भर्खरै :

क्रान्तिकारीले मात्र जनताको साहित्य लेख्छ

कीर्तिपुर, ७ मङ्सिर । “जनताको निम्ति काम गर्ने क्रान्तिकारीहरूले मात्र जनताको साहित्य लेख्छन् ।” उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले शनिबार कीर्तिपुरमा भएको ‘राजनैतिक कार्यकर्ता बन्ने भाइ–बहिनीलाई चिठ्ठी’ पुस्तक, ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रियामा व्यक्त गर्नुभएको हो ।
उहाँले राजनैतिक कार्यकर्ताहरूको आँखा दूरविनसरह हुनुपर्दछ भन्दै कार्यकर्ताहरूले जनताको शत्रु र मित्र छुट्याई शत्रुविरूद्ध लड्न जनताको चेतनास्तर उकास्ने काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले ‘राजनैतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठ्ठी’ पुस्तक साहित्यकार हरिबहादुर श्रेष्ठले २०४० मा पहिलो प्रकाशन र पछि तेस्रो संस्करण प्रकाशित भइसकेको जानकारी दिँदै राजनैतिक कार्यकर्ताको योगदानले गरिब कामदार जनताको हित हुने बताउनुभयो । उहाँले राजनीतिलाई फोहोर खेलको रूपमा लिने शासकले देशको हितमा काम गर्न नसकेको बताउंँदै फोहोरी राजनीति गर्नेहरूलाई एकदिन जनताले सजाय दिनेछन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले राजनीति गुलाफको ओछ्यान होइन, ‘श्रमिक’ पत्रिकाको गहन अध्ययन गरी बौद्धिकस्तर वृद्धि गर्न आग्रह गर्नुभयो ।
कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा श्यामकुमार महर्जन, रामचन्द्र महर्जन, कान्छाबाबु महर्जन, कृष्णप्रसाद महर्जन, नरेश महर्जन, सुनेना महर्जनले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाको आलेखहरूबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *