भर्खरै :

‘अन्तिम युद्ध’ तिर इथियोपिया

अडिस अबाबा, २६ नोभेम्बर । इथियोपियाका प्रधानमन्त्री अबिय अहमेदले बिहीबार इथियोपियाली सेनालाई विद्रोही तिग्रे नेताहरूविरुद्ध अन्तिम हमला गर्न निर्देशन दिएका छन् । आत्मसमर्पण गर्ने बाटो अब बन्द भएको भन्दै उनले सेनालाई तिग्रे क्षेत्रको राजधानी मेकेलेमा हमला केन्द्रित गर्न निर्देशन दिएका छन् ।
“इथियोपियाली राष्ट्रिय सुरक्षा बल हाम्रो कानुनअनुसार अन्तिम र निर्णायक कदम चाल्न अघि बढिरहेको छ”, प्रधानमन्त्रीले ट्वीटरमार्फत सार्वजनिक एक वक्तव्यमा भनिएको छ ।
“यो अन्तिम चरणमा निर्दोष नागरिकको रक्षाको लागि विशेष सावधानी अपनाइनेछ । इथियोपियाली जनताको कडा मिहिनेतले बनाएको मेकेले सहरमा क्षति नपुग्ने गरी सैनिक कारबाही गरिनेछ”, उनले भने ।
अधिकारवादी सङ्गठनहरूले सहरमा हमला गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत हुने भनी सजग बनाउँदै आएका छन् । अबियले मेकेलेका ५ लाख बासिन्दालाई ‘घरमै बस्न र सैनिक निशानाबाट टाढा रहन साथै आवश्यक सावधानी अपनाउन’ आग्रह गरेका छन् । उनले तिग्रे जनमुक्ति मोर्चाका मानिसहरूलाई सेनासमक्ष बुझाउन आग्रह गरेका छन् ।
“सर्वसाधारण जनता, सम्पदा क्षेत्र, धार्मिक क्षेत्र, विकास प्रतिष्ठान र सम्पत्तिमा कुनै नोक्सानी नगरी तिग्रे जनमुक्ति मोर्चा नामको अपराधी गुटलाई कानुनको घेराभित्र ल्याउन हामीले हाम्रो राष्ट्रिय सुरक्षा बलले उपयुक्त रणनीति अपनाउने विश्वास दिलाउन चाहन्छौँ”, प्रधानमन्त्रीले भने ।
तिग्रे सेनालाई सरकारले आत्मसमर्पण गर्न दिएको समयको अन्तिम घडीमा अफ्रिकी प्रतिनिधिहरू इथियोपिया पुगेका छन् । सरकारले विद्रोहीहरूलाई आत्मसमर्पण गर्न वा अन्तिम हमलाको सामना गर्न चेतावनी दिएको थियो ।
अबिय सरकारले आइतबार तिग्रे जनमुक्ति मोर्चालाई हतियार बिसाउन वा मेकेलेमाथिको हमला सामना गर्न ७२ घण्टाको समय दिएको थियो । मेकेलेमा ५० लाख मानिसको बसोबास रहेको बताइएको छ ।
अफ्रिकी युनियनका प्रतिनिधिहरू मोजाम्बिकका पूर्वराष्ट्रपति जोकिम चिस्सानो, लाइबेरियाका इलेन जोनसन सरलिफ र दक्षिण अफ्रिकाका गालेमा मोटलान्थे बैठकको लागि इथियोपियाको राजधानी अडिस अबाबा पुगेको कूटनीतिक स्रोतले बताएको छ ।
अफ्रिकी युनियनका अध्यक्ष एवम् दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई उद्र्धृत गर्दै ब्लुमबर्गले ‘युनियनका प्रतिनिधिहरूको मूल लक्ष्य संवादको वातावरण बनाउनु र धेरै जीवन नष्ट हुने तथा कैयौँ मानिस विस्थापित हुने लडाइँ अन्त्य गर्नुभएको बताएको छ ।
इरित्रियासँगको दुई दशक लामो लडाइँ अन्त्य गर्न सफल भएकोमा गत वर्ष इथियोपियाका प्रधानमन्त्री अबियले नोबेल शान्ति पुरस्कार पाएका थिए । उनले तिग्रे जनमुक्ति मोर्चासँग आफू कुरा गर्न तयार भएको तर उनीहरूको पराजय वा आत्मसमर्पणपछि मात्र त्यस्तो वार्ता सम्भव भएको बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय सङ्गठनले चालू द्वन्द्वले धेरै नागरिकलाई जोखिममा पार्न सक्नेबारे चासो देखाएका छन् । हजारौँ मानिसको अहिले नै मृत्यु भइसकेको बताइएको छ । नोभेम्बर ४ बाट सुरु भएको लडाइँ यता हवाई वम हमला र थल युद्ध पनि भएको बताइएको छ । झन्डै ४२ हजार शरणार्थीहरू सुडानतिर भागिसकेका छन् ।
लडाइँका दुवै पक्षले आ–आफ्नो पक्ष विजय उन्मुख भएको बताइरहेका छन् । दुवैले एक आपसको सेनामा ठूलो क्षति गरेको दाबी गरिरहेका छन् ।
दुई वर्षअघि हालका प्रधानमन्त्री अबिय सो पदमा आउनुअघि तिग्रे जनमुक्ति मोर्चाले इथियोपियामा दशकौँसम्म सरकार चलाएको थियो । इथियोपिया अलग अलग आदिबासी समुदायले शासन गर्ने दस वटा क्षेत्रमा विभाजित छ । तिग्रे समुदायका जनताको प्रतिशत झन्डै ५ प्रतिशत छ । तर, सन् १९९१–२०१८ सम्म तिग्रे समुदायले बहुजातीय सत्ता गठबन्धनमा सबभन्दा शक्तिशाली शक्तिको रूपमा शासन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *