भर्खरै :

भक्तपुर नपा वडा नं ६ को सङ्क्षिप्त चर्चा

भक्तपुर नगरपालिकाको पूर्व उत्तर क्षेत्रमा भनपा वडा नं. ६ पर्दछ । यस वडामा विभिन्न ऐतिहासिक ठाउँहरू छन् । ती ऐतिहासिक ठाउँहरूको अलग्गै इतिहास छ । यस वडाका विशेषगरी भोलाछँे, मुलाछेँ,चोछेँ, तुछिमला, याछेँ, लालाछेँ, व्यासी महत्वपूर्ण ठाउँहरू हुन् । ती ठाउँहरूको अलग्गै पहिचान र अर्थ छ । भोलाछेँस्थित पोखरी रहेको ठाउँमा कुनै समयमा बिरालो र मुसा दिनभरि झगडा भएको ठाउँ भनेर चिनिन्छ । दिनभरि बिरालो र मुसा झगडा गरेपछि आखिरमा मुसाले बिरालोलाई हराई मुसाको वासस्थान भएको ठाउँमा छुमा गणेश मन्दिर भएको किंवदन्ती छ । भोलाछेँ पोखरीलाई ऐतिहासिक कालखण्डमा भौल्वापुखु, भौ अर्थात् बिरालो र छुं अर्थात् मुसा झगडा गरेको ठाउँ भनिन्छ । यस ठाउँमा भोलाछेँ पोखरी निर्माण भएको कथा छ । हाल छुमा गणेश मन्दिर रहेको ठाउँमा त्यही छुं अर्थात् मुसाको वासस्थान भएकोले छुमा गणेश मन्दिर र ठाउँको नामलाई हाल पनि छुमा गणेश भनिन्छ । चोछेँ नामसँग यस मन्दिरको साइनो देखिएको कुरा यसको ऐतिहासिकताबाट थाहा हुन्छ । आजभन्दा करिब आठ–नौ सय वर्षपहिले नेपालमा ठूलो भूकम्प गयो । भूकम्पमा परी झौखेलका बासिन्दाहरू धेरै मरे र धेरैको परिवार उजाड भएको इतिहास छ । आफ्ना पुर्खाको धेरै मानिस मरेपछि झौखेलको वासस्थान छोडी उनीहरू उचाइमा रहेको भू–भाग छुमा गणेश भएको ठाउँमा आइपुगे । यसरी उचाइमा रहेको भू–भाग सुरक्षित ठानी बस्न थालेकोले चोछेँ अर्थात् उच्चाइमा बनेको घर नाम रहन गयो । नेपालभाषामा चोछेँ भन्नाले ‘उच्च भू–भागमा रहेको घर’ भन्ने अर्थ लाग्छ । चोछेँ भक्तपुर नगरको बढी उचाइमा भएको ठाउँपनि हो ।
त्यस्तै याछेँ मन्दिरको पनि आफ्नै किंवदन्ती छ । आजभन्दा नौ पुस्ताअघि (काठमाडौँ) काष्ठमण्डपसँगै मरूटोलमा बस्ने एउटी केटीको विवाह याछेँका एकजना मूल परिवारको केटासँग भयो । विवाहपछि लोग्नेको घरमा बस्नुपर्ने सामाजिक परम्पराविपरीत उनी माइतमै बस्दै आएकी थिइन् । धेरै वर्ष माइतीमा बस्दा श्रीमान्ले श्रीमती नआउनुको कारणबारे सोधखोज गरे । सोधखोजको क्रममा श्रीमती धेरै पूजा गर्ने तर याछेँमा मन्दिर नभएकोले आउन नमानेको कुरा लोग्नेले थाहा पाए । श्रीमान्ले उक्त कुरा दाइहरूलाई जानकारी गराए । दाइहरूले आफ्नी बहिनीलाई त्यही मरूटोलको गणेश दाइजो दिएर पठाएका थिए । त्यस आईमाईले आफ्नो जीवनभर त्यस गणेशको पूजा गरेकी थिइन् र आफू उमेरले पूजा गर्न नसक्ने भएपछि त्यस टोलमा गणेशलाई स्थापना गर्न ल्याएकी थिइन् । त्यसपछि टोलवासीले त्यो गणेशकोसंरक्षण गर्न मन्दिर बनाएर पूजा गर्दै आएका थिए । यो क्रम अहिले पनि चालू छ । त्यही भएर याछेँको मन्दिरको नामबाट नै याछेँनाम रहन गएको भनाइछ । मरूटोलमा रहेको गणेशको मूर्ति दिएर पठाइएपछि त्यहाँको मन्दिरमा गणेशको स्थान खाली भएकोले त्यस टोलको नाम मरूटोल र मरू गणेश भन्न थालेको किंवदन्ती छ ।
त्यस्तै महाकाली पीठको पनि आफ्नै किंवदन्ती छ । उपत्यका विजयको क्रममा मल्ल राजालाई हराउन पृथ्वीनारायण शाहले भक्तपुरमा पनि आक्रमण गरेका थिए । धेरै दिनको युद्धपछि पृथ्वीनारायण शाहको युद्ध महाकालीस्थानमा केन्द्रित भयो । तर, भक्तपुरलाई हराउन सकिएन । अन्तमा उनी निरास भई फर्के । पछि पृथ्वीनारायण शाहले आफू पराजय हुनुको कारण सम्बन्धमा अनुसन्धान गर्न लगाए । अनुसन्धानबाट चाँगु राज्यका खड्काहरूले भक्तपुरलाई सहयोग गरेको पत्ता लाग्यो । भक्तपुर नगर जितिसकेपछि पृथ्वीनारायण शाहले त्यही खड्काहरूलाई चाँगुबाट समातेर ल्याई महाकाली पीठमा जिउँदै गाडेको भनाइ बुढापाकाबाट सुनिन्छ ।
त्यस्तै मुलाछेँ टोलको नाम सम्बन्धमा पनि स्थानीय बुढापाकाहरूबाट फरक किसिमको किंवदन्ती छ । नेपालभाषामा ‘मु’ भनेको मुख्य, ‘लाँ’ भनेको बाटो र ‘छेँ’ भनेको घर हो । मूल बाटोमा परेका घरहरू भएको ठाउँ भएकोले मुलाछेँ भनिएको किंवदन्ती छ । मल्लकालीन समयमा तलेजु जाने मूल बाटो मुलाछेँ भएकोले यस टोललाई मुलाछेँ भनिएको बुढापाकाहरू बताउँछन् । नगरकोट, चाँगु, बागेश्वरीबाट भक्तपुर नगर छिर्ने मुख्य नाका अर्थात् बाटो पनि मुलाछेँहो । तुछिमलाको सम्बन्धमा पनि बुढापाकाहरूको अलग्गै धारणा छ । नेपालभाषामा ‘तुँछि’ भनेको इनार र ‘मला’ भनेको दिसाबपिसाब गर्ने ठाउँ हो । हालको तुछिमला टोलको बीचमा इनार छ, त्यस इनारबाट अहिले पनि स्थानीयहरू पानी लिने गर्दछन् । तुछिमलाको दक्षिण भेगको खुला ठाउँमा स्थानीय व्यक्तिहरू पहिले दिसाबपिसाब गर्थे । त्यही भएर कालान्तरमा तुछिमला भनिन थालेको स्थानीयको भनाइ छ ।
भोलाछेँ, मुलाछेँ, चोछँे, लालाछेँ, ब्यासी, तुछिमला आदि नामले परिचित ठाउँ नै भक्तपुर नगरपालिकाको ६ नं वडा हो । इँटाको झ्याल (टेराकोटा), बुट्टेदार कुँ झ्याल (कुना झ्याल), मछिन्द्र नारायण मेला, महाकाली–महालक्ष्मी जात्रा, छुमागणेश जात्राले यो वडा परिचित छ । नवदुर्गाको माइती मानिएको यस वडामा महानवमीको दिन साँझपख नवदुर्गा गणहरूको मुकुन्डो प्रदर्शन गरिन्छ । तुछिमलाको एक आँगछेँमा रहेको माटोको तोरण वडाको मौलिक विशेषता हो । यस वडामा कलात्मक बुट्टेदार झ्यालहरू पनि छन् । यी झ्यालहरूको संरक्षण गर्नु आवश्यक रहेकोले सम्बन्धित घर धनीहरूलाई त्यसको महत्वबारे सुसूचित गर्नु छ । यस वडाका प्रायः पुरानो बस्तीका बाटो इँटा र ढुङ्गाले छापेको हुँदा यो वडा तुलनात्मकरूपले सफा देखिन्छ । यस वडामा पाँच वटा पोखरी छन् । भोलाछेँ पोखरी र अँचा पोखरी हाल संरक्षित छन् । दुईवटा पोखरी अतिक्रमित भएको छ भने एउटा पोखरी पुरेर स्कूल बनाइएको छ ।
यस वडामा अधिकांश किसानहरूको बसोबास रहेकोले वर्षभरि खेतीपातीमै व्यस्त भए तापनि कतिपय युवाहरू चालक, डकर्मी, सिकर्मी, पसल व्यवसाय र नोकरी आदि पेशामा लागेका छन् । साविक वडा नं. ५ र वडा नं. ९ मिलाएर वडा नं. ६ बनाइएको हो । यस वडामा हाल करिब ९०८२ जनसङ्ख्या छ । त्यसमध्ये पुरूष ४४८१ र महिला ४६०१ रहेका छन् । ४० प्रतिशत वडावासीहरू अन्य वडा र नगरपालिका तथा अन्य जिल्लाहरूमा बसोबास गर्दै आएको पाइन्छ । वडाको उत्तरमा चाँगु नगरपालिका, दक्षिणमा वडा नं. ५ र ७ तथा पूूर्वमा वडा नं. १० र पश्चिममा वडा नं. २ पर्दछ । वडाका ९७ प्रतिशत जनता शिक्षित छन् । वडाको कुल क्षेत्रफल ०.३४९८ वर्ग कि.मि. छ ।
वडाका मुख्य ठाउँहरूमा भोलाछेँ, चोछेँ, लालाछेँ, तुछिमला, ब्यासी, देकोचा, लिगंचा, मुलाछेँ, चोछेँ, बखुमला, दुगुमला, कुथुमला, थालाछेँ, महाकालीस्थान, दामलाचा, कासन, वन्टी आदि पर्दछन् । घरधुरी सङ्ख्या १०५२ रहेको यस वडाका अधिकांश मानिसहरू हिन्दू धर्म मान्छन् भने कोही बौद्ध र केही क्रिश्चियन धर्म मान्नेहरू पनि छन् । वडाका प्रायः नेपालभाषा बोल्छन् भने केही नेपाली भाषा पनि बोल्छन् । यस वडामा अधिकांश नेवार भए पनि क्षेत्री, दलित र केही तामाङ्गहरूको पनि बसोबास छ । दुवाल, सुवाल, कोजू, अवाल, प्रजापति, कुसाथा, त्यात, मलेकार, कक्षपति, जोशी, ग्वाछा, ताल्चाभडेल, जति, बज्राचार्य, घेमोसु, नागा, पहिजु, खिम्बाजा, थुसा, साखकर्मी, गाइने, जरेजु, कजु, सत्ता, थिके, जोन्छे, लवजु, खड्गी, कासुला, भडेल, शिल्पकार, चोकामी, लवं, हामो, ग्वाय्मरू, सिन्ताकल, शर्मा, कुम्पाख, वैद्य, कर्माचार्य, शाक्य, बासी, सुजखू, खायमली, खागी, कस्ती, तचामो, खिउँजु, नेपाली, शाही, बजिको, उलक, गाईजु, धुसु, तजले, महर्जन, मधिकर्मी, मूल, ङाकुसि, कोण्डा, चवाल, नापित, लागे, सितिखिु, भोखा, कायस्थ, सिजख्व, नाखन, भोमी, सैजू, तपोल, चित्रकार, छुंजु, साँगाछे, ध्वजु, मुनंकर्मी, बासुकला, खिटिबकु, कैटी, कुलुजु, याकामी, परियार, थापा, शाख, खाताखो, रंजित, खिनाव, गपि, पलिखेल, मानन्धर, तिमिला, नकर्मी, देशेमरू, हाडा, दुमरू, कपाली, लाखा, श्रेष्ठ, त्वानाबासु, राजचल, त्वायना, बाटी, लघु, दथेपुथे, भटु, थालाछेँ, गन्धर्ब, नायभा, चाँगुभारी, वंशमनी, पैmजू, तुल्सीबाख्य, राजथला, पालिख्या, नायजू, फाजु, भट्ट, राजभण्डारी श्रेष्ठ, दिस्ती, चुल्याद्य, खाइतु, तमखु, प्रधानाङ्ग, खोतेजा, आचार्य, जाकीबन्जार, छावा, जताधारी, सिमाछ्वा, पकानेवार, मुलगुठी, सुलु, गोजा, बखाद्यो, लाखे, कुचमनी, ताक्रा, मुस्याख्व आदि थरका वडावासीहरू छन् ।
यस वडामा खासै उद्योगहरू सञ्चालनमा छैनन् । क्षेत्रफलको हिसाबले निकै सानो र जनघनत्व बढी भएको वडा भएकोले यहाँ उद्योगहरू सञ्चालन गर्न अनुकूल वातावरणको अभाव देखिन्छ । तापनि यस वडामा चुन उद्योग १, फर्निचर वक्र्ससप, काठ चिरान गर्ने उद्योग १, चिउरा मिलहरू ४, धान कुट्ने मिल २, विभिन्न व्यवसाय दर्ता सङ्ख्या ३१०, सुन–चाँदीपसल ३ छन् । वडामा विभिन्न सङ्घ संस्थाहरू पनि छन् । त्यसमध्ये महाकाली क्षेत्र संरक्षण समिति, तुछिमला टोल सुधार समिति, महाकाली टोल सुधार समिति, महाकाली मानव सहायता संस्था क्रियाशील छन् । भनपा ६ वडा कार्यालयअन्तर्गतका समितिहरूमा फिजिकल फिट्नेस व्यवस्थापन समिति, खेलकुद समिति, कृषक समूह, समुदाय प्रहरी वडा समिति, स्वास्थ्य कार्यकर्ता परिचालन समिति, भनपा ६ समन्वय समिति आदि छन् । वडामा श्रमजीवी साकोस, माता महाकाली साकोस, चोछेँ छुमा गणेश साकोस, छुमा गणेश साकोस, लसकुस साकोस, जय महाकाली साकोस, शुभकार्य कृषि साकोस, भुवनेश्वर कृषि साकोस, नमोबुद्ध साकोस, कर्मठ साकोस, छोलेश्वर कृषि साकोस, नारी कल्याण बचत साकोस क्रियाशील छन् । वडामा ख्वप मा.वि., ख्वप कलेज, शारदा मा.वि., शारदा क्याम्पस, शारदा क्याम्पस मावि, प्रभात इ. सेकेन्डरी स्कूल, द.राइजिङ्ग इ.मा.वि., गोल्डेन गेट इ.मा.वि., सिरिन केन इ.स्कूल, हिमालयन इ.स्कूल, श्री आधारभूत विद्यालय, बालबोध शान्ति नि.मा.वि. (सामुदायिक विद्यालय), शिशु स्याहार तथा बाल विकास केन्द्र छन् । वडामा रहेका धार्मिक स्थलहरूमा महाकाली पिठ, महाकाली मन्दिर, अँचापोखरी (मच्छेनारायण), भोलाछेँ नारायण मन्दिर, भोलाछँे शिखर शैलीको गणेश मन्दिर, लालाछेँ गणेश मन्दिर, देकोचामा गणेश देवल, लालाछेँ महाकाली राख्ने मन्दिर, शिवननी चोकमा महादेव (शिवलि), पाँचननी चोकमा महादेव मन्दिर, याछेँमा गणेश मन्दिर, याछेँमा स्तुप, भोलाछेँ चौबाटोमा २ चैत्य स्तुप (चिव देग), चोछेँ चिव देग, चोछेँ छुमा गणेश मन्दिर, चोछेँ दरबार ननी चोकमा सुन्दरी गोपालमन्दिर, चोछेँ पूर्वेेश्वर महादेव, चोछेंँ लक्ष्मीनारायण मन्दिर, चोछेँ ब्यासी भवानी मन्दिर, चोछेँ नित्यनाथ मन्दिर, चोछेँ भैरव मन्दिर, महाद्यो चोकमा महादेव मन्दिर, जलंचोकमा नारायण मन्दिर छन् । यसबाहेक वडाका विभिन्न ठाउँहरूमा साना–ठूला मूर्ति, देवल र शिवलिङ्गहरू छन् । वडामा वार्षिकरूपमा चलाउने जात्राहरूमा महाकाली र महालक्ष्मी रथ जुधाउने जात्रा, छुमा गणेश जात्रा, याछेँगणेशको जात्रा, महानवमीको राति हुने नवदुर्गा मुकुन्डो प्रदर्शन जात्रा, लालाछेँमा गणेशको जात्रा, नवदुर्गा माछा मार्ने जात्रा, अँचा पोखरीमा नारायण मन्दिरमा (अधिकमास) प्रत्येक ३ वर्षमा १ महिना मेला लाग्ने आदि छन् । यस वडामा धेरै द्योछेँ र आगँछेँहरू पनि छन् । जसमा चोछेँ छुमा गणेश, महाकाली द्योछेँ, गणेश द्योछेँ, याछेँगणेश द्योछेँ, तुछिमला आगन्छे (क), तुछिमला आगँछेँ (ख), याछँे नवदुर्गा मुकुण्डो बनाउने द्योछेँ, लालाछेँ वैद्य आगँछेँ छन् सत्तलहरू अँचा पोखरीमा २ वटा र महाकाली पीठमा २ वटा छन् । दबुहरूमा चोछेँ दबु, थालाछेँ दबु, दुगुमला दबु छन् । वडामा कासनपुल १ भनपा वडा नं २ र ६ तथा साविक झौखेलको सिमानामा पर्छ । बौको पुल १ भनपा वडा नं ६ र साविक झौखेलको सिमानामा पर्छ । बारे पुल १ भनपा वडा नं ६ र १० तथा साविक झौखेल र छालिङ्गको सिमानामा पर्छ ।
वडामा रहेका ढुङ्गेधाराहरूमध्ये भोलाछेँ ढुङ्गेधारा, चोछेँ ढुङ्गेधारा, चोछेँ ब्यासी ढुङ्गेधारा, लालाछेँ ढुङ्गेधारा, याछेँढुङ्गधारा, अँचापोखरी ढुङ्गेधारा २, महाकाली पिठ ढुङ्गेधारा (अह्रीँ हिती), लिगन्चा ढुङ्गेधारा, अलान्चो ढुङ्गेधारा आदि छन् । वडाको भुतीपाखेमा एउटा कुवा पनि छ । इनारहरूमा भोलाछेँमा– २, लालाछेँमा– १, पाँचननी चोकमा– १, कमीननी चोकमा –१, शिल्पकार चोकमा –१, याछेँ गणेशसँगै –१, नवदुर्गा चोकमा –१, मुलाछेँ टोलमा –१, दामलाचा चोकमा –१, तुछिमला टोलमा –१, चोछेँ टोलमा –१, दरबारननी चोकमा –२, चोछेँ ब्यासीमा २ छुमननीमा चोकमा –१, खोतेजा चोकमा –१ गरी जम्मा १८ वटा छन् ।
वडामा रहेका ऐतिहासिक चोकहरूमा पाचननी चोक, शिवननी चोक, कमिननी चोक, मुलाछँे चोक, थाथुननी चोक, महाद्यो चोक, जगान्चो चोक, लालाछेँ चोक, महाकाली आगछेँ चोक, भोलाछेँ महाद्यो चोक, फैजु चोक, याछेँ नवदुर्गा मुकुण्डो बनाउने चोक, याछँे गणेश चोक, मूलहरूको घरसँगैको चोक, याछेँ प्रा.वि.भित्रको चोक, याछेँ दाम्लाचा पूर्व र पश्चिममा चोक २, लालाछँे भीमसेन उकालो पूर्वको शाक्यहरूको घरसँगैको चोक, दरबार ननीमा चोक ५, खोतेजा चोक, छुमननी चोक, जरूंननी चोक, मुलाछँे चोक, बखुमला चोक २, हनुमानद्यो चोक, न्हेय्कं चोक, दुवाल चोक २, सुवाल चोक छन् ।
वडाका विभिन्न ठाउँ रहेका कलधाराहरूमा याछेमा– २, भोलाछेँमा –१, अँचापोखरीमा –१, महाकाली पिठमा –१, मूलाछँेमा –१ , जगान्चोमा –१, लालाछेँमा – १, चोछेँमा –१, व्यासीमा –१, तुछिमलमाा –१, बखुमलामा –१ छन् । साथै भोलाछेँमा –४, भोलाछेँ–मूलाछेमा –१, लालाछेँमा –३, याछँेमा –३, तुछिमलामा –३ , वन्टीमा –२, महाकाली स्थानमा –२ , महाकाली पिठमा –२, पेकीलाँचा –१,चोछे ब्यासी जलान्चामा –१, चोछेँ–ब्यासीमा –१, मूलाछँेमा –१, छुमा गणेशसँगैको २, तुछिमलामा –२, शिवननीसँगैको –१, चोछँे –२ जरूननी चोकमा –१, बालबोध शान्ति भवनमूनि –१, ताहापाटी –१, घरमुनिको –२ गरी ३६ वटा सार्वजनिक पाटी छन् ।
वडामा युगतारा टिम, पासा साफुकुथि, व्याटमिन्टन क्लव, नवज्योती युथ क्लव, बौद्धिक विकास मण्डल पुस्तकालय, नवज्योति पुस्तकालय रहे पनि क्रियाशील अवस्थामा छैनन् । वडामा दाफाभजनहरू धेरै क्रियाशील छन् । जसमा दामलाचा बाँसुरीबाजा, याछँे धिमे बाजा समूह, मुलाछेँ धां बाजा समूह, दुगुमला धिमेबाजा समूह, लालाछँे धिमे बाजा समूह, भोलाछँे धिमे बाजा समूह, चोछेँ दाफाभजन समूह, मरूचा दाफाभजन समूह, चोछेँ ब्यासी दाफाभजन समूह, तुछिमला ढल्चा भजन समूह, चोछँे छुमा गणेश ढल्चा भजन समूह, भोलाछेँ दाफाभजन समूह, महाकाली द्योछँे ढल्चा भजन समूह, महाकाली भजन मण्डल समूह, महाकाली पीठ भजन मण्डल, मुलाछे भजन र विभिन्न टोलहरूमा विभिन्न बाजा समूह तथा गुठी समूहहरू छन ।
वडामा विद्यमान पुरानो शैलीका झ्यालहरूमा कुँ झ्याल, टेराकोटा झ्याल ( माटोले बनेको), सा झ्याल र आखीझ्याल छन् । वडामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूमा पूर्ण अशक्त ४, अांशिक अशक्त १८, ज्येष्ठ नागरिकहरू ३३३, विधुवाहरू २४७ जना रहेका छन् ।
 

One response to “भक्तपुर नपा वडा नं ६ को सङ्क्षिप्त चर्चा”

  1. प्रमोद न्यौपाने says:

    good vision

Leave a Reply

Your email address will not be published. Required fields are marked *