नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
ललितपुर, १७ मङ्सिर । जनसरोकार समिति बुङ्गमती र खोकनाको संयुक्त आयोजनामा खोकना–बुङ्गमतीमा राष्ट्रिय गौरवको नाममा सञ्चालित फास्टट्राय्कलगायत १० वटा योजनाहरू खारेजीको माग गर्दै बुधबार जुलुस प्रदर्शन भयो ।
ललितपुर डीएसपी कार्यालय र सहरी विकासमन्त्री बुङ्गमती आउँदा निर्माण कार्य रोक्ने आश्वासन दिए पनि प्रहरी प्रशासनको सुरक्षामा ठेकेदारले काम नरोकेपछि स्थानीय जनता ललितपुरको खोइचा र फसिडोल पुगी रोक्ने काम गरे ।
खोकना र बुङ्गमती सरोकार समितिका अध्यक्ष नेपाल डंगोल, अष्टबहादुर महर्जनको नेतृत्वमा पुगेका सयौँ प्रदर्शनकारीहरूले खोइचामा प्रहरी अवरोधलाई छिचोल्दै रिटेनिङ्ग वाल भत्काएका थिए । घम्साघम्सीको क्रममा ममिता श्रेष्ठ घाइते हुनुभएको थियो । खोइचामा भएको निर्माण कार्य जनताले रोक्दा प्रहरीहरू मूकदर्शक भएर हेरिरहेका थिए । आन्दोलनकारीहरूले निर्माण कार्य रोकेपछि कोण सभा गरे ।
कोण सभामा सरोकार समितिका खोकनाका अध्यक्ष नेपाल डंगोलले जनतालाई झुकाएर, फकाएर, झुल्याएर निर्माण कार्य अगाडि बढाएकोमा आपत्ति जनाउँदै कुनै हालतमा फास्टट्राय्क बनाउन नदिने बताउनुभयो ।
जनसरोकार समिति बुङ्गमतीका अध्यक्ष अष्टबहादुर महर्जनले खोकना–बुङ्गमतीको सम्पदा समाप्त गर्ने सरकारको योजना जनताको विरोधका कारण सफल नहुने बताउनुभयो ।
जनसरोकार समिति बुङ्गमतीका उपाध्यक्ष पशुपति तुलाधरले सरकार आफैले नियमविपरीत फास्टट्राय्कको निर्माण कार्य अगाडि बढाउनु आपत्तिजनक छ भन्नुभयो ।
जनसरोकार समिति बुङ्गमतीका सचिव महेन्द्र ब्रम्हाचार्यले काठमाडौँ उपत्यकामा देशभरका मान्छे थुपार्ने नियतले सहर विकास गर्न खोज्नु आत्मघाती कदम हुने बताउनुभयो ।
सभामा श्याम प्रजापति, राजवीर डंगोललगायतले निर्माण कार्य नरोकेमा थप आन्दोलन गर्ने चेतावनी दिनुभएको थियो ।
खोइचादेखि फसिडोलमा जुलुससहित स्थानीय जनता पुगेपछि त्यहाँ निर्माणमा लागेकाहरू काम छोडी भागेका थिए । फसिडोलमा पनि प्रहरीहरूसँग घम्साघम्सी गरी प्रदर्शनकारीहरूले त्यहाँ निर्मित रिटेनिङ्ग वाल साङ्केतिकरूपमा भत्काएका थिए ।
फसिडोलमा भएको कोण सभामा कमला पुटुवार, महेन्द्र ब्रह्माचार्य, अशोक महर्जन, दिलमाया महर्जन, कृष्णभक्त डंगोल, गोपालकृष्ण महर्जन, पशुपति तुलाधरले जबरजस्ती गरिएको निर्माण कार्य तुरून्त रोक्न चेतावनी दिनुभएको थियो ।
प्रशासनले निर्माण कार्य रोक्ने आश्वासन दिए पनि लुकीलुकी निर्माण कार्य गरिरहेको हुँदा सोको विरोधमा बुधबार सङ्घर्षको कार्यक्रम तय भएको थियो ।
Leave a Reply