भर्खरै :

जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ, ११ मङ्सिर । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने भनेर विश्लेषण गर्न थालेका विभिन्न देशका मौसमविद् तथा वैज्ञानिकले तापक्रम केही सुख्खा रहने औँल्याएको जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाका प्रमुख डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो । सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तापक्रम रहनु हो ।
दक्षिण एसियाली जलवायु आकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । अहिले चिसोको अवस्था विश्लेषणका लागि छलफलमा जुटेको उक्त मञ्चको टोलीसँग जापान, कोरिया, बेलायत, अमेरिका, थाइल्याण्डका जलवायु विज्ञ तथा वैज्ञानिक सहभागी छन् । यसपालि हिउँदको समयमा हुने मौसम परिवर्तनको अवस्थाबारे भएको प्रारम्भिक विश्लेषणमा धेरैजसो देशले सुख्खा हुने अर्थात् तापक्रम औसतभन्दा बढी नै रहने विश्लेषण गरेको छ । कँडेलले भन्नुभयो, “धेरै देशमा सरदर वर्षा हुन्छ भन्ने देखाएको छ, तापक्रम सरदर औसतभन्दा केही तातो हुनेछ, जापानले भने केही बढी वर्षा देखाइरहेको छ ।”
उहाँले सबैको विश्लेषण सकेर दक्षिण एसियाको औसत जलवायुको अवस्था सार्वजनकि गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । त्यसपछि जल तथा मौसम विज्ञान विभागले नेपालको अवस्था के हुने भनेर सार्वजनिक गर्नेछ । विगत वर्षसम्म दक्षिण एसियाको विश्लेषणलाई नै आधार लिँदै आएको नेपालको जल तथा मौसम विज्ञान विभागले गत वर्षबाट भने आफैँले पनि अवस्था कस्तो रहने भनेर नक्सा तयार पारी सार्वजनिक गर्ने गरेको छ ।
“पहिला मञ्चले जे तयार पार्दथ्यो हामीले त्यही सार्वजनिक गर्ने गरेका थियौँ”, डा. कँडेलले भन्नुभयो । डा. कँडेलले यो वर्षको जाडोमा पश्चिमी वायु कम आउने देखिएको जानकारी गराउनुभयो । मुख्यतः समुन्द्र र वायुमण्डलीय स्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ । विभागका अनुसार गत वर्ष नेपालको पूर्वी भेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्थामै रहेको थियो ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मुलुकभर चिसो बढिसकेको जनाएको छ । चिसो सुरु भएको र दैनिक चिसो बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । उहाँका अनुसार नेपालमा आज र भोलि उच्च पहाडी÷हिमाली क्षेत्रमा थोरै हिमपातको सम्भावना छ । शुक्रबार रातिबाट भने केही सुधार आउनेछ । अहिले पश्चिमी वायुको प्रभाव रहेको र भोलि रातिबाट भने त्यो पनि केही हट्दै जाने भएकोले सुधार हुनेछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो मौसम बढेकाले त्यसबाट मानवीय क्षति कम गर्न आवश्यक तयारी थालिसकेको बताउनुहुन्छ । “प्राधिकरणले सबै जिल्लामा पत्राचार गरेर चिसोबाट मानवीय क्षति हुन नदिन आवश्यक तयारीमा जुट्न निर्देशन दिइसकेको छ, कार्ययोजनासहित पेश गर्न जिल्ला प्रशासनलाई निर्देशन भएको छ”, गौतमले भन्नुभयो ।
गत वर्ष तराईमा शीतलहरबाट मानवीय क्षति न्यून भएको जानकारी गराउँदै गौतमले अहिले तयारीलाई अझै चुस्त पार्न लागिएको बताउनुभयो । जिल्लाबाट चुनौतीको अवस्था र आवश्यक तयारीका कार्ययोजना आएपछि प्राधिकरणले थप रणनीतिका साथ आवश्यक निर्देशन दिने गौतमले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *