भर्खरै :

भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने टेक्स्टाइल र डाइङ्गलगायत उद्योग अविलम्ब हटाऊ !

(भक्तपुर औद्योगिक क्षेत्रमा रहेका उद्योग–कलकारखानाले स्थानीय जनताको स्वास्थ्य र जनजीवनमा प्रतिकूल असर पारेको भन्दै औद्योगिक क्षेत्र सो स्थानबाट हटाउन माग गर्दै आन्दोलनरत जनताले सार्वजनिक गरेको अपिलको पूर्ण पाठ प्रस्तुत छ–सम्पादक)
भक्तपुर औद्योगिक क्षेत्रबाट ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने टेक्स्टाइल र डाइङ्गलगायत उद्योग अविलम्व हटाऊ !
१) नेपाल सरकारले वि.सं. २०३६ सालमा मित्र देश जर्मनीको सहयोगमा स्थानीय किसानहरूको जग्गा अधिग्रहण गरी यहाँको परम्परागत सीपमा आधारित हस्तकलाका उद्योगलाई व्यवसायिक रूप दिन भक्तपुर साना उद्योग क्षेत्र स्थापना गरिएको थियो । यो यथार्थलाई औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्मारिका २०७५ को पृष्ठ ८६ र ८७, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संक्षिप्त झलक साउन १, २०७५ को पृष्ठ १६ र भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको संक्षिप्त झलक २०७५ मा आजसम्म स्वीकार गरिएको छ ।
२) भक्तपुर औद्योगिक क्षेत्रका उद्योगबारे २०५७ जेठ २ गते भक्तपुर नगरपालिका, भक्तपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्ले, भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रत्नहरि गौतम, जिल्ला प्रहरी कार्यालय, भक्तपुर उद्योग वाणिज्य सङ्घ र पीडित जनताबीच भएको बैठकबाट यस क्षेत्रमा रहेको ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने टेक्सटाइल, डाइङ्गजस्ता उद्योगहरू हटाउने निर्णय भएको हो । औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ३ को उपदफा ६ मा उद्योग सञ्चालनको क्रममा वातावरणमा परेको वा पर्नसक्ने प्रतिकूल असरको निराकरण गर्नुपर्ने स्पष्ट उल्लेख छ । भक्तपुर नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्डसम्बन्धी २०६० को ३.१.५ मा भक्तपुर औद्योगिक क्षेत्रमा ध्वनि धुवाँ, रसायनलगायत वातावरणमा प्रदूषण पैmलाउने टेक्स्टाइल, डाइङ्ग, प्लास्टिक, रङ्गरोगन उद्योग सञ्चालन गर्न नपाइने स्पष्ट उल्लेख छ । नेपाल सरकारको आव २०७३।७४ को बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाका औद्योगिक क्षेत्रहरू काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्ने स्पष्ट प्रतिबद्धता छ ।
३) मानव बस्तीबीचमा र विश्व सम्पदा सूचीभित्रको भक्तपुर लाय्कु दरबार तथा भक्तपुर नगरपालिकाको कार्यालय भवनसँग जोडिएको यो उद्योग क्षेत्रमा नेपालको कानुनी व्यवस्था र नगरपालिकाको निर्णयविपरीत सञ्चालित ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने कृति टेक्स्टाइल्स इन्टरप्राइजेज प्रा.लि.का स्वचालित टेक्स्टाइल र डाइङ्ग मेसिन, नेपो इन्डस्ट्रिज प्रा.लि.को स्वचालित टेक्स्टाइल मेसिन, मेमोर्स इन्डस्ट्रिज, अरूणा टेक्स्टाइल प्रा. लि.को स्वचालित टेक्स्टाइल मेसिन, शिवबाबा टे. प्रा. लि. को स्वचालित टेक्स्टाइल मेशिन, इशान फेब्रिक इण्डस्ट्रिजको स्वचालित टेक्स्टाइल मेसिन, पशुपति फेव्रिक इण्डस्ट्रिजको स्वचालित टेक्स्टाइल मेसिन, वर्जर जोन्सन एन्ड निकल्सन नेपाल प्रा. लि. को अति प्रज्वलनशील रङ्गरोगन उत्पादन गर्ने स्वचालित मेसिन, ओम सत्यसाई प्लास्टिक उद्योग, बेस्ट प्लास्टिक इन्डस्ट्रिज, शिवा पोलिमर्शजस्ता प्लास्टिक एवम् पोलिथिन ब्याग बनाउने उद्योगहरूबाट मेथीबारी, ब्यासी, खौमा, सहिद उद्यान, कालदहलगायतका हजारौँ मानिसको जनस्वास्थ्यमा हानि पुगेको छ भने कोभिड १९ सङ्क्रमणको महामारीको कारण विद्यालय र कलेज बन्द रहेको बेला विद्यार्थीहरूको अनलाइन कक्षा र स्वअध्ययनमा बाधा भएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा पश्मिना, सल, स्वेटर उत्पादन गर्न दर्ता भएको मेमोर्स इन्डस्ट्रिजमा तोकिएको उद्देश्यविपरीत स्वचालित टेक्स्टाइल मेसिन तथा कानुनी बन्दोबस्तविपरीत अन्य व्यक्तिलाई सञ्चालन गराइएको छ भने कृति टेक्स्टाइलमा काठमाडौँ उपत्यकामा सञ्चालन गर्न नपाइने डाइङ्ग उद्योगसमेत सञ्चालन भइरहेको छ । स्वचालित टेक्स्टाइल मेसिन सञ्चालन घरेलु तथा साना उद्योग होइन ।
४) यस क्षेत्रमा ५–७ सय थान स्वचालित टेक्स्टाइल मेसिन र डाइङ्गको ध्वनि, धुवाँ र रसायन प्रदूषण फालेका उद्योगहरूबाट राजस्वसमेत चुहावट भइरहेको छ । उल्लिखित उद्योगहरूमा स्थलगत अध्ययन गर्न पुगेको टोलीलाईसमेत उद्योग क्षेत्रको व्यवस्थापन हेर्ने अधिकारीसँगको मिलेमतोमा प्रदूषण फाल्ने सबै टेक्स्टाइल र डाइङ्ग मेसिनहरू सञ्चालन नगराई छलकपट, राजस्व चुहावट र मानवताविरोधी अपराधसमेत भइरहेको छ । व्यवस्थापन कार्यालयका प्रमुख बलराम बोगटीले कोभिड १९ सङ्क्रमणको बेला नेपो इन्डस्ट्रिजलाई क्रेन ल्याएर दर्जनौँ स्वचालित टेक्स्टाइल मेसिन जडान गर्न लगाई आर्थिक अनियमिता गरेको अहिले चर्चाको विषय बनेको छ ।
५) तसर्थ ध्वनि, धुवाँ र रसायन प्रदूषण फाल्ने उल्लिखित उद्योगहरू कृति टेक्स्टाइल्स इन्टरप्राइजेज प्रा.लि., नेपो इन्डष्ट्रिज प्रा.लि., मेमोर्स इन्डस्ट्रिज, अरूणा टेक्स्टाइल प्रा. लि, शिवबाबा टे. प्रा. लि., इशान फेब्रिक इन्डस्ट्रिज, पशुपति फेब्रिक इन्डस्ट्रिज, वर्जर जोन्सन एन्ड निकल्सन नेपाल प्रा. लि., ओम सत्यसाई प्लास्टिक उद्योग, बेस्ट प्लास्टिक इन्डस्ट्रिज, शिवा पोलिमर्शलगायत यस क्षेत्रबाट हटाउन र सो जग्गा सम्बन्धित जग्गावालालाई फिर्ता गर्न जोडदार माग गर्दछौँ ।
६) नेपाल सरकारको आव २०७३।७४ को बजेट प्रतिबद्धताविपरीत यस क्षेत्रका सरकारी स्वामित्वको जग्गा र भवन प्रतिरोपनी ९ हजार रूपैयाँमा उद्योगीहरूसँग ४० वर्षसम्मको सम्झौता गर्ने गराउने सम्बन्धित सरकारी अधिकारीहरूलाई समेत अख्तियार दुरूपयोग र राजस्व चुहावटमा हदैसम्मको कारबाही गर्न माग गर्दछौँ ।
७) ध्वनि, धुवाँ र रसायन प्रदूषण फालेका र मानवताविरोधी अपराध गरेका यी उद्योगहरूबाट ब्यासी, लाय्कु, खौमा, इटाछेँ, कालदह, मेठीबारी, सहिद उद्यानका जनस्वास्थ्यमा हानि भोगेका र कृषिबालीमा नोक्सान भएका पीडित जनतालाई उचित क्षतिपूर्ति दिलाउन र यस अपराधमा संलग्न सरकारी अधिकारी र उद्योगीहरूलाई हदैसम्म कारबाही गर्नसमेत माग गर्दछौँ । स्थापनाको उद्देश्यअनुरूप यस औद्योगिक क्षेत्रलाई भक्तपुरको परम्परागत सीपमा आधारित हस्तकलाका उद्योगलाई व्यवसायिक रूप दिने भक्तपुर साना उद्योग क्षेत्र नै कायम गर्न माग गर्दछौँ ।
८) अध्ययन टोली वा छानबिन कार्यदल आदिको नाममा हाम्रो मागलाई सम्बोधन नगर्ने र दोषी अधिकारीहरूमाथि कारबाहीसमेत नगर्ने कुनियत कतैबाट नहोस् र पीडित जनतालाई थप कष्ट नहोस् भनी सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौँ । हाम्रो माग पूरा नभएसम्म विरोधका कार्यक्रम चालू रहने सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ ।
पीडित जनता, २०७७ मङ्सिर २१ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *