भर्खरै :

सत्तासीन पार्टी सत्ताको लुछाचुँडीमा लाग्दा देश बर्बादीतिर

कालीकोट, २१ मङ्सिर । नेपाल मजदुर किसान पार्टी तिलागुफाको प्रथम नगर सम्मेलन सम्पन्न भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला समिति कालीकोटका अध्यक्ष नवराज कोइरालाले सम्मेलनको उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा पार्टी केन्द्रीय सदस्य कोइरालाले कम्युनिस्ट नामको बहुमतको सरकार सत्ता लुछाचुँडी र भागबन्डामा लाग्दा देश बर्बादीतिर गइरहेको बताउनुभयो ।
नेमकिपाले समयमै शासक दलहरूलाई जनताका समस्याबारे सचेत बनाउने गरेको चर्चा गर्दै उहाँले शासक दलहरूले विदेशीको इसारामा उठबस गरिरहेको प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले कम्युनिस्ट नामको सरकारले शिक्षा क्षेत्रलाई निजीकरण गरिरहेकोमा खेद प्रकट गर्नुभयो । उहाँले समाजवादी व्यवस्थामा हरेक नागरिकले निःशुल्क शिक्षा पाउनुपर्ने बताउनुभयो ।
“कम्युनिस्ट व्यवस्थामा प्रत्येक नागरिकले निःशुल्क स्वास्थ्य र शिक्षा पाउनुका साथै सम्पत्तिको सीमाङ्कन, व्यक्तित्व विकासमा समान अवसर हुन्छ । तर, आज यी सबै मिथ्या भएका छन्”, उहाँले भन्नुभयो ।
नेमकिपा कालीकोटका सचिव खड्गराज शाहीले देशमा नाममात्रको कम्युनिस्ट सरकार रहेको बताउनुभयो । उहाँले माथिल्लो तहदेखि स्थानीय तहसम्म भइरहेको भ्रष्टाचारबाट जनता पीडित बनेको बताउनुभयो ।
“हिजो चप्पल लगाएर हिँड्ने शासक दलका स्थानीय तहका जनप्रतिनिधिहरू र तिनका आसेपासेहरू आज डोजरका मालिक र ठेकेदार बनेकोमा जनता आश्चर्यमा परेका छन्”, उहाँले भन्नुभयो ।
सम्मेलनको बन्द सत्रले खड्गराज शाहीको अध्यक्षतामा १९ सदस्यीय नेमकिपा तिलागुफा नगर समिति निर्वाचित ग¥यो । त्यस्तै भेलाले दीपकबहादुर शाहीको अध्यक्षतामा १९ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ तिलागुफा नगर समिति र देवीलाल कोइरालाको संयोजकत्वमा ११ सदस्यीय नेमकिपा तिलागुफा नगर सल्लाहकार समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *