भर्खरै :

म्याराडोनाप्रति विश्व नेताहरूद्वारा श्रद्धाञ्जली

भक्तपुर, ११ मङ्सिर । ल्याटिन अमेरिकाका महान् फूटबल खेलाडी डियगो अर्मान्डो म्याराडोनाको असामयिक निधन भएकोमा विश्वका राजनीतिक, धार्मिक र सामाजिक नेताहरूले गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् ।
म्याराडोनाको निधनको खबरले फूटबलपे्रमी विश्वमा शोक र स्तब्धताको एक लहर दौडेको छ । फूटबलका अहिलेसम्मकै एक महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो । रगत जमेपछि नोभेम्बर महिनाको सुरूमा सफलतापूर्वक उहाँको मस्तिष्कको शल्यक्रिया गरिएको थियो र उहाँको थप उपचार गरिँदै थियो । अर्जेन्टिनाले सन् १९८६ मा फिफा विश्वकप जित्दा उहाँ टीम क्याप्टेन हुनुहुन्थ्यो । उहाँ सन् १९८२ को विश्वकप फूटबलबाट विश्वचर्चित बन्नुभएको थियो । त्यसबेला उहाँ २१ वर्षको मात्र हुनुहुन्थ्यो ।
म्याराडोनाले बार्सिलोना र नापोली फूटबल क्लवबाट पनि व्यावसायिक फूटबल खेल्नुभएको थियो । अर्जेन्टिनाको तर्फबाट चारवटा विश्वकप खेल्नुभएका उहाँले ९१ खेलमा ३४ गोल गर्नुभएको थियो ।

क्युवाली क्रान्तिकारी नेता फिडेलसँग म्याराडोना


एक वक्तव्य जारी गर्दै क्युवाका पूर्वराष्ट्रपति तथा क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव आर्मी जनरल राउल क्यास्ट्रोले आफ्नो, पार्टीको र क्युवाली जनताको तर्फबाट म्याराडोनाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
वक्तव्यमा उल्लेख छ, “क्युवा र क्युवाली जनताको तर्फबाट क्युवाली कम्युनिस्ट पार्टी फिडेल र हाम्रा जनताका प्रिय र विश्वसनीय मित्र डियगो अर्मान्डो म्याराडोनाको निधनमा गहिरो शोक तथा समवेदना प्रकट गर्दछ ।
म्याराडोनाको निधनप्रति शोक प्रकट गर्दै क्युवाका राष्ट्रपति मिग्वेल डियाल कानलले अर्जेन्टिनी राष्ट्रपति अल्वर्टो फर्नान्डेजलाई एक समवेदनापत्र लेखी म्याराडोनाको परिवार र अर्जेन्टिनी जनताप्रति क्युवा सरकार र क्युवाली जनताको तर्फबाट गहिरो दुःख र समवेदना प्रकट गर्नुभएको छ ।
म्याराडोनाको निधनले विश्वले एक महान फूटबल खेलाडी र फूटबलका हर्ताकर्तामात्र गुमाएको नभई क्युवाले क्युवाली समाजवादका एक सच्चा समर्थक र एक मित्र गुमाएको उल्लेख गर्नुभएको छ । म्याराडोनाले आफ्नो लागि क्युवा दोस्रो घर रहेको र क्युवाली क्रान्तिका सर्वोच्च कमान्डर फिडेल क्याष्ट्रो दोस्रो पिता रहेको पटक–पटक उल्लेख गर्नुभएको थियो ।
म्याराडोनाको फूटबल जीवनजत्तिकै उहाँको राजनीतिक दृष्टिकोण पनि उहाँको जीवनको महत्वपूर्ण भागको रूपमा रहेको थियो । म्याराडोना क्युवाली समाजवादी क्रान्ति र भेनेजुयलाको बोलिभारियाली समाजवादी क्रान्ति तथा बोलिभियालगायत ल्याटिन अमेरिकी देशहरूको वामपन्थी आन्दोलन र प्रगतिशील रूपान्तरणका एक अडिग र खुला समर्थक रहँदै आउनुभएको थियो । म्याराडोनाले ल्याटिन अमेरिकी देशहरूमा संरा अमेरिकी साम्राज्यवादको गुप्त र खुला हस्तक्षेपको विरोध गर्नुभएको थियो । उहाँले क्युवालगायत ल्याटिन अमेरिकी देशहरूको बरोबर भ्रमण गर्नुभएको थियो ।
म्याराडोनाका एक घनिष्ठ मित्र एवं भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले म्याराडोनाको निधनको खबरपछि आफ्नो ट्विटर एकाउन्टमा लेख्नुभएको छ, “म्याराडोना, फूटबलका एक महान् खेलाडीको प्रस्थानले हामीलाई गहिरो शोकमा पारेको छ । उहाँ हाम्रो एक दाजुभाइ र भेनेजुयालाका निःशर्त समर्थक हुनुहुन्थ्यो । प्रिय र असान्दर्भिक ‘पेलुसा’ तपाईँ सदा हाम्रो हृदय र विचारधारामा रहनुहुनेछ । यस क्षणमा मैले जे अनुभूति गरिरहेको छु त्यसलाई व्यक्त गर्न मसित सही शब्दहरू छैनन् । अमेरिका रहुञ्जेल तपाईँ रहनुहुनेछ ।”
अर्जेन्टिनाका राष्ट्रपति अल्वर्टो फर्नान्डेजले डियगो म्याराडोनाको निधनले आफू अनाथ भएको उल्लेख गर्दै तीन दिन राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ ।
राष्ट्रपति अल्वर्टो फेर्नान्डेजले लेख्नुभएको छ्, “तिमीले हामीलाई विश्वको उच्च तहमा पु¥यायौ, हामीलाई निकै खुसी दियौ । हामी सधैँ तिमीलाई सम्झिरहने छौँ ।”
त्यस्तै बोलिभियाका पूर्वराष्ट्रपति इभो मोरालेसले पनि फूटबलका हस्तीको निधनमा शोक प्रकट गर्दै म्याराडोना अखिल एन्डियन राष्ट्रिय टीमका पूर्वखेलाडी रहेको उल्लेख गर्नुभएको छ । म्याराडोना सत्य र विनम्रताका सच्चा प्रशंसक रहेको उल्लेख गर्दै मोरालेसले डियगो बोलिभियाको फूटबलका महान रक्षक र बोलिभियालाई अत्यन्तै माया गर्ने ल्याटिन अमेरिकी धर्तीपुत्र रहेको उल्लेख गर्नुभयो ।
बोलिभियाका वर्तमान राष्ट्रपति लुइस आर्सेले पनि टिवटरमार्फत दुःख प्रकट गर्दै लेख्नुभएको छ, ल्याटिन अमेरिकी दाजुभाइ तथा फूटबलका महान १० नं.डियगो अर्माण्डो म्याराडोनाकोको निधनले गहिरो दुःख लागेको छ । यस अपूरणीय क्षतिमा विश्व शोकमग्न छ । म उहाँका प्रियजन र समग्र विश्व फूटबल परिवारप्रति हाम्रो समवेदना प्रकट गर्न चाहन्छु ।
‘हामीले फेरि अर्का महान मानिस गुमायौँ । क्रान्तिका एक सच्चा प्रेमी र योद्धा गुमायौँ ।’ – मध्य अमेरिकी राष्ट्र निकारागुवा सरकारको तर्फबाट राष्ट्रपति ड्यानियल ओर्टेगा र उपराष्ट्रपति रोसारियो मुरिल्लोले हस्ताक्षर गरेको समवेदना विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले लेख्नुभएको छ, “डियगो अर्मान्डो म्याराडोना अर्जेन्टिनाका मात्र नभई पूरै विश्व फूटबलका एक हस्ती हुनुहुन्थ्यो ।
उहाँसित अद्वितीय प्रतिभा र व्यक्तित्व थियो । उहाँले आफ्नो बुद्धि र विवेक खेल क्षेत्रमा मात्र सीमित गर्नुभएन बरू ल्याटिन अमेरिकी देशहरूको सार्मभौमसत्ताको रक्षा र युग परिवर्तनका लागि लगाउनुभयो । खेल क्षेत्रमा म्याराडोना ब्राजिलियाली फूटबल टीमले सामना गर्ने गरेको एक महान प्रतिद्वन्द्वी हुनुहुन्थ्यो तर खेल मैदान बाहिर उहाँ ब्राजिलको एक महान् मित्र हुनुहुन्थ्यो । उहाँले ब्राजिलका जनतासित जनताको हितको उद्देश्यका लागि भएका आन्दोलनप्रतिको ऐक्यबद्धताका लागि म उहाँलाई धन्यवादमात्र भन्न सक्छु । म्याराडोना सदा स्मरणीय रहनुहुनेछ ।”
रोममा पोप फ्रान्सिसले म्याराडोनालाई देशवासीसरह स्नेहपूर्व सम्झना गर्ने बताउनुभएको छ ।
त्यस्तै ब्राजिलकी पूर्वराष्ट्रपति डिल्मा रूसेफ, इटालीका प्रधानमन्त्री गुइसेपे कोन्टे, पूर्वप्रधानमन्त्री माटिओ रेन्जी, स्पेनका राष्ट्रपति पेड्रो साञ्चेज, जर्मनीका विदेशमन्त्री हेयको मास र भेटिकन सिटीका तर्फबाट प्रवक्ता माटेओ ब्रुनीले फूटबलका आदर्श म्याराडोनाको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
ब्राजिलका ख्यातिप्राप्त खेलाडी पेलेले ट्वीटरमा लेख्नुभएको छ, “कस्तो दुखःद खबर, मैले एक महान् साथी र विश्वले प्रख्यात खेलाडी गुमायौँ । भन्नुपर्ने धेरै छ, तर अहिलेलाई ईश्वरले परिवारका सदस्यलाई शक्ति प्रदान गरून्, मलाई आशा छ – एकदिन स्वर्गमा सँगै फूटबल खेल्नेछौँ ।”
अर्जेन्टिनी फूटबल एसोसिएसनले ट्वीटर सन्देशमा म्याराडोनाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेको छ, “तिमी सधैँ हाम्रो हृदयमा रहनेछौ ।”

म्याराडोनाका अति प्रिय तथा वर्तमान चर्चित फूटबल खेलाडी लियोनल मेस्सीले म्याराडोना सर्वकालिक रहेको टिप्पणी गर्दै उहाँको निधनले विश्व फूटबलले धेरैथोक गुमाएको बताउनुभएको छ । पोर्चुगलका चर्चित फूटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले म्याराडोनालाई फूटबलका अद्वितीय जादुगरको संज्ञा दिँदै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
अर्जेन्टिनाका जनता आफ्नो देशका सम्भवतः सबैभन्दा प्रख्यात छोरा महान् फूटबल खेलाडी डिएगो म्याराडोनाको निधनको शोकमा परेका छन् । आफ्नो विशिष्ट प्रदर्शनका कारण सन् १९८६ को विश्वकपमा अर्जेन्टिनाको जीत सुनिश्चित गरिदिएका ती नक्षत्र गुमाउनु पर्दाको शोक प्रकट गर्न मानिसहरू सडकमा उत्रिएका छन् । राजधानी ब्युनसआयर्सको मध्य भाग र म्याराडोनाले खेल्ने गरेको रङ्गशाला वरपर अर्जेन्टिनी जनताको विशाल भीड शोकमग्न छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *