भर्खरै :

के अनलाइन शिक्षण कक्षा शिक्षणभन्दा राम्रो हो ? (चीनको अनुभव)

हरेक बुधबार अपरान्ह छिनताओ विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा कलेजका सहायक प्राध्यापक चाङ युतोङ अनलाइनबाट विदेशी विद्यार्थीलाई कक्षा लिन इन्टरनेटको हालचाल बुझ्छन् । उनले प्रत्येक साता अरू ६ वटा कक्षा पनि लिने गरेका छन् ।
मेन्चेस्टर विश्वविद्यालयमा भर्ना भएका चाओ चैयु हरेक मङ्गलबार र बिहीबार साँझ ५ बजेपछि अनलाइन कक्षामा बस्ने गर्छन् । नियमित कक्षामा सामेल हुनुसँगै उनले तीन वटा अध्ययन पत्र पनि लेखिसकिन् र एउटा प्रस्तुति पनि दिइसकिन् ।
संसारभर फैलिएको कोरोनाको महामारीले उच्च शिक्षालाई निकै प्रभावित बनाएको छ । विश्वविद्यालयका क्याम्पसहरू बन्द छन् । देशहरूले आ–आफ्नो सिमाना बन्द गरेका छन् ।
अन्तर्राष्ट्रिय शैक्षिक बजारमा पनि ठूलो परिवर्तन भइरहेको छ । विदेशी विद्यार्थीहरू घर बसेका छन् । अनलाइन शिक्षण नै प्रमुख माध्यम बनेको छ । शैक्षिक संस्था र कार्यक्रमबीच अन्तर्राष्ट्रिय सहकार्य विस्तार भइरहेको छ ।
तर, अन्तर्राष्ट्रिय विद्यार्थीको आवतजावतमा भने यो महामारीले नराम्ररी प्रभावित बनाएको छ । शिक्षणको निरन्तरताको लागि उच्च शिक्षण संस्थाहरूले प्रविधिको प्रयोग बढाएका छन् । पुरानो शिक्षण विधिको विकल्पमा अनलाइन कक्षाहरू सञ्चालनमा छन् ।
तर, के विदेशमा अध्ययन गर्नुको अनुभव गर्न अनलाइन शिक्षण विधि उत्तम विकल्प हो त ?
हामीले अन्तर्राष्ट्रिय विद्यार्थीमा कोभिड–१९ को प्रभाव र अनलाइन शिक्षणबारे उनीहरूको अनुभव सम्बन्धमा एउटा सर्वेक्षण गरेका छौँ । चीनको छिनताओ विश्वविद्यालय, ओसिन विश्वविद्यालय र सान्तोङ विश्वविद्यालयका १२४ जना विदेशी विद्यार्थीले यो सर्वेक्षणमा सहभागिता जनाएका छन् ।
सर्वेक्षणको नतिजाले ७६.६ प्रतिशत विद्यार्थीहरूले महामारीपछि चीनमै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिने आशा व्यक्त गरेका छन् किनभने उनीहरू अनलाइन शिक्षणबाट थाकिसकेका छन् । कोभिड–१९ को कारण विद्यालय र कलेजहरू बन्द गरेर अनलाइन शिक्षण सुरु गर्ने सबभन्दा पहिलो देश चीन भए पनि धेरै चिनियाँ विश्वविद्यालयमा अझै अनुभवको कमी भएको उनीहरूको धारणा छ । समयमै सूचना र गृहकार्य दिने नयाँ तरिकाबारे विश्वविद्यालयहरू अझै प्रभावकारी नभएको उनीहरूको अनुभव छ । त्यसकारण कोभिड–१९ अघि प्रयोगमा रहेको भौतिक शिक्षण पद्धतिको तुलनामा महामारीको बेला लागू गरिएको अनलाइन कक्षाप्रति ५६.४५ प्रतिशत विद्यार्थी असन्तुष्ट रहेको देखियो ।
फ्रान्सबाट मेरीले भनिन्, “अधिकांश कक्षाहरू लाइभ ब्रोडकास्ट हुन्छ । हामीले कहिले मध्यरातमा उठेर सहभागी बन्नुपर्ने हुन्छ भने कतिबेला बिहान सखारै बस्नुपर्ने हुन्छ । हाम्रो लागि यो निकै गाह«ो भएको छ, मलाई चिनियाँ खाना र द्रुतगतिको रेलमार्गको निकै याद आउने गरेको छ ।” यी कारणबाहेक शिक्षक र सहपाठीसँग संवाद हुन नसक्ने भएर पनि अनलाइन कक्षालाई विद्यार्थीले मन पराएका छैनन् ।
हामीले विदेशी विश्वविद्यालयहरूमा आवेदन दिने योजनामा रहेका चिनियाँ विद्यार्थीहरूबीच पनि सर्वेक्षण गरेका थियौँ । अधिकांशतः चिनियाँ विश्वविद्यालयबाट स्नातक गरेका २ हजार ४ जना विद्यार्थीहरू सहभागी सो सर्वेक्षणले चीनमा रहेका चिनियाँ र विदेशी विद्यार्थीबीच फरक भएको देखाएको छ ।
झन्डै ५ प्रतिशत विद्यार्थीले आफूले झन्डै २ लाख युआन (३१ हजार १६० डलर) शुल्क तिरिसकेको तर आफ्नो काम रेकर्ड गरिएको लेक्चर घरमा लगेर सुन्नेमा सीमित भएको गुनासो पोखे । केही विद्यार्थी भने चीनकै विभिन्न विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको प्रवेश परीक्षामा भाग लिएका आफ्नै सहपाठीप्रति इष्र्या लागेको पनि बताए ।
“उनीहरूलाई अब आफ्नो क्याम्पस कहिले खुल्छ भन्नेमा केही पिर छैन । उनीहरू त आफ्नो क्याम्पस जीवनको मज्जा मानिरहेका छन्”, छिन्ताओ विश्वविद्यालयमा स्नातक तह सकाएका विद्यार्थी चाओ चैयुले भने । तर कोही विद्यार्थी भने यो अवधिमा आफ्नो स्वअनुशासन र स्वाध्ययन विकास गर्न सकेकोमा खुसी छन् । केही विदेशी विश्वविद्यालयहरूले भने आफ्ना चिनियाँ क्याम्पस वा साझेदार संस्थामा वैकल्पिक कक्षाको पनि बन्दोबस्त गरेका छन् । जस्तै न्यु योर्क विश्वविद्यालय साङ्घाई, ड्युक कुनशान विश्वविद्यालय र अरू केही शैक्षिक संस्थाले यस्तो बन्दोबस्त गर्न सफल भएका छन् ।
यस्ता समस्या समाधान गर्न चीनको शिक्षा मन्त्रालयले केही चिनियाँ–विदेशी सहकार्य संस्थालाई विद्यालय सञ्चालनको अनुमति पनि दिएको छ । साथै यो वर्ष विद्यार्थी भर्नाको सङ्ख्या पनि बढाउने कार्यक्रम अघि सारेको छ । केही विद्यार्थी भने यो तरिकाप्रति असन्तुष्ट छन् किनभने ती संस्थाहरू आफै स्वतन्त्र कलेजहरूजस्ता छन् ।
महामारीको समयमा अनलाइन शिक्षण र व्यापारिक उपस्थिति शिक्षाको प्राणवायुजस्तै भएको छ । तर, के अनलाइन शिक्षण र व्यापारिक उपस्थिति विदेशमा बसेर पढ्नेको उचित विकल्प हो ? यो प्रश्न भने अनुत्तरित नै छ ।
स्रोत: चाइना डेली
नेपाली अनुवाद: एसएम

Leave a Reply

Your email address will not be published. Required fields are marked *