भर्खरै :

पाँच महिनामा बनेको थियो भक्तपुरको न्हु पुखु

भक्तपुर, १७ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी अध्ययन गर्न भक्तपुर नगरपालिकाले गठन गरेको रानीपोखरी अध्ययन समितिले पोखरीको अध्ययन पूरा गरेको छ । बुधबार आयोजित एक कार्यक्रमबीच अध्ययन समितिले अध्ययनको आधारमा तयार गरेको प्रतिवेदन भक्तपुर नगरपालिकालाई हस्तान्तरण ग¥यो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक एवं इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले रानी पोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाहरूको ऐतिहासिक दस्तावेजीकरण गर्ने ढङ्गले सम्पदाहरू पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताउनुभयो ।
भक्तपुर नपाले नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणलगायत सार्वजनिक सम्पत्तिहरू संरक्षणको कार्यलाई अगाडि बढाइरहेको बताउँदै उहाँले काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा पनि भक्तपुर नपाले प्राविधिक तथा आवश्यक कालीगढहरू सहयोग गरेको स्मरण गर्नुभयो ।
भक्तपुरमा अवस्थित सार्वजनिक सम्पत्ति संरक्षणको निम्ति नगरपालिकाले सम्बन्धित निकायहरूमा निरन्तर पहल गरिरहेको बताउँदै प्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्ति जनताको साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
मानव जातिले गरेका कुनै पनि कार्यहरू इतिहासको रूपमा नयाँ पुस्तामाझ रहिरहने बताउँदै उहाँले सम्पदा संरक्षण गर्ने क्रममा भक्तपुरको इतिहासलाई जीवित बनाउन जोड दिइरहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले रानीपोखरी पुनःनिर्माणको क्रममा विभिन्न अध्ययन अनुसन्धानहरू भएको र सोबाट नयाँ तथ्य र प्रमाणसमेत प्राप्त भएको बताउँदै रानीपोखरी अध्ययन समिति कार्यदलप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौँ उपत्यकाका सम्पदाहरू बिस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्नु प्रशंसनीय भएको बताउनुभयो ।
उहाँले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीहरूबारे अध्ययन–अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री ढङ्गले निर्माण गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक पुरूषोत्तमलोचन श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा चालीस वर्षअगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हु पुखु’ रहेको बताउनुभयो ।
रानीपोखरीको ऐतिहासिक महत्वमाथि प्रस्ट पार्दै प्रा.डा. श्रेष्ठले पाँच महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखहरूबाट थाहा हुन आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानीपोखरीबारे थ्रीडी प्रस्तुतीकरण देखाउनुभएको थियो ।
कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले पनि कार्यक्रममा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *