भर्खरै :

सङ्घ र प्रदेशसँग सन्तुष्ट छैनन्, स्थानीय तह

टीकापुर, ८ मङ्सिर । स्थानीय सरकारसँग प्रदेश र सङ्घीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका प्रमुखले गुनासो गरेका छन् ।
टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले प्रदेशको भन्दा सङ्घीय सरकारको समन्वय र सहकार्य राम्रो रहेको जानकारी दिनुभयो ।
प्रदेश सरकारको आफ्नै स्थानीय तहमा भइरहेको विकास आयोजनाकै बारेमा जानकारी हुँदैन । समन्वय नहुँदा कुनै आयोजनामा दोहोरो बजेटसमेत पर्ने गरेको छ । नगर प्रमुख रावलले भन्नुभयो, “सङ्घीय सरकारको कार्यक्रमको नगरपालिकामा जानकारी हुन्छ । विकास आयोजनामा पनि दुई सरकारको समन्वय र सहकार्य देखिने गरेको छ । प्रदेश सरकार कहाँ, कुन योजना बनाउँछ ? यसका बारेमा नगरपालिकालाई जानकारी हुँदैन । आयोजना पनि कहिले कसले सुरु गर्छ कहिले कसले सम्पन्न गर्छ खै ?”
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले विकास निर्माणका सन्दर्भमा प्रदेश सरकारको समन्वय भइरहेको जानकारी दिनुभयो । विगतमा आफँै योजना बनाउने, आफैँ काम गर्ने त्यसको जानकारी गाउँपालिकालाई नभए पनि चालू आर्थिक वर्षमा विकास आयोजनामा प्रदेशले गाउँपालिकासँग समन्वय गरेको उहाँले बताउनुभयो ।
“सङ्घीय सरकारबाट ठूला र सीमित आयोजना हुने भएकोले पनि हुनसक्छ प्रदेशभन्दा बढी सम्पर्क र समन्वय त सङ्घसँग हुने गरेको छ”, उहाँले भन्नुभयो । सुरुमा प्रदेश सरकारको भूमिका गौण थियो र हाम्रो अपेक्षा पनि प्रदेश सरकारसँग नभई सङ्घीय सरकारसँगै हुन्थ्यो । अहिले नजिकको सरकार पनि हाम्रो लागि प्रदेशकै हो ।”
लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले स्थानीय तहसँग प्रदेश सरकारको भूमिका नै नदेखिएको बताउनुभयो । “समपूरक र अनुदानमा हुने विकास कार्यक्रममा प्रदेशसँग समन्वय भएको देखिन्छ । निर्वाचित सांसदको कार्यक्रमसमेत नगरपालिकालाई थाहा हुँदैन र उहाँहरू हामीसँग कुनै पनि समन्वय गर्नुहुँदैन”, उहाँले भन्नुभयो । प्रदेशको हाम्रो क्षेत्रमा कुनै योजना पनि छैन । सङ्घीय सरकारका यस क्षेत्रका सांसदको भूमिका र समन्वय राम्रो छ ।
जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले सङ्घ र प्रदेशको समन्वय राम्रो नभएको गुनासो गर्नुभयो । “जति गरेका छौँ, आफ्नै बलबुत्ताले गरेका छौँ । सामान्य केही परिपत्रका लागि नीति नियममा सङ्घीय सरकारसँग समन्वय हुन्छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारसँग त्यो पनि हुन सकेको छैन । हाम्रै क्षेत्रबाट निर्वाचित सांसदको काम र कर्तव्यसमेत गाउँपालिकालाई थाहा हुँदैन ।
गोदावरी नगरपालिकाका नगर प्रमुख भीमबहादुर देउवाले स्थानीय सरकारपछिको नजिकको सरकार प्रदेश सरकार भएको बताउनुभयो ।
“प्रदेश र सङ्घलाई तुलना गर्दा सङ्घसँग बढी समन्वय र सहकार्य हुन्छ । यसक्षेत्रबाट निर्वाचित सांसदले पनि समन्वय गर्दै आएका छन्”, उहाँले भन्नुभयो । प्रदेश सरकारका सांसदलाई खोज्नुपर्ने अवस्था छ । प्रदेशका योजना, बजेट कहाँ खर्च हुन्छ ? कसले खर्च गर्छ ? त्योसमेत नगरपालिकालाई थाह हुँदैन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *