भर्खरै :

नाम कम्युनिस्ट काम अकम्युनिस्ट

नाम के अनुसार रहन्छ ? प्रश्न । उत्तर स्पष्ट नै छ, कामअनुसार नाम रहन्छ । तर, नेपाली समाजको ठूलो सङ्ख्यामा भने जन्मेको समय, त्यो बेला कुन नक्षत्र, त्यसको पनि कुन पाउ । कुन राशि, कुन योग आदिका आधारमा नाम राख्छ । त्यो नामलाई राख्ने नाम भनिन्छ । अर्को बोलाउने नाम भनिन्छ जसलाई अर्को शब्दमा फार्ने नाम भनिन्छ । राख्ने नाम र फार्ने नाम । यस्ता राख्ने र फार्ने नाम नेपालका गैरहिन्दू जात जातिमा राखिने रहेछ । यो प्रसङ्ग मैले अहिलेको नेपाल कम्युनिस्ट पार्टी–नेकपाको नाम र कामको सन्दर्भमा उठाएको हुँ । त्यो आफूलाई कम्युनिस्ट पार्टी भन्ने नामको सत्तारूढ पार्टीमा मैले बुझेको कम्युनिस्ट सिद्धान्तअनुसार काम नभएकोले छलफल चलाउने प्रयास हो यो । तत्कालीन एमाले र माओवादी दुई कम्युनिस्ट नामका पार्टी एउटै भएर २०७५ जेठ ३ गते जन्मेको पार्टी हो यो । एकता महाधिवेशन गरेर सिङ्गो नेपाल कम्युनिस्ट पार्टी बन्ने तर एकता महाधिवेशन नहुँदासम्म सहमति र समझदारीमा अघि बढ्ने समझदारी भएको रहेछ । त्यसबेलाको परिस्थितिअनुसार एकता महाधिवेशन २०७७ साल चैतभित्र सम्पन्न गर्ने भनिएको थियो । यो एकीकृत कम्युनिस्ट पार्टीभित्र दुईटा सैद्धान्तिक राजनीतिक प्रबल दृष्टिकोण छन् एउटा जनताको बहुदलीय जनवाद–जबज र अर्को २१ औँ शताब्दीको जनवाद । एमालेहरू जबजवादी हुन् भने माओवादीहरू एक्काइसौँ शताब्दीको जनवादी पक्षका । यो मुद्दामा एकता महाधिवेशनमा घमासान हुनेवाला थियो तर पार्टीको दुई अध्यक्षबीच महाधिवेशनसम्म कुर्ने धैर्य पनि त रहेनछ । घमासान चाँडै नै प्रारम्भ भयो । जबज मदन भण्डारीको स्थापना हो ।
प्रधानमन्त्री पद नै बीउ
दुई पार्टी एक हुँदा दुई अध्यक्षबीच प्रधानमन्त्री पद आधा आधा समय लिने भन्ने पनि सहमति भएको रहेछ । तर, केपी शर्मा ओलीमा सङ्घीय संसद्को पूरै कालखण्ड पाँचै वर्ष आफै प्रधानमन्त्री हुने लालसा बढेछ । अर्का अध्यक्ष प्रचण्डलाई पनि प्रधानमन्त्री हुने भूत चढ्ने नै भयो । अब प्रारम्भ भो ङारङुर । अढाइ वर्ष नपुग्दै प्रचण्डले सम्झाए ओलीलाई । तर, ओलीले त्यो भद्र सहमति बिर्सेको अभिनय गर्न लागे । यी दुई अध्यक्ष वा पाइलटबीचको मूल मुद्दा भनेकै प्रधानमन्त्री पदको तीव्र तृष्णा नै हो निमित्त जे जे बनाए पनि । केपी शर्मा ओलीलाई निकटबाट चिन्नेहरू भन्छन्, प्रचण्ड राजनीतिमा विलक्षण चतुर भए पनि ओलीलाई चिन्ने मामलामा चतुर हुन सकेनन् । अहिले प्रचण्ड त्यसैको चक्करमा दिनमा भोक न राति निन्द्रा भएका छन् । ओली पनि कम चिन्तित छैनन् । उनको स्वास्थ्य पनि कम जटिल छैन । तर, पेलाहा बानी कायमै छ । प्रचण्डलाई पेल्दै छन् । अब अन्तर्देशीय वा बाह्य शक्तिकेन्द्रहरू पनि आ–आफ्ना स्वार्थका लागि जोडा अध्यक्षलाई दम दिइरहेका छन् । ती शक्ति पछि परेका छैनन् । उनीहरूको प्रमुख काममध्ये नै पर्छ यो काम पनि । यसको विकृत अर्थ कूटनीति पनि हो । यो तथ्य दुवै खेलाडीले नबुझेको पनि छैन ।
राजनीतिलाई जनतामा लैजाऊ
नेपाली भाषामा एउटा उखान छ त्यो हो ढाँटेको कुरा काटे पनि मिल्दैन । हाम्रा नेताहरू यति धेरै ढाँट्छन् त्यसको हिसाब निकाल्यो भने धेरै लामो हुन्छ । नेता भनेको समस्याको समाधान खोज्ने, उपचार खोज्ने र उपचार पत्ता लगाउने र समाधान गर्ने हो । अमेरिकी राष्ट्रपति ट्रम्पबाहेक नेतामा यस्तो विशिष्ट हुन्छ, हुनुपर्छ । तर, हाम्रो नेपालमा त ठूला नेताहरू नै समस्याका सर्जक र स्रोत भएर आउने भए । विकसित र विकासोन्मुख मुलुकहरूमा यही अन्तर हो कि ? सत्तारूढ नेकपाका दुई अध्यक्ष नै पार्टीका समस्या उत्पादक । यता प्रमुख प्रतिपक्षको खाता पल्टाऊँ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच काटाकाट छ । अनि कोइराला बन्धुबीच पनि यस्तै छ । राप्रपाभित्र कमल थापा, पशुपति शमशेर र डा. प्रकाशचन्द्र लोहनी तीन जनाको नेतृत्व त्रिमुखी । समाजवादी राष्ट्रिय जनता दल नेतृत्वको छनोट गर्न नै असमर्थ छ । यो हो आजको नेतृत्वको सचित्र अवस्था । अस्ति आइतबार नेकपा स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेजस्तो ग¥यो । तर, पार्टीका अर्का पाइलट बैठकमा उपस्थित भएनन् । उनको चिठीमात्र उपस्थित भयो । नेताले, नेतृत्वले सुचारूरूपले पार्टी र देश चलाउँछन् । तर हाम्रो नेपालमा नेताले, नेतृत्वले चालिराखेका पार्टी गतिविधिसमेत पूरै अवरूद्ध गर्नेजस्ता उनाचो गर्छन् । एउटा नेताले समस्या पत्ता लगाए भने अर्का नेताले झन् समस्या थप्छन् । समाधान शून्य दुवै पक्षमा । यसरी कसरी बाटो छिचोलिन्छ र बाटो छिचोल्नु नै सबैभन्दा ठूलो खाँचो हो आज । राजनीति बाटो खोल्छु भन्छ आज झन् पो बाटो रोकिँदै छ । राजनीतिलाई नेताबाट जनतामा लैजानुप¥यो ।
आज धैर्य गर भोलि बनाऊ
नेकपाको स्थायी समितिको बैठक अस्ति आइतबार बसेजस्तो ग¥यो । बैठकको पनि ओलीले अनुपस्थित भएर भरपूर प्रयोग गरे । मेरो हिसाबमा अस्ति आइतबारको नेकपा स्थायी समितिको बैठक उपस्थित हुनेहरूले भन्दा निकै बढी उपयोग गरे उनले । अब ओली स्वार्थ र प्रचण्ड स्वार्थ पार्टी फुटेर पूरा हुँदैन जति जुटेर पूरा हुन्छ । यो गुह्य बुझेका छन् दुबै महारथीले । तसर्थ के के उपाय निकाल्छन् होला र फेरि एकपल्ट यो विभेद गराउने शक्तिले मेल गराउँछ भन्ने तर्कना पो त आयो । सत्ता भनेको पनि लाभको तर लाग्ने विषय हो जो लुड्याइरहेको छ ओली–प्रचण्डबीच झगडा गराउने धूर्त मण्डलीले । अब आजकै स्थिति पनि लामो समय जान सक्दैन । कथं ओली–प्रचण्ड गठबन्धन साँच्चै टुट्यो भने त्यो शक्ति सबभन्दा बढी नोक्सानीमा पर्नेछ । तसर्थ अबको समय यो ओली–प्रचण्ड विभाजनतिर होइन समायोजनतिर लाग्ला र पूर्वसन्ध्यामा फर्कला भनेतिर पो पुगेँ । प्रम ओलीले अस्ति आइतबार स्थायी समितिलाई लेखेको पत्रमा पार्टीको एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा पनि नरहने भविष्यवाणी गरेर ठूलो कुराको सार्वजनिकीकरण गरेका छन् । अध्यक्ष प्रचण्डलाई यो ठूलै सन्देश होइन र ? ओलीको । परोक्षरूपमा का. प्रचण्डलाई भोलिका लागि तयारी गर आजै कचकच नगर भन्ने सन्देश हो यो कूटनीतिक चातुर्यपूर्ण राजनीतिक सन्देश । यसरी पो त बुझेँ मैले ओलीको अस्तिको पत्र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *