भर्खरै :

किसान आन्दोलनको समर्थनमा भारतभर प्रदर्शन

काठमाडौँ, १८ मङ्सिर । केन्द्र सरकारले ल्याएका किसानविरोधी कानुनहरूको विरोधमा भारतको राजधानी दिल्लीमा भइरहेको किसान धर्नाको समर्थनमा भारतका विभिन्न सहर र नगरहरूमा सरकारविरोधी प्रदर्शन भएका छन् । भारतका वामपन्थी तथा अन्य विपक्षी पार्टीहरूको समर्थनमा प्रदर्शनहरू भएका हुन् ।
भारतका ती वामपन्थी पार्टीहरूले ३० नोभेम्बरकै दिन संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनरत किसानमाथिको दमन बन्द गर्न र किसान आन्दोलनको माग पूरा गर्न केन्द्रको भाजपा सरकारसित माग गरेका थिए । वक्तव्यमा भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम येचुरी, भाकपाका महासचिव डी राजा, भाकपा (माले) का महासचिव दिपङ्कर भट्टाचार्य, अल इन्डिया फर्वार्ड ब्लकका महासचिव देवव्रत विश्वास, रिभोल्युसनरी सोसियलिस्ट पार्टीका महासचिव मनोज भट्टाचार्यले हस्ताक्षर गर्नुभएको थियो ।
भाजपा सरकारले कृषिसम्बन्धी तीनवटा कानुनहरू – कृषक (सशक्तीकरण एवम् संरक्षण) मूल्य आश्वासन तथा कृषि सेवा करार ऐन २०२०, कृषक उत्पादन व्यापार एवम् वाणिज्य (संवद्र्धन एवम् सरलीकरण) ऐन २०२० र आवश्यक वस्तु (संशोधन) ऐन २०२० पहिले जून महिनामा अध्यादेशमार्फत ल्याएर जुलाई महिनामा संसदबाट पारित गरेको थियो ।
ती अध्यादेशहरू राष्ट्रपतिसमक्ष पेश भएपछिदेखि नै भारतभरका किसानहरूले तिनको विरोध गर्न सुरू गरेका थिए । किसानहरूको विरोधलाई वास्तै नगरी भारतीय जनता पार्टीको बहुमत भएको संसद्ले विधेयकहरू पारित गरेको थियो । विधेयकहरू कानुन बनेपछि पनि किसानहरूको विरोध रोकिएको छैन । आन्दोलनकारी किसानहरूले नयाँ कानुनहरू किसानविरोधी भएको स्पष्ट पार्दै ती तीनवटै कानुन खारेज हुनुपर्ने माग गरिरहेका छन् । नयाँ कानुनले कृषि उपजको निम्नतम समर्थन मूल्यलाई अन्त गरिदिने, कृषि उपज बजार समितिहरूको बन्दोबस्त समाप्त गरिदिने र कृषि उपजमाथिको सम्पूर्ण नियन्त्रण ठुला व्यापारिक कम्पनीहरूको हातमा पर्न जाने किसानहरूको कथन छ ।
किसान आन्दोलनको समर्थनमा तामिलनाडु राज्यको राजधानी चेन्नाइ, केरलाको कोइम्बतुर, विहारको पटना, झारखण्डको धनबाद, उत्तरप्रदेशको लखनऊ, पंजाबको चन्डीगढ, हरियाणाको पश्चिम दिल्ली, तेलङ्गानाको हैदरावाद, कर्नाटकको बैङ्गलुरू, आन्ध्र प्रदेशको अमरावती, महाराष्ट्रको मुम्बइ, पश्चिम बङ्गालको कोलकोता, त्रिपुराको अगरतालालगायत भारतका विभिन्न सहर र नगरहरूमा जनप्रदर्शन भएका छन् ।
त्यस्तै विभिन्न सङ्घसंस्थाहरूले किसान आन्दोलनप्रति ऐक्यबद्धता जनाउने क्रम पनि जारी छ । आन्दोलनप्रति समर्थन जनाउँदै भारतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले राज्यले प्रदान गरेका सम्मान र पदक फिर्ता गर्ने घोषणा गरेका छन् । पद्मश्री र अर्जुन अवार्ड बिजेता पहलवान करतारसिंह, अर्जुन अवार्डबाट सम्मानित खेलाडी सज्जनंिसंह चिम्मा र अर्जुन अवार्डबाटै सम्मानित हक्कीका राष्ट्रिय खेलाडी राजवीर कौरले ५ डिसेम्बरका दिन दिल्ली गएर राष्ट्रपति भवनअगाडि ती अवार्ड राखेर आउने घोषणा गरेका छन् ।
किसान आन्दोलनको समर्थनमा पंजाबका पूर्वमुख्यमन्त्री एवं शिरोमणि अकाली दलका नेता प्रकाशसिंह बादलले पनि बिहीबार पद्मश्री अवार्ड फिर्ता गर्ने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *