाट वञ्चित हुने अवस्था रहँदैन । भक्तपुर नगरपालिका सम्पदा निर्माणमा मात्र होइन, शैक्षिक क्षेत्रमा पनि देशभरिकै स्थानीय निकायहरूमा उत्कृष्ट रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *