भर्खरै :

चिलीमा फासीवादको प्रतिरोध’ बारे अन्तरक्रिया

भक्तपुर, ७ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ तेइसौँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले कुनै ठाउँको विषयवस्तु अध्ययन गर्दा त्यस ठाउँको भूगोल, इतिहास, रहनसहनका बारेमा पनि जानकारी राख्नुपर्ने बताउनुभयो ।
विश्वको कम्युनिस्ट आन्दोलनबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “साम्राज्यवादी शक्तिले विश्व कम्युनिस्ट आन्दोलनलाई निरन्तर प्रहार गर्दै आएको र चिलीको घटना त्यसको क्रममात्र हो ।” सिद्धान्तका आधारमा कार्यकर्ताहरू तयार गर्नुपर्नेमा जोड दिँदै उहाँले कार्यकर्ताहरू परिपक्व नभए क्रान्ति पनि नटिक्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले सम्झौतामा बनेको सरकारले इच्छाअनुसार काम गर्न नसक्ने भन्दै अहिलेको दुईतिहाइ सरकार सशस्त्र सङ्घर्ष नगरिकन आएको हुनाले बहुमत जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो ।
पुस्तक र पत्रपत्रिकाहरूको अन्तरक्रिया र अध्ययन गोष्ठीजस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई अध्ययनशील र सैद्धान्तिकरूपमा परिपक्व बनाउने भएकाले त्यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन उहाँले जोड दिनुभयो ।
नेक्राविसङ्घ २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिलन गणेजूको सभापतित्वमा भएको कार्यक्रममा दिनेश खड्गी, राजन अवाल, बिलम सुवाल, प्रमिला ज्याख्व, प्रविन लाखाजू, सम्राट प्रजापति, रमा माताङ, शिला दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *