भर्खरै :

नगरकार्यपालिकामा निर्वाचित सदस्यहरूको सपथग्रहण

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा निर्विरोध निर्वाचित पाँच जना सदस्यहरूको सपथग्रहण कार्यक्रम आइतबार भनपाको सभाकक्षमा सम्पन्न भयो ।
सपथग्रहण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नवनिर्वाचित नगर कार्यपालिकाका सदस्यहरूलाई बधाइ दिंदै निर्वाचन घोषणापत्रअनुसार जनताको सेवामा समर्पित भई कार्य गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सपथग्रहण भनेको जनताप्रतिको दायित्व सम्झिनु हो ।’
सरकारको अदूरदर्शिताको कारण स्थानीय तहको कार्यपालिकामा दलित महिलाको पद धेरै स्थानमा खाली हुन गएको चर्चा गर्दै सांसद सुवालले संसद देश र जनताको हितमा ऐन कानुन बनाउनुपर्नेमा पद र व्यक्तिगत शुभलाभको कार्य गर्ने थलो बन्न पुगेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधिमूलक संस्था नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको समन्वयबाट धेरै जनहितका कार्यहरू गर्न सकिने र कसैको कमजोरीबाट नगरपालिकालाई बद्नाम हुन दिन नहुने बताउनुभयो ।
भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्र र सहज स्वास्थ्य उपचारको क्षेत्र बनाउने र काम गरी खाने जनतालाई सहज बनाउन थप शिशुशालाहरू सञ्चालन गर्दै जाने प्रमुख प्रजापतिले बताउनुभयो ।
नवनिर्वाचित भक्तपुर नगरपालिका नगर कार्यपालिकाका सदस्यहरू रोशनमैया सुवाल, सुनिता प्रजापति (अवाल), कृष्णलक्ष्मी दुवाल, सरिना द्योला र छोरीमैयाँ सुजखूलाई भक्तपुर जिल्लाका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश भोजराज शर्मा, भक्तपुर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रवीन्द्र ज्याख्व, कार्यकारी अधिकृत रोहितराज पोखरेल र कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि बधाई एवं कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *