भर्खरै :

भँगेरी डाँडा मासेर खेल मैदान बनाउन नहुने

भक्तपुर, १५ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जोड दिँदै वीरहरूको रगतबाट स्वाधीन भएको नेपालको सिमानामा ७१ भन्दा बढी ठाउँमा भएको अतिक्रमण फिर्ता लिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत एसियाली विकास बैङ्क र नेपाल सरकारको संयुक्त आर्थिक सहयोगमा निर्माण भएको पञ्चकन्या मावि सुडालको ७ कोठाको भवन हस्तान्तरण कार्यक्रममा सांसद सुवालले सोमबार उक्त भनाइ राख्नुभएको हो ।
उहाँले माध्यमिक शिक्षा कक्षा १२ सम्म निःशुल्क र अनिवार्य तथा कलेजको शिक्षा निःशुल्क हुनुपर्ने आवश्यकता औँल्याउँदै जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा राम्रो अस्पताल, कलेज, सडक निर्माण गरी देशको सन्तुलित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद सुवालले बागेश्वरीको भँगेरी डाडा मासेर खेल मैदान बनाउनु प्राकृतिक सम्पदाको विनाश भएको उल्लेख गर्दै जनताको खानेपानीको मुहानसमेत भएको सो डाँडा मास्ने काम अविलम्ब रोक्न सरकार र चाँगुनारायण नगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।
किसानलाई धान रोप्न समयमा मल उपलब्ध नभएको र अहिले गहुँ छर्न तथा आलु रोप्न पनि मल अभाव भएको हुँदा कृषिमन्त्री, साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री कम्पनीमा पुगेर ध्यानाकर्षण गराएको उल्लेख गर्दै उहाँले अर्बपति र खर्बपति उद्योगी–व्यापारीहरूको ठूला गोदाममा म्याद नाघेको खाद्यान्नको पोकामा मिति मेटेर नयाँ मिति लगाएको र निर्माण सामग्रीको मूल्यमा थप वृद्धि हुँदा गरिब जनतालाई मर्का परेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सरकारमा गएका पार्टीका नेताहरूको झगडा देश र जनताको हितमा नभएको बरू आ–आफूले बढी भाग पाउन भइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला आयोजना एकाइ (शिक्षा) प्रमुख काठमाडौँ र भक्तपुरका अर्जुनबहादुर रायमाझी, भक्तबहादुर श्रेष्ठ, वडाध्यक्ष परासर सापकोटा, चाँगु नपाको नगर शिक्षा शाखाका प्रमुख, प्रधानाध्यापक सन्तराम दुलाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *