भर्खरै :

जारविरुद्ध षड्यन्त्र – ९

एक फरक डिसेम्बरवादी मिखाईल सर्गेईभिच लुनीन –
पेरिसमा लुनीन
सन् १८१६ को सेप्टेम्बरमा सेन्ट पिटर्सबर्गबाट हिँडेका लुनीन विभिन्न ठाउँमा रोकिँदै छ हप्ताको जहाजी यात्रापछि फ्रान्सको ला हाभ्रे बन्दरगाह सहर पुगे र फेरी त्यहाँबाट बग्गीमा पेरिस गए । आफ्ना बुबाबाट पाएको पैसा यात्राको क्रममा खर्च भइसकेको थियो । पेरिसमा उनले एउटा सानो कोठा भाडामा लिएर आफ्नै पसिनामा बाँच्ने तयारी गरे । हजारौँ भूदास र विशाल खेतियोग्य जमीनको स्वामित्व भएको एक रूसी अभिजात वर्गीय परिवारका उत्तराधिकारीको विदेशमा आफ्नै मिहिनेतमा जिउने आँट देखेर हिप्पोलाईट अगरजस्ता उनका साथीहरू अचम्भित बने ।
पेरिस पुगेको केही दिनमै उनले रूसको सो¥हौँ शताब्दीको इतिहासमा आधारित ‘नक्कली दिमित्री’ नामक एक उपन्यास लेख्न थाले । त्यस्तै उनले फ्रान्सेली, अङ्ग्रेजी, गणित, सङ्गीतलगायत विभिन्न विषयको ट्युसन कक्षा चलाउन थाले । कहिलेकाहीँ उनी व्यापारिक चिट्ठीहरू फ्रान्सेली भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद गरेर केही आम्दानी गर्थे भने कहिले प्रेमपत्रहरू लेखिदिन्थे । कहिलेकाहीँ लुनीनको दिनमा दश फ्रायङ्क (फ्रान्सेली मुद्रा) मात्र आम्दानी हुन्थ्यो । लुनीन बस्ने घरमा जम्मा पाँच जना गरिब युवाले डेरा लिएका थिए । तर, उनीहरूसँग छाता एउटामात्र थियो । त्यस्तै जाडोमा हिउँ पर्दा बाहिर निस्कन लगाइने लुगा पनि एउटैमात्र थियो । अभावले भरिए पनि आफ्नै मिहिनेतमा टिकेको पेरिसको बसाइबाट उनी सन्तुष्ट थिए ।
पेरिस त्यतिबेला क्रान्तिकारी भावना र उदार विचारको केन्द्र थियो । पेरिस बसाइकै क्रममा एक सैलुनमा उनको परिचय पेरिसमा राजनैतिक र सामाजिक प्रभाव भएका बुद्धिजीवीहरूसँग भयो । काल्पनिक सामाजवादी विचारक सेन्ट साइमन लुनीनका ती परिचय भएकाहरूमध्ये एक थिए । त्यतिबेला युरोपेली सहरहरूमा कपाल काट्ने सैलुनहरू सांस्कृतिक केन्द्र र बौद्धिक छलफल, बहस एवम् अन्तरक्रियाका केन्द्र हुन्थे । उनी घण्टौँसम्म सैलुनमा बसेर छलफलहरूमा भाग लिन्थे ।
बिस्तारै लुनीन पेरिसमा रहेका गुप्त समाजहरूको सम्पर्कमा पुगे । नेपोलियनको पतनपछि स्थापना भएका सामन्ती र निरङ्कुश राज्यसत्ताविरुद्ध युरोपका विभिन्न सहरहरूमा गुप्त समाजहरू सक्रिय भएका थिए । विभिन्न देशका क्रान्तिकारी युवाहरू स्वनिर्वासनमा रहेको एउटा अन्तर्राष्ट्रिय केन्द्रको रूपमा पेरिस सहरमा पनि त्यस्ता गुप्त समाजहरू धेरै थिए । ती गुप्त समाजका गतिविधिमा सहभागी भएर काम गर्ने तौरतरिका लुनीनले सिकिरहेका थिए । यतिबेला लुनीन २९ वर्षका थिए ।
फेरि रूसमा
तर, पेरिसको केही महिनाको बसाइपछि नै उनको बुबाको निधन भएको खबर आयो । परिवारको एकमात्र छोराको रूपमा सम्पूर्ण जायजेथाको व्यवस्थापन गर्नुपर्ने बाध्यताले उनी सन् १८१७ को अप्रिलमा रूस फर्के । ‘मुक्ति सङ्घ’ नामक डिसेम्बरवादीहरूको पहिलो गुप्त समाजमा संवैधानिक राजतन्त्रवादी र गणतन्त्रवादीबीचको फाटो बढिरहेको थियो । उद्देश्यमा एकमत भएर पनि कसरी त्यो उद्देश्यमा पुग्ने भन्ने विषयमा फरक मतहरू गुप्त सङ्गठनमा थिए । लुनीन संवैधानिक राजतन्त्रका पक्षपाति थिए त्यसकारण निकिता मुराभयोभजस्ता गुप्त समाजका युवाहरू पनि लुनीन रूस फर्कियून् भन्ने चाहन्थे ।
लुनीन सेन्ट पिटर्सबर्गमा फर्किएपछि गुप्त समाजको नेतृत्व ‘मुक्ति सङ्घ’ लाई विघटन गरेर अझ फराकिलो नयाँ गुप्त समाज स्थापना गर्नुपर्ने निश्कर्षमा पुगे । लुनीनको सक्रिय सहभागितामा ‘समृद्धि सङ्घ’ नामक नयाँ गुप्त समाजको स्थापना भयो । सेना र सरकारी सेवामा रहेका सुधारवादी युवाहरूलाई नयाँ समाजमा भिœयाउन अगुवा सदस्यहरू सक्रिय भए । सुधारको पक्षमा कुलीन युवाहरूबीच समर्थन व्यापक बनाउने हेतुले कानुनीरूपमा सक्रिय सांस्कृतिक र साहित्यिक समाजहरूमा पनि गुप्त समाजका सदस्यहरू सक्रिय भए । कानुनी समाजहरूमा हुने छलफलहरूमा समृद्धि समाजका सदस्यहरू भूदास व्यवस्था, अधिकारीहरूको स्वेच्छाचारिता, सेन्सरसीप, सेनाभित्रको क्रुर सजाय व्यवस्था आदिको विरोधमा मन्तव्यहरू दिन्थे, पत्रिकाहरूमा लेख लेख्थे । केही समयमै समाजको सदस्यता दुई सयभन्दा बढी पुग्यो । त्यसमध्ये अधिकांश सेनाका अधिकारीहरू नै थिए र केही सैनिक सेवामा नरहेका जमिनदार एवम् सम्भ्रान्त परिवारका युवा सदस्यहरू थिए । यसरी लुनीनको सहभागिताले गुप्त समाज नयाँरूपमा अगाडि बढ्यो ।
सन् १८२१ मा मिखाईल लुनीन र निकिता मुराभयोभ दुवैले गुप्त समाजमा सल्लाह गरेर सैनिक सेवामा पुनः सम्मिलित भए । गुप्त समाजको प्रभावलाई अझ फराकिलो बनाउन यो कदम चालिएको थियो । सेनामा सन् १८१६ मै कर्णेल भैसकेका लुनीनले पाँच वर्षपछि दोस्रो पटक सैनिक सेवामा सहभागी हुँदा दुई तह कममा पनि चित्त बुझाए । लुनीनलाई सन् १८१६ पछि रूसमा गाभिएको पोल्यान्ड क्षेत्रको सैनिक सेवामा खटाइएको थियो । सन् १९२३ मा उनलाई जार अलेक्जेन्डरका भाइ कोन्स्तानतीनको नेतृत्वमा रहेको घोडचढी गार्डस् सेनामा लगियो । आफ्नो विशेष जिम्मेवारीका कारण सैनिक सेवामा प्रवेशसँगै लुनीनले गुप्त समाजका नेताहरूसँगको देखिने सम्पर्कलाई बिस्तारै कम गरे । तर, उनी भित्रभित्रै उत्तरी र दक्षिणी दुवै समाजको निरन्तर सम्पर्कमा रहे । ‘उत्तरी समाज’का नेता निकिता मुराभयोभ उनका भाइ (मामाका छोरा) थिए भने अर्का नेता सर्गेई ट्रुबेत्स्कोईसँग उनको राम्रो मित्रता थियो । त्यस्तै ‘दक्षिणी समाज’का नेताहरू कर्णेल पाभेल पेस्तेल र जर्नेल सर्गेई भोलकोन्स्कीसँग पनि लुनीन नजिक थिए । दुवै समाजले लुनीनलाई आफ्नो सदस्य मानेका थिए ।
पोल्यान्ड क्षेत्रमा पनि पोलिस युवाहरूको एक अर्को गुप्त समाज सक्रिय थियो । पोल्यान्डलाई रूसी अधिनबाट मुक्त गर्ने उक्त समाजको उद्देश्य थियो । अन्ततः दक्षिणी समाज र पोलिस गुप्त समाजबीच जारको तानाशाहीविरुद्ध मिलेर सङ्घर्ष गर्ने सहमति भयो । यी दुई समाजबीच लुनीनले गुप्तरूपमा पुलको काम गरेका थिए ।
डिसेम्बर विद्रोह र पक्राउ
लुनीनलाई डिसेम्बर विद्रोहको चार महिनापछि वार्सा सहरमा पक्राउ गरियो र सेन्ट पिटर्सबर्ग पु¥याइयो । तर, आफू पक्राउ परेकोमा वा गुप्त समाजका गतिविधिमा सहभागी भएकोमा उनलाई कुनै पश्चाताप थिएन । षड्यन्त्रबारे उनको बयान लिने मान्छे सन् १८१३ – १४ को नेपोलियनविरोधी युद्ध अभियानमा लुनीनकै सहकर्मी थिए । किन राज – हत्याको षड्यन्त्रमा सहभागी भयौ ? भन्ने प्रश्नको उत्तरमा उनले स्पष्ट भनेका थिए – “रूसको इतिहासमा जारको हत्या कुनै नौलो कुरा होइन, कहिलेकाहीँ एउटा अत्याचारी र असक्षम जार हटाउन राज परिवार र कुलीन वर्गकै सहभागितामा जारहरूको हत्या हुने गर्छ र त्योभन्दा राम्रा एवम् सक्षम जारलाई अगाडि सारिन्छ । यो पनि यस्तै एउटा प्रक्रिया हो ।” लुनीनको उत्तर सुनेर बयान लिने सैनिक अधिकारी नाजवाफ भए । २६ वर्ष अगाडि जार अलेक्जेन्डर प्रथम र जार निकोलसका पिता जार पिटर तेस्रो पनि कुलीन वर्गको एक षड्यन्त्रमा मारिएका थिए र जार निकोलस वरपर बस्ने धेरै अधिकारीहरू त्यो षड्यन्त्रका योजनाकारहरू थिए । बयानको क्रममा उनले कुनै पनि सहकर्मी क्रान्तिकारीहरू र घटनाहरूको विषयमा सूचना दिएनन् । कुनै पनि नयाँ सूचना पाउन नसक्दा बयान लिने अधिकारीहरू कायल बनेका थिए ।
विद्रोहको सात महिनापछि सजाय सुनाउने दिन लुनीनलाई आफ्नो टोलीमा देख्दा धेरै क्रान्तिकारीहरू छक्क परेका थिए । मुख्य नेतृत्वबाहेक धेरैले मिखाईल लुनीनले गुप्त समाज त्यागेको सम्झेका थिए । अनुसन्धान समितिको घोषणामा फाँसी दिइएका पाँच जना क्रान्तिकारीहरू बाहेक लुनीनलगायत तीस जना मुख्य नेताहरूलाई फाँसीको सजाय सुनाइएको थियो तर जारले सन् १८२६ को जुलाई १३ को घोषणामा सजाय घटाएर ती सबैलाई सधँैको निम्ति कारागार र साईबेरिया निर्वासनको सजाय सुनाइयो । क्रान्तिकारीहरूको परिवारको सहानुभूति प्राप्त गर्ने जारको दाउ थियो त्यो ।
भनिन्छ ‘सधँैको निम्ति’ भन्ने शब्द सुनेर लुनीनले फैसलाको उपहास गरेका थिए रे ! उनले भनेका थिए रे “म अहिले नै चालीस वर्ष पुगिसकेको छु, के ‘सधैँ’ भनेको बाँकी २०÷३० वर्ष हो ?’ यसरी कठिन र गम्भीर परिस्थितिमा पनि शत्रुका कुरालाई सहजै ख्यालठट्टामा उडाउनसक्ने विशेषता उनमा थियो । त्यो घटनापछि नै रूसी अदालतहरूमा ‘सधैँको निम्ति’ भन्ने शब्दको ठाउँमा ‘जीवन रहेसम्म’ भन्ने शब्द प्रयोग गर्न थालियो ।
साइबेरिया जेल र निर्वासन
एक विशेष ‘षड्यन्त्रकारी’ भएको हुँदा सुरुमा उनलाई अन्य क्रान्तिकारीहरू सँग नराखी रूस अधिनस्त दक्षिणी फिनल्यान्डको एक किल्लामा राखियो । किल्लाको गोलघरको एक अँध्यारो र चिसो कोठामा केही महिना राखेपछि मात्रै उनलाई साईबेरियाको चिता सहरको खुला कारागारमा लगियो । उनी जस्तोसुकै कठिन परिस्थितिलाई पनि सहजरूपमा लिन्थे । मिखाईल लुनीन कहिल्यै निराश भएनन्, बरु निरास बनेका अरू क्रान्तिकारीहरूको निम्ति उर्जाको श्रोत बनिरहे । साईबेरियाको चिता पुगेपछि उनको नेतृत्वमा खुला जेलबाट भागेर नदीको तीरैतीर चीन भाग्ने अनि त्यहाँबाट जपान र अमेरिका भाग्ने योजना बन्न थाल्यो तर सफल हुने अवस्था नहुँदा भाग्ने योजना त्यागे ।
२० वर्ष जेलको सजाय केही वर्षपछि १० वर्षमा घटाइयो । चिताबाट पेट्रोभ्स्की जेल हुँदै १० वर्षपछि लुनीनलाई सईबेरियाली जेलबाट रिहा गरियो र पश्चिम साईबेरियाको ईर्कुट्स्क सहर नजिकको युरिक नामक सानो बजारमा बस्ने अनुमति दिइयो । त्यहाँ उनले काठको सानो घर बनाए, केही जमिन फाँडे र मकै लगाउन थाले । जेल बसाइको क्रममा लुनीनलाई लेख्ने अनुमति थिएन । रिहा भएपछि भने उनले आफ्ना बहिनी, साथीहरू र अन्य नातेदारहरूलाई लेख्न थाले । ती चिठीहरूमा अप्रत्यक्षरूपमा लुनीन जारको तानाशाहीविरुद्धमा लेख्थे । चिठी सेन्सर गर्ने अधिकारीहरू कायल भएर उनलाई फेरि एक वर्षसम्म लेख्न प्रतिबन्ध लगाए ।
डिसेम्बर विद्रोहको १० वर्षसम्म पनि विद्रोहको उद्देश्यबारे स्पष्ट पार्ने कुनै पुस्तक निस्केको थिएन । सरकारी रिपोर्टहरूमा क्रान्तिकारीहरूलाई सत्ताविरुद्ध षड्यन्त्र गर्ने अपराधीको रूपमा चित्रित गरिएको हुन्थ्यो । त्यसकारण, गुप्त समाज र डिसेम्बर विद्रोहको उद्देश्यबारे पुस्तक लेख्ने तयारी लुनीनले थाले । जेलबाट रिहा भएर स्वतन्त्ररूपमा निर्वासित जीवन बाँचिरहेको भए पनि डिसेम्बरवादीहरू रूसी प्रहरी र सत्ताको निरन्तर निगरानीमा थिए । विद्रोहबारे पुस्तक लेख्ने सोचाइ सुनेर कति क्रान्तिकारीहरूले त्यसको सम्भावनाबारे शङ्का व्यक्त गरेका थिए । तर, लुनीनले गुप्ती प्रहरीको आँखा छलेर पुस्तक लेखन कार्य सुरु गरे ।
सन् १८४१ को एक दिन रूसी गुप्ती प्रहरीले लुनीनको कोठामा छापा मारे । त्यहाँ ‘रसियाली गुप्त समाजहरू (१८१६–१८२६) बारे एक दृष्टि’ नामक एक पाण्डुलिपी फेला पारे । पुस्तकमा उनले लेखेका थिए – “जारले निर्वासितहरूबाट मानपदवी, सम्पत्ति, स्वास्थ्य, समय, मातृभूमि सबै खोसेका छन् तर क्रान्तिकारीहरूप्रति जनाताको साहनुभूति कहिल्यै खोस्न सक्ने छैनन् । जारले रूसी जनतालाई केही समयको लागि झुक्याउन सक्ला, सधँैको लागि होइन ।”
यो सूचनाले जार एकदम रिसाए । लुनीनलाई आकातुई नामक टाढाको खानी क्षेत्रमा दोस्रो निर्वासनमा पठाइयो । उनलाई फेरि लेख्न प्रतिबन्ध लगाइएको थियो तर त्यहाँ पनि औषधीको नाममा साथीहरूले लेख्ने मसीको धुलो र कागज पठाइदिन्थे । आफ्नो निर्वासनकालभरि लुनीनले लेखाइमार्फत सधँै जारको स्वेच्छाचारी शासनलाई चुनौति दिइरहे । अन्ततः दोस्रो निर्वासनको चार वर्ष नपुग्दै सरकारी गुप्तचरहरूमार्फत मिखाईल लुनीनको आकातुईको उनको कोठामा हत्या गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *