भर्खरै :

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको बिदाइ

भक्तपुर, १० मङ्सिर । भक्तपुरबाट गृहमन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई आज एक समारोहबीच बिदाइ गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले दोसल्ला ओढाइ भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनोको रूपमा प्रदान गरी बिदाइ गर्नुभयो ।
बिदाइ कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका समुदायको हितको निम्ति विभिन्न चुनौतीहरू सामना गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
कोभिड महामारीबीच भक्तपुर नगरपालिकाले जनताको हितलाई प्राथमिकतामा राखी कार्य अगाडि बढाइरहेको बताउँदै उहाँले जनप्रतिनिधि, प्रशासन र स्थानीय जनताको संयुक्त प्रयासका कारण भक्तपुरमा कोरोना नियन्त्रणलगायतमा प्रभावकारी काम भइरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाको कार्यसम्पादन देशभरिका स्थानीय तहहरूले हेरिरहेको हुँदा जनप्रतिनिधि र कर्मचारीहरूले अझ बढी सेवाको भावनाले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर क्यान्सर अस्पताल सरकारको मातहतमा सञ्चालन हुनु सकारात्मक भएको बताउँदै प्रमुख प्रजापतिले अस्पतालमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका विषयमा सम्बन्धित मन्त्रालयसमक्ष ध्यानाकर्षण गराइसकेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रण र रोकथामलगायत विभिन्न क्षेत्रहरूमा भक्तपुर नपासँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा प्रजिअ हुमकला पाण्डेले भक्तपुरमा करिब एक वर्षको कार्यसम्पादनबाट आफू निकै सन्तुष्ट रहेको बताउँदै भक्तपुरको शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भक्तपुर नगरपालिकाको कार्य प्रशंसनीय भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयप्रति गरेको सद्भाव र समन्वयप्रति आभार प्रकट गर्दै प्रजिअ पाण्डेले भक्तपुर नपा ऐन, नियम र कानुन पालनामा अब्बल रहेको बताउनुभयो ।
भक्तपुरमा कोभिड १९ रोकथाम र नियन्त्रणको प्रयास जनमैत्री भएको बताउँदै उहाँले भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको जात्रा तथा पर्वहरू जनताकै सहभागितामा व्यवस्थित तरिकाले सम्पन्न हुनु सकारात्मक भएको बताउनुभयो ।
बिदाइ कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *