भर्खरै :

२५० मेगावाट विद्युत् आयात गरिने

काठमाडौँ, ७ मङ्सिर । सुक्खायाममा सहजरूपमा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम २५० मेगावाटसम्म विद्युत् आयात गर्ने भएको छ ।
विशेषगरी माघ, फागुनमा नदीमा जलसतह कम हुने तथा प्राधिकरण र निजी क्षेत्रका आयोजनामा समेत कम विद्युत् उत्पादन हुने भएकोले बिजुली व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्न लागिएको हो । प्राधिकरणले सन् २०२० को डिसेम्बर १ देखि २०२१ को जूनसम्मका लागि विद्युत् आयातका लागि भारतसँग आग्रह गरेको थियो । प्राधिकरणको सो आग्रहलाई भारतले स्वीकृति दिएको जनाइएको छ ।
प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार भारतका तर्फबाट शनिबारमात्रै स्वीकृति आएको छ । सो स्वीकृतिपछि सुक्खायाममा विद्युत् व्यवस्थापनका लागि प्राधिकरणलाई सहज भएको छ । कामयमुकायम कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको आग्रहअनुसार नै स्वीकृति भएर आएको छ । उहाँका अनुसार कुल २५० मेगावाटमध्ये ८० देखि १५० मेगावाट विद्युत् भने २४ सै घण्टा लिनुपर्नेछ । बाँकी भने आवश्यक पर्दामात्रै लिए हुने खालको रहेको उहाँले जानकारी दिनुभयो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालतर्फ निर्यात गरिने विद्युत्को माग र परिमाणको स्वीकृति दिएको हो । प्राधिकरणले त्यहाँको नोडल एजेन्सी एनभीभीएनमार्फत विद्युत् आयात गरिरहेको छ । ढल्केबरबाट आउने विद्युत् एनभिएिनमार्फत आएको विद्युत् हो । प्राधिकरणले विहार, उत्तरप्रदेशबाट पनि विद्युत् आयात गर्छ ।
विशेषगरी सुक्खायाममा बिजुलीको माग पनि बढी हुने र उत्पादन पनि कम हुने भएकोले व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य स्रोतलाई प्रभावकारी परिचालन गर्नु जरुरी हुन्छ ।
पछिल्ला चार वर्षमा प्राधिकरणले माग र आपूर्तिको बीचमा सन्तुलन मिलाएर विद्युत् प्रवाह गर्दै आएको छ ।
सोही कारण प्राधिकरणको आर्थिक स्वास्थ्यमा सुधार आएको छ । विद्युत्भार कटौतीको अन्त्य, चोरी नियन्त्रणजस्ता कारणले प्राधिकरण नाफामा गएको छ । केही दिनपहिले मात्रै ढल्केबर सवस्टेसनसमेत ४०० केभीमा सञ्चालनमा आएको छ । सवस्टेसनको क्षमता वृद्धिसँगै अन्तरदेशीय प्रसारण लाइनको रूपमा रहेको ढल्केबर–मुजफफरपुर प्रसारण लाइन ४०० केभीमा नै सञ्चालन हुनेछ ।
नेपालको तर्फबाट प्रसारण लाइनको क्षमता वृद्धिका लागि कुनै समस्या नभए पनि भारतको तर्फबाट स्वीकृति दिनुपर्ने र सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने कायममुकायम कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।
हिउँदका लागि सहज विद्युत् व्यवस्थापनका लागि भारतसँग पहल गरेको प्राधिकरणले आन्तरिकरूपमा समेत सवस्टेसनको मर्मत तथा सम्भारलाई ध्यान दिएको छ । ढल्केबर– खिम्ती १३२ केभी प्रसारण लाइनमा मर्मत गरी विद्युत् आयातलाई सहज बनाइएको छ । भरतबाट हेटौँडा हुँदै आउने र खिम्ती भएर आउने विद्युत् प्रवाहमा एकरूपता कायम गरिएको छ । यसबाट स्वीचीङमा हुने समस्या समाधान हुने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *