भर्खरै :

कार्यालय प्रमुखहरु सबै भक्तपुर नगरपालिकामा

भक्तपुर, जेठ २१ गते ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा आइतबार भक्तपुर जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरुबीच नगरपालिका भवन, व्यासीमा परिचयात्मक कार्यक्रम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारीसँगै जिल्लाका ३१ वटा कार्यालयका प्रमुखहरुको उपस्थितिमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रजापतिले २० वर्षपछि स्थानीय तहको निर्वाचन भएकोले जनताले जनप्रतिनिधिहरुबाट धेरै अपेक्षा गरेको बताउनु भयो ।
उहाँले भक्तपुरमा खानेपानीको समस्या रहेकोले आपूm निर्वाचित भएपछि पहिलो चासोको विषयको रुपमा खानेपानीलाई राखेको र समस्या समाधानका लागि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीहरुसँग छलफल गरी पानीको श्रोतको निरीक्षण गरेको उल्लेख गर्नुभयो । नगरकोट जाने सडक विस्तारको क्रममा खनिएका माटो जथाभावी रुपमा पानीको श्रोत क्षेत्रमा फालिएको कारणले भक्तपुर नगरबासीले धमिलो पानी पिउनु परेको चर्चा गर्दै उहाँले खानेपानीमा खेलवाड गर्नु जनताको स्वास्थ्यमाथि खेल्नु हो र यो मानवताविरोधी अपराध हो भन्नुभयो ।
भक्तपुर नगर तुलनात्मक रुपमा सफा भएर पनि यसको प्रवेशद्वारको रुपमा रहेको हनुमन्ते खोला फोहर भएकोमा चिन्ता व्यक्त गर्दै हनुमन्ते खोला सफाइका लागि सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरीहरु पुनः संचालनमा ल्याउने विषयमा ढल निकासका पदाधिकारी तथा विज्ञहरुबीच छलफल भइरहेको बताउनुभयो ।

‘भूकम्प पीडितहरुलाई जिल्ला वन कार्यालयमार्फत सहुलियत दरमा काठ उपलब्ध गराईरहेको विषयमा नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी वडा कार्यालयहरुमार्फत सहजीकरण गरिरहेको छ ।’

प्रमुख प्रजापतिले भक्तपुरलाई पाँच वर्षभित्र सफा, स्वच्छ र सुन्दर नगर बनाउने तथा साँस्कृतिक नगर घोषणा गरी शैक्षिक र पर्यटकीय केन्द्र बनाउने लक्ष्य रहेको प्रष्ट पार्नुभयो । उहाँले भक्तपुरका जनताले शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षा तथा सबै प्रकारका स्वास्थ्य उपचार सेवा प्राप्त गर्न भक्तपुरभन्दा बाहिर जान नपर्ने वातावरण तयार गर्न जनप्रतिनिधिहरु लागि परेको उल्लेख गर्दै उहाँले सबै क्षेत्रबाट यसका लागि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भयो ।
भूकम्प पीडित जनतालाई घर पुनःनिर्माण कार्यमा सहजता प्रदान गर्न नगरपालिकाले प्रयास गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘भूकम्प पीडितहरुलाई जिल्ला वन कार्यालयमार्फत सहुलियत दरमा काठ उपलब्ध गराईरहेको विषयमा नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी वडा कार्यालयहरुमार्फत सहजीकरण गरिरहेको छ ।’
प्रमुख प्रजापतिले भक्तपुर नगरलाई व्यवस्थित गर्ने र जनगुनासोलाई न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले सुधार गर्दै रहेको चर्चा गर्दै नगरभित्र कुनै कार्य गर्न नगरपालिकासँग अनुमति लिएको खण्डमा विभिन्न कार्यालयका गतिविधिहरु सहज ढंगबाट अघि बढ्ने र त्यसमा नगरपालिकाले पनि सहयोग गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण अधिकारीले जिल्लाका कार्यालय प्रमुखहरुसंग मासिक रुपमा नियमित भेटघाट गरी जिल्लाको प्रगति र चुनौतिका विषयमा छलफल गरिरहेको जानकारी दिंदै नगरपालिकाले पनि सकारात्मक कदम चालेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक किरण राणाले भक्तपुर नगरमा घरेलु हिंसाका घटनाहरु बढेकोमा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न नगरपालिकाले महत्वपूर्ण योगदान गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले नगरमा अपराधिक गतिविधिलाई नियन्त्रण गर्न मुख्य चोकहरुमा सीसी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
स्थानीय विकास अधिकारी ध्रुव कोइरालाले भक्तपुरमा हालसम्म २० हजार ६२६ जना भूकम्प पीडितले सरकारी अनुदानको पहिलो किस्ता प्राप्त गरिसकेको अवगत गराउँदै नगरभित्रका अझै पनि धेरै पीडितहरुले पहिलो किस्ताको सम्झौता गरिनसकेको बताउनुभयो ।
जिल्ला वन कार्यालय भक्तपुरका प्रमुख फणिन्द्र पोखरेलले भक्तपुरमा १७ प्रतिशत मात्र वन क्षेत्र रहेको उल्लेख गर्दै हरियाली प्रवद्र्धनका लागि एक घर एक विरुवा लगाउने नीतिलाई अगाडि बढाउनुपर्ने र यसका लागि कार्यालयबाट निःशुल्क रुपमा विरुवा वितरण गर्ने बताउनुभयो ।
काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड भक्तपुरका प्रमुख सुरेन्द्र हिमालयले जनप्रतिनिधिहरुले खानेपानीमा देखाउनु भएको चासोलाई ध्यानमा राखेर पानीको सन्तुलित वितरण गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय भक्तपुरका प्रमुख दिलकुमार श्रेष्ठ, मालपोत कार्यालय, भक्तपुरका प्रमुख अरुणोदयमान रंजित, प्रमुख जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझी, डिभिजन सडक कार्यालयका इन्जिनियर गुरुप्रसाद अधिकारी, नापी कार्यालय भक्तपुरका प्रमुख सुदर्शनसिंह धामी, स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालय, भक्तपुरका प्रमुख मंगला प्रधान, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा, मानव अंग प्रत्यारोपण केन्द्रका हरिहर पोखरेल, भक्तपुर क्यान्सर अस्पतालका राजाराम तजले, जिल्ला पशु सेवा कार्यालय भक्तपुरका डा. प्रभात झा लगायतले आ–आप्mनो कार्यालयले गर्दै आएको कार्यहरुबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *