भर्खरै :

चिनियाँ कुल गार्हस्थ उत्पादन सन् २०३५ सम्ममा दोब्बर पुग्ला ?

चिनियाँ राष्ट्रपति सी चिङफिङले कम्युनिस्ट पार्टीको सम्मेलनमा सन् २०३५ सम्ममा हालको चीनको कुल गार्हस्थ उत्पादनको दोब्बर गर्ने प्रस्ताव गरेका छन् । साँच्चै चीनले २०३५ सम्ममा आफ्नो अर्थ व्यवस्थाको आकार दोब्बर गर्न सकिन्छ कि भन्नेमा धेरै अर्थशास्त्रीहरूले शङ्का व्यक्त गरेका छन् । यी अर्थशास्त्रीमध्ये पेकिङ विश्वविद्यालयका वित्तशास्त्रका प्रोफेसर माइकल पेटिस पनि हुन् । उनले आर्थिक वृद्धिको कारक तत्वमा सार्वजनिक ऋणलाई मात्र जोड दिएको देखिन्छ जुन चिनियाँ आर्थिक वृद्धि प्रारूपसँग मेल खाँदैन ।
लगभग १४५ खर्ब डलरको अहिलेको अर्थतन्त्रलाई सन् २०३५ सम्ममा २९० खर्ब डलर बनाउन चिनियाँ अर्थतन्त्रको आकार आगामी १५ वर्ष औसतमा ४ दशमलव ७ प्रतिशतले वृद्धि गर्नुपर्ने देखिन्छ । गत वर्ष चिनियाँ अर्थतन्त्र ६ दशमलव १ प्रतिशतले बढेको थियो भने विगत ५ वर्षमा औसत वार्षिक ६ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । यस सन्दर्भमा, एक वर्षमा ४ दशमलव ७ प्रतिशतले आर्थिक वृद्धि सामान्यजस्तो देखिन्छ । तर, गणना सरल देखिए पनि अबको दिनमा आर्थिक र जनसाङ्ख्यिकीय अवरोधहरू प्रशस्त छन् । उच्च बचत र लगानीमुखी आर्थिक वृद्धि प्रारूपलाई सबै मुलुकले पछ्याएजस्तै चीनले १९९० को दशकको सुरुमा उच्च बचत र लगानीको बलमा वृद्धि मोडेल पछ्याएको थियो । आर्थिक वृद्धिको अवस्थालाई तीन फरक चरणमा व्याख्या गरिएको छ । पहिलो चरणलाई अति आवश्यक पूर्वाधारमा भारी लगानी गरिने अवस्थाको रूपमा विश्लेषण गरिएको छ । यो चरणअन्तर्गत धेरै वर्षसम्म द्रुत तर असन्तुलित विकास भयोे । यस अवस्थामा सार्वजनिक ऋण अर्थव्यवस्थाको आवश्यकताअनुरूप हुन्छ जसले गर्दा ऋण प्रायः उत्पादनशील लगानीको लागि खर्च गर्दछ । फलस्वरूप सकल घरेलु उत्पादन ऋणभन्दा छिटो बढ्छ । दोस्रो चरणमा, सामान्यतया थोरै प्रतिफलका साथ प्रत्येक देशले लगानी र मागलाई सन्तुलनमा राख्न खोजेको हुन्छ । वृद्धि यथोचित रहेको हुन्छ । यद्यपि, अहिले गैरउत्पादक लगानीले बढ्दो गतिमा अगाडि बढेको देखिन्छ । यस्तो अवस्थामा अर्थतन्त्रमा कुल गार्हस्थ उत्पादनभन्दा ऋण छिटो बढ्छ । जसको कारण ऋणको बोझ बढ्छ । अन्तमा तेस्रो चरणमा, सरकारले आफ्नो ऋण क्षमता सीमामा पु¥यायो वा सरकारले ऋणलाई अझ बढ्नबाट रोक्नको लागि कदम चाल्यो । जे भए पनि, उपभोग कम हुँदा वा कहिलेकाहीँ उपभोग वृद्धि नकारात्मक भएको अवस्थामा समेत अर्थव्यवस्था अन्ततः लगानी सन्तुलित बनाउन बाध्य हुन्छ । यो आधारमा चीन आज स्पष्टरूपमा दोस्रो चरणमा छ भन्न सकिन्छ । सन् १९८० र २०१० बीचमा चिनियाँ कुल गार्हस्थ उत्पादन चार गुणाले वृद्धि भयो तर ऋणको स्तर कम थियो र विस्तारै वृद्धि हुँदै गयो । यद्यपि २०१० र २०२० को बीचमा कुल गार्हस्थ उत्पादन फेरि दोब्बर भयो । चीनले आफ्नो कुल ऋण बोझ तीन गुणा बढाएर ४३० खर्ब डलरमा पु¥यायो जुन अहिले आधिकारिक रूपमा कूल गार्हस्थ उत्पादनको २८० प्रतिशतभन्दा बढी हो । यदि फेरि कुल गार्हस्थ उत्पादन दोब्बर बनाउने हो भने चीनको ऋण र कुल गार्हस्थ उत्पादन अनुपात सन् २०३५ सम्ममा ४०० प्रतिशत भन्दा बढी हुनुपर्ने देखिन्छ ।
आर्थिक वृद्धि यो तहसम्म पुग्नु भनेका अभूतपूर्व सफलता नै मानिन्छ । विकसित देशको अनुभवजस्तै ऋणको दरले एउटा सीमासम्म पुगेपछि आर्थिक वृद्धि ओरालो लाग्न थाल्छ जुन चीनमा पनि देखिएको छ । सन् २००७ मा चीनको वृद्धि दर १४ दशमलव २३ प्रतिशतसम्म पुगेको थियो जुन अहिले ६ प्रतिशतको हाराहारीमा छ । चिनियाँ सरकारको लामो समयदेखि लगानीबाट हुने आन्तरिक मागलाई उपभोगमा स्थानान्तर गर्ने प्रयासले सार्वजनिक ऋणमाथिको निर्भरता कम गर्न सक्छ । यद्यपि यसका लागि वर्तमानमा रहेको कुल गार्हस्थ उत्पादनको लगभग ५० प्रतिशत पारिवारिक आम्दानीबाट बढाएर कम्तीमा ७० प्रतिशतसम्म पु¥याउनुपर्ने आवश्यकता छ । चिनियाँ सरकारले लामो समयदेखि यो नीति कार्यान्वयन गर्न चाहेको थियो तर एक दशकको प्रयासको बाबजुद सीमित सफलतामात्र हात परेको छ ।
यहाँ जनसाङ्ख्यिक समस्या पनि छ । सन् १९७० को दशकको अन्तदेखि चीनले द्रुतगतिमा बढ्दो सक्रिय उमेरका जनसङ्ख्याबाट फाइदा उठायो तर यो एक दशक पहिले उल्टो भयो । वास्तवमा, आगामी १५ वर्षमा चीनको जनसङ्ख्या १ दशमलव ५ प्रतिशतले बढ्नेछ भने सक्रिय जनसङ्ख्या आश्चर्यजनक रूपमा ६ दशमलव ८ प्रतिशतले घट्नेछ र आउने समयमा पनि अझै ह्रास आउने नै छ । यसलाई सन्दर्भमा भन्नुपर्दा, आज चीनमा प्रत्येक एक अमेरिकी बराबर ४ दशमलव ७ चिनियाँ काम गर्ने उमेर छ र शताब्दीको अन्त सम्ममा यो दर २ दशमलव ४ मात्र हुनेछ । यसको असर अर्थतन्त्रमा देखिन्छ । घट्दो श्रम जनसङ्ख्याको साथ जीडीपी ४ दशमलव ७ प्रतिशतको वृद्धि हासिल गर्न घट्दो सक्रिय श्रमिक जनसङ्ख्याको अवस्थामा ५ दशमलव २ प्रतिशतको प्रतिश्रमिक उत्पादक वृद्धि आवश्यक छ ।
संसारको ध्यान आफूतिर तान्न सफल र नयाँ नयाँ प्रयोगमा माहिर चीनले सार्वजनिक ऋणकोे विशाल धनराशिलाई खर्च गर्न आर्थिक विकासको पूर्ण नयाँ इन्जिन पत्ता लगायो जुन अहिले गैरउत्पादक लगानीमा गइरहेको अर्थशास्त्रीहरूको भनाइ रहेको छ । चीनको ऋण क्षमताको कुनै सीमा नराखिकन वा राष्ट्रिय आयको ठूलो भाग सर्वसाधारणलाई पुनः वितरणको प्रबन्ध गरेर सरकारले उपभोक्ताको उपभोग बढाएर २०३५ सम्ममा कुल गार्हस्थ उत्पादन दोब्बर गर्न सकिन्छ । पुरानो अनुभवले के देखाउँछ भने पहिलो तरिका धेरै गाह्रो छ र पछिल्लोले अत्याशित राजनीतिक र सामाजिक परिवर्तन ल्याउने सम्भावना छ ।
चिनियाँ श्रम उत्पादकत्वको वृद्धि वास्तवमा २०१० पछि स्थिर दरले ह्रास आएको देखिन्छ । घट्दो श्रम जनसङ्ख्याले २०३५ सम्ममा चीनको कुल गार्हस्थ उत्पादन दोब्बर बनाउने हो भने उत्पादकत्वमा भएको ह्रासको दर झन्डै दुईतिहाइले घट्नु आवश्यक छ । यसैलाई आधार मान्ने हो भने चिनियाँ राष्ट्रपति सि चिङफिङले प्रस्ताव गरेको लक्ष्य हासिल गर्न निकै गाह्रो हुने देखिन्छ । तर अवरोधहरू पहिचान गरी कुनै हालतमा पनि अठोट पूरा गर्ने चिनियाँहरूको विशेषता रहेकोले यो लक्ष्य पनि हासिल गर्ने विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *