भर्खरै :

भारतमा अर्को एउटा अनुदार कानुन, फासीवादले गाड्दै छ जरा

लखनउ, २५ नोभेम्बर । भारतको सबभन्दा बढी जनसङ्ख्या भएको उत्तर प्रदेश राज्यको सरकारले कसैले पनि धर्म परिवर्तन गराउन विवाह गराए दस वर्षसम्मको जेल सजाय हुने अध्यादेश पारित गरेको छ । म·लबार उत्तर प्रदेशको राज्य सरकारले त्यस्तो अध्यादेश जारी गरेको हो । सत्तारुढ भारतीय जनता पार्टीले फरक धर्मबीच विवाहको विपक्षमा चालु अभियानकै सिलसिलामा उत्तर प्रदेशमा त्यस्तो अध्यादेश जारी गरिएको छ ।
भाजपाले त्यस्तो विवाहलाई ‘लभ जेहाद’ अर्थात् प्रेमलाई हतियारको रूपमा प्रयोग गरी अल्पसङ्ख्यक धर्म मान्नेले आफ्नो जनसङ्ख्या बढाउने अभियान भएको बताउँदै आएको छ । ‘जेहाद’ शब्द विशेषतः इस्लाम धर्मावलम्बीहरूले आफ्नो धर्म रक्षाको निम्ति गर्ने विद्रोहको लागि प्रयोग गर्ने शब्द हो । हिन्दूवादी भाजपा र अतिवादी राष्ट्रिय स्वयम्सेवक सङ्घ (आरएसएस) ले भारतमा मुसलमानहरूको जनसङ्ख्या बढाउन हिन्दू धर्म मान्ने परिवारका छोरीहरूसँग विवाह गर्ने गरेको आरोप लगाउँदै आएको छ । मुसलमान केटाले हिन्दू केटीसँग विवाह गरी जबरजस्ती धर्म परिवर्तन गराउन गरेको हिन्दूवादीहरूको दाबी छ ।
उत्तर प्रदेशका गभर्नरले अनुमोदन गरेसँगै अध्यादेशले कानुनको रूप लिनेछ । सो अध्यादेशअनुसार कुनै दुई भिन्नभिन्न धर्मका दुई जना केटा–केटीले विवाह गर्नुपरे विवाहको दुई महिनाअगावै जिल्ला मेजिस्टे«ट कार्यालयमा अनुमति लिनुपर्ने व्यवस्था छ । जिल्ला मेजिस्ट्रेट कार्यालयले कुनै आपत्ति नजनाएमात्र विवाह गर्न पाउने कानुनमा उल्लेख छ ।
उत्तर प्रदेशका मन्त्री सिद्धार्थनाथ सिंहले विवाह गरेर धर्म परिवर्तन गराउनेलाई दस वर्षको जेल सजायले महिलामाथि न्याय हुने दाबी गरेका छन् ।
यस्तो खालको कानुन बनाउने उत्तर प्रदेश भारतको तेस्रो राज्य हो । यसअघि हरियाणा र मध्य प्रदेशले पनि यस्तै कानुन बनाएका थिए । ती तीनै राज्यमा अहिले हिन्दूवादी पार्टीको सरकार छ ।
तर, उत्तर प्रदेशकै एउटा अदालतले एउटा अन्तरधार्मिक विवाहसम्बन्धी मुद्दाबारे गरेको फैसलामा लेखिएको छ ः “व्यक्तिगत सम्बन्धमा हस्तक्षेप गर्नु दुई व्यक्तिको छनोट गर्न पाउने स्वतन्त्रताको अधिकारमाथि गम्भीर अतिक्रमण हुनेछ ।”
अदालतको यस्तो आदेशलाई चुनौती दिंदै गेरुवस्त्र लगाउने मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले नयाँ अध्यादेश जारी गरेको हो । भाजपाले नेतृत्व गरेका राज्यहरूमा यस्ता अनुदारवादी कानुन बन्नुलाई भारत दिनानुदिन अनुदारवादी र फासीवादी बन्दै गएको प्रमाणको रूपमा लिइएको छ । मोदी नेतृत्वको भाजपा सरकार बने यता भारतमा मुसलमान, अल्पसङ्ख्यक, प्रगतिशील विचारका पक्षधरहरूमाथि दमन गर्न नयाँ अनुदार कानुनहरू बन्दै आएको छ । मुसलमान र दलित समुदायलाई नागरिकता लिन कडाइ गर्ने कानुनहरू बनाइएको छ ।
भाजपाका यस्ता व्यवहार भारतीय संविधानमा उल्लेखित विविधता र धर्मनिरपेक्षताको भावनाविपरीत भएको विश्लेषकहरूको भनाइ छ । भाजपाको संविधानविपरीत कदमले भारतमा साम्प्रदायिकताको भावना अझै विस्तार गरेको उनीहरूको भनाइ छ । हिन्दू बाहुल्य राज्यमा ‘धर्म परिवर्तनमा कडाइ’ गरेको भए पनि मुसलमान बाहुल्य जम्मु–कास्मिर राज्यको विशेष संवैधानिक बन्दोबस्त खारेज गरी भारतका अन्य क्षेत्रका जनताले पनि कास्मिरमा अचल सम्पत्ति जम्मा गर्न पाउने र विवाह सम्बन्ध राख्न पाउने नयाँ व्यवस्था लागु गरेको छ ।
भारतीय हिन्दूवादीहरूका यस्ता व्यवहारलाई भारतमा फासीवादी शासनले बलियो जरा गाड्न खोजिरहेको स्पष्ट छ । फासीवादको कारण संसारले एउटा विश्वयुद्ध भोगिसकेको छ । फासीवाद संसारमा युद्ध र विनाशको कारण हो । संसारको कुनै पनि देशमा फासीवादको उदयले मानव र पृथ्वीलाई हानि गर्ने इतिहासले देखाइसकेको छ । नेपालको छिमेकी देश भारतमा यसरी घातक शासनले जरा गाड्दै गर्नु नेपाली जनताको लागि ‘सजग हुने घण्टी’ बज्नु पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *